कोरोना भाइरस, लक डाउन र हाम्रो कृषि

कोरोना भाइरस, लक डाउन र हाम्रो कृषि

कृषि हाम्रो प्राणेश्वर हो । राजा देखि रंकसम्म कसैको पनि जीवन कृषि उत्पादन बिना चल्न सक्दैन । अधिकांश घर परिवारको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएको नेपाली परिवेशमा कृषिको महत्व अझ धेरै छ । त्यसैले राष्ट्रिय विपदको बेलामा कृषि क्षेत्रको संरक्षण गर्नु राज्य र नागरिक समाजको प्राथमिकताको बिषय हुनु पर्दछ ।

| Advertisement |

Promotional banner

गोबिन्द शर्मा,  हसेरा एग्रिकल्चर रिसर्च एण्ड ट्रेनिंग सेन्टर

नेपालमा अहिले कोरोना भाइरसको सम्भावित प्रकोपको रोकथामका लागि बन्दाबंदी चलिरहेको छ । यो आवश्यक पनि हो । बन्दाबंदिको यो समयमा किसानहरुले आफ्ना उत्पादनहरु बजारसम्म लान सकिरहनु भएको छैन र संगसंगै आफ्नै खेत बारीको कामका लागि पनि ढुक्कले निस्कन सक्नु भएको छैन । कृषिका अधिकांश उत्पादनहरु समयमा बजारमा लान नसकिएमा नास हुने हुन्छन । तसैले किसानले बाध्य भएर दुध पोख्ने, तरकारीहरु गाईवस्तुलाई खुवाउने गर्न थाल्नु भएका खबरहरु संचार माध्यम र सार्बजनिक गन्थनहरुमा प्रशस्तै आउन थालेका छन ।

यस परिस्थितिले एकातिर किसानको अहिलेको आम्दानि कम हुन्छ भने अर्को तिर यसपछिको अर्को मौसमको उत्पादन पनि कम हुन्छ । यो उत्पादन कमिको परिपूर्ति गर्न बढी मात्रामा कृषि उत्पादन विदेशबाट आयात गर्नु पर्ने हुन्छ जसले देशको आर्थिक सन्तुलनमा नकारात्मक असर पर्दछ । साठी प्रतिशत भन्दा बढी घर परिबार समेटने कृषक समुदायको जीवनस्तर खस्कने छ । उद्योग व्यापारका लागि कच्चा पदार्थको अभाव हुनेछ भने सेवा प्रदायक व्यवसायीको ग्राहक संख्या कम हुनेछ । छोटकरीमा भन्नुपर्दा कृषि क्षेत्रमा घाटा लाग्नुका आर्थिक, सामाजिक, राजनैतिक र मानवीय असरहरु धेरै  हुन्छन। त्यसैले कृषि क्षेत्रलाई कुनेटामा राखेर विपदको व्यवस्थापन र सम्बृद्ध नेपालको कामना गर्नु दिवा स्वप्न मात्र हुनेछ । अहिले कोरोनाको कारण असर परेको क्षेत्र भनेर व्यापार, उद्योग, पर्यटन इत्यादि भनेर बारम्बार भनिने गरेको छ तर कृषि क्षेत्रको ख्याल फाट्ट फुट्ट मात्र गर्ने गरिएको छ । आवश्यक ध्यान र नीतिगत सम्बोधन नहुँदा अहिले हाम्रो कृषि क्षेत्रमा परिरहेका र पर्न लागेका असरहरु यसप्रकार छन –

  • पशुपालक कृषकहरुलाई पशु आहारको आपूर्तिमा व्यवधान आएको छ ।
  • कृषकहरुले आफ्ना उत्पादन बजार ल्याउन सक्नु भएको छैन अर्को तिर उपभोक्ताको आवश्यकता पूर्ति गर्न भारत  लगायतका देशहरुबाट कृषि उपज आयात गरिरहनु परेको छ ।
  • कृषि जमिन तथा घर भाडामा लिएका कृषकहरुलाई भाडा तिर्न समस्या देखिएको छ ।
  • आवत जावतमा अप्ठ्यारो हुँदा कृषकले आफ्नो खेतबारीमा जान र काम गर्न असुविधा भएको छ ।
  • नजिकिँदो मकै र धान खेतीकोलागि बिउको आपूर्ति कसरी गर्ने भनेर चिन्ता गर्न थाल्नु परेको छ ।
  • ऋण लिएर गरिएका कृषि व्यवसायहरुले ब्याज तथा किस्ता तर्न नसक्ने अवस्था आइलागेको छ ।
  • हरेक वर्ष मुख्य कृषि मौसममा हुने मलको अभाव यो बर्ष झन बढी हुने होकी भन्ने डर पलाउन थालेको छ ।
  • चिया, कुखुरा, पशु जस्ता श्रमिक बढी लाग्ने फार्महरुमा श्रमिकको अभावले उत्पादन डुब्ने जोखिम बढेको छ ।
  • यी र यस्तै अन्य समस्या हरुका कारण कृषकहरुमा आफ्नो पेशा प्रति नै आम नैराश्यता उत्पन्न हुन थालेको छ ।
  • गहुँ, मसुरो इत्यादि बालि भित्र्याउन ट्रयाक्टर,थ्रेसरहरुको आवश्यक पर्नेमा अहिले तिनीहरुको आवगमनलाई दुरुत्साहन गरिएको छ ।

