च्याउ किसान र व्यवसायीलाई नोक्सान नहुने अचुक सुत्र -सुमन महर्जन

च्याउ किसान र व्यवसायीलाई नोक्सान नहुने अचुक सुत्र -सुमन महर्जन

चीनको हुवे प्रान्तमा गत जनवरी १० तारिखमा देखिएको कोभिड—१९ कोरोना भाइरस आज विश्वको २०० भन्दा पनि बढी देशमा फैलिएर ६० हजार भन्दा बढीको मृत्यु भइसकेको भयावह स्थिति छ । कोरोना भाइरसको संक्रमण सुरु भएको करिब ३ महिना पुग्दा पनि नियन्त्रण भन्दा संक्रमणको संख्या दिनानुदिन बढी रहेको अवस्थामा नेपाल सरकारले पनि गत चैत्र १० गते देखि शुरु गरिएको लकडाउन कहिले सम्म लम्बिने हो यसै भन्न सकिने अवस्था छैन ।
सहज रुपमा बुझ्दा असजताको समयावधि अझै लम्बिने निश्चित प्राय: छ । मानौंं लकडाउन नलम्बिए पनि यसले पारेको आर्थिक व्यवसायिक प्रभावबाट हामी लामो समयसम्म पिडित हुने कुरामा दुइमत नहोला ।
यसै सन्दर्भमा नेपालको च्याउ किसान र व्यवसायीहरुलाई विद्यमान वर्तमान संकटको घडीमा उत्पादित च्याउको कसरी व्यवस्थापन गर्ने र आगामी दिनहरुमा आफ्नो व्यवसायमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरामा केही छलफल अघि सार्ने प्रयत्न गरेको छु ।
च्याउ उत्पादक किसानहरु गत मंसिर महिना देखि नै पिडित थियो । प्रत्येक वर्ष कुनै न कुनै समयमा च्याउ किसानहरु छोटो समयको लागि पिडित रहेता पनि केही समय पछि पुनः लयमा फर्किन्थ्यो भने यस वर्ष लामो समयबाट पिडित भैरहेको बेलामा कोभिड—१९, कोरोना भाइरसको कारण नेपाल भरी गरिएको लकडाउनले गर्दा पुन: एक पटक च्याउ किसानहरु नराम्ररी थचारिएको छ ।
आज मानव सभ्यता नै संकटमा आइपुगेको बेला आफ्नो व्यवसाय भन्दा मानव जीवनको रक्षा गर्नु नै हामी सबैको प्रमुख कर्तव्य र दायित्व हो । यो संवेदनशील घडीमा व्यवसायिक घाटा वा व्यक्तिगत क्षतिको मूल्याङ्कन किमार्थ गरिनु हुदैन । भाइरस संक्रमण कुनै सामान्य परिघटना होइन । यो व्यक्तिको सुरक्षाको सवालमात्र नभइकन आफू, आफ्नो परिवार, टोल छिमेक, गाउं शहर र पुरै देश र विश्वको रक्षाको कुरा हो । विश्वभरि कोभिड-१९ विरुद्ध लड्नको लागि शुरु गरिएको सामाजिक दुरी कायम गर्ने अभियान अन्तर्गत गरिएको लकडाउन लाई पूर्ण रुपमा सफल बनाउने तर्फ इमान्दारीता साथ लाग्नु नै अहिलेको बुद्धिमत्ता हो । च्याउ किसान लगायत समस्त व्यवसायी आज संकटमा छन् । जीवन रहे व्यवसाय रहने सैद्धान्तिक आत्म विश्वास त छदैछ तर व्यवहारिक रुपमा टहरा भित्र लटरम्म फलिरहेको च्याउको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या र जीवन रक्षा पश्चात जीवन निर्वाहमा आइपर्ने कठीनाई विरुद्ध के गर्ने, कसरी अगाडी बढ्ने भन्ने सवाललाई नजरअन्दाज गर्न सकिदैन । आजको यस छोटो छलफलमा यिनै च्याउ किसान, व्यवसायी र उपभोक्तासंग सम्बन्धित च्याउ र च्याउ व्यवसायको उचित व्यवस्थापन सम्बन्धमा केही कुराहरु राख्ने कोशिश गरेेेेको छु ।
ताजा च्याउको विक्री वितरणको सवालमा

