तीन कृषि फार्मले गरे असल कृषि अभ्यासको सुरूआत

तीन कृषि फार्मले गरे असल कृषि अभ्यासको सुरूआत

| Advertisement |

Promotional banner

ललितपुरका विभिन्न ठाउँमा हप्तामा एकपटक हाटबजार लाग्छ।

आइतबार यल्लो हाउसमा, मङ्गलबार भनी मण्डलमा तथा शनिबार अगेनाे, कुमारीपाटी, जावलाखेल र पुल्चोक हाट बजार लाग्ने ठाउँ हुन्।

हस्तकलाका सामाग्री, परम्परागत खानेकुरा मात्रै नभएर तरकारी तथा फलफूल पनि हाट बजारमा पाइन्छ। त्यहाँ पाइने तरकारीको बाहिरपट्टि लेखिएको हुन्छ ‘नेपाल ग्याप’।

अहिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आलीदेखि थालीसम्म गुणस्तरीय तरकारी उत्पादन गर्ने उद्देश्यले असल कृषि अभ्यास (नेपाल ग्याप) सुरू गरेको छ।

ग्याप एउटा कृषि उत्पादन पद्धति हो। जसमा स्वच्छ तथा गुणस्तरीय कृषि उत्पादनको लागि नियन्त्रण विन्दुहरुको पहिचान गरी निरीक्षण, जाँचको मापदण्ड वा प्रावधान तयार पारी सोही अनुरूप गुणस्तरीय उपज उत्पादन गरेर बजारीकरण गरिन्छ।

इच्छुक कृषक, समूह, सहकारी वा कम्पनीले आफ्नो असल कृषि उत्पादन प्रणालीको प्रमाणीकरण गर्न सक्नेछन्।

ग्याप प्रमाणीकरण भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दछ। ग्याप सर्टिफिकेटको लागि विभागमा एउटा कमिटी समेत गठन गरिएको छ। उक्त कमिटीले अध्ययन अनुगमन गरेर सर्टिफिकेट दिने गर्दछ।

नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ अनुरूप ग्यापको थालनी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए।

उनका अनुसार खाद्य बस्तुको सुरक्षित उत्पादन तथा व्यवस्थापन गर्न आवश्यक भएकोले चालू आर्थिक वर्ष २०७६/०७७ मा पाइलट प्रोजेक्टको रूपमा ग्यापको थालनी गरिएको छ।

ग्यापका लागि गम्भीर, प्रमुख र सहायक तीन प्रकृतिमा विभाजन गरी २ सय ११ वटा मापदण्डहरू बनाएको छ। गम्भीरमा १८, प्रमुखमा १ सय ४१ र सामान्यमा ५२ वटा मापदण्डहरू रहेका छन्।

प्रमाण पत्र लिन चाहने निवेदकले गम्भीर प्रकृतिमा समावेश भएका शर्तहरू सय प्रतिशत, प्रमुख ९० र सामान्य अन्तर्गत ५० प्रतिशत पालना गर्नुपर्ने विभागका खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले बताए।

कृषकले सबै मापदण्ड पालना गर्नुपर्ने भएतापनि केही भौगोलिक अवस्थाका कारणले असम्भव रहेकाले सीमा निर्धारण गरिएकोे दाहाल बताउँछन्।

‘मानव स्वास्थ्यमा सोझै असर गर्ने गम्भीर अन्तर्गत राखिएको छ। यो शतप्रतिशत नै पालना गर्नुपर्छ,’ दाहालले भने, ‘अन्यलाई भने प्रमुख र सामान्यमा राखेर सीमा निर्धारण गरिएको छ।’

असल कृषि अभ्यास अनुरूप तरकारी उत्पादन गर्ने कृषकले बाली लगाउनु भन्दा पहिले स्थलगत अध्ययन गर्नुपर्छ। यसअघि खेतबारीमा प्रयोग भएको रसायनले बाली सङक्रमणको जोखिम छ वा छैन त्यसको अभिलेख राख्नुपर्दछ। केही खतरा भए सुधार नगरी बाली लगाउनु हुँदैन।

गुणस्तरीय बिऊको प्रयोग गर्नुका साथै आफूले ल्याएको बिऊको बारेमा सम्पूर्ण (कहाँबाट ल्याएको, कहिले ल्याएको) विवरणको अभिलेख राख्नुपर्छ।

साथै तोकिए बमोजिमको रासायनिक तथा जैविक मलको प्रयोग गरी गुणस्तरीय पानीको प्रयोग गर्नुपर्छ। यी लगायत अन्य मापदण्ड अनुरूप काम गरेपछि किसानले प्रमाणिकरणका लागि विभागमा निवेदन दिनुपर्ने दाहाल बताउँछन्।

