खेतीले ल्याउने समृद्धि

खेतीले ल्याउने समृद्धि

बाबुकृष्ण कार्की।

मेरो बालापन मिश्रित निर्वाहमुखी खेती प्रणलीमा जीविकोपार्जन गर्ने कृषक परिवारमा बित्यो। मेरी आमाले आलु रोप्न सुइरे कोदालीले ठिक-ठाक बनाएको दुब्लो ड्यांगमा आलु, रायोको साग र मुलाको बीउ पुर-पार गरेर वस्तुको भोक व्यवस्थापन गर्न खरेन झरेपछि मेरी हजुरआमाले दही र झब्रुरी केराको पोषण खुवाएर आमाको पौरखमाथि आफ्ना रोजाईको बीउ थपथाप गर्न लगाउनु हुन्थ्यो।

| Advertisement |

Promotional banner

पाउना आउँदा चट्नी राखेर बेन्जनले सत्कार गर्ने रिकापीमा सम्फोको बीउ र जाडो याममा मकै भट्मास राख्न भनेर कुसुमे काकाले मेरो लागि बनाईदिएको धोक्रे खल्तीमा बकुल्ला सिमीको बीउ बोकेर दिदी र म करेसा बारी छिर्थ्यौँ।

आमाले हिसाब-किताब गरेर मिलाएको ड्याङको भविष्य, हजुरआमाको थपथाप नीतिले खेती बिग्रीन्छ भन्ने थाहा पाएर पनि हामी हजुरआमाकै पोषण स्किममा आज्ञाकारी हुन्थ्यौँ।

केरा र दहीको खुराकको हिस्सा आफ्नो भागमा बढी दावा गर्ने म, दिदीले बीउको हिस्सा आधा-आधा पारेर आ-आफ्नो मेलो छिटो सक्ने प्रस्ताव गर्दा म आफ्नो धोक्रे खल्तीको फाइदा उठाउँदै हजुरआमाले दिदीलाई बीउ रोप्न र आफूलाई बीउ बोक्न खटाएको दाबी गर्थेँ।

यता १०/१५ दिनदेखि आलु टुसाएको हेर्न प्रतिक्षारत् आमा आलुभन्दा पहिले रायो र मुलाको बिरुवासँगै आफूले नरोपेको सम्फो र बकुल्ला सिमीको टुसा देखेर अतालिनु हुन्थ्यो। आमाले हजुरआमाको चलखेल बुझेपछि भएभरको बीउ एउटै बारीमा किन छरेको भन्ने सोझो प्रश्न गरेमा हजुरआमाको सिधा जवाफ ‘रोपे पो फल्छ’ भन्ने हुन्थ्यो।

आमाले आलु, रायो र मुला फलाउने योजना, हामीले बिना योजना रोपेको बकुल्ला सिमी र सम्फोले हस्तक्षेप गरेर आलुको बोटलाई थला पारी दिन्थ्यो। परिणाम करेसाबारीमा २/४ छाक मिसमास गर्न पुग्ने बकुल्ला सिमी र मुला मात्र फल्थ्यो।

बुवाले कहिलेकाहीँ आमालाई भान्सामा शब्जी काट्कुट्मा सहयोग गर्दै गफिदा ‘बीउको पैसो समेत नउठ्ने, कस्तो खेती गरेकी?’ भनेर प्रश्न गरे आमाले हजुरआमासँगको हाम्रो सहकार्य नीतिको परिणाम हो भन्ने प्रष्टाउँदा बुबाले ‘हात नै अशुभ हो तेरो’ भनेर आमालाई चुप पारीदिनु हुन्थ्यो।

म कक्षा सात पढ्न विविध कारणले घर छाडेर जिल्ला सदरमुकाम तानसेनको जनता मावि अर्थात जेभिटीको नामले पाल्पामै परिचित स्कूलमा पुगे। त्यसपश्चात मेरो खेतीपातीसँगको प्रत्यक्ष सम्बन्ध लगभग सकियो र म आजकाल खाद्य उपभोत्तामा सिमित छु।

हाम्रो कक्षा ७ को पाठ्यक्रमा पूर्व-व्यवसायिक शिक्षा भन्ने ५० अंक भारको किताबमा कृषि ज्ञान, नगदे बाली र यसको आवश्यता, माटोको प्रकार, हावापानी र बोट-बिरुवा बीचको सम्बन्ध र प्रभावको साथमा पाक शिक्षाका सम्बन्धमा समेत बताइएको पाठ्यक्रम थियो। हप्तामा ३ पिरियड (४५ मीनेटको एक पिरियड) छुट्टाएकोमा दुई पिरियड किताब पढ्न र एक पिरियड करेसाबारीमा किसानी सिकाई तालिका हुन्थ्यो शकुन्ताला म्यामको।

