कोरोना आयो, लकडाउन भयो, उनी भने निश्चिन्त पालिरहेका छन् ५ हजार अष्ट्रिच

कोरोना आयो, लकडाउन भयो, उनी भने निश्चिन्त पालिरहेका छन् ५ हजार अष्ट्रिच

| Advertisement |

Promotional banner

सीपी शर्माले पहिलो पटक युक्रेनमा अष्ट्रिच देखेका थिए। स्कुलमा सबैभन्दा ठूलो चरा भनेर पढेको अष्ट्रिच ठूलोमात्र होइन निकै ठूलो थियो।‘ठूलो भने पनि हाँस-कुखुराभन्दा थोरै ठूलो होला सोचेको थिएँ, तर हामीभन्दा पनि धेरै ठूलो देखेपछि अचम्म लाग्यो,’ शर्मा भन्छन्।सुरूमा देख्दा अचम्म लागेका अष्ट्रिच अचेल भने उनकै वरिपरि हुन्छन्।शर्मा नेपालमा पहिलो पटक व्यावसायिक रूपमा अष्ट्रिच पालन गर्ने किसान हुन्। उनी  नेपालको सबैभन्दा ठूलो अष्ट्रिच फर्मका सञ्चालक पनि हुन्। उनको फार्ममा ५ हजार बढी अष्ट्रिच छन्।नेपालमा व्यवस्थापनमा स्नातक गरेपछि शर्मा स्नातकोत्तर गर्न रूस गए। रूसमा उनले  १२ वर्ष बिताए। व्यवस्थापनमा मास्टर्स गरेपछि पनि केही समय उतै बसे।उनले रूसमा रहँदा त्यहाँ भइरहेको कृषि उत्पादन र नेपालमा हुन सक्ने सम्भावनाबारे अध्ययन गरे।रूसबाट केही समय उनी युक्रेन गए। त्यहाँ अष्ट्रिचको व्यावसायिक फार्म हेरे, मासु पनि खाए। विदेशमा अध्ययन पुरा गरी ज्ञान र सीप लिएर नेपालमै केही नयाँ काम गर्ने योजना बनाइरहेका शर्मालाई युक्रेनको अष्ट्रिच फार्मले आकर्षित गर्‍यो।

त्यसपछि उनी फ्रान्स, अष्ट्रेलियालगायत मुलुकमा पनि अष्ट्रिच फार्म हेर्न गए, अष्ट्रिचबारे बुझ्न थाले।सबैतिर अध्ययन गरिसकेपछि उनले निष्कर्ष निकाले- नेपालको माटो र हावापानी अष्ट्रिच लागि उपयुक्त छ। हावापानी त उपयुक्त छ तर नेपालमा कसैले अष्ट्रिच पालेका छैनन्।नेपालीले किताबमा मात्रै पढेको चरा व्यावसायिक रूपमा पालेर त्यसको मासु खाने बानी बसाल्नु चुनौती थियो। शर्माले जोखिम लिएर व्यावसायिक रूपमा अष्ट्रिच पाल्ने निधो गरे।घरमै पालिएका खसी बोकाले राम्रो बजार नपाइरहेको नेपाली बजारले नस्वीकारे पनि राम्रो उत्पादन गर्न सकियो भने बाहिर निर्यात गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त थिए।

