के गर्ने यो समयमा

| Advertisement |

Promotional banner

  • धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि ३-४ घाममा सुकाएर सेल्फोस राखि खायन धानबाट अलग्गै भण्डारण गर्नुहोस्।
  • धानको कालोपोके रोग र उड्बट्टा रोग अथवा सिन्के धुप रोगको व्यवस्थापनको लागि खेतमा रहेका रोगी बोटका बालाहरु नष्ट गर्नुहोस्। साथै त्यस्तो बोटबाट बीउ नछान्नुहोस्।
  • जिरो टिलेज प्रविधिबाट गहुँ खेती गर्दा परम्परागत तरिका भन्दा १५-२५% बढी उत्पादन लिन सकिने भएकोले यो प्रविधिबाट गहुँ खेती गर्नुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते भित्र र तराईमा मंसिर १ देखि २५ गते भित्र गहुँ छरिसक्नुहोस्। पहाडका लागि सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरेर मात्र छर्नुहोस्।
  • सिफारिस गरिएका मध्ये उपलब्ध तोरीका जातका बीउ ०.५ के.जी. प्रति रोपनी वा ०.३४ के.जी. प्रति कट्ठाका दरले बीउ उपचार गरि रोप्नुहोस्।
  • तराईमा आलु लगाउने समय भएकोले भण्डारणबाट निकालि राम्रोसँग टुसा उम्रिएका, रोग तथा कीराको संक्रमण नभएका सिफारिस गरिएका खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो-२, कुफ्रि सिन्दुरी, आइ.पी.वाइ.-८, डेजिरे, कार्डिनल मध्ये उपलब्ध जातहरुको गुणस्तरिय बीउ मौसमको अवस्था हेरि रोप्नुहोस्।
  • हिउँदे तरकारीहरुको नर्सरी ब्याड तयार गर्दा जग्गा खनजोत गरि १ भाग फर्मालिन ५० भाग पानीमा घोली जमिन भिज्नेगरि हालेर प्लास्टिकले ७ दिनसम्म ढाकि माटो उल्टाई पल्टाई गर्नुहोस्।
  • बेर्ना सारेको १५-२० दिन भएको तरकारी बालीहरुको बोट वरिपरि रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
  • गोलभेँडामा डढुवा रोगको प्रकोप कम भए मेन्कोजेब २.५ ग्राम र बढि भए क्रिलाक्सिल एम.जेड. को धुलो २ ग्राम प्रति लिटर पानीमा घोलेर बोट भिज्नेगरि स्प्रे गर्नुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
  • चाडपर्वको बेलामा आयात हुने खसी, बोका, भेडा, च्याङ्ग्रा घरेलु बथानमा मिसाउनुभन्दा पहिले कम्तीमा सात दिनसम्म अलग्गै राख्नुहोस्। साथै आफ्ना घरमा पालिएका खसी, बोका, भेडा, च्याङ्ग्राहरुमा पिपिआर/खोरेत विरुद्द खोप लगाउनुहोस्।
  • भर्खर जन्मेका बाच्छा-बाच्छीहरुमा पिंक आई संक्रमणका लागि अनुकुल वातावरण भएकोले यो रोग देखापरेमा १% बोरिक एसिडको झोल बनाई तीन-तीन घण्टाको फरकमा आँखा सफा गरिदिनुहोस्।
  • बाख्राको मोओला लागेमा ५% पोभीडन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १% पोटासको घोलले मुख सफा गर्नुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • मध्यपहाड र तराईमा हिउँदे घाँसहरु- बर्सिम (मेस्कावी, बरदान, गिजी, बि.एल २२, यु.पी.वी. १०३ आदि जातहरु), जै, भेच, केराउ, टियोसेन्टी (मकै चरी), बाजरा आदि लगाउन शुरु गर्नुहोस्।