एकै किताबमा बताएको खेती पद्धति, पाक शिक्षाको कक्षा फिउजन गरेर चलाउँदा छिनमै खेतीपातीमा सरिक हुने, छिनमै भिन्न-भिन्न स्वादको परिकार चाख्दै हिड्ने बाल-मनोविज्ञान तयार हुन्थ्यो कक्षामै। कहिलेकाहीँ पढ्दा-पढ्दै बाली फलेपछि आफ्नै पौरख टिपेर श्रीनगर डाँडामा वनभोज जाने र रमाइलो गर्ने सपना बाढेर उत्प्रेरित पार्नु हुन्थो म्याम।

भोलिपल्ट करेसाबारीमा प्र्याक्टिकल (सिकाई क्लास) चलाउनु छ भने गृहकार्यमा हरेकलाई एक-एक बीउ खोज्ने जिम्मा दिइएको हुन्थ्यो। हामी भोलिपल्ट बीउ बोकेर स्कूल जाँदा मनमा त्यस दिनको लागि विद्यार्थी कम र कृषक ज्यादा हुँ जस्तो लाग्थ्यो।

हामी सबै म्यामले निर्देश गरेअनुरुप करेसाबारीमा ३०/३० जनाको दरले पन्ध्र मिनेटको टाइम कार्ड लिएर छिर्थेउँ र आफूले ल्याएको भएभरको बीउ छिटोभन्दा छिटो रोपेर सक्ने प्रतिश्पर्धा गथ्यौँ। अझ स्पष्ट भन्दा बीउ माटोमा पोख्थ्यौँ। केही दिनपछि बीउ टुसाउँदा करेसाबारी घुम्तेखेती (एक बालीसँग अन्य बाली एकसाथ खेती गरिने पद्धति) जस्तो नभएर नर्सरी जस्तो देखिन्थ्यो।

अन्तत्यमा हामीले पाकशिक्षा सिक्न श्रीनगर डाँडो चढ्नु अघि शकुन्तला म्याम, पाले दाइलाई धोक्रो बोकाएर आलु, प्याज, लसुन, गाँजर, मुला छान्न सितलपाटी मोड धाउनु हुन्थो जुनबेला आफ्नो सिकाईलाई रोपेका बीउका कुपोषित बोटले म्यामलाई खुच्चिउ गरे जस्तो लाग्थ्यो। मेरो दिमागमा भने आलु नफल्दा बुवा खेतला डाकेर आलु खोज्न मावली गाउँ छिरेको याद ताजा हुन्थ्यो।

उष्ण प्रदेशीय हावापानी संरक्षित हाम्रो खेतिपातीमा वैशाख महिनाको वर्षा अत्यन्त स्वागत योग्य हुन्थ्यो। सात वर्षमा एक पटक फिर्ने कूलपुजा र एक बार चलेको एक्ली फुपुको विवाहमा समेत एक दिन स्कूल छाड्न स्विकृत नदिने बुवाले, मकै राप्ने वर्षा भएपछि हरेक वर्ष सानो भाइ समेत हामी तीनलाई स्कूल जान रोकी मकै छर्न बारी लैजानु हुन्थ्यो।

साथमा किताब बोक्ने आ-आफ्नो झोलामा दिदीले मकै, मैले बोडी सिमी र भाइले भट्मासको बीउ भरेर उहाँले जोतेको सियोमा बुवाको आदेशबमोजिम बीउ खसाउँदै हिन्थ्यौँ। अर्कातर्फ हामी हलगोरुको पछि-पछि बासँग बीउ रोप्दै हिड्दा आमाले बारीको बीच-बीचमा फर्सी लगायत अन्य लहरे तरकारीको बीउ छरेको भेटिनु हुन्थ्यो।

गाउँका अन्य छिमेकीहरुको मकै रोप्ने तौरतरिका पनि समान हुन्थ्यो। साउन-भदौको मनसुनी झरीले हुरी-बतासलाई खाडीमै छाडेर आफू एक्लो हाम्रो पाखो बारीमा प्रवेश गरे हामीले त्यो साल मकै र भटमासको बिक्री गरी सानोतिनो आर्थिक गर्जो टार्थेउँ त कहीलेकाहीँ झरीले हुरी-बतास लिएर खेतीमा बबन्डर मच्चाए बाले बोडी सिमी, फर्सी र घिरौला जस्ता लहरे तरकारीको भारी मकैलाई बोकाई दिनु गलत भएको पश्चताप गर्दै  खसी बेच्ने र खाद्यान्न जोहोको योजना बनाउनु हुन्थ्यो।

