कृषकलाई घर–घरमा हाते ट्रयाक्टर

कृषकलाई घर–घरमा हाते ट्रयाक्टर

| Advertisement |

Promotional banner

स्याङ्जा-कोरोना रोकथामका लागि देशभर लकडाउन लागिरहेको समयमा आफ्नै घरमा हाते ट्रयाक्टर आएपछि स्याङ्जाको भीरकोट नगरपालिका–८ का कृषक मनबहादुर सार्की दंग परेका छन् । आफ्नै घरमा सहुलियत दरको हाते ट्रयाक्टर आएपछि सार्कीले भने, “मैले त सोचेकै थिइन, यस्तो बेला घरमै ट्रयाक्टर आउला भनेर ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको सुन्तला सुपरजोन कार्यान्वयन कार्यक्रमले आफ्नै घरमा ट्रयाक्टर ल्याएपछि वालिङ नगरपालिका–४ का कृषक ख्यामराज गुरुङ पनि निक्कै उत्साहित छन् । कोरोनाले यो पटक सुन्तला उत्पादनमा नराम्रो असर पार्ने गुरुङ्लाई चिन्ता थियो तर जग्गा खनजोतका लागि समयमै ट्रयाक्टर घरमै आएपछि उनी उत्साहित भएका हुन् ।

सुन्तला सुपरजोनले ५० प्रतिशत सहुलियतमा हाते ट्रयाक्टर कृषकलाई उपलव्ध गराएको हो । सुपरजोनको साझेदार संस्था पोखराको शिव शिखर एग्रो तथा शिव शिखर कृषि सहकारीले समयमै हाते ट्रयाक्टर उपलब्ध गराएपछि स्याङ्जाका कृषक उत्साहित भएका छन् ।
कृषकलाई समूहको सिफारिसका आधारमा शिव शिखरमार्फत कृषकलाई घर–घरमै ट्रयाक्टर पु¥याइएको सुपरजोन स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए । उनले भने, “प्रतिकूल परिस्थितिका कारण पर्याप्त हाते ट्रयाक्टर जिल्लामा नआउने भयो भन्ने चिन्ताले सताएको थियो, तर समयमै ट्रयाक्टर दिन पाउँदा उत्साहित कृषक देखेर खुसी लागेको छ ।”

सुपरजोनले चालू आवमा जिल्लामा १ सय १५ थान हाते ट्रयाक्टर वितरण गरिने अध्यक्ष अर्यालले जानकारी दिए । हालसम्म ९५ थान वितरण गरिएको अर्यालले बताए । अघिल्लो आर्थिक वर्षमा पनि सहुलियत दरमा कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको बताउँदै भने, “साझेदार शिव शिखरले ढुवानी निःशुल्क गरिदिँदा यो पटक भने सस्तो मूल्यमा ट्रयाक्टर दिन सकियो ।”


कृषकलाई चलाउन र सामान्य मर्मत गर्ने तरिका सिकाई दिएपछि कृषक निक्कै उत्साहित भएको अनुभव सुनाए शिव शिखर एग्रोका सेल्स म्यानेजर शंकर आचार्यले । उनले भने, “कृषकको उत्साह देखेपछि हामीले कृषकलाई निरन्तर मर्मत र आवश्यक सहयोग गर्ने बचनसमेत दिएका छौं ।”

गण्डकी प्रदेशमा व्यावसायिक रूपमा कृषि व्यवसायमा गर्दै आएका कृषकलार्ई सहयोग गर्दै आएको शिव शिखरका क्षेत्रीय प्रबन्धक सुशील बानियाँले बताए । उनका अनुसार साना कृषकलाई सहुलियत दरमा हाते ट्रयाक्टर उपलव्ध गराएको जानकारी दिए । कृषकले तत्काल पूरा रकम बुझाउन नसके ५० प्रतिशतको सहुलियत फाइनान्स गर्ने व्यवस्था गरेको पनि बानियाँले सुनाए ।

साभार: www.karobardaily.com/