गोठमा बसेर मकै गोड्दै ‘नेपथ्य’ का रकस्टार

गोठमा बसेर मकै गोड्दै ‘नेपथ्य’ का रकस्टार

| Advertisement |

Promotional banner

कोरोना आतंक हुन्थेन भने अमृत गुरुङ जापानको फुकुओका र नागोयाकामा दुई कन्सर्ट सिध्याएर भर्खर त्रिभुवन विमानस्थल ओर्लिएका हुन्थे। त्यसपछि अमेरिकाको कन्सर्ट र नेपाल यात्राको तयारी अघि बढ्न सक्थ्यो। यी पछिल्ला कार्यक्रमको मिति तय हुन मात्र बाँकी थियो।

‘नेपथ्य ब्यान्ड’ का यी ‘फ्रन्ट म्यान’ मञ्चबाट भीडमा लहर फैलाउन र भीडबाट प्राप्त प्रतिक्रियालाई तत्कालै थप ऊर्जामा परिणत गर्न खप्पिस छन्।

यिनको कन्सर्टमा ढेस्सिएर नाच्ने, गाउने, चिच्याउने अनि उफ्रिने दर्शकको तरंगले सिंगो हल उत्तेजित हुन्छ। छाती ढक्क फुल्ने गरी राष्ट्रिय झन्डा फहरिएका हुन्छन्। हललाई जतिसुकै वातानुकूलित बनाए पनि मानिसहरूको शरीरबाट निस्कने बाफ रंगीचंगी बत्तीका उज्यालामा उडिरहेको देखिन्छ।

मञ्चबाट गाउँदा मात्र होइन, यिनले प्रत्येक वाक्य बोल्दा पनि दर्शकका ताली र आवाजले हलको तापक्रम झनै बढाइदिन्छ।

रक कन्सर्टको उचाइ हलभित्रका यस्तै तापक्रमले निर्धारण गर्ने हो भने ‘नेपथ्य’ नेपालकै ‘गरम ब्रान्ड’ हो। स्थापनाको २५ वर्ष मनाइसकेको ‘लिजेन्ड ब्यान्ड’ त हुँदै हो।

चाहे न्यूयोर्क होस् वा लन्डन, चाहे टोकियो होस् वा सिड्नी, यिनको जति सिक्का अरू कुनै नेपालीको जम्दैन।

यसबीच अचानक संसारले भीड अस्वीकार गर्ने समय सुरू भएको छ। यो कहिलेसम्म चल्छ, थाहा छैन। यस्तो बेला नेपाली ‘रकस्टार’ अमृत गुरुङ कहाँ होलान्?

उनलाई नजिकबाट चिन्नेहरू बाहेक अरूलाई अचम्म लाग्न सक्छ, अमृत यति बेला एउटा अनकन्टार पहाडी गोठमा छन्। उनको गोठ कास्की र स्याङ्जाको सीमावर्ती भेगमा पर्छ। यो गोठ अमृतले एक दशकयता सम्हाल्दै आएको दिवंगत हजुरआमाको नासो हो।

आफ्नो गोठमा अमृत गुरुङ। तस्बिर स्रोतः अमृत गुरुङ

 

पछिल्लो समय संगीतबाट बचेको उनको सम्पूर्ण समय यही गोठमा बित्छ। यदाकदा साथीहरू पोखरा पुग्दा उनी यही गोठमा स्वागत गर्छन् र ढुंगा छापेको सिँढी उक्लँदा-उक्लँदै छेउको लहराबाट केही पात टिप्छन्। त्यसरी टिपिएको पात ढोगेर छेवैको विशाल ढुंगामा राख्दै भन्छन्– ‘यी यस गोठका भूमे देउता हुन्।’

विश्वका ठूल्ठूला रकस्टार उभिएकै मञ्चमा आफूलाई प्रस्तुत गर्ने यी नेपाली ‘स्टार’ यो अनकन्टार गोठमा अति साधारण कृषकका रूपमा भेटिन्छन् भनिरहँदा पत्याउन गाह्रो पर्ला।