अन्य छिमेकीका घरमूली पनि बुवासँग मकैको बदला कति क्विन्टल चामल किन्ने भन्ने सल्लाह गर्थे र भारी लिन सँगै तानसेन जाने निश्चित गरेर घर र्फिथे। तर विडम्वना हाम्रो वस्तीमा सानो बोट हुने, हुरी बतासको सामना गर्ने र उत्पादन बढी दिने विभिन्न जातका मकैका बीउको लिष्ट बोकेर घुम्तेखेती पद्धतिको जोखिम सम्बन्धमा छलफल गर्न कोही जेटिए हाम्रो बाल्यकालमा कहिले घरमा आएनन्।

यहाँ मैले अर्थाउन चाहेको विषय, नेपाल सरकारले प्राथमिकतामा राखेको र बहुसंख्यक नेपाली आश्रित भएको कृषि क्षेत्रको विगत र वर्तमानको योजना, उद्देश्य र उपलब्धिसँग लक्षित छ। नेपालको मध्यपहाडी भेगको लागि मकै प्रमुख कृषि बाली हो भने नेपालमै पनि मकै बाली उत्पादनको हिसाबले गन्तिको दोस्रो प्रमुख पंक्तिमा पर्छ।

सामान्यतया चैत्र-वैशाख मध्यपहाडी भूगोलका वस्तीहरु मकै रोप्नमै व्यस्त हुन्छन्। किसानको छोरा भएको अनुभवले मकै रोप्नका लागि खनजोत, मलसँगै जल पनि अनिवार्य सर्त हो भन्ने सम्झना छ।

मगर समुदायको बाहुल्य भएको हाम्रो गाउँमा मकै रोप्नको लागि कुनै वर्ष वैशाख महिनाले आफ्नो आधा समय गुजार्दा समेत पानी परेन भने गाउँमा भेजा (मगर जातिको सांस्कृतिक संस्था)को बैठक डाँकेर रिब्दिकोटको कोटमा एक अबोध बोकाको जिन्दगीसँग वर्षाको लेनदेनको कसरत हुन्थ्यो। अझ पनि गरिन्छ।

यदि पाठो चढाएको हप्ता दिनसम्म पनि पानी नपरे विधि पुगेन वा बिटुलो पाठो चढेर भगवान फकिएनन् भन्ने मनोविज्ञानमा त्यसरी नै फेरि अर्को चोखो पाठोको खोजी सुरु हुन्छ। कुनै-कुनै वर्ष त कोटमा पाठो दिने र पानी माग्ने संघर्ष मनसुन सुरु नभएसम्म चलिरहन्छ। गत वर्ष खेती लगाउने समयमा घर जानै पर्ने परिस्थिति आइलाग्यो। घरमा मकै बाली लगाउने समयमै बुवा बिरामी पर्नु भयो।

हामीले उपचारका लागि काठमाण्डौ डाक्दा उहाँले सामान्य ज्वरो आएकोले पाँच छोराछोरी मध्ये जो कोही एक जना घर आए आफूलाई सहज हुने इच्छाउनु भो। पाँच दिनको छुट्टी लेखेर म घरमा जाने निश्चित भएपछि आमालाई काठमाण्डौँबाट केही ल्याउनु पर्छकी भनेर सोधेँ। प्रति उत्तरमा आमाले ‘तानसेनदेखि अन्य स्थानीय बजार सबै खोजी हिड्दा समेत कम्पेलेसर, यूरीया, डिएपी कुनै खाद मिलेन, आउँदा बुटबल छिरेर खाद बोकेर आउ’ भन्नु भयो।

बुटवल पुगेर खाद खोज्दै गर्दा बुवाले विकासे जातको मकै लगाएर यस पटक विचार गरी हेर्न अर्को जिनिस इच्छाएपछि मैले पोषिलो–१ नामको चार केजी मकैको बीउ लिष्टमा थपेसँगै घर पुग्ने समय अरु एक दिनले लम्बियो। बुटवलमै बास बसेको रात गाउँमा हल छोप्ने पानी परेकाले विलम्ब नगरी भोलिपल्ट पहिलो बस छोपेर सबेरै घरमा पुग्न बुवाको अर्को फोन आयो।

