अबको आवश्यकताः युवामैत्री मर्यादित कृषि

अबको आवश्यकताः युवामैत्री मर्यादित कृषि

नेपालमा कृषि व्यवसायमा संलग्न जनसंख्या करिब ६५ प्रतिशत भएको अनुमान गरिएको छ तर यो जनसंख्या आफ्नो पुस्तैनी जीवन निर्वाहमुखी खेतीपाती पेसासँग सम्बन्धित तथा आश्रित भएर गणनामा लेखाइएको जनसंख्या हो, आर्थिक रूपले कृषि उत्पादनमा संलग्न सक्रिय जनसंख्या होइन ।

| Advertisement |

Promotional banner

एक अध्ययनले देखाएअनुसार करिब १ करोड १३ लाख (करिब ३८ प्रतिशत) व्यक्ति सक्रिय रूपमा कृषि पेसामा संलग्न भएको पाइएको छ । यो संख्याले व्यावसायिक रूपमा कृषि उत्पादन, प्रशोधन तथा अन्य बजारीकरणका कार्यमा संलग्न हुने जनसंख्यालाई जनाउँछ । विश्वव्यापीकरणको प्रभाव तथा शहरीकरणको आकर्षणका कारण ग्रामीण जनसंख्या विस्तारै कृषिभन्दा अन्य सेवामूलक तथा औद्योगिक व्यवसायमा लाग्ने अवस्थाको सिर्जना हुने गर्छ, जुन स्वाभाविक हो ।

तर, अबको कोभिड- १९ पछिको युगमा खाद्य सुरक्षा, आय आर्जन तथा रोजगारीको प्रमुख आधार कृषि हुनेछ भनेर अनुमान गर्न सकिन्छ । विदेशबाट फर्किने सबै युवा कृषि क्षेत्रमा संलग्न होलान् भन्न सकिँदैन तर जति हुन्छन्, उनीहरूलाई उचित उत्प्रेरणा तथा सुरक्षाको अनुभूति जरुरी छ अनि मात्र यस क्षेत्रमा आकर्षित भई यस क्षेत्रको विकासले गति लिन सक्ला ।

हाल नेपालमा कृषि पेसामा संलग्न जनसंख्याको गणना ठूलो भए पनि यो संख्या घट्दै जाने र हाल देशमा उपलब्ध स्रोत, साधनका आधारमा भूमिको दिगो उपयोग गर्दै व्यावसायिक खेती गर्न करिब ३० प्रतिशत जनसंख्याका लागि उपयुक्त हुने देखिन्छ ।

कृषि पेसा आफैँमा कठिन, धेरै परिश्रम चाहिने र आकर्षक छैन । अहिलेको पुस्ता पहिला जस्तो बाबुबाजेको पेसालाई स्वतः अँगाल्ने अवस्थामा छैन । शिक्षा, सञ्चार, यातायातका कारण विविध सम्भावनाहरूको सजिलै पहिचान गर्न सकिने र प्रतिस्पर्धी बन्न सकिने आन्तरिक तथा बाह्य सम्भावनाहरू उपलब्ध छन् । नयाँ पुस्ता स्वेच्छाले आफ्नो पेसा रोज्न स्वतन्त्र छ । यस परिस्थितिमा युवाहरूलाई कृषि पेसामा सक्रिय बनाई दिगो रूपमा यस पेसामा संलग्न बनाई राख्नु आजको आवश्यकता र चुनौती दुवै हुन् ।

पुरानो पिँढीसँगको परम्परागत ज्ञान र आधुनिक खेती प्रणालीको वैज्ञानिक संयोजन र कार्यान्वयन हाम्रो जस्तो जीविकोपार्जन तहको खेती प्रणालीको आधारमा सानो अर्थतन्त्र अँगालेको देशका लागि उपयुक्त कार्यदिशा हुन सक्छ । हाल कृषि पेसामा सक्रिय रूपमा संलग्न अग्रजहरूका अनुभवलाई समेट्दै नयाँ पुस्तालाई यस पेसामा आकर्षण गर्न नसके आउँदो दशकसम्ममा खेती गर्ने युवा पुस्ता नै भेट्न कठिन हुनेछ ।