चाहे हलो जोत्ने मामिलामा होस् वा भारी बोक्ने, अमृत खप्पिस छन्।

‘तोरी सम्हाल्ने र मकै रोप्ने बेला भएको थियो,’ उनले भने, ‘त्यसैले लकडाउन सुरू हुनु चार दिनपहिले मात्र गोठमा आएको थिएँ।’

केही दिनका निम्ति भनेर आएका उनलाई अहिले गोठमै दुई महिना बितिसकेको देखेर अचम्म लागिरहेको छ।

हामी बारीकै कुरामा केन्द्रित भयौं।

‘दुर्भाग्य, यसपाला तोरी हुँदै भएन,’ उनले भने, ‘खेतबाट उठाउने भनेर तयार पारेकै बेला भीषण असिनाले भएभरको तोरी भुइँभरी सुताइदियो।’

उनले आँखैअगाडि बाली मासिएको दृश्य वर्णन गरे।

‘अब त तोरीको कुरा गर्न पनि मन लागिरहेको छैन,’ भन्न थाले, ‘त्यस्तरी छाती पोलेको छ।’

प्रकृति जति बलवान यो संसारमा केही छैन भनेर त्यहाँ पनि चित्त बुझाए।

त्यसपछि उनले माथि कालाबाङ गाउँको बारी र तल गोठमा एकसाथ खेत जोतेर मकै छर्न सुरू गरे। अमृतको पुर्ख्यौली गाउँ कालाबाङ गोठबाट आधा घन्टाको उकालोमा पर्छ।

‘सरकारले सबैथोक बन्द गर्नु भनेकाले लकडाउन बेला मकै छर्न पनि असाध्यै गाह्रो भएको थियो,’ उनले भने, ‘गाउँमा कति ठाउँ त पुलिस पनि आएछन्।’

छेवैको वनमा लागेको डडेलो निभाउन आएका प्रहरीको एउटा टुकडी अमृतको गोठमा पनि पसेको रहेछ। तै पनि उनले मकै रोप्न नछाड्ने अडान लिए।

‘मैले सुरक्षाको उपाय अपनाऊ, तर काम नरोक भनेर मकै छर्न लगाएँ,’ उनी भन्दै गए, ‘जस्तोसुकै परिस्थितिमा हामीले खेती छाड्नु हुँदैन। बाली बेलामै लगाउनुपर्छ। फलेन भने के खाएर बाँच्ने? प्रकृतिको नियम हामीले मान्नै पर्छ।’

यति बेला करिब १५ रोपनी खेतमा लगाइएको मकै कम्मर कम्मरसम्म आइसकेको छ।

‘रोप्न त टन्नै सकिन्थ्यो,’ उनी भन्छन्, ‘तर, बाँदरले हैरान पार्छ।’

आँखाले नदेखिने ठाउँमा मकै लगाए जंगलबाट आउने बाँदरको फौजले बारी नै सखाप पारिदिने डर हुँदोरहेछ। ‘मकैलाई दुम्सीले पनि उस्तै दुःख दिन्छ,’ उनी भन्छन्, ‘दुम्सीको बानी मकैको जरा खाएर सखाप पारिदिने।’

एक रातमा एउटा दुम्सी पसेको छ भने झन्डै एक रोपनीमा लगाएको बोटै सिध्याइदिँदो रहेछ।

‘मैले प्रशासनमा गएर धेरैपटक उजुरी पनि दिएको छु,’ उनी लाचारी प्रकट गर्छन्, ‘के गर्ने? यी वन्यजन्तु मार्न पनि नमिल्ने।’

एक वर्ष उनको गोठ कुरुवाले गाउँबाट शिकारी ल्याएर दुइटा ठूल्ठूला दुम्सी खाल्डामै पारेका थिए। ‘त्यो वर्ष दुम्सीको मासुको भोजै खाएका थिए रे,’ उनले रोचक पाराले भने, ‘म चाहिँ कन्सर्ट निम्ति विदेशतिर थिएँ।’

