जानौ रातो खपटे किरा को बारेमा (Red Pumpkin Beetle)

जानौ रातो खपटे किरा को बारेमा (Red Pumpkin Beetle)

| Advertisement |

Promotional banner

सोनिका परियार कृषि स्नातक तह, चौथो सत्रान्त, त्रीभुवन विश्वविद्यालय, कृ. प. वि. अ. सं., रामपुर क्याम्पस, चितवन

लहरेबाली समुहको बालीहरुमा काक्रो, फर्सी, लौका, घिरौला, तितेकरेला, चिचिन्डो, परबल आदि पर्दछन् । यी बालीमा लाग्ने विभिन्न किराहरु जस्तै औसा किरा(fruit fly), जुकाजस्तो लार्भा (Semilooper), पारदर्शी पखेटा भएको पुतली (Clear-wing Moth), फेद काट्ने किरा (Cutworm), फर्सीका खपटेहरु(Pumpkin Beetles) प्रमुख हुन्। फर्सीका खपटे किरामा रातो खपटे (Red Pumpkin beetle), निलो खपटे (Blue Pumpkin beetle), खैरो खपटे (Grey Pumpkin beetle) आदि पर्दछन्। तीमध्ये पनि रातो खापटे किराले बालीलाई बढी हानी पुर्‍याउने गर्दछ।

परिचय  (Introduction)

रातो खपटे किरा (Raphidopalpa foveicollis), क्राइसोमेलिडे (Chrysomelidae) परिवारको खपटे (Beetles) समुहमा पर्दछ। चम्किलो रातो रङ्गले रातो खपटे किरालाई अरु खपटे किराबाट छुट्टाउन सकिन्छ। वयस्क किराको माथिल्लो (Dorsal) भाग चम्किलो सुन्तले रङ्गको हुन्छ भने तल्लो भाग (Ventral side) कालो रङ्गको हुन्छ। यसको लम्बाई करिब ५-८ मि.मि र चौडाई ३.५-३.७५ मि.मि हुन्छ। किराको पेटको पछाडितिर नरम सेतो रौं हुन्छ ।

जीवनचक्र (Life cycle)

यस किराको जीवनचक्र चार चरणमा क्रमश: फुल (Egg) – लार्भा (Larva) – प्युपा (Pupa) – वयस्क (adult)मा पूरा हुन्छ । लार्भा र वयस्क दुवैले बालीलाई असर पार्ने गर्दछन्। वयस्क पोथीले बिरुवाको छेउछाउ, नरम ओसिलो माटोमा १५० देखि ३०० वटासम्म फुल पार्ने गर्दछ। फुल पहेंलो र लाम्चा खालको हुन्छ जुन अलग-अलग वा थुप्रो – थुप्रो बनाई माटोमा बस्ने गर्दछन्। फुल पारेको ५-८ दिनमा मसिना लार्भाहरु निस्किन्छन् जसले बिरुवाको जरा छेडी भित्र पसेर खान थाल्दछन्। लार्भाले ४ पटक काचुली फेरेर १३ देखि २५ दिनमा पुर्ण रूपले विकसित भई, जराबाट निस्किर माटोको अलिक तल गई पानी नर्छिने माटोको खोल (Waterproof cocoon) बनाएर त्यसभित्र अचल (Pupa) अवस्थामा जान्छ। अचल अवस्था यो ७-१७ दिनसम्म रहन्छ र त्यसपछि वयस्क अवस्थामा प्रवेश गर्दछ। यसको एक पुस्ता पूरा हुन २५-५० दिन लाग्दछ भने १ वर्षमा ५-८ पुस्ता निस्कन्छन्। यो किरा फागुनदेखि असोजसम्म लाग्दछन् तर प्रकोप भने फागुनदेखि जेष्ठसम्म बढि भएको देखिन्छ। यो किराको वयस्क अवस्था जाडोभरी बाच्न सक्छ ।

 

बाली क्षतीको अवस्था (Status of Crop Damage)

रातो खपटे, पोलिफेगस (polyphagous) अर्थात् धेरै प्रजातिका विरुवालाई क्षति पुर्याउन सक्ने किरा हो र यसले उल्लेख्य मात्रामा लहरेबालीहरुको उत्पादन ह्रास निम्त्याउँदछ। वयस्क खपटेले पातलाई अत्याधिक मात्रामा (voraciously) खान्छ र पातमा विभिन्न अनियमित आकारका प्वालहरु बनाउँछ। यसले कलिला पातहरु रुचाउछ जस्ले गर्दा बिरुवालाई हुर्कन गाह्रो हुन्छ। कलिला पात मात्र नभएर यसले पूर्ण रूपमा विकास भैसकेको बिरुवाको पातलाई खुर्केर, त्यसको हरित कण (chorophyll) लाई नाश गरि पातलाइ जाली जस्तो अाकृति बनादिन्छ | पातको साथसाथै यसले कोपिला, फुल र फललाई पनि नाश गर्दछ। कोपिला नाश हुनाले फलको उत्पादनमा प्रत्यक्ष हानि गर्दछ। यस किराले वयस्क अवस्थामा मात्र नभई लार्भाले पनि माटो नजिकको पात र फल खाने गर्दछ।

नियन्त्रण विधिहरु (Control Methods)

१. बाली लगाउनु अघि गहिरो जोताई गर्नाले माटोमा बस्ने फुल, लार्भा र पुपालाई सुर्यको किरण र चराहरुले नाश गर्न सक्छन् |

२. यस किराको लार्भा जमिनको सतहभन्दा मुनी बस्ने भएकालेे समय समयमा गोडमेल गरिरहनु पर्दछ।

३. बिहान उठेर यस किराको संकलन नेट वा हातले गरेर मटीतेलमा डुबाएर नष्ट गर्न सकिन्छ ।

४. यसको जैविक नियन्त्रणका रूपमा विभेरिया बेसियाना (Beauveria bassiana) र मेटाराईजियम एनिसोफिले (Metarhizium anisopliae) को प्रयोग गर्न सकिन्छ र यसको प्राकृतिक शत्रुहरुमा(natural enemies) टेकिनिड फ्लाई (Tachinid fly), रेडुविभिड पतेरो (Reduviid bug) र ट्राइकोग्रामा (Trichogramma spp. ; egg parasitoids) को प्रयोग पनि गर्न सकिन्छ ।

५. मालाथियन (Malathion) वा साइपरमेथ्रिन (Cypermethrin) समुहको बिषादी २ मि.लि प्रती लिटर पानीमा मिसाई बिरुवामा छर्न सकिन्छ।

६. यस किराले माटोमा फूल पार्ने र लार्भाले माटो मुनी जरा नोक्सानी गर्ने हुँदा २-४ पाते अवस्थामा कार्बोफ्युरान (Carbofuran) १ ग्रामको दरले बोटको मुन्तिर माटोमा राखी हल्का सिचाइ गरेमा फुल र लार्भालाई नष्ट गर्न सकिन्छ ।