विगतका केही वर्ष जसरी यस वर्ष पनि रिब्दिकोटको कोटमा पाठोको भाकल नचढी वैशाखको पहिलो सातामै पानी वर्षिय पछि ८४ घर धुरीको गाउँ हर्षित भएर एक साथ मकै रोप्न जुटेको थियो। सबै घरको मूल पेशा कृषि भएको गाउँमा सात घरमा मात्र हल गोरु पालेको र घरमा हल गोरु नहुनेहरु गोरु पाल्नेहरुको उब्जनी नहुने खरिया बारीमा खनि खोस्री नसक्दासम्म राम भरोसामै बस्नु पर्ने।

मेरा बिरामी बुवा पनि दुई/तीन दिनभित्र हल गोरु नपाए बारी सुख्खा हुने र समयमै मकै लगाउन नपाउँदाको परिणाम सोचेर अस्थिर देखिनु भयो। मैले आफू सानो छदा मकै भट्मास राख्न जागेमा धोक्रे खल्ती बनाईदिने कुसुमे काकाको छोरा खिन्ते दाइलाई आफूले जगेडाको रुपमा सहर बाहिर जाँदा मात्र खल्ती भर्ने नोकिया-लुमिभा नामको मोबाइल उपहार दिएर बुवाको इच्छा मुताविक गत सिजनको मकै बाली रोप्ने प्रपञ्च मिलायको थिएँ।

बुवाले खिन्ते दाइले जोतेको सियोमा मकै रोप्ने भाग मेरो, एक दिनअघि भिजाएर राखेको भटमास बिरामी बा आफैँ र गाउँकै बोर्डिङ स्कूलमा तीन कक्षामा पढ्दै गरेको दाइको छोराको स्कूल रोकेर बोडी र सिमीको बीउको झोला थमाई दिनु भयो बुवाले। जसको परिणाम गत वर्ष दशैमा घरमा जादा बाले निकै खुसी हुँदै मकै बेचेरै वर्षभरीलाई पुग्ने चामल खरिद गर्ने योजना बताउनु भएको थियो मलाई।

यस वर्ष यतिबेला विश्वको आधा-आधी जनसंख्या कोरोना प्रकोपको कारण एकान्तबासमा छ जसको एक हिस्सा हामी नेपाली छौं। गत वर्ष जस्तै खेतीमा सहयोको अपेक्षा गर्नु हुने बुवा रिब्दिकोटमा पाठोको बिना बलि गत हप्ता वर्षात भएपछि उही खेतीपातीको हतासमा देखिनु भयो।

यो वर्ष मकैको बीउ खोज्न, खात किन्न, हल गोरु व्यवस्थापन गर्न र गत वर्ष जस्तो एक दिन अघि भिजाएर राखेको भटमास रोप्न, म बुवाको लागि सहयोगी हुन कसै गरेर पनि लकडाउनका कारण सकिन। दुःखसुखमा फकाई-फुलाई गर्दा घरमा सहयोग गर्ने, बारी खनजोत गरिदिने खिन्ते दाजु एक महिनादेखि दुबईको कुनै कम्पिनीको सेल्टरबाट स्वदेश फिर्ता आउने आशमा बसेका छन् रे।

पोहर साल बोडी सिमी रोपेर सहयोग गरेको दाइको छोरा गत वर्षदेखि नै सहरको बोर्डिङ स्कूल पढ्न बुटवल झरेको छ र उनीहरु पनि गाउँ फिर्ता जान सकेका छैनन्। पानी परेको हप्ता बित्दा समेत खेती लगाउन नसक्नु भएका बुढा बा-आमाले कुट्टोकोदालोको खनिखोस्रीको भरमा त्यही करेसाबारीमा सिमित खेती हेर्दै विचलित हुनुहुन्छ र यस वर्षको देशको खाद्यान्न आयात थप्ने कारक आफू पनि हुने कुराले चिन्तित हुनुहुन्छ।

यहाँ मैले अर्थाउन चाहेको विषय नेपाल सरकारले प्राथमिकतामा राखेको र बहुसंख्यक नेपाली आश्रित भएको कृषि क्षेत्रको विगत र वर्तमानको योजना, उद्देश्य र उपलब्धिसँग लक्षित छ। नेपालको मध्यपहाडी भेगको लागि मकै प्रमुख कृषिबाली हो भने नेपालमै पनि मकै बाली उत्पादनको हिसाबले गन्तिको दोस्रो प्रमुख पंक्तिमा पर्छ।