‘नेपाली बजारले नस्वीकारे पनि बाहिर निर्यात गर्न सकिन्छ भन्नेमा म ढुक्क थिएँ,’ उनले भने, ‘नेपालमा जुनसुकै नयाँ व्यवसाय गर्दा पनि जोखिम हुन्छ, जोखिम लिन सकिएन भने सफल पनि भइँदैन।’अष्ट्रिच नेपालका लागि नयाँ थियो तर विदेशमा त्यसको ‘भ्यालु’ बढी थियो। अष्ट्रिच मासु खानमात्र होइन, छाला, प्वाँख, हड्डी, अण्डाको बाहिरी खोलसमेत प्रयोगमा ल्याउन सकिने ‘मल्टियुजर’ चरा भएको शर्मा बताउँछन्।यीनै फाइदा हेरेर शर्माले रूपन्देहीको तिलोत्तमा नगरपालिका मधवलियामा अष्ट्रिच नेपाल प्रालि फर्म सुरू गरे। अष्ट्रिच पालन गर्ने योजना बनाए पनि नेपालमा त्यसका चल्ला थिएनन्, विदेशबाट ल्याउनु पर्थ्यो।उनले २०६४ सालमा अष्ट्रेलियाबाट १५ सय अष्ट्रिचका अण्डा मगाए। नेपाल आइपुग्दा कति बिग्रिए, कति फुटे। ९ सय अण्डाबाट मात्र चल्ला निकाल्न सके।  ९ सय चल्ला पनि हुर्किँदै जाँदा मर्दै गए।  जम्मा २ सयमात्र बाँचे। तर शर्माले हार मानेनन्। अर्को वर्ष अष्ट्रेलियाबाटै माऊ अष्ट्रिच ल्याएर पाल्न थाले। नेपालमै अण्डा कोरलेर चल्ला निकाले। अष्ट्रेलियाबाट माऊ अष्ट्रिच ल्याएपछि फर्ममा माऊ र चल्ला थपिँदै गए। अहिले फर्ममा ५ हजार बढि अष्ट्रिच छन्। यी सबै फर्ममै उत्पादन भएका हुन्। ५ हजार मध्ये  ४ हजार  अष्ट्रिच मासु उत्पादनको लागि तयारी अवस्थामा छन्। ६ सय पोथी र ४ सय भाले गरि १ हजार माऊ छन्। एउटा माऊ अष्ट्रिचले वार्षिक ३०  वटा अण्डा दिन्छ।  ६०० पोथीले वर्षभरीमा पारेका अण्डाबाट ८ देखि १० हजारसम्म चल्ला उत्पादन हुने उनले बताए। हुर्किंदै जाँदा ६/७ हजारमात्र बाँच्छन्। केही चल्ला किसानहरूले पाल्न लैजान्छन्। पाल्न लगेका अष्ट्रिच किसानले बिक्री गर्न नसके शर्माकै फर्मले बजारीकरण गरिदिन्छ। फर्मबाट वार्षिक ५/६ हजार अष्ट्रिचको मासु बजार पठाउने गरिएको शर्माले बताए।

कोरोनाले ल्याएको मन्दी

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-भैरहवा सडक खण्डको मधवलियादेखि डेढ किलोमिटर पूर्व २२ बिगाह जग्गामा सञ्चालित फर्ममा वार्षिक १५ सय टन मासु उत्पादन गर्नसक्ने क्षमता छ।फर्म सञ्चालनको १३ वर्षमा शर्माले फर्मलाई त्यो क्षमतामा पुर्‍याएका हुन्। १३ वर्षको अवधिमा उनले उपभोक्तालाई अष्ट्रिचको मासु खाने बानीको विकास पनि गराए। दैनिक ४/५ हजार किलो मासु खपत गर्न सक्ने गरी नेपाली बजारमै माग बढिरहेको थियो। कोरोना महामारीपछि भने मासु बजारमा पठाउन सकेका छैनन्। ‘त्यहीअनुसार उत्पादन वृद्धि गर्दै लगिएको थियो तर कोरोनापछि भने मासु कटिङ हुन सकेको छैन,’ उनले भने ।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/ostrich palan/ostrich palan (1).jpg

अष्ट्रिचको मासुको ७० प्रतिशत खपत होटल रेष्टुरेन्टमा हुन्थ्यो, उत्पादनको ३० प्रतिशतमात्र उपभोक्ताको घरमा जान्थ्यो। कोरोना महामारीपछि मासु पसल, सुपरमार्केट, कोल्डस्टोर सबै बन्द हुँदा उपभोग शुन्य भएको उनले बताए। शर्माले कोरोनाको कारण उपभोग रोकिएपछि चल्ला उत्पादन पनि घटाएका छन्। ‘चल्ला उत्पादन गरेर के गर्ने? पाल्नुपर्‍यो, दाना चाहियो, कोरोनाको असर कहिलेसम्म रहने हो यसै राख्नुपर्‍यो भने फर्मले थेग्न सक्दैन,’ उनले भने । उनको फर्ममा बजार पठाउनु पर्ने अवस्थाका अहिले पनि ४ हजार जति अष्ट्रिच छन्। पहिले दैनिक ३० देखि ४० वटा अष्ट्रिच काटिने फर्ममा कोरोना पछिको ३ महिनामा ३० वटा पनि नकाटिएको शर्माले बताए। अष्ट्रिचको व्यावसायीक पालन शर्माले ३० करोडबाट सुरू गरेका थिए। अहिले २ अर्ब लगानी पुगेको उनले बताए।

