खेती गर्ने माहोल बन्दै छ, नीति त्यही अनुसार बनाउनु पर्दछ- शिवपुरी गाउँपालिका

खेती गर्ने माहोल बन्दै छ, नीति त्यही अनुसार बनाउनु पर्दछ- शिवपुरी गाउँपालिका

हाम्रो यस शिवपुरी गाउँपालिकामा कोरोनाको अवस्था सामान्य छ र बाहिरबाट आउनेहरु होम क्वारेनटाईनमा बस्नुभएको छ साथै वडाको समन्वयमा सबैजना सचेत छन् । हामीले एउटा क्वारेनटाईन बनाएका छौ तर अहिलै सम्म कसैलाई राख्नुपरेको छैन । कोरोना संक्रमितको लागि एम्बुलेन्सको व्यवस्था पनि गरेका छौ । राहतको लागि भनेर २० लाखको कोष खडा गरेका छौ जसको लागि प्रदेशबाट १० लाख प्राप्त भएको थियो भने अरु सहयोग संकलन गरेका हौं । गाउँपालिकाबाट कोरोना सचेतना सम्बन्धि सबै प्रचारप्रसार गर्नुपर्ने काम गरिरहेका छौ भने साबुन, सेनिटाइजर वितरण गर्नुका साथै सार्वजनिक स्थानहरु सेनिटाईज गरेका छौ । कोरोनाको कारण भएको बन्दाबन्दीका कारण गहुँ काट्ने काममा समस्या परेको छ र उत्पादित चिजहरु बजार पुर्याउन गाह्रो भएको छ । यो बाहेक तत्काल त्यति धेरै समस्या आइपरेको छैन तर कोरोनाको कारण बाहिरबाट आएको मानिसहरुले बाँझो रहेको जग्गाहरु हामी आफै कमाउछौ भनेका छन् । यसरी कृषि तर्फ सबैको आकर्षण बढेको बेला यसलाई निरन्तरता दिन सक्ने वातावरण बनाउन सकियो भने केहि परिवर्तन आउन सक्छ । नेपाल सरकारले कृषि क्षेत्रलाई अगाडि बढाउनको लागि बाहिरबाट गाऊँमा आएका मानिसहरुको भविष्य यसैमा बन्न सक्छ भन्ने हिसाबले प्रभावकारी ढंगले  कृषि र पशुजन्य नीतिनिमार्ण गर्न सकियो भने यो बेला केहि परिर्वतन आउँछ । कृषिको लागि छुट्याएको पैसा चलाएको छैनौ तसर्थ कृषिको कार्यक्रमले निरन्तरता पाउँछ । नयाँ बजेट पनि आउन थालिसक्यो, त्यसमा कृषि र पशुको लागि विशेष केन्द्रित हुनु एकदम जरुरी छ । केही गरेर यो संक्रमण बढ्यो  भने अन्य कार्यक्रम भन्दा बाच्ने र बचाउने कामलाई नै प्राथमिकतामा राखि काम गरिने छ ।

शिवपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापासँग सम्झना श्रेष्ठले गरेको कुराकारनीमा आधारित रिर्पोट