कृषिमा कायापलट गर्न क्रान्तिकारी गह्रा सुधार

कृषिमा कायापलट गर्न क्रान्तिकारी गह्रा सुधार

| Advertisement |

Promotional banner

प्रकाश पौडेल

कृषिको आधुनिकीकरणका लागि पहिलो र अन्तिम शर्त नै सीधासीधा लाइनमा खेती गरिनुपर्छ भन्ने हो । तर, त्यसरी सीधासीधा हुने गरी लाइनमा वा हार हारमा बिरुवा वा बीउ रोप्न खेतमा डोरी तानेर कुटोले बीउ खसाल्दैमा आधुनिकीकरण हुँदैन, त्यसरी लाइनमा बिरुवा वा बीउ रोप्न मेशिनको प्रयोग गरिनुपर्छ । मेशिनको प्रयोग हुनासाथ उत्पादन लागत स्वरूप लाग्ने मानवीय श्रम मूल्यमा भारी गिरावट आउने हुन्छ । मेशिनले बीउ वा बिरुवा लगाइने अवस्थामा बिरुवादेखि बिरुवासम्मको दूरी र हारदेखि हारसम्म दूरी निश्चित मापदण्डका साथ निर्धारण गरिएको हुन्छ । दूरीबमोजिम हिसाब गर्दा प्रतिएकाइ क्षेत्रफलमा लाग्ने मल, बीउदेखि लिएर अन्तिम उत्पादन समेतलाई बाली कटानीभन्दा अगाडि नै आकलन गर्न सकिन्छ । तर, हाम्रा खेतबारीमा क्रान्तिकारी गह्रा सुधार नगरीकन, त्यसरी मेशिनबाट खेती गर्न खोज्दा कृषिले अपेक्षित प्रतिफल दिन सक्दैन ।

 

परम्परागत खेतबारीमा यन्त्रीकरणसहितको आधुनिक प्रविधि पु¥याउन सकिँदैन । त्यसैले हाम्रा खेतबारीलाई आधुनिकीकरण मैत्री हुने गरी तयार गर्नैपर्ने हुन्छ ।

हाम्रो पहाडका खेतबारीका कान्लाहरू घुमेका छन्, बाङ्गाटिङ्गा छन् र कतिपय अवस्थामा यन्त्र उपकरणहरू सञ्चालन गर्न अत्यन्तै साँघुरा छन् । त्यस्ता खेतबारीलाई यन्त्रमैत्री बनाउन बाङ्गाटिङ्गा कान्लाहरूलाई सीधा–सीधा पार्नुपर्छ । त्यसका लागि चक्लाबन्दीमा खेती गर्न तयार भएका जग्गाधनीहरू आपसमा मिलेर आफ्नो खेतबारीको जम्मा क्षेत्रफलमा तलमाथि नहुने गरी प्राविधिकको सहयोगमा हिसाब गरेर कान्लाहरूलाई सीधा पार्न सकिन्छ । त्यसैगरी होचा कान्लाहरू छन् भने २/३ ओटा गह्रा मिलाई एउटै बनाउन सकिन्छ । मलिलो माटो खेर जान नदिन सतहदेखि २० सेमिसम्मको गहिराइको माटोलाई गह्रा सुधार गर्नुभन्दा अगाडि नै झिकेर अलग गर्न सकिन्छ ।

परम्परागत खेतबारीमा यन्त्रीकरणसहितको आधुनिक प्रविधि पु¥याउन सकिँदैन । त्यसैले हाम्रा खेतबारीलाई आधुनिकीकरण मैत्री हुनेगरी तयार गर्नैपर्ने हुन्छ । हलो र गोरुलाई विस्थापित गर्न हाते ट्र्याक्टर र पावर टिलरहरू प्रयोग गरिनुपर्छ । तर, पहाडी क्षेत्रमा यस्ता मेशिन तल्लो कान्लाबाट उपल्लो गह्रामा उकाल्नै ठूलो श्रम गरिरहेको देख्ने गरेका छौं । परम्परागत हलोका लागि तयार गरिएका गह्रामा आधुनिक ट्र्याक्टर चलाउन कठिन हुन्छ ।

यन्त्रमैत्री हुनेगरी गह्रा सुधार नगरेसम्म आधुनिकीकरणको सपना देख्न सकिँदैन । यदि सरकारले क्रान्तिकारी गह्रा सुधार गर्ने कार्यक्रमलाई किसानमाझ लिएर जाने हो भने यस कार्यक्रमले उच्च सफलता प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले क्रान्तिकारी गह्रा सुधारको कार्यक्रम बनाएर लागू गर्नुपर्छ ।

चक्लाबन्दीमा खेती गराउन सरकारले हाम्रा खेतबारीलाई आयताकार हुनेगरी प्लटिङ गराउन किसानलाई उत्साहित हुने गरी अनुदान दिइने कुरा आगामी वर्षको बजेटबाटै घोषणा गर्नुपर्छ । क्रान्तिकारी गह्रा सुधार गरिएको जमीनलाई अन्य प्रयोजनमा आउन नदिने प्रतिबद्धता लिएर निश्चित मापदण्ड बनाई, कान्लाहरू सीधा गर्न लाग्ने मूल्यको कम्तीमा पनि ७५ प्रतिशत अनुदानसहित यो कार्यक्रम लागू गराउनुपर्छ ।