च्याउ उत्पादन र कोल्ड स्टोर सञ्चालन

उनको फर्म प्रवेश गर्नेबित्तिकै लस्करै टहरा देखिन्छन। कतिको निर्माण सकियो कतिको हुँदैछ। पक्की भवन पनि बनिरहेका छन्। मजदुरहरू काममा व्यस्त देखिन्छन्। यो सबै शीतभण्डार(कोल्ड स्टोर) निर्माण हुँदै गरेको दृष्य हो। उनले अष्ट्रिचमात्र होइन च्याउ खेती र कोल्ड स्टोरमा पनि लगानी गरेका छन्। यी दुबैमा लगानी गर्ने सोच आजको होइन अष्ट्रिच पालन सुरू गर्दादेखि कै हो। पछिल्लो एक वर्षमा बल्ल उनले त्यो योजनामा काम सुरू गरे। १० हजार टन क्षमताको कोल्ड स्टोर निर्माण गर्दै छन्। अहिलेसम्म ३ हजार टन क्षमताको बनिसक्यो। बाँकी बन्दै छ। कोरोना महामारीको बीचमा पनि उनको काम रोकिएको छैन। शर्मा आफैं बिहानैदेखि फर्ममा व्यस्त हुन्छन्। अहिले अष्ट्रिच फर्ममा करिब २ सय ८६ जना कामदार दैनिक निर्माणमा खटिएका छन्। ‘अहिले बाहिर केही काम छैन, सुरू गरेको परियोजना पूरा गर्नमै केन्द्रीत भएको छु,’ शर्माले भने। अष्ट्रिचको कटिङ तथा बजार पठाउन खटिइने मजदुरलाई उनले कोल्ड स्टोर निर्माणको काममा लगाएका छन्। निर्माण सकिएकोमध्ये ५ सय टन क्षमताको कोल्ड स्टोर सञ्चालन गरिसकेका छन्। जहाँ १५ कोठा छन्। माछामासु र हरियो तरकारी भण्डारण गरेका छन्। उनले कोल्ड स्टोर आफूलेमात्र प्रयोग गरेका छैनन्, अरू किसानलाई पनि भाडामा लगाएका छन्। गएको सिजनमा अर्घाखाँचीका किसानले उनको कोल्ड स्टोरमा सुन्तला राखे। बाँकी कोल्ड स्टोरको भागमा उनले १२ डिग्री तापक्रममा उत्पादन हुने डल्ले च्याउको उत्पादन गर्छन्। अहिले दैनिक ३ हजार किलो च्याउ उत्पादन हुने गरेको उनले बताए। यसलाई बढाएर १२ देखि १५ टनसम्म उत्पादन गर्ने लक्ष्य राखेका छन्। च्याउको उत्पादन बढ्यो भने अहिले काम गरिरहेका ३ सय कामदारबाट बढाएर ८ सय पुग्ने छन्। अष्ट्रिचको गोबरमा पराल, गहुँको छ्याली, उखुको खोस्टा मिलाएर प्लाष्टिकमा राख्छन् त्यसैमा च्याउ उत्पादन गर्ने गरेका छन्। उत्पादन सकिएपछि त्यही कम्पोष्ट मल बनाउँछन्।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/ostrich palan/ostrich palan (1).jpg

त्यो मल अष्ट्रिचको लागि घाँस बनाइदिने किसानलाई उनले दिने गरेका छन्। फर्ममा रहेका अष्ट्रिचको लागि रुपन्देहीका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधनका ८ सय ८६ किसानले घाँस उत्पादन गर्छन्। 

वर्षको २२ करोडको त अष्ट्रिचलाई घाँसमात्र खुवाउनु पर्ने शर्माले बताए। अष्ट्रिचको मलको प्रयोग गरी घाँस र अन्य खेती उत्पादन गर्ने, त्यस्तो उत्पादनमा अरू किसानलाई पनि जोड्ने अनि कृषकले गरेको उत्पादित वस्तुको बजारीकरणसमेत गरिदिने गरि कोल्डस्टोर सञ्चालन गरेको बताउँछन्। यो वर्ष आफ्नै फर्मबाट मल लगेर अरू किसानले फलाएको २ सय ट्रक टमाटर कोल्ड स्टोरबाट बजार पठाएको उनले बताए ।

कोरोनाले सुस्ताएको अर्को परियोजना

उनको सपना हो-नयाँ पुस्तालाई कृषि उत्पादनबाटै मुलुकलाई आत्मनिर्भर बनाउँन सकिन्छ भनेर प्रेरणा दिने। यसमा आकर्षण गर्ने।यसैसँग जोडिएको छ उनको ‘वाटर नेचर प्रोजेक्ट’। रूपन्देहीकै शुद्धोधन गाउँपालिका-१ र २ को पुरैनीमा ३० बिगाह जमिन लिएर उनले  उक्त प्रोजेक्ट बनाउन लागेको यो परियोजना एग्रो टुरिजम अर्थात् कृषि पर्यटन पनि भनिन्छ। यसको निर्माण सुरू गरेको २ वर्ष हुन लाग्यो। ‘शहरीकरणले गर्दा अहिलेको पुस्ताले दूध डेरीबाट आउँछ भन्छ, गाईभैंसीले दूध दिन्छ गाईभैंसीबाट दूध दुहिन्छ भन्ने थाहा छैन। घिउ कहाँ पाइन्छभन्दा डिडिसीमा भन्छ, मही पार्ने ठेको चिन्दैन, नौनी चिन्दैन। तरकारीको बोट चिन्दैन, नाम चिन्दैन, गाउँघरका फलफुल चिन्दैन। हामी यी सबैलाई ब्रेक गर्न चाहन्छौं,’ उनले भने।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/ostrich palan/ostrich palan (1).jpg

