दुधालु पशुपालन गर्नेले थुनेलो बारे जान्नै पर्ने कुरा

दुधालु पशुपालन गर्नेले थुनेलो बारे जान्नै पर्ने कुरा

| Advertisement |

Promotional banner

दुध दिने पशुको थुनमा इन्फ्लामेसनलाई थुनेलो भनिन्छ । यसमा थुनमा संक्रमण हुने, सुनिने उत्पादित भएको दुधको भौतिक, रासायनिक गुणमा परिवर्तन हुने गर्छ ।दुधको रंगमा परिवर्तन आउने, बाक्लो फाटेको जस्तो देखिने, ल्युकोसाइटको संख्यामा बृधि हुने जस्ता लक्षण समेत देखा पर्छ ।यो खास गरी बढी उत्पादन दिने गाई भैसीमा बढी देखा पर्छ ।एक अध्यन अनुसार थुनेलो बाट संक्रमित भएको पशुको दुध उत्पादन २५% ले कमि आएको र फ्याट प्रतिशत समेतमा कमि आएको पाइएको छ ।

थुनेलोको कारक तत्व 

थुनेलो विभिन्न किसिमका जीवाणु, बिषाणू , ढुसी तथा अन्य कारणले समेत लाग्ने गर्छ । 

जीवाणु : Staphyllococus aureus , Str. agalactiae, Str. Zooepideminus, Pyrogenes Mycobacterium bovis, Pasturella multocida , Str. dysgalactiae etc

ढुसी / माइकोप्लाजमा: Mycoplasma bovis, Aspergillus fumigatus, Candida Spp., Trichosporum Spp.

बिषाणू: अप्रत्यक्ष रुपमा असर गर्ने : Bovine herpes virus 2, Vaccinia, cowpox, pseudo cowpox,Vesicular stomatitis, foot-and-mouth disease viruses’ र bovine papilloma viruses

असर पर्ने पशुहरु

बढी दुध दिने गाई , भैसी, बाख्रा, भेडा, बंगुर, घोडा यस रोगबाट प्रभावित हुन्छन ।

रोग सर्ने माध्यम

पशुको गोठ खोरमा प्रयोग हुने सोत्तर रोग सर्ने प्रमुख माध्यम हो । यसका साथ साथै थुनमा लाग्ने चोट, थुनमा प्रयोग हुने औसधि, दुध दुहुनु अगाडी प्रयोग हुने पानि, संक्रमित भएको सोत्तर, छालामा भएको घाउ सर्ने मुख्य मध्यम हुन् ।थुनलाई संक्रमण गराउने दुई संक्रमण तत्व छन ।

कल्चौडा: कल्चौडामा सामान्य रुपमा विभिन्न किसिमका संक्रमण जीवाणुहरु हुन्छन यसका कारणले गर्दा थुनमा संक्रमण हुन सक्छ।

वातावरण: पशुको बाहिरी वाताबरणमा विभिन्न किसिमका संक्रमण हुने जीवाणु हुन्छ जसले ठुनेलो लगाउन सक्छ ।

थुनेलो लगाउन सक्ने अन्य अवस्था हरु :

उमेर:             बढी उमेर भएको पशु बढी संक्रमित हुन् सक्छ ।

जात:             उन्नत किसिमको बढी दुध दिने पशुहरु बढी संक्रमित हुन्छन ।

अवधि:            ब्याएको सुरुको अवस्था र अन्त्य अवस्थामा थुनेलोको संक्रमण बढी देखिन्छ ।

बथानको आकार:     ठुलो बथानका दुहुना पशु बढी संक्रमित हुन्छन ।

मौसम:            यो धेरै जसो गर्मि समयमा देखा पर्छ ।

घाउ चोट पटक: थुनमा लागेको घाउ चोट पटकले समेत थुनमा संक्रमण बढी हुन्छ ।

थुनेलोको किसिम

सब-क्लिनिकल थुनेलो

थुनमा बाहिरी कुनै परिवर्तन र अन्य प्रणालीमा खासै कुनै असर नभई संक्रमण हुने अवस्थालाई सब-क्लिनिकल मसटाईटिस भनिन्छ । यस अवस्थामा अगी कुनै असर नदेखीए पनि क्रमिक रुपमा दुधमा संक्रमण हुने र थुनमा इन्फ्लामेसन देखा पर्छ । यो अवस्थामा थुनमा कुनै किसिमको लक्षणहरु देखा पर्दैन । यदि यहि संक्रमण दुई महिना भन्दा धेरै देखा पर्यो भने यसलाई क्रोनिक संक्रमण भनिन्छ । यदि संक्रमण स्थापित भयो भने पशुको सम्पूर्ण दुहुनु अवस्थामा रही रहन्छ । यसको निदानका लागि दुधको परिक्षणबाट सोमेटिक कोषको गणनाबाट गर्न सकिन्छ . यसका लागि कोलिफर्म मास्टाईटिस टेस्ट वा अटोमेटेड मेथड प्रयोग गर्न सकिन्छ । यसमा सोमेटिक कोषको गणना १००००० कोष प्रति एम.एल. सम्म हुन्छ ।

क्लिनिकल थुनेलो

यो अवस्थामा दुधको गुणमा परिवर्तन आउने गर्छ ।साथै थुनमा संक्रमण भई कल्चौडा सुनिने, तातो हुने, दुखाई हुने, रातो हुने जस्ता लक्षणहरु देखा पर्छ।कहिले कहिँ थुनेलो संग संगै ज्वरो आउने, दाना पानि नखाने, सक हुने जस्ता लक्षण समेत देखा पर्छ । यो जिर्ण र तिक्ष्ण दुवै हुने गर्छ।यसमा एकपटकमा एउटा थुनमा असर भएको पाइन्छ तर ढुसीका कारणबाट भएको थुनेलोमा सम्पूर्ण थुनमा असर गर्न सक्छ ।