यसरी प्रकृतिदेखि जनावरसम्म सबैको बन्दोबस्त गरेरै खेती-किसानी चलिरहेको उनले सुनाए।

हामीबीच कुरा चलिरहँदा पनि उनी बारम्बार बारीतिर चिच्याइरहेका हुन्थे– ‘ए हेर, हेर…समात्… त्यसलाई समात्। मकै खान थाल्यो।’

अमृतका अनुसार उनको गोठमा बिहान साढे चार बजेदेखि नै चराहरूले गीत गाउन थाल्छन्। करिब छ बजेतिर उनी उठ्दा त्यो चिरबिर चर्कै भइसक्छ। त्यसपछि उनको नित्यक्रम सुरू हुन्छ।

‘यो ठाउँको नामै मूलपानी हो,’ उनले भने, ‘त्यो पानीको मूल मेरो गोठैमा छ।’

असाध्यै सफा अनि मुस्लो पानी बग्ने त्यो मूल नियन्त्रण गरेरै उनले ढुंगेधारादेखि लिएर रंगीचंगी माछाका पोखरीसम्म बनाएका छन्।

‘यो मूलमा वर्षैभरि पानी बगिरहन्छ,’ उनले भने, ‘सुख्खामा धारा अलि पातलो हुन्छ।’

यस्तो मूलको पानीमा सबभन्दा आनन्द खलल्ल नुहाउँदा आउँछ। हरियो डाँडाबीच छङछङ बगेको सफा र चिसो पानी।

नुहाइसकेपछि अमृत योग गर्छन्।

‘त्यसपछि कालो चिया पिउँछु,’ उनले भने, ‘चियासँग मकै, कोदो वा फापरको रोटी पनि हुन्छ।’

दिउँसो दुई बजेतिर मात्रै खाना खान्छन्।

‘दुई महिनायता दिउँसो एक छाक मात्रै खान्छु,’ उनले भने, ‘बेलुकी खाना खान्न।’

गोठबारीमा अमृत गुरुङ। तस्बिर स्रोतः अमृत गुरुङ

 

दैनिक डेढदेखि दुई घन्टासम्म हार्मोनियममा रियाज गर्छन्। उनले संगीत गुरू धनबहादुर गोपालीले दिएका रागहरू मोबाइलमा रेकर्ड गरेर राखेका छन्। त्यसैमा अभ्यास पनि गर्छन्।

‘बेलाबेला रियाज गरिरहँदा मभन्दा चर्को स्वरमा चराहरू कराउन थाल्छन्,’ उनी भनिरहेका थिए, ‘त्यस्तो बेला थामिन्छु र हाँसो सम्हाल्दै उनीहरूलाई नै सुन्छु अनि अलि मधुरो भएपछि फेरि सुरू गर्छु।’

उनी हरेक दिन दिउँसोपख उक्लेर माथि गाउँतिर पुग्छन्। कालाबाङमा पुर्ख्यौली घर छ, परम्परागत गुरुङ ढाँचाको।

गाउँभन्दा अझै माथि उक्लेपछि पहाडको चुचुरा आइपुग्छ, जहाँबाट सम्पूर्ण पोखरा र फेवाताल तल प्लेटमा सजाएर राखेजस्तो देखिन्छ। मौसम सफा भएको दिन उत्तरतिर लश्करै हिमाली श्रृंखला आँखैअगाडि उभिएका हुन्छन्। त्यही अद्भूत दृश्य देखिने पुर्ख्यौली जमिनमा यति बेला उनी नयाँ घर बनाइरहेका छन्।

‘बुढेसकालमा बस्न हो,’ उनी भन्छन्, ‘त्यहाँ संगीत अभ्यास र सानो जमघटसहित कन्सर्ट गर्ने हल पनि हुनेछ।’

यसरी दिउँसो केही क्षण आफ्नो घर निर्माणका काम नियाल्न उनी उक्लिन्छन् र बेलुकीपख फेरि गोठ झर्छन्।