ताजा च्याउ विक्री वितरणको सवालमा नेपाल सरकारले निर्देशन जारी गरे बमोजिम सुरक्षा निकाय र स्थानिय सरकारसंगको समन्वय र समझदारीमा तोकेको क्षेत्रभित्र सुरक्षित तरिकाबाट च्याउको विक्री वितरणको व्यवस्था गर्ने गराउने नै अहिलेको उत्तम बिकल्प हो । तर वर्तमान समयमा सबै च्याउ किसान र व्यवसायीहरुले माथि उल्लेखित ढंगवाट सहज र सुरक्षित तरिकाबाट च्याउको विक्री र वितरण गर्नु सम्भव नहुन सक्छ । विक्री वितरण कार्य अगाडी बढाउदा पनि सबै ताजा च्याउको विक्री वितरण हुन्छ नै भन्ने पनि छैन । यस्तो अवस्थामा बजारीकरण गर्न नसकिने वा वाँकी हुन आउने ताजा च्याउलाई व्यवस्थापन गर्नु अति जरुरी छ । यसको लागि सरल तरिका बाट उत्पादित ताजा च्याउको व्यवस्थापन सम्बन्धमा निम्न अनुसार गर्न गराउन सकिन्छ ।

ताजा बिक्री गर्न नसके च्याउको सुकुटी बनाउने

अहिलेको खुल्ला आकाश र घाम लागको दिन च्याउको सुकुटी बनाउन ज्यादै उपयुक्त छ । च्याउलाई राम्रोसंग सफा गरेर धेरै सानो टुक्रा नगरिकन च्याउलाई चिरेर घाममा सुकाउने । घाममा सुकाउँदा सकभर कालो प्लाष्टिक वा गुन्द्री वा कुनै सफा ठाउँमा सुकाउन सकिन्छ ।

  • सिताके च्याउ सुकुटी बनाउने हो भने च्याउलाई चिर्नु पर्दैन । तर च्याउ फक्रनुभन्दा पलिले नै टिपेको हुनुपर्दछ ।
  • सुकेको च्याउलाई तुरुन्तै हावा नछिर्ने प्लाष्टिक व्यागमा प्याक गर्ने ।
  • वजन सकभर कम हुने गरि ५० ग्राम वा १०० ग्राम वा बढीमा २०० ग्राम सम्मको पाकेट बनाउने ।
  • प्याक गर्दा ग्रेडिङ गर्ने, सानो मसिनो वा वाँकी हुन आउने च्याउको टुक्रा अलग्गै राख्ने ।
  • च्याउको सुकुटी एक वर्ष सम्म खान सकिन्छ ।
  • च्याउको सुकुटी बनाउदा १० किलो ताजा च्याउको लगभग १ किलो सुकुटी मात्र बन्छ । पछि च्याउको सुकुटीको मूल्य निर्धारण पनि सोही बमोजिम गर्ने ।

च्याउको सुकुटीको बजारीकरण तथा प्रयोग विधि

विश्वमा च्याउको सुकुटी खाने चलन ज्यादै छ । नेपालमा पनि विभिन्न हरियो तरकारीलाई सुकुटी बनाएर खाने चलन पहिल्यै देखि नै छ ।च्याउको सुकुटी पनि अन्य सागपात तरकारीको सुकुटी जस्तै कुनै पनि बेला कुनै पनि अन्य चीजसँग मिसाएर खान सकिन्छ । सुकुटी प्रयोग गर्नु पूर्व तातो पानीमा भिजाउनु पर्छ । विशेष गरि च्याउको सुकुटी विभिन्न पार्टी भोज भतेरमा स्न्याकको रुपमा बनाउनु ताजा च्याउ भन्दा उपयुक्त छ । च्याउको सुकुटीलाई तेलमा भुटेर सादेर पनि खान सकिन्छ । च्याउको सुकुटी गेडागुडीसँग मिसाएर खानु धेरै स्वादिष्ट हुन्छ ।