तसर्थ, अबका हाम्रा नीति तथा कार्यक्रमहरूले युवाहरूलाई कृषि पेसामा उद्यमीका रूपमा भित्र्याउन सक्नुपर्छ । युवाको आकर्षण त्यतिबेला सहज होला, जब यस पेसालाई ग्ल्यमरस (आकर्षक), मर्यादित, आयमूलक र रोजगारमुखी बनाउन सकिन्छ ।

१. दिगो कृषि व्यवसायको सफलताका लागि आर्थिक रूपले नाफा लिन सकिने जमिनमा लगानी र यस्को उचित व्यवस्थापन नै हो । हाल नेपालको आधाभन्दा बढी ग्रामीण परिवारसँग सरदर ०.५ हेक्टर खेतीयोग्य जमिन मात्र उपलब्ध छ, उक्त जमिन व्यावसायिक खेतीका लागि पर्याप्त छैन, लगानीमैत्री छैन । तसर्थ पहिलो शर्त हो, व्यावसयिकताका लागि आवश्यक भूमिको व्यवस्थापन ।

हामीकहाँ कृषिमा निजी क्षेत्रको लगानीको आकर्षण हुन नसक्नुमा उपयुक्त मात्रामा जग्गाको उपलब्धता हुन नसक्नु एउटा प्रमुख कारण हो । स्थानीय सरकारको अगुवाइ तथा पहलमा खेतीयोग्य जमिनको वर्गीकरण गरी चक्लाबन्दी, भूमि बैंकिङ वा भाडामा लिने व्यवस्था मिलाएर युवालगायत निजी क्षेत्रका लगानीकर्ताहरूलाई कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि लगानीमैत्री वातावरणको सिर्जना गर्न सकिन्छ । संघीय, प्रादेशिक तथा स्थानीय सरकारले सहज रूपमा खेतीयोग्य भूमिको उपलब्धता तथा दिगो उपयोग गर्न गराउन पाउने नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याउन सक्छन् ।

यसरी जमिनको उपलब्धतासहित उद्यमीहरूलाई सहज ऋण वा अनुदानको व्यवस्था गर्न सके कृषि क्षेत्रको आकर्षण बढ्न गई ठूलो परिमाणमा उत्पादन गर्न सकिने र आयात प्रतिस्थापन गर्न सहज हुनेछ ।

२. हाल कृषिको सेवा प्रवाहमा संलग्न अघिल्लो पंक्तिमा खटने प्राविधिकहरूको लगन, मिहिनेत हुँदाहुँदै प्राविधिक दक्षता समयानुकूल बनाउन सकिएको छैन । कतिपय प्रविधिमा प्राविधिकभन्दा कृषकहरू अगाडि देखिन्छन् । यस्तो अवस्थामा जिल्लास्तर, फिल्डमा कार्यरत प्राविधिकहरूको समयअनुकूल क्षमता अभिवृध्दि जरुरी छ । विभिन्न उच्च संरक्षित प्रविधि, बेमौसममा गरिने खेती प्रणाली, सिँचाइका नयाँ प्रविधिको उपयोग, सुरक्षित बिषादी प्रयोग, असल कृषि अभ्यास जस्ता विषयमा सघन तालिमको जरुरत छ ।

हाल क्षेत्रीय, स्थानीय तहमा सञ्चालन हुने तालिमहरू पर्याप्त छैनन् । केन्द्रीयस्तरमा सञ्चालन गरिने तालिमहरूलाई पनि बढी व्यावहारिक र उपयोगी बनाउन जरुरी छ । विशेष प्रविधिहरू, खासगरी उच्च संरक्षित प्रविधिहरूको सिकाइका लागि वैदेशिक तालिमहरूको आवश्यकता छ ।

हाम्रो जस्तै भौगोलिक धरातल तथा हावापानीका कारण चीन तथा भारतमा विकसित प्रविधिमैत्री तालिमहरूको सिकाइ बढी उपयोगी हुन्छ । यस्ता तालिमहरू कर्मचारीलाई मात्र नभई युवा उद्यमीहरूका लागिसमेत उत्प्रेरक हुन्छन् ।