‘गोठ बसाइको ५२ दिनपछि अस्ति पोखरा घर गएँ,’ उनले सुनाए, ‘आमा माथि नै मास्क लगाएर बस्नुभएको थियो।’ उनी तलै बसेर कुराकानी गरेछन्।

‘ऐंसेलू लगिदिएको थिएँ,’ भने, ‘साह्रै रमाइलो मान्नुभयो।’

गोठमा बस्दा दाह्री र जुँगा बढिसकेको थियो, ‘त्यो देखेर आमा रिसाउनुभयो। तुरुन्तै काटेँ। बल्ल चित्त बुझाउनुभयो।’

एकैछिन घर बसेर उनी गोठै फर्किए।

‘पोखराभन्दा १२ किलोमिटर मात्रै टाढा छ यो ठाउँ,’ उनले भने, ‘मलाई यतै आनन्द लाग्छ।’

यो लकडाउन बेला किताब पढ्ने जाँगर भने अलि कम भएको उनले सुनाए, ‘पढिरहँदा मन एकाग्र हुनै सकेन। थालिसकेका दुइटा जसोतसो सिध्याएँ।’

उनको गोठमा लहराएका मकै र विभिन्न तरकारीमध्ये काँक्रो खाने बेला भइसक्यो। धानको बीउ राख्ने काम पनि सकियो। अब बाँझो खन्न सुरू भएको उनले सुनाए, ‘यो महिनाको अन्त्यतिर रोपाइँ नै सुरू हुन्छ।’

अमृतले स्थानीय जातका गाई पनि पालेका छन्। गोरु र बहरहरू छन्। त्यसैगरी चारवटा ब्याउने भएका भैंसी छन्। एउटा राँगो छ। थुप्रै बाख्रा पनि। उनी गोठ आउँदा ५० जति खसी-बाख्रा थिए। अहिले २२ वटा मात्र छन्।

‘बाख्रा पाल्ने काम धेरै झन्झटिलो छ,’ उनी भन्छन्, ‘एक त गाउँमा भनेका बेला पशुका डाक्टर आइदिँदैनन्। त्यसमाथि सामान्य कुराका निम्ति पनि भरपर्ने जनशक्ति छैन।’

तालिम लिएका स्थानीय विद्यार्थीलाई केही दिनअघि उनले १० वटा खसी बनाउन लगाएका रहेछन्। ‘तीमध्ये दुइटा मात्र सफल भइदियो,’ उनले ग्रामीण किसानको दुखेसो सुनाए, ‘यस्ता थुप्रै समस्या हामीले झेलिरहेका छौं।’

उनको भनाइअनुसार कृषि कर्ममा अहिले परम्परा निर्वाह गर्ने काम मात्र भइरहेको छ। फाइदा ठ्याम्मै छैन।

‘मध्य पहाडमा हामीले जुन किसिमको प्रणाली अपनाइरहेका छौं,’ उनले थपे, ‘त्यो हिसाबले खेती गर्नुभन्दा बजारमा किनेरै खानुमा फाइदा छ।’

खेती-किसानी सुरू गरेपछि अमृतले यसबारे धेरै किताब पनि खोजी-खोजी पढेछन्। थुप्रै कृषिविज्ञसँग पनि भेटेका रहेछन्।

‘पढुन्जेल र विज्ञका कुरा सुनुन्जेल आनन्द लाग्छन्,’ उनले अनुभव सुनाए, ‘व्यवहारमा भने लागू नै नहुने।’

अहिलेकै कुरा गरौं न। उनलाई धानको बीउ राख्नु थियो। लकडाउन चलिरहेको छ। एउटा संस्थाले लगेर बीउ संकलन गरेको रहेछ।

‘तर, यहाँ गाउँमा त्यो बीउ कसरी ल्याउने। मलको त्यस्तै आपत छ,’ आफूले भने खेती सुरू गरेदेखि युरिया मल हाल्ने नगरेकाले उत्पादन असाध्यै कम हुने उनले जानकारी दिए।