च्याउको पाउडर बनाउने विधि

| Advertisement |

Promotional banner

च्याउको पाउडर पाउचमा

च्याउको पाउडर बनाउने विधि धेरै सरल छ । सुकेको च्याउलाई पिसेर च्याउको पाउडर बनाउन सकिन्छ । सुकेको च्याउलाई पाउडर बनाउनु भन्दा पहिले थोरै तेलमा भुतेर पाउडर बनाउदा धेरै समयसम्म भण्डारण गर्न सकिन्छ । सुकुटी बनाउदा आएको सानो मसिना टुक्रा भएको च्याउ वा सबै सुकुटीलाई सफा गरि पाउडर बनाई प्याक गरि राख्ने । यसरी सुकुटी वा पाउडर बनाएर राखेको पाकेटलाई सुख्खा ठाउँमा भण्डारण गरि राख्ने । च्याउको सुकुटी वा पाउडर एक वर्ष सम्म खान सकिन्छ । च्याउको सुकुटी १० किलो बराबर लगभग १ किलो मात्र बन्ने र पछि पिसेर पाउडर बनाउनु पर्ने भएकोले त्यही लागत अनुसार मूल्य निर्धारण गरि बजारीकरण गर्ने ।

च्याउको पाउडर प्रयोग विधि

विश्वमा च्याउको पाउडरको प्रयोग पनि निकै धेरै छ । च्याउको सुप बनाउको लागि यो पाउडर ज्यादै नै उपयुक्त छ । च्याउको पाउडर कुनै पनि तरकारी, दाल वा कुनै पनि अचार बनाउने क्रममा एक चम्चा वा आवश्यक मात्रामा मिसाउदा कुनै पनि खाना वा अचारको स्वाद निकै बढ्नुका साथै खानामा प्रयाप्त मात्रामा पौष्टिक तत्व पनि प्रदान गर्ने गर्दछ । च्याउ पाउडरको प्रयोग निकै नै लाभदायक हुने भएकोले नेपाली बजारमा पनि सजिलै खपत हुनेछ । यसलाई पाउचमा प्याक गरेर बेच्नु पर्ने हुन्छ । यस्ता तयारी प्लाष्टिकको पाउच बजारमा किन्न पाईन्छ ।

च्याउको अचार बनाउने विधि

च्याउको अचार

च्याउको अचार बनाएर पनि लामो समयसम्म भण्डारण गरि अनुकुल समयमा बजारीकरण गर्न सकिन्छ ।च्याउको अचार बनाउनको लागि आवश्यक सामाग्रीहरु १ के.जी. ताजा च्याउ बरावर सेतो तील १०० ग्राम, कागतीको रस २ चम्चा वा भेनेगर वा लामो समय सम्म भण्डारणको लागि सोडियम बेनज्वाइड, खुर्सानीको धूलो १ चम्चा, वेसारको धूलो १ चम्चा, तोरीको तेल ६० मि.लि., मेठी १० ग्राम हरियो खुर्सानी २५ ग्राम र नून स्वाद अनुसार व्यवस्थापन गर्ने । शुरुमा ताजा च्याउलाई उसिन्ने र पानी टर्काउने, त्यस पछि अनुकुल साइजमा टुक्रा पार्ने । तीललाई भुटेर पिस्ने, मेठीलाई तेलमा झान्ने, त्यसपछि माथि उल्लेखित सबै सामाग्री संग सबै मिसाउने । यसरी सबै सामाग्री मिसाइ सके पछि प्लाष्टिक व्याग वा शिशी वा प्लाष्टिक बोटलमा प्याक गरि हावा नछिर्ने गरि बन्द गरि राख्ने । यसरी तयार गरिएको च्याउको अचारलाई अनुकुल समयमा बजारीकरण गर्ने ।