‘कृषकले निवेदन दिएपछि विभागबाट अडिट खटाइन्छ। अडिटरले मापदण्डमध्ये कुन–कुन पालना भयो कुन–कुन भएन भन्ने रिर्पोट बनाइ विभागमा बुझाउँछ,’ उनले भने,‘ रिपाेर्टको आधारमा सर्टिफिकेसन कमिटीले प्रमाणपत्र दिने/नदिने निर्णय गर्छ।’

प्रमाणपत्र पाएकाले भने ग्यापको लोगो प्रयोग गर्न पाउँछन्। सर्टिफिकेट तीन वर्षको लागि मान्य हुन्छ। त्यसमा तीन पटक अनिवार्य र बीचमा आवश्यकता अनुसार निरीक्षण अनुगमन गरिने उनी बताउँछन्।

तीन फार्मले पाएका छन्, ग्याप सर्टिफिकेट

रामकोट, नार्गाजुनमा रहेको विशेष सदावहार फार्मले ग्यापको सर्टिफिकेट पाएको छ। यसका सञ्चालक सुजन श्रेष्ठ हुन्।

श्रेष्ठ ८ वर्ष दुवै फार्ममा बसेर आएका हुन्। उनी त्यहाँ रेष्टुरेण्टमा काम गर्थे। कृषि गर्नकै लागि भनेर नेपाल आएको श्रेष्ठ बताउँछन्।

‘त्यहाँ रहँदा धेरै युटुब हेर्थेँ। गोल्भेँडा बेचेर यति कमाए उती कमाए भन्ने समाचारहरू सुनिन्थ्यो। त्यसैको प्रेरणाले नेपाल आएको हुँ,’ उनले भने।

६ वर्षअघि १३ रोपनी जग्गा भाडामा लिई उनले सेमि अर्गानिक गोलभेडा खेती गरेका थिए। हाल उनले ४६ रोपनी जग्गामा हरियो प्याज, लसुन, साग, घिरौला, गोलभेडा, धनियाँ, काउली, ब्रो काउली, करेला लगायतका मिश्रित बाली लगाएका छन्।

उनीहरूले आफ्नो उत्पादन आफै हाट बजारहरूमा लगेर बेच्छन्।

रामकोटमै तीन वर्षअघि स्थापना भएको मैत्री मङगलम अर्गानिक कृषि फार्म पनि ग्याप सर्टिफाइड भएको छ।

यसले भने आफ्नो उत्पादन ग्याप लोगो लगाएर कतारमा पठाउने तयारी गरेको फार्म सञ्चाकल एक बहादुर सिन्ताङले बताए।

त्यस्तै, ललितपुर, टिकाथलीमा रहेको कृषि सहकारी बुहुउद्देश्यीय सहकारी पनि ग्याप सर्टिफाइड हो। यो सहकारी २०५६ सालमा स्थापना भएको हो।

सुरूमा यसले कृषि सहकारीको रूपमा मात्रै काम गर्थ्ये। २०६८ देखि सहकारीले व्यवसायिक फार्ममा लगानी गर्न थालेको सहकारीका संरक्षक पुष्कर आचार्य बताउँछन्।

सुरूमा सहकारी आफ्नो उत्पादन व्यापारीलाई दिन्थ्यो। त्यसबाट खासै फाइदा नभएपछि २०६९ साउनदेखि आफै बिक्री कक्ष खोलेर बेच्न थाल्यो।

५६ रोपनीबाट सुरू गरिएको फार्म अहिले २ सय रोपनीमा फैलिएको छ। फार्ममा मौसमी तरकारी उत्पादन हुनुका साथै ६५ वटा गाई पनि छ।

फार्ममा अहिले ७२ जना कामदार रहेका छन्। सहकारीमा ३६ हजार सदस्य तथा ३ जना शेयर होल्डर छन्।

असल कृषि अभ्यास बैज्ञानिक प्रविधि भएकाले उपभोक्ताले कसको बाली खाएको हो, कुन मितिमा बिऊ राखेको, विषादी कहिले हालेको, कसले हालेको, मल कसले हालेको, पानी कसले हालेको भन्ने कुरा लोगो हेरेर थापा पाउन सकिने सहकारी संरक्षक आचार्य बताउँछन्।

नेपाल ग्याप तर्फ सबै किसानलाई लग्न सकियो सुरक्षित खाद्य वस्तुको उत्पादन हुन उनको भनाइ छ।