परम्परागत खेतबारीबाट अपेक्षित प्रतिफल नआउने हुँदा आजका युवाले कृषिलाई व्यवसायका रूपमा अँगाल्न सकेका छैनन् । बाहिरी श्रमबजारको मूल्यले कृषि श्रमको मूल्यलाई सजिलै जित्ने वातावरण रहिरहेसम्म थप कृषि विकासको अपेक्षा गर्न सकिँदैन । यदि यथाशीघ्र आक्रामक योजनाहरूका साथ युवालाई लक्षित गरी क्रान्तिकारी गह्रा सुधारका कार्यक्रमसहितको यन्त्रीकरणलाई नभित्र्याउने हो भने वार्षिक रूपमा १२ प्रतिशतले बढिरहेको खेतीयोग्य जमीन बाँझिँदै जाने क्रम झन् बढेर जानेछ । हामी झन् झन् परनिर्भर हुँदै जानेछौं ।

सरकारले आगामी बजेटदेखि नै सम्बोधन हुने क्रान्तिकारी गह्रा सुधारको कार्यक्रमलाई ल्याउने हो भने त्यसलाई सफल पार्दै समृद्ध नेपाल बनाउन सामाजिक वातावरण तयार गर्न र आवश्यक श्रमदान गर्न हाम्रा युवा हर तरहले तम्तयार हुने नै छन् । कृषियोग्य भूमिको प्रयोगमा भइरहेको खण्डीकरण रोक्न, आप्mनो संविधान आपैm बनाएको विरासतमा टेकेर अहिलेकै सरकारले सन्ततिको भविष्यका लागि क्रान्तिकारी गह्रा सुधारमा यथाशीघ्र पहल कदमी लिनुपर्छ । त्यस्तो पहल कदमीलाई हर तरहले सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत कार्यान्वयन गर्ने निकायहरू प्रतिबद्ध रहनुपर्छ ।

यन्त्रमैत्री हुने गरी सुधार गर्न सकिने सम्भावना भएका फाँटहरूमा सिँचाइ, सडक, बिजुलीजस्ता आधारभूत सुविधा लगभग पुगिसकेका छन् । औद्योगिकीकरणको मुख्य नेतृत्व गर्ने सम्भावना भएका मकै, आलु, धान र तरकारीजस्ता मुख्य बालीहरूको उत्पादन र उत्पादकत्वमा गुणात्मक रूपले वृद्धि गराउने लक्ष्यका साथ त्यस्तो बालीको सम्भावना भएका काभ्रेको खोपासी, सिन्धुपाल्चोकको बलेफी, पर्वतको याँदी, बझाङको देवलजस्ता अन्य पहाडी क्षेत्रका मलिला फाँटलाई पहिलो चरणको लक्ष्यअन्तर्गत समेटिनुपर्छ । गह्रा सुधार गर्न अलि बढी नै लगानी लाग्ने भिराला क्षेत्रहरूमा चाहिँ फलफूल तथा जडीबुटीको उत्पादनतर्फ जान सकिन्छ ।

हजारौं वर्षपछि जन्मिने हाम्रा सन्ततिले पनि कम्तीमा खानचाहिँ पाउनुपर्छ र त्यस्तो खानेकुरा फलाउन खेतीयोग्य जमीन नै चाहिन्छ । हामीले भोगचलन गर्दै आएको जमीनलाई सन्ततिका लागि भनेर ‘नासो’का रूपमा पुर्खाहरूले हाम्रो हातमा छोडेर गएका छन् । पुर्खाले हामीलाई हस्तान्तरण गरेजस्तै, हामीले पनि हाम्रा सन्ततिलाई हाम्रा खेतीयोग्य भूमि जस्ताको तस्तै तर समयअनुसारको सुधार गरेर झन् धेरै उत्पादन हुने स्तरमा पुर्‍याएर बुझाइदिनुपर्छ ।

पाखुरामा उम्लिएको रगतको भरमा हाम्रा बाजेबराजुले पहाडहरू सम्याएर बारी र खेतहरू तयार गरेका हुन् । खेतबारी आबाद गर्न उनीहरूसँग स्वाभिमानको बलमा उभिएको ‘पौरख’ शाहेक अरू केही थिएन । यदि पुर्खाको महान् विरासत बोकेको त्यो तातो रगत आज पनि हाम्रो पाखुरामा दौडिरहेकै छ भने हामीले पनि आधुनिक कृषिका लागि हाम्रा खेतबारीमा आजको आवश्यकताअनुसार माथि उल्लेख गरिएबमोजिम यन्त्र अनुकूल हुनेगरी सुधार गर्नैपर्छ । कृषिको कायापलट गर्ने सपना लिएर अहोरात्र खटिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्वले यो बुझ्न जरुरी छ कि कृषिको आधुनिकीकरण गर्ने पहिलो र अन्तिम आधार नै यही हो ।

लेखक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत हुन् ।

साभार:https://www.abhiyandaily.com/