‘मेरो हकमा मैले पाइरहेको सबभन्दा ठूलो स्वाद आत्मसन्तुष्टिको मात्रै हो। त्यसको मिठास बेग्लै हुन्छ,’ आफ्नो खेतमा फलेको अन्न भित्र्याउँदा जुन आनन्द आउँछ त्यो कुनै स्टोरमा गएर किन्दा कहिल्यै नआउने उनी सुनाउँछन्।

अमृतले यसरी कृषक जीवन बिताए पनि संसारले उनलाई चिन्ने संगीतबाटै हो। त्यसैले त्यतातिरको हुटहुटीले पनि उनलाई घच्घच्याइ रहन्छ।

‘साधनाको कामलाई निरन्तरता दिइरहेकै छु,’ उनी भन्छन्, ‘सिर्जना भने अहिले हुनै सकेको छैन।’

दुई-तीनवटा गीतमा पहिलेदेखि काम चलिरहेको थियो। तिनमा ‘ट्युनिङ’ सकिसकेका छन्। एउटा हुम्लाको चंखेली लेकमाथि बनेको गीत छ। अर्को इलामका कवि अर्जुन सापकोटाले उतिबेलै लेखेर दिएका थिए। वुहानमा कोरोना संक्रमण चर्केपछि सांघाईमा पढिरहेकी उनकी छोरी फर्केर आइन्।

‘छोरीले सुनाएको भोगाइले मेरो मन विचलित थियो,’ उनले भने, ‘विरही भावकै सापकोटाजीको गीतलाई त्यतिबेलै तयार पारेँ।’

अमृतले तयार पारेको तेश्रो गीत पनि कविकै हो, तुलसी ‘दिवस’को।

‘तिमी आँशु देऊ मलाई
म हाँसो लिएर के गरूँ
जब धर्ती छैन मेरो
म आकाश लिएर के गरूँ’

पछिल्लो समय अमृतले नयाँ गर्न खोजेको ‘होली गीत’ रहेछ।

‘गत फागुमा म मधेस पुगेको थिएँ,’ उनले भने, ‘त्यति बेला वीरगन्ज सहरका साथै वरपरका गाउँ पुगेर होली अनुभव गर्न पाएँ।’

मधेसका गाउँघरमा सामूहिक रूपले बसेर होलीका गीत गाउने चलन अझै छ।

‘जमघटमा सहभागी भएपछि मलाई पनि अब नेपथ्यको निम्ति होलीको एउटा गीत तयार पार्ने इच्छा छ,’ उनले भने, ‘त्यो भोजपुरी भाषाकै जगमा उभिएर सम्पूर्ण नेपाली श्रोताले गाउन र रमाउनसक्ने गरी बन्नेछ।’

 

धनगढीमा भएको कन्सर्ट बेला। तस्बिर स्रोतः नेपालय

उनका अनुसार मधेसतिरकै लोकगीत भएकाले त्यसमा धेरै मिहिनेत गर्नुपर्ने अवस्था छैन।

‘गीत मलाई खुबै मनपरेको छ। तर, भोजपुरी मेरो भाषा नभएकाले त्यसमा थप प्रयास गर्नुपर्ने अवस्था छ,’ मधेसबाट संकलित गीतले नेपथ्यलाई एउटा नयाँ मोड दिने विश्वास अमृतको छ।

‘अर्को वर्ष जब हामी सबै कोरोना त्रासबाट मुक्त हुन्छौं, त्यति बेला सम्भवतः होलीको त्यो देहाती लोकगीत नेपथ्यले गुन्जाउने छ।’

गोठमा बसिरहँदा अमृतले डेटा प्रयोग गरेर संगीत सुनिरहेका पनि छन्।

‘विशेषगरी अहिलेको परिस्थितिबीच संगीतकर्मीहरूले कसरी काम अघि बढाइरहेका छन् भन्नेमा मेरो रूचि छ,’ उनले भने, ‘अर्केष्ट्राहरूले मोजार्टका कम्पोजिसनलाई फरक-फरक स्थानमा बसेर एकसाथ बजाइरहेका रेकर्डले असाध्यै उत्साहित पारिरहेको छ।’