३. कृषि पेसालाई आकर्षक, उत्पादन लागत घटाई प्रतिस्पर्धी र नाफामूलक बनाउन कृषि यान्त्रीकरणको उपयोग जरुरी छ । यान्त्रीकरणको प्रयोगले आधुनिक प्रविधिको उपयोगमा सहजता, समयको बचत, श्रमशक्तिको बचत, कार्यबोझ खासगरी महिलाहरूको, घट्छ र युवाहरुको आकर्षण बढ्छ । सालभरि उत्पादन लिन सकिने हाईटेक प्रविधि तथा उपकरणको सहजताले युवाहरूको आकर्षण बढने मात्र नभई प्रतिस्पर्धी र नाफामूलक व्यवसायको राम्रो सम्भावना देखिन्छ ।

पहाड तथा मध्यपहाडका साना गराहरूमा उपयोग हुनेगरी साना तथा मझौलास्तरका यन्त्रहरूको अनुसन्धान तथा विकासगरी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ । उत्पादन हुन थालिसकेका पकेट तथा जोनहरूमा कृषि सडकको पहल भइरहेको हालको अवस्थामा सानासाना कुलेसालाई जोड्ने, खेतबारीको बीचमा पर्ने साना बाटाहरूमा सहज रूपमा २ पांग्रे यन्त्रहरूको आवागमन गराउन मिल्ने पुल तथा बाटाहरूको विकासमा स्थानीय सरकारले लगानी गर्नुपर्ने देखिन्छ ।

सामान्य खनजोत, गोडमेल तथा बाली भित्र्याउने कार्यहरूमा महिलाहरूको सहभागिता बढी हुने गर्छ तसर्थ यस्ता क्रियाकलापहरूको कार्यबोझ घटाउने गरी साना यन्त्रहरूको प्रयोग हुन सक्ने पूर्वाधारहरूको निर्माणको विकास जरुरी छ । हाल सुरु भएको यान्त्रीकरणको विस्तारलाई दिगो तथा सफल कार्यान्वयनमा ल्याउन प्रत्येक वडामा क्षेत्र हेरी कम्तीमा २ देखि ३ वटा कस्टम हायरिङ सेन्टर (यन्त्र मर्मत सम्भार केन्द्र)हरूको स्थापना गर्न सहयोग गर्नुपर्छ र यस्ता केन्द्रहरू सहकारीमार्फत सञ्चालन हुन सक्छन् ।

४. कृषिको आकर्षणको अर्को प्रमुख कारक स्रोत केन्द्रहरूको विकास र परिचालन हो । समयमा गुणस्तरीय बिउ, बिरुवा, नश्ल, मल, सिँचाइ, औजार जस्ता उत्पादन सामग्रीको उपलब्धताले कृषि व्यवसायमा संलग्न हुने उद्यमीहरूलाई प्रोत्साहन गर्छ, आकर्षित गर्छ ।

नेपाल सरकारले देशमा उपलब्ध कृषि पर्यावरणीय क्षेत्रअनुसार विभिन्न फार्म केन्द्रहरूको विकास गरेको छ । यस्ता केन्द्रहरू सम्बन्धित पर्यावरणीय क्षेत्रका लागि उपयोगी हुने बालीका जात, पशु नश्लको प्रविधि विकास तथा उत्पादन सामग्रीको व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएका छन् तर पर्याप्त छैनन् ।

गुणस्तरीय उत्पादन सामग्रीको समयमा उपलब्धताले खेती प्रणालीमा नै असर पार्छ । सहज रूपमा उत्पादन सामग्रीमा पहुँच पुर्‍याउन सके यस क्षेत्रमा संलग्न व्यवसायीले प्रतिस्पर्धी र गुणस्तरीय उत्पादन गर्न सक्छन् । अबको स्थानीय सरकारको पहलमा प्रत्येक वडामा बाली वस्तुको सम्भाव्यताअनुसार स्रोत केन्द्रहरूको विकास गर्दै जानुपर्छ ।

सिँचाइ, सडक, बिजुलीलगायतका आधारभूत पूर्वाधार भएको कृषक व्यवसायीलाई स्रोत व्यक्तिको तालिम दिई उसैको जमिनमा सानासाना प्रदर्शन फार्महरूको स्थापना गर्न सहयोग गर्ने, उसैमार्फत ज्ञान केन्द्रका विज्ञको प्राविधिक रेखदेखमा बिउ, बिरुवा, पशु नश्ल, मल जस्ता उत्पादन सामग्रीहरूको बेचबिखन गर्ने सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन सके सहज रूपमा व्यावसायिक खेतीको विस्तार हुन जानेछ ।

