कृषि उत्पादन बढाउँदै गोरखाका स्थानीय तह

कृषि उत्पादन बढाउँदै गोरखाका स्थानीय तह

| Advertisement |

Promotional banner

 
गोरखा

बारपाक सुलिकोट गाउँपालिकाले दुई वर्षयता बाँझो रहेका तर अहिले खेतीपाती गर्ने हो भने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँ दिने निर्णय गर्‍यो । जमिन नभएका खेतीपाती गर्ने चाहना भएकालाई सजिलो बनाउन भन्दै पालिकाले खेत प्रतिरोपनी पाँच सय र पाखो जमिन चार सयमा भाडामा दिनुपर्ने नियम बनाएको छ ।

संभावित खाद्य संकट हुन सक्ने अवस्थालाई ध्यान दिएर गाउँपालिका भित्रको उत्पादन योग्य जमिन प्रयोग गर्ने नीति लिएर यो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । ‘कोरोनाको त्रास र असरले रोजगारी गुमाएर गाउँ फर्केका युवाहरुलाई प्रोत्साहन गर्न पनि यो नीति लिइएको हो’ उनले भने ।

गोरखा नगरपालिकाले धानको बिउ राख्ने सिजन सुरु हुन लागेपछि बिउ खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ । सार्वजनीक सुचना निकाले नगरपालिकाले धानको बिउ चाहिने किसानलाई अनलाईन फारम भर्न वा वडा कार्यालयमा निवेदन दिएर माग गर्न अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण अर्यालले बताए ।

‘नगरभित्र खेत पनि बाँझो देखियो, यस अघि जनशक्ति नभएर बाँझो थियो’ नगरप्रमुख राजनराज पन्तले भने ‘अहिले लकडाउनपछि मानिस घरगाउँ फर्किएका छन्, उनीहरुले खेत बाँझो नराखुन भन्ने उद्देश्य हाम्रो हो ।’ नगरपालिकाले यस अघि मल बिक्रेतालाई भेला गराएर प्रतिबोरा नौ सय ५० रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको थियो । महंगोमा  मल खरिद गर्दै आएका किसानले सहुलियतमा पाए ।

गोरखाको आरुघाट गाउँपालिकाले मल ढुवानीमा अनुदान दिएको छ । रसायनिक मल प्रतिबोरा आरुघाटमा एक हजार पाँच सय सम्म बिक्री गरेको गुनासोपछि कार्यपालिकाको बैठकले ढुवानी गाउँपालिकाले गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए  । कृषि सहकारी संस्था सम्म ढुवानी गरेपछि सहकारीले किसानलाई मल दिनेछन् भने ढुवानीभाडा पालिकाबाट सहकारीले लिने ब्यवस्था गरिएको छ । सहुलियतमा सहकारीबाट मल पाउने भएपछि किसान खुसी भएका छन् ।

धार्चे गाउँपालिकाले बाँझो जमिनमा आलु लगाउने, मलसाबाली लगाउने, कोदो लगाउने किसानलाई अनुदान दिने निर्णय गरेको छ । फरक फरक खेतीको छुट्टाछुट्ट मूल्य तोकिएको छ । सिरानचोक गाउँपालिकाले किसानलाई रसायनिक मल घरघरै ढुवानी गरिदिने भएको छ । स्थानीय तहहरुले धमाधम कृषिमा लगानी बढाउन थालेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख मनिता थापाले बताईन । ‘पहिलेको तुलनामा कृषिमा कार्यक्रम थपिएका छन्, स्थानीय सरकारले आकर्षित गर्ने खालका कार्यक्रम धेरै ल्याएको देखिन्छ’ उनले भनिन् ।

रोजगारी, शिक्षा, ब्यापार लगायत बिभिन्न कारणले घर बाहिर भएकाहरु पनि अहिले घरमा रहेको र जमिन बाँझो राख्दा आउन सक्ने खाद्य संकटबाट सर्वसाधारण सचेत भएकाले खेती हुने क्रम बढ्ने ज्ञान केन्द्रकी प्रमुख थापा बताउँछिन् । ‘आगामी वर्षका लागि हामीले बिदेशबाट फर्किएका र साना किसानलाई अनुदान दिने, कृषिमा प्रोत्साहन गर्ने खालको कर्याक्रम बनाईरहेका छौँ’ उनले भनिन् ‘कृषि पेसा गर्नेहरु बढेसँगै उत्पादन पनि बढ्ने पक्का छ ।’ कृषि सामग्रीमा सत प्रतिशत अनुदान, बिरुवा बितरण, निशुल्क बिउ बितरण जस्ता कार्यक्रमको माग धेरै रहेको उनले बताईन ।

५५ हजार छ सय ९६ हेक्टर खेतीयोग्य जमिन रहेको गोरखामा ४६ हजार दुई सय २० हेक्टरमा मात्रै खेती हुँदै आएको थियो । करिब १० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको गोरखामा चालु वर्ष निकै कम हुने अनुमान कृषि प्राविधिकहरुको छ ।

साभार: nagariknews