विगत केही वर्षयता सरकारले राजनैतिक परिवर्तनको समीक्षासँगै  आर्थिक परिर्वतनको सेरोफेरोमा बहस जारी राख्दा कृषि क्षेत्रको थोक प्रवर्द्धनले आर्थिक उन्नति र बेराजगारी समस्याको न्यूनिकरण गर्न टेवा पुग्नेमा एकमत राखेको पाइन्छ।

कृषिमा यान्त्रिककरण, बीउ विजन, मल तथा सिँचाईमा सहुलियत र अनुदानको व्यवस्था, किसानका लागि कृषि ज्ञान केन्द्र, बालीको उत्पादकत्व आधारमा बालीको पकेट क्षेत्र घोषणा, वैज्ञानिक भूमिसुधार जमीनको वर्गिकरण, कृषिमा, आधारित उद्योगलाई प्राथमिकता जस्ता अनेकौँ कार्यक्रमहरुको लामो सूची समावेश छ। यस वर्ष पनि वर्तमान संकट सुल्झिएपछि विगतका वर्षहरुमा जस्तै आर्थिक विकासको सपना बाढ्दै काठमाण्डौंमा योजना घोषण कार्यक्रम गरिने छन् र कृषिको महत्वलाई कुनै पनि नीति तथा कार्यक्रममा दोस्रो प्राथमिकता क्रममा राखिएको छैन।

सायद आगामी वर्षहरुमा पनि छुट्ने छैनन्। हरेकजसो कृषि सम्बन्धि कार्यक्रमका बेला हरेक वक्त्ताले यसरी भाषण गरीदिन्छन् कि मानौँ घोषणा गर्नुनै परिणम पाउनु हो। अनि म र हामी जस्ता युवा जमात कि त विदेशमा बसेर, कि त स्वदेशको कुनै सहरमा बसेर मोबाइल या पत्रपत्रिकामा घोषणा पढी-पढी कृषिमा साच्चिकै प्रगति थपिएको सपना देख्छौँ।

चालु आर्थिक वर्षमा विश्वव्यापी कोरोना महामारीको कारण पनि कृषि उत्पादन प्रभावित हुनसक्ने आँकलन गरिदैछ। विश्व स्वास्थ्य संगठनले पनि खाद्य संकट हुनसक्ने औलाईसकेको परिपेक्षमा खाद्य सुरक्षण योजना बनाउने र कार्यवन गर्न सकारले ढिला गर्न नहुने देखिसकेको छ। नेपालीहरुले मुख्य रोजगारिको गन्तव्यका रुपमा रहेका देशहरु पनि यस संकटबाट निकै प्रभावित भएका छन्।

जसको असर रोजगारीमा प्रत्यक्ष पर्नेछ भने वैदेशिक रोजगारीमा रहेको केही संख्या वैदेशिक श्रम बजारबाट फिर्ता हुन सक्ने देखिन्छ। अहिले देशमा लगभग ११ प्रतिशत बेरोजगार रहेको र निकट भविष्यमै विदेशबाट फिर्ता संख्यालाई समेत जोड्दा बेराजगारी दर वृद्धि भई १८ प्रतिशत पुग्ने आँकलन गर्न थालिएको छ। निसन्देह उक्त संख्याले पनि खाद्य मागलाई बढाउने नै छ। एकातर्फ माग बढ्ने छ भने अर्कोतर्फ लकडाउनका कारण कृषि उत्पादन समेत प्रभावित हुने देखिन्छ।

आयातमा र्निभर हाम्रो खाद्य आपूर्ति व्यवस्थाले कुनै पनि देशले आफ्नो उपभोग सन्तुलन पूरा नभएसम्म हाम्रो मागलाई प्राथमिकता दिने छैन भन्ने तथ्य बुझ्नु नितान्त आवश्क छ। जसको असर खाद्य संकटको रुप बनेर देखिन सक्छ। यसैले पनि कृषि तथा खाद्य उपभोगमा बढ्दै गएको देशको समग्र माग प्रभावित हुनसक्ने अत्याधिक सम्भावना हुँदाहुँदै नजर अन्दाज गर्दा अर्को संकट नथपिएला भन्न सकिदैन।

यदि सरकारले बनाएका कृषि योजनाहरु वास्तविक उपलब्धि ग्राहय हुन् भने देशमा उपलब्ध यो संसाधनलाई सदुपयोग गर्दै बेराजगारीका समस्या र खाद्य संकटको निराकरणका लागि तत्काल कदम चाल्नु आवश्यक छ।

साभार:https://www.setopati.com/