कृषि क्षेत्रलाई अहिलेको परिस्थितीबाट बचाउन विशेष योजनाहरु ल्याउनु पर्छ –कुमार कशजु श्रेष्ठ

कृषि क्षेत्रलाई अहिलेको परिस्थितीबाट बचाउन विशेष योजनाहरु ल्याउनु पर्छ –कुमार कशजु श्रेष्ठ

 

हामी व्यवसायीहरुको लागी व्यवसाय भनेको केवल आफ्नो जिविकोपार्जनको लागी आम्दानीको श्रोत वा नाफा कमाउनु मात्र होइन यो एक अभियान पनि हो । विभिन्न क्षेत्रमा बजारकोे माग र आवश्यकता अनुसार वस्तुको उत्पादन,वस्तु तथा सेवा उपलब्ध गराउने र मानिसको जीवनको आवश्यकता पूर्तिका साथै सहज बनाउने साथै कर तथा रोजगारीको माध्यमबाट देश र अर्थतन्त्रलाई सघाउने अभियान पनि हो ।
तर हामी व्यवसायीहरुको लागी यो अभियानको यात्रा सहज र सुखमय भने छैन । यो कुरा हामीले विभिन्न कालखण्डमा प्रत्यक्ष भोग्ने र अनुभव गर्ने गरेका छौँ । राजनैतिक अस्थिरता, नीतिगत जटिलताबाट गुज्रिएको हाम्रो उद्यम व्यवसाय यात्राको यहि दशकमा विनाशकारी भुकम्प संगसंगै छिमेकीको निर्दयी नाकाबन्दी पनि झेल्नु परेको अनुभव पनि छ । यी यावत जटिलताबाट भर्खर उठ्दै गरेको व्यवसाय गत ३ महिना अघि चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस संक्रमणले विश्वलाई आतंक बनाई रहेको अवस्थामा हाम्रो व्यवसाय र नेपाली अर्थतन्त्रलाई पनि एक पटक घुडाटेकाउने स्थिती सिर्जना भएको छ र यस विषम परिस्थितीसँग पुनः संघर्ष गर्नु पर्ने समय आएको छ ।यस्तो समयमा हामीले व्यक्तिगत स्वास्थ्य, सुरक्षा र व्यवसाय पुनःसञ्चालनको लागी उच्च आत्मबलका साथ सबै क्षेत्रसँग समन्वय गर्दै अगाडि बढ्न आवश्यक रहेको छ । कृषि क्षेत्रलाई अहिलेको परिस्थिती बाट बचाउन तत्कालीन, अल्पकालीन तथा दिर्घकालीन योजनाहरु ल्याउनु पर्ने देखिन्छ ।
सञ्चालीत कृषि उत्पादनहरुको क्षतिका कारण कृषि उद्यमिहरुलाई पलायन हुनबाट वचाउन वित्तिय कर्जाको व्याज मिनाहाका साथै ल्याण्ड लीज व्यवस्थापनमा सहजीकरण गर्दै पुनः सञ्चालनकालागी सञ्चालन पूँजीको व्यवस्था गर्न आवश्यक छ । अल्पकालीन योजना मार्फत राज्यलाई तिर्नु पर्ने कर लगायत मल, विउ , विजन, ढुवानी जस्ता व्यवसाय सञ्चालनकालागी आवश्यक न्यूनतम पुर्वाधार तथा सामग्रीहरुमा सहुलियतको योजना ल्याउनु पर्दछ साथै दिर्घकालिन योजनामा वस्तुकोउत्पादन, संकलन भण्डारण तथा बजारीकरणमा सरकारी निजी साझेदारी कार्यक्रम मार्फत सञ्चालन हुने गरी मेघा परियोजना सञ्चालन गर्न आवश्यक रहेको छ । उक्त परियोजनाले हालको यस क्षेत्रमा कृयाशिल संघ संस्थाबाट वास्तविक क्षतिको तथ्यांक लिई पुनः उत्पादनको लागि अपनाउन पर्ने विधि र नीतिका बारेमा राउण्ड टेबल मिटिङ्गबाट उचित मार्ग चित्र निर्माण गर्नु पर्दछ ।

कुमार कशजु श्रेष्ठ , प्रबन्ध निर्देशक, काठमाडौ नर्सरी  । उहाँ पूष्प व्यवसायी संघ नेपालका अध्यक्ष पनि हुनु हुन्छ ।