थोरै मिहिनेतले कौसी र छत नै बन्‍नसक्छ करेसाबारी

थोरै मिहिनेतले कौसी र छत नै बन्‍नसक्छ करेसाबारी

| Advertisement |

Promotional banner

एक दशकदेखि कौसी र छतलाई करेसाबारी बनाएका शेषनारायण महर्जन एक उदाहरण हुन् जसबाट शहरी बासिन्दाले ताजा तरकारी खाने उपाय सिक्न सक्छन्।

काठमाडौं। बरण्डा, कौसी र छत। जता हेरे पनि हरियाली। जता पनि तरकारी फलेका। कुनै करेसाबारीमै पुगेजस्तो हुने।

काठमाडौं-१९ चागलका ५४ वर्षीय शेषनारायण महर्जनले घरलाई नै करेसाबारी बनाएका छन्। एक दशक भयो, उनले छत र कौसीमा तरकारी खेती गर्दै आएको।

शेषनारायणले विभिन्न संघ संस्थामार्फत् तरकारी खेतीबारे तालिम लिएका थिए। त्यही तालिमको सदुपयोग गर्दै उनले आफ्नै घरलाई करेसाबारी बनाए।

उनको करेसाबारीमा अहिले ५० भन्दा बढी प्रजातिका तरकारी तथा सागपात लगाइएको छ। नेपालमा उत्पादन हुनेदेखि विदेशबाट आयात गरिनेसम्मका तरकारी उनको करेसाबारीमा फल्छन्।

रहरले शुरू गरेको उनको करेसाबारी अहिले त उदाहरण नै बनेको छ। त्यसैले त अहिले उनी कृषकमा मात्र सिमित छैनन्।

काठमाडौं महानगरपालिकाको आयोजनामा उनले धेरैलाई घरमै तरकारी खेती गर्ने तालिम दिएका छन्। त्यसैको परिणाम हो, उनको घर आसपासको क्षेत्रमा अधिकांशको छतमा तरकारी खेती भएको देखिन्छ।

“घरमा वर्षभरिमा पाक्ने तरकारीमध्ये ७० प्रतिशत जति आफ्नै करेसाबारीको हुन्छ”, महर्जन भन्छन्। तरकारी कम हुने मौसममा बने उनीहरुले बाहिरबाट पनि किनेर ल्याउँछन्।

लकडाउनले उनको तरकारी खेतीलाई धेरै सघाउ पु¥याएको छ। घरमै बस्न बाध्य भएका परिवारका सदस्य पनि करेसाबारीमा काम गर्छन्। छोराछोरी र श्रीमतीले सहयोग गर्दा खुशी हुन्छन् शेषनारायण।

“लकडाउनले धेरै फाइदा गरेको छ। म पनि दिनमा अधिकांश समय त यही कौसीमा विताउँछु। छोराछोरी र श्रीमती पनि भित्र बस्दा बस्दै दिक्क लागेर कौसीमा आउँछन्। र केही न केही काम गरिरहेका हुन्छन्”, उनी भन्छन्।

उनको दिन नै करेसाबारीबाट शुरू हुन्छ। बिहानै उनी करेसाबारीमा गएर स्वच्छ हावा लिन्छन्। एकछिन बारीमा मन डुलाउँछन्।

“आफ्नै छतमा सबथोक तरकारी भएपछि किन बाहिर किन्न जानुपर्यो ? आफुलाई जे तरकारी खान मन लाग्यो माथि छतमा गयो टिपेर ल्यायो। १० वर्षदेखि हामीले धेरै तरकारी आफैंले उत्पादन गरेर खाइरहेका छौं”, उनी सगर्व सुनाउँछन्।

काठमाडौं र अन्य शहरमा घर भएका र बारी नभएकालाई आफूले जस्तै छत र कौसीमा तरकारी फलाउन उनी सुझाव दिन्छन्।

कौसी करेसाबारीबाट घरको सरसफाई र सौन्दर्यमा बृद्धि हुनुका साथै ताजा तरकारी, फूल आदिको आपूर्तिमा सहज हुने उनको अनुभव छ।

त्यस्तै घरमै बस्नेहरुले समयको सदूपयोग, बृद्धबृद्धाहरुले मनोरञ्जनात्मक काम पाउने, बालबालिकाका लागि शैक्षिक सिकाइ हुने, बढ्दो वातावरण प्रदूषण पनि कम गर्न सकिने लगायतका फाइदा रहेको शेषनारायण बताउँछन्।

अहिले उनले आफ्नो कौसीमा रायो साग, खुर्सानी, धनियाँ, बोडे, अम्बा कागती, सुन्तला लगायतका सागपात तथा तरकारी लगाएका छन्। त्यस्तै उनको कौसीमा विदेशी तरकारीले पनि स्थान पाएको छ।

शहरी क्षेत्रमा घर भएका घरधनीहरुलाई कौसी करेसावारी एकदम फाइनजनक हुने उनको भनाई छ।

 

 

कसरी हुन्छ कौसीमा तरकारी खेती ?

गमला, काठको बाकस, माछा राख्ने बाकस, जुट वा प्लाष्टिकका बोरामा अथवा ढलान गरेको छानोमा उचित मात्रामा माटो र मल भरेर प्रयोग कौसीमा तरकारी लगाइन्छ।

सघन कृषि प्रणाली मार्फत् कौसीमा तरकारी खेति गर्नुपर्ने महर्जनको सुझाव छ।

 

 

कौसीमा सानो ठाउँ हुने भएकाले धेरै किसिमका तरकारी लगाउने गरी व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्।

कौसीमा तरकारी लगाउँदा पानीको निकास, माटोको मिश्रण, पानी संकलन लगायतका धेरै कुराको व्यवस्थापन गर्नुपर्ने भएकाले केही दिनको तालिम लिन उनी सुझाउँछन्।

साभार: https://dekhapadhi.com/