५. बजारीकरणका लागि पूर्वाधारको निर्माण तथा बजार व्यवस्थापन अर्को महत्त्वपूर्ण आकर्षण हो । सरकारको ध्यान अब स्थानीयस्तरका उत्पादनलाई कसरी गुणस्तरीयता कायम राखी उपभोक्तासम्म पुर्‍याउने भन्नेमा केन्द्रित हुनुपर्छ ।

ग्रामीणस्तरमा विकास हुँदै गएका सडक सञ्जालका कारण सानासाना ग्रामीण बजारहरूको विकास हुँदै गएको छ, यस्ता बजारलाई व्यवस्थित गर्न स्थानीय सहकारीहरूलाई सक्रिय बनाई कलेक्सन सेन्टर, ग्रेड्रिङ, प्रसोधन तथा प्याकिङपश्चात बजारीकरण गर्ने प्रबन्ध मिलाउन सकिन्छ ।

अबको प्रबन्ध ताजा तरकारी, फलफूल, फूल, दूधलगायतका छिटो बिग्रिएर जाने उत्पादनहरूको सुरक्षित ढुवानी गर्न गराउन फ्रिजर भ्यानहरूको व्यवस्था गरी चिसो शृङ्खला कायम राखी कोल्डस्टोरसम्म लैजाने वा होलसेल तथा खुद्रा ब्यापारीसम्म पुर्‍याउन सक्ने हुनुपर्छ । यसले उत्पादनको गुणस्तरीयता कायम गर्नुका साथै यस पेसामा संलग्न उद्यमीहरूको कार्य दक्षता बढ्ने, कामप्रतिको आकर्षण बढ्ने, उत्पादक तथा वितरकहरूको सम्मान बढ्ने हुन्छ ।

खासगरी युवाहरू यस्ता सुविधाका कारण कृषि व्यवसायमा संलग्न हुन आकर्षित हुन्छन् । स्थानीय सरकारको प्राथमिकता साना ग्रामीण बजारहरूको निर्माण तथा विकास, हाटबजारको विकास, साना सिँचाइ आयोजना, कृषि सडकको निर्माण, साना कुलापुलेसा निर्माणलगायतका पूर्वाधार निर्माणमा केन्द्रित गर्नुपर्छ ।

प्रादेशिक सरकारको प्राथमिकता प्रादेशिक कृषि बजारहरूको निर्माण तथा परिचालन, ठूला कोल्डस्टोरेजहरूको निर्माण, ठूला सिँचाइ आयोजनाहरूको निर्माण तथा व्यवस्थापनमा हुनुपर्छ ।

कठिन तर महत्त्वपूर्ण, नभई नहुने र नगरी नहुने कृषि क्षेत्रको विकासमा युवा पुस्ताको सहभागिता गराउन नसके कृषि पेसा नै धरापमा पर्न सक्छ । हाम्रो जीवन निर्वाहमुखी खेती प्रणालीको ज्ञानको सदुपयोग गर्दै वैज्ञानिक, आधुनिक उच्च प्रविधियुक्त खेती प्रविधिको प्रवर्द्धन गर्न सरकारले प्रयास गरिरहेको छ । अब कृषिमा सक्रिय रूपमा लाग्न सक्ने युवा जमात, अनुभवी कृषि व्यवसायीहरूलाई आकर्षण गर्ने नीति तथा रणनीतिको आवश्यकता छ ।

आवश्यक जमिनको उपलब्धता, उच्च प्रविधिको ज्ञानसहितका व्यावहारिक तालिम, समयमा गुणस्तरीय बिउ, नश्ल उपलब्ध गराउन सक्ने स्रोत केन्द्रहरू, यान्त्रीकरणको प्रयोगमा सहजताका साथै बजारीकरणको राम्रो प्रबन्ध मिलाउन सके कृषि पेसालाई ग्ल्यामरस, मर्यादित, प्रतिस्पर्धी र आयमूलक बनाउन सकिन्छ ।

साभार:shilapatra.com