त्यसैगरी काठमाडौंकै केही संगीतकर्मीले बेग्लाबेग्लै स्थानमा बसेर एकसाथ बजाउने र गाउने काम गरेको उनले गोठमै बसेर मोबाइलमा हेरे। उनलाई चिन्ता भने रक कन्सर्टको लाग्छ।

अहिलेको परिस्थितिले मानिसलाई भीडमा जम्मा हुनै नमिल्ने बनाएको छ। भोलिका दिनमा पनि मानिसहरू दुरी बनाएर बस्न रूचाउने भयले उनलाई तर्साउँछ।

रक संगीतको सिर्जना त रोकिन्न। तर, मञ्चमा उभिँदा भीडबाट प्राप्त हुने ऊर्जा कसरी मिल्ला भन्ने चिन्ता लाग्छ।

‘संसार परिवर्तनशील भएकैले आजको अवस्थासम्म आइपुगेको हो,’ उनले आशा गर्ने ठाउँ देखाए, ‘भोलि पनि अनुकूलता खोज्दै यो परिवर्तन हुन्छ नै।’

परिस्थितिबाट डराएर बस्नु उनलाई बेकार लाग्छ, ‘हामी सामाजिक प्राणी हौं। सधैंभरि यसरी एक्लाएक्लै त बाँच्नै सक्दैनौं।’

उनका अनुसार जसरी संगीत सिर्जना रोकिँदैन, त्यसैगरी मानिस जम्मा हुने विभिन्न विकल्प पक्कै खोजी हुनेछन्। ढिलोचाँडोको कुरा मात्रै हो।

‘अन्य कन्सर्टजस्तै रक कन्सर्ट पनि अनलाइनबाटै हुन नसक्ने भन्ने छैन,’ उनले भने, ‘अहिले सबैलाई जस्तै मलाई पनि यसबारे जिज्ञासा मात्रै छ।’

त्यो जिज्ञासा भनेको कन्सर्ट बेला दर्शक र कलाकारबीच अन्तर्क्रिया कसरी जीवन्त पार्न सकिएला भन्ने नै हो।

‘हाम्रो जीवनकालमा प्रविधिले धेरै विकल्प दिएको छ,’ उनले भने, ‘यसलाई पनि सम्भव पारिदिन सक्ने कुनै उपाय पक्कै निस्केला।’

तत्कालै त नहोला, तर केही समय वा वर्षभित्रै रक कन्सर्ट भएरै छाड्छ भन्ने उनलाई दह्रो विश्वास छ।

‘कन्सर्ट स्थान अलि फराकिलो चाहिन सक्छ। ठाउँको बन्दोबस्त फेरिन सक्छ। एकआपसमा दुरी कायम गरेर बस्नुपर्ने हुनसक्छ। या नहुन पनि सक्छ। भोलिको कसलाई थाहा?’ उनी हाँस्न थाले।

केही वर्षपहिले ‘बर्ड फ्लू’ आएर चराको विनाशै भएको उनले सम्झे।

‘त्यो बेला यो गोठमै पनि मैले थोरै चरा देखेको थिएँ। हिजोआज फेरि धेरै चरा गीत गाउन थालिसकेका छन्।’ यसले पनि श्रृष्टि र सिर्जना पृथ्वीमा रोकिँदैन रहेछन् भन्ने उनलाई विश्वास भएको छ।

‘यी चरा हेरेरै भन्न सक्छु, कुनै न कुनै रूपले समय फेरि आउनेछ र म मञ्चमा भीड सामुन्ने उभिनेछु। फेरि रक कन्सर्टको निम्ति तयार छु,’ उनले भने।

जे जस्तो परिस्थितिमा पनि संसार आफ्नै गतिमा अघि बढ्नेछ भन्नेमा अमृत ढुक्क छन्।

 

अस्ट्रेलियाको सिड्नीमा कन्सर्ट बेला। तस्बिर स्रोतः नेपालय

साभार: https://www.setopati.com