कृषि कर्महरू श्रावण

 धान रोपाईंको कार्यलाई निरन्तरता दिने । प्रशस्त मात्रामा प्राङ्गारिक मल तथा सिफारिस अनुसारको रासायनिक मल राखी वर्षे धानको रोपाई गर्ने । मलको प्रयोग गर्दा फस्फोरस, पोटास, प्रांगारिक मलको पूरा भाग र नाइट्रोजनको आधा भाग रोपाई गर्दा प्रयोग गर्ने तथा नाइटोजनको बाँकी आधा भागको आधा भाग धान रोपाईको २५ देखि ३० दिनमा र बाँकी आधा भाग ५५ देखि ६० दिनमा टप डेस गर्ने ।सकेसम्म कलिलो बेर्ना र पातलो गरि एक ठाउँमा दुई, तीन बेर्ना भन्दा बढी नरोप्ने, उत्पादनमा कमी आउने भएकोले सकेसम्म श्रावण १५ अगावै रोपाइको काम सक्ने ।

 धान रोप्नु भन्दा एक हप्ता पहिला खेत जोती हरियो मल पल्टाई दिने ।

सुन्तला, कागती, आप, अम्बा, लिचि, भुईंकटहर, रुखकटहर, केरा आदि सदावहार फलफूलका बेर्ना बगैंचामा लगाउने,बगैंचाको राम्रो सरसफाई गर्ने । त्यसै गरी चिया, कफि, अलैंची आदि रोप्ने । बगांैचामा पानी जम्न नदिनको लागि उचीत निकासको व्यवस्था गर्ने ।

 पाकेको मकै भाँच्न बाँकी छ भने, पानी नपरेको दिन पारी भाँच्ने, राम्रोसँग ४–५ दिन घाममा सुकाएर, घर भित्र बुकुरो, तथा बाहिर सुलि बनाएर थन्क्याउने । डांठ (ढोर) लाई पनि राम्रोसंग घाममा सुकाएर गोठ वा बाहिर पानी नपर्ने किसिमले थन्क्याउनु पर्छ ।

 ड्याङग बनाई अगौटे जातको काउलीको बेर्ना रोप्ने ।

 आषाढ महिनामा रोपेको धान बालीमा झारपात आएको भए गोडमेल गरिदिने (बुट्टा टिप्ने), रोपेको २५ देखि ३० दिनमा सिफारिस गरिएको नाइट्रोजन मध्येबाट युरीयाले पहिलो टपड्रेस गरि दिने । दोश्रो टपड्रेस ५० देखि ५५ दिनमा गर्ने ।

 बेंशी तथा खोंचमा कोदो रोप्ने कार्यलाई निरन्तरता दिने,पहिला रोपेको कोदोलाई गोडमेल गर्ने ।

 गोलभेंडाको तल्लो भागको पात काटी दिने तथा अनावश्यक हांगा काटी दिने र कपरअक्सिक्लोराइडको लेप लगाई दिने । डडुवा रोग लागेको छ भने, डाइथेन एम–४५ प्रति लिटर पानीमा २.५ ग्राम राखी स्प्रे गर्ने । फलखाने गभारो नियन्त्रणको लागि जैविक विषादी ल्एख् प्रति लिटर पानीमा एक एम.एल.राखी स्प्रे गरि दिने ।

 गोठेमललाई घाम पानी बाट जोगाई राख्नको लागि छाप्रोको व्यवस्था गर्ने ।

 बढी भएको हरियो घाँस काटेर सुकाएर व्यवस्थित गरि राख्ने ।

 खेतको आलीमा मास,भट्मास लगाउने ।

 यस महिनामा गाई, भैंसीले पाडापाडी, बाच्छाबाच्छी जन्माउने भएकोले आमा र बच्चा दुवैको उचीत स्याहार सम्भार गर्ने । जन्मेका पाडापाडी, बाच्छाबाच्छीलाई जन्मेको ३–३ हप्ताको उमेरमा जुकाको औषधी खुवाउने ।