प्लाष्टिक र प्याकेटमा ल्याएको माछामासु, फलफूल तरकारी खाएर हुर्किएको नयाँ पुस्ताले आफैंले माछा मारेर पोलेर खान सकून्। आफैंले दूध दुहेर, मही पार्न सकून्, ढिकी जाँतोमा अन्न कुटेको देखोस्। हिजोको पुस्ताले गरेको कामहरू एकदिन एकछिन भए पनि उसले अनुभूति गर्न पाओस् भन्ने हेतुले यो वाटर नेचर प्रोजेक्ट निर्माण गरिएको हो। हप्ताभरि काम गरेर एकदिन भए पनि गाउँको वातावरण तथा सुविधायुक्त स्थानमा बस्न र रमाउन खोज्नेहरूको संख्या बढ्दो छ। शर्माले त्यही समूहलाई आकर्षित गर्न यो परियोजना निर्माण गर्न लागेका हुन्। ‘प्लाष्टिकमा ल्याएको फलफूल खाएको बच्चाले आफैंले झटारो हानेर झारेर आँप खान पाउँदा उसको खुसी कस्तो होला,’ उनले भने, ‘नेपालीहरू सेन्टिमेन्टमा रमाउँछन्, त्यही सेन्टिमेन्टलाई मूल्यमा कन्भर्ट गर्न खोजेका हौं।’ गाईभैंसी, बाख्रा, तरकारी, फलफूल तथा माछा उत्पादनसहित सुविधासम्पन्न होटल तथा रेन्टुरेन्ट सञ्चालन पानीमाथि गर्ने यो परियोजनाको लागि अहिले २.७ किलोमिटर गोलाईको पोखरी तयार भइसकेको छ। त्यही पोखरीमा माछा पालनसँगै डुंगा सञ्चालन गर्नुको साथै पोखरीमाथि नै रेष्टुरेन्ट सञ्चालन गर्ने उनी बताउँछन्। अहिले पनि हाँस, लोकल कुखुरा, खसीबोका पालिएका छन्। फाट्टफुट्ट पर्यटक जान सुरू गरिसकेका छन्। बुद्ध जन्मस्थल लुम्बिनीदेखि नजिकै रहेकोले पनि आफ्नो नयाँ परियोजना सञ्चालनमा ल्याउन सके सफल हुन्छ भनेर उनी ढुक्क देखिन्छन्। उनका अनुसार, कोरोना नलागेको भए अहिलेसम्म यो परियोजना पुरै सञ्चालनमा आइसकेको हुने थियो। कोरोना महामारीले व्यवसायमा नोक्सानी र नयाँ प्रोजेक्ट सञ्चालनमा ढिलाइ भएको छ। तर उनले हात बाँधेर बसेका छैनन्। निर्माणको कामलाई नरोक्ने बताउँछन्। ‘पछाडि त जानै हुँदैन नि, जहाँ सम्भावना देखिएको हुन्छ हिँड्दै गर्दा कतै अन्धकार भइहाले पनि कहीँ न कहीँ उज्यालोको सानो किरण देखिन्छ।म त्यही किरण पछ्याइरहेको छु,’ उनले भने,’हरेक परिस्थितिमा पनि आत्तिनु हुँदैन, म आत्तिएको छैन, मैले सम्भावना देखिरहेको छ। एक वर्ष लाग्नेमा तीन वर्ष लाग्ला तर सधैं परिस्थिति अहिलेजस्तो त नहोला।’

https://raracms.setopati.com/uploads/shares/2020/sujita/ostrich palan/ostrich palan (1).jpg

कोरोना महामारीले स्वावलम्बी बन्नु पर्दो रहेछ, आफ्नो मुलुकको लागि आफैले उत्पादन गर्नुपर्दो रहेछ भन्ने पाठ सिकाएको उनी बताउँछन्।कोरोनाको महामारीपछि मुलुकबाहिर रहेका नेपालीहरू स्वदेश फर्किईरहेका छन्। उनकाअनुसार उनीहरू आउँदा श्रम र सीप पनि सँगै आउँछ। ‘विदेशमा कृषि र पर्यटन क्षेत्रमै काम गरेका नेपालीहरूको सिप र श्रमलाई सरकारले सही ठाउँमा प्रयोग गर्नसक्यो भने नेपाल २ वर्षमै कृषिमा आत्मनिर्भर हुन्छ,’ उनको विश्वास छ।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/ostrich palan/ostrich palan (1).jpg

साभार:https://www.setopati.com/