यी समस्याहरुको निराकरण गरि कृषकहरुको आधारभूत आवश्यकताको सम्बोधन गर्न सरकार, नागरिक समाज र उपभोक्ताहरुले निम्न कुराहरु गर्नु गराउनु जरुरी छ –

  • कृषि उपजहरुको संकलन गरि बजार सम्म ढुवानी गर्न बिशेष गाडीहरुको व्यवस्था गर्नु पर्दछ, त्यसमा अनुमति प्राप्त संकलन टोलि रहनु पर्दछ र त्यो टोलीले सुरक्षित तबरले वडा वडाबाट उपज संकलन गरि नजिकको बजार या सदरमुकाम लगेर थोक तथा खुद्रा बिक्रेतालाई दिने व्यवस्था गर्नु पर्दछ। सहजताका लागि उत्पादनको कृषक मूल्य सबैमा यौटै राख्न पनि सकिन्छ ।
  • पशु पंक्षी हरुकालागी आवश्यक दाना, ढुटो, चोक्कर, भुस्सा इत्यादि ढुवानीलाई निर्बाध गराउनु पर्दछ ।
  • छिमेकीहरु मिलेर खेतबारीमा अर्म पर्म गर्नु पर्ने अवस्थाकालागी आबश्यक मास्क उपलब्ध गराउनु पर्दछ। साथ् साथै आपसी दुरी कायम तथा अनावश्यक चिज बस्तु नछोई कनै कसरी कृषि कर्म गर्न सकिन्छ, काम सकेपछी ति कृषि उपकरणहरुलाई कसरी सर सफाइ गर्नु उपयुक्त हुन्छ भन्ने जानकारी सार्बजनिक संचार माध्यमबाट निरन्तर दिनु पर्दछ ।
  • कृषकले आधारभूत आत्म सुरक्षा अपनाएर कृषि कर्मका लागि घर खेत आवत जवान गर्न पाउने व्यवस्था गर्नु पर्दछ । यो सुबिधाको दुरुपयोग नगर्न र आवश्यक आत्मसुरक्षा गर्न कृषकहरु पनि सचेत हुनुपर्दछ ।
  • कृषक तथा कृषि मजदुरहरुका लागि बिशेष परिचय पत्र को व्यवस्था गर्नु पर्दछ र उहाँहरु आफ्नो कार्य क्षेत्र आउन जान निर्बाध रुपमा गर्न पाउने व्यवस्था गर्नु पर्दछ ।
  • सडकमा कृषि उपकरणहरुको आवगमनलाई सहजीकरण गर्नु पर्दछ ।
  • यो बसन्त ऋतुमा आबश्यक बिउ बिजनहरुको माग अनुमान र तिनको खोजि गरि कमसेकम वडा कार्यालयबाट खरिद गर्न सक्ने ब्यवस्था गर्नु पर्दछ ।
  • यति हुँदा हुँदै पनि बिशेष बालि, स्थान वा अरु कुनै कारणले व्यवसायमा नकारात्मक असर पर्न जाने कृषकहरुको पहिचान गरि उनीहरुलाई प्रत्यक्ष राहत तथा भाडा एबम ब्याज छुट गराउन पहल गर्नु पर्दछ ।
  • चालु लक डाउनको अवधि मै पनि कम से कम १ अर्ब २० करोड मूल्य बराबरका ताजा तरकारी र यो भन्दा धेरै बढी दुग्ध उत्पादन बजार जान नपाएर खेर गइसकेको छ ।
  • किसानको यो घाटालाइ राहत मार्फत सम्बोधन गर्नु पर्दछ ।
  • उपभोक्ताहरुले बजारमा समान किन्दा सके सम्म नेपाली कृषि उपज नै किन्ने तत्परता देखाउनु पर्दछ ता कि कृषकहरुलाई बजार सहजता तथा आत्म सन्तुष्टि मिलोस ।
  • नागरिक समाजले आफ्ना बोलि, व्यवहार र कार्यक्रमहरु मार्फत कृषकहरुलाई प्रोत्साहित गर्ने र कृषकहरुलाई परेका समस्या खोजि खोजि तिनको समाधानका लागि बहु पक्षीय सहजीकरण गर्नु पर्दछ ।

यसो भएमा हाम्रो कृषि क्षेत्र जोगिनेछ, हामीले नियमित रुपमा स्वस्थ स्थानीय उत्पादन उपभोग गर्न पाउनेछौं, राज्यको कुल गार्हस्थ्य उत्पादन  बृद्धि हुनेछ, व्यापार घाटा कम भइ राज्य मजबुत हुनेछ अनि हाम्रो कोरोना जस्ता विपदहरुको सामना गर्ने क्षमता केहि हद सम्म भए पनि बढ्ने छ ।