च्याउको गुन्द्रुक बनाउने विधि

च्याउको गुन्द्रुक प्याक

नेपाली राष्ट्रिय खाना गुन्द्रुक च्यादै लोकप्रिय छ । विभिन्न हरियो सागपातलाई गलाई (Fermentation) गुन्द्रुक बनाइन्छ । गुन्द्रकको विशेषता नै अमिलोपन हो । तर च्याउ आफैमा अमिलोपन नभएको खाद्य पदार्थ भएको हुनाले यसको लागि अन्य कुनै हरियो सागपातसंग मिसाएर गलाउनु (Fermentation) पर्दछ । जसले गर्दा च्याउको गुणस्तरिय गुन्द्रुक तयार हुन्छ । च्याउको गुन्द्रुक बनाउनको लागि सबैभन्दा उपयुक्त काउलीको पात हो । काउलीको पात २५ प्रतिशत र सफा गरि चिरेको ताजा च्याउ ७५ प्रतिशत मिसाएर आवश्यक पानी सहित प्लाष्टिक झोला, ड्रम वा माटोको भाडोमा कोच्याएर बन्द गरि करिव १० दिन देखि १४ दिन सम्म राख्ने । त्यसपछि निकाले पानी तर्काएर च्याउ र काउलीको पात छुट्याउने र घाममा सुकाउने । यसरी सुकाएको च्याउको गुन्द्रुक हावा नछिर्ने प्लाष्टिक व्याग वा शिशीमा बन्द गरि राख्ने । च्याउको गुन्द्रुक पनि निकै स्वादिलो र अन्य गुन्द्रुकको तुलनामा पौष्टिक तत्वपनि बढी हुने भएको र लामो समयसम्म भण्डारण तथा अनुकुल समयमा बजारीकरण गर्न सकिने भएको हुनाले यो विधि अपनाएर पनि उत्पादित ताजा च्याउको सदुपयोग गर्न सकिन्छ ।

माथि उल्लेखित च्याउको मूल्य श्रृंखला (Value Chain) अन्तर्गत विभिन्न चीजहरु बनाएर विद्यमान समयमा भएको ताजा च्याउको बजारीकरणको समस्यालाई धेरै हदसम्म समाधान गर्न सकिन्छ । साथै माथि उल्लेखित च्याउको सुकुटी बनाउन कन्ये च्याउ, सिताके च्याउ ज्यादै नै उपयुक्त हुन्छ भने गोव्रे च्याउलाई सकुटी बनाएर बजारिकरण गर्न सकिदैन । गोव्रे च्याउको हकमा अचार वा क्यानिङ वा पाउडर बनाउन सकिन्छ । विश्वमा सबै भन्दा गुणस्तरिय सुकुटी सिताके च्याउ र त्यस पछि कन्ये च्याउ प्रचलनमा छ ।

विश्वमा च्याउको उत्पादन, उपभोग ज्यादै नै उल्लेखनिय रुपमा हुने गर्दछ । साथै विभिन्न प्रजातिका च्याउको विभिन्न By Product बनाएर बजारीकरण गरेको पाइन्छ । नेपालमा च्याउको Post Harvest प्रविधि भित्रीनसकेको हुनाले च्याउ किसानहरुलाई एक हिसावले जोखिम बढिरहेको अवस्था हो । तर पनि हामी यस व्यवसायमा लागेका सम्पूर्ण किसानहरुले आफ्नै मौलिक ढंगले च्याउको By Product लाई अगाडी बढाउन सकिने अवसर पनि छ । कुनै पनि समस्या नै आफ्नो व्यवसायलाई अगाडी बढाउने एउटा महत्वपूर्ण अवसर पनि हुने भएकोले वर्तमात प्रतिकूल परिस्थितिमा पनि कोही पनि किसान तथा व्यवसायी साथीहरुलाई हतोत्साहित नहुन आग्रह गर्न चाहन्छु । हरेक  रात पछि सुनौलौ दिनको आगमन पनि अवश्य आउँछ । प्रतिक्षा गरौं । आफ्नौ लगनशीलता र मिहेनतलाई क्रियाशील बनाइराखौं ।

लेखक च्याउ अनुसन्धान तथा तालिम केन्द्र का निर्देशक र मस नेपाल प्रा.लि. का संस्थापक हुनुहुन्छ । च्याउ उत्पादनका लागि आवश्यक तालिम, बीउ लगायतका लागि लेखकलाई ९८५१०३३८९८ मा सम्पर्क गर्न सक्नु हुुन्छ ।