ग्यापले स्वच्छ खाद्य वस्तु उत्पादनमा सहयोग गर्दछ। उपभोक्ताले गुणस्तरीय खानेकुरा उपभोग गर्न पाउनुका साथै कामदारको स्वास्थ्यमा पनि असर नपर्ने उनी बताउँछन्।

‘यसमा काम गर्नेले बुट, मास्क तथा पञ्जा लगाउनु पर्दछ, यसोगर्दा कामदाको स्वास्थ पनि राम्रो हुन्छ,’ उनले भने।

ग्यापमा सिस्टममा काम गरिने भएकाले खर्च पनि कम लाग्ने उनको अनुभव छ।

‘पहिले १ केजी मलले पुग्ने ठाउँमा दुई केजी मल राखिन्थ्यो भने। यसले परिमाण तोक्ने भएकाले खर्च कम हुन आउँछ,’ उनले सुनाए।

प्याकिङ गरेर तरकारी बेच्न गाह्रो भएको सदाबहार कृषि फार्मका सञ्चालक सुजन श्रेष्ठको गुनासो छ। ।

‘ग्राहक तरकारीलाई प्रत्यक्ष आफै छुन चाहन्छन्। हाम्रो अझै पनि प्याकिङ गरिएको खाने बानी छैन, खोसली खोसली किन्ने बानी भएकाले बेच्न गाह्रो भएको छ,’ उनले गुनासो गरे।

प्याकिङ गरेको तरकारी ग्राहकले नकिनेपछि उनीहरूले हाटबजारमा ब्यानर राखेर बेच्न थालेका छन्।

‘पहिला यसबारे जनचेतना जगाउन हामीले ब्यानर राखेका छौँ, पछि प्याकिङ गरेरै बेच्छौँ,’ उनले भने।

बल्खुमा रहेका प्याकेजिङ हाउसलाई ग्याप सर्टिफाइड गराएर आफ्नो उत्पादन त्यहीँ लगेर प्याकेजिङ गर्ने उनीहरूको योजना छ।

आगामी आर्थिक वर्षमा नेपाल असल कृषि अभ्यास (नेपाल ग्याप) लाई विस्तार गर्न नयाँ कमिटी गठन गरिएको कृषि तथा पशुपंक्षी मन्त्रालयका कृषि प्रसार अधिकृत अरूण जिसीले बताए।

उनका अनुसार कमिटीले प्रदेश तथा स्थानीय तहमा कसरी ग्याप लागू गर्न सकिन्छ भनेर अध्ययन गर्ने छ। आगामी आर्थिक वर्षबाट कृषिका अन्य निकायले यस सम्बन्धी कार्यक्रम राख्ने गरी योजना बनाएको उनले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले यस वर्ष पनि पोखरा, ललितपुर तथा दशैभरिका इच्छुक किसानलाई ग्यापको तालिम दिएको छ।

‘प्रदेशमा कसरी लान सकिन्छ भनेर प्रतिनिधि बोलाएर छलफल समेत गरेका थियौं,’ उनले भने।

नेपाल ग्यापलाई दिगो बनाउन मन्त्रालयको प्रयासले मात्र नहुने उनी बताउँछन्।

‘यसलाई हामीले गरेर मात्र हुँदैन। उपभोक्ताले पनि खोज्नुपर्छ,’ उनले भने, ‘जब उपभोक्ताले म स्वच्छ खानेकुरा मात्र खान्छु भनेर अरू तरकारी किन्दैनन् तब किसानले बाध्य भएर असल कृषि अभ्यास अपनाउँछन्।’

आगामी वर्ष जनचेतना तथा किसानलाई तालिम दिएर ग्यापलाई विस्तार गर्ने मन्त्रालयको योजना छ।

पुल्चोकमा विकल्प आर्ट ग्यालरीमा नेपाल ग्यापका तरकारी पठाउन लागिएको सदावहार कृषि फार्मका सञ्चालक श्रेष्ठले बताए।

ग्याप युरोपबाट सुरू भएको हो। पछि त्यसैलाई ग्लोबल ग्याप भनेर सुरू गरेपछि सबै देशले आ–आफ्नो ग्याप बनाए।

सार्क स्तरमा पनि युएनको फुड एण्ड एग्रिकल्चर अर्गनाइजेनशले सार्क कन्ट्रीका लागि ‘सार्क ग्याप’ भनेर २०१४ मा बनायो।

त्यसैको आधारमा सार्क कन्ट्रीले पनि आ–आफै बनाउन थाले। श्रृलङ्का, माल्दिभस लगायतले ग्याप सञ्चालनमा ल्याइसकेका छन्।

सार्क ग्यापलाई आधार मानेर नेपाल सरकारले पनि यस वर्षदेखि सञ्चालन गरेको हो।

साभार: setopati.com