रोग लाग्ने तरिका 

कल्चौडाको संक्रमण थुनबाट सुरु हुन्छ । तर कहिले कहिँ रगत मार्फत समेत संक्रमण सर्न सक्छ कल्चौडामा संक्रमण निम्न प्रक्रिया बाट हुने गर्छ। थुनको छाला संक्रामक सुक्ष्म जीवले संक्रमण गर्छ ।सुक्ष्म संक्रामक जीव थुनको नली भित्र प्रवेश गर्छ । भित्रि साइनस, नली र तन्तुमा संक्रमण सुरु गर्छ ।

सुक्ष्म जीव संगको संसर्ग

सम्पुर्ण दुहुना पशु बस्तु कुनै न कुनै किसिमले सुक्ष्म संक्रामक जीव संगसंसर्ग आउने गर्छ । यस्ता संक्रामक तत्वले कल्चौडामा लगातार संक्रमणगरिरहेको हुन्छ । तर संक्रमण सधै नहुन सक्छ किनकी सुक्ष्म जीवहरु थोरै मात्रामा आक्रमण गरेको हुन्छ । संक्रमित भएको कल्चौडामा संक्रामक जीवहरुप्रति एम.एल. दुधमा १००० देखि लाखौ सम्म हुन सक्छ । दुहुना पशुहरु संक्रमित र फोहोर सोत्तरमा बसेको बेलामा थुन र कल्चौडा वरी परी यिनै संक्रमित सुक्ष्म जीवहरुले आक्रमण गर्न सक्छन ।तसर्थ थुनेलोलाई व्यावस्थापनको रोग समेत भन्ने गरिन्छ।कहिले कहिँ फोहोर सोत्तरका अलावा फोहोर र संक्रमित भएका उपकरण, दुध दुहुने मसिन, कल्चौडा फोहोर पानिले सफा गर्दा

डा.विजय घिमिरे

समेत संक्रामक तत्वहरुले थुनेलेको प्रकोप बढाउन सक्छ । यसका जोखिमलाई उपकरणहरुलाई निसंक्रमण र निर्मलीकारण गरेर न्यूनीकरण गर्न सकिन्छ ।S. aureusStr. agalactiae जस्ता जीवाणुहरुको आक्रमण कम गर्नलाई थुनलाई निसंक्रमण गर्ने घोल वा एन्टीसेप्तिक घोलले स्प्रे गरेर गर्न सकिन्छ । पशुका लागि प्रयोग हुने सफा र नया माटो र सोत्तरमा थुनेलो संक्रमण गर्ने जीवको मात्रा कम हुन्छ । तर यिनीहरु उपयुक्त तापक्रम र सापेक्षित आत्रता पाएको अवस्थामा छोटो समयमा संख्यामा बृधि गर्न सक्छ।धेरै समय सम्म एउतै सोत्तर प्रयोग गर्न गोबर पिसाबले फोहोर बनाउछ र थुनेलो गराउने जीवाणु समेतमा बृधि गराउछ । तसर्थ ओशिलो र संक्रमित भएको सोत्तरमा पशुलाई राख्नु हुदैन ।

 

संक्रमक सुक्ष्म जीव थुनको नलीमा प्रवेश

थुनमा हुने नलीले प्राय जसो संक्रामक तत्वलाई भित्र प्रवेश गर्नमा रोक्छ । यो नलीको भित्रि भागबाट सेक्रेसन उत्पादन गर्छ । जसले जीवाणुलाई संख्या बृधि हुनबाट रोक्छ।यस्ता जीवहरु दुध दुहुदा, दुध दुहुने बीच समयमा र दुहुनु नहुने अवस्थामा समेत थुनमा प्रवेश गर्न सक्छ । संक्रमित दुध दुहुने उपकरण थुनमा हाल्दा समेत जीव थुनमा प्रवेश गर्न सक्छ । यस्तो संक्रमणबाट बचाउनका लागि मिल्किंग मसिनको कपलाई प्रयोग गर्नु अगाडी निर्मलीकरण गर्नुका साथै थुनको टुप्पोमा निसंक्रमण गर्ने घोलले १५ सेकेन्ड सम्म सफा गर्नु पर्छ । उपकरण प्रयोग गर्नका लागि ३० सेकेन्ड सम्म उमाल्नु पर्छ वा ७०% इथानोल अल्कोहोल (स्प्रिट)ले सफा गर्नु पर्छ ।

संक्रमणको विकास

संक्रामक तत्व थुनमा प्रवेश गरिसके पछि संक्रमण सुरु गर्छ । प्रवेश गरेको जीवाणुले कल्चौडामा असर गर्न सुरु गर्छ ।यसले मेमारी ग्लान्डमा भएको दुधको पोषक तत्वहरु सोस्छ र इन्डोटक्सिन उत्पादन गर्छ । यो इन्डोटक्सिनले कल्चौडाको तन्तुलाई क्षति गर्छ ।संक्रमण भए पश्चात संक्रमित भएको पशुको तापक्रम १०६ डिग्री फ. सम्म हुने, दाना पानि नखाने, स्वासप्रस्वासमा असर हने, कल्चौडा सुनिने, दुखाई हुने, दुधमा फाटेको जस्तो पर्दर्थ देखा पर्ने, रगत समेत देखा पर्ने हुन्छ।यस्तो दुधलाई खानको लागि प्रयोग गर्नु हुदैन । यसको बिभिन्न अवस्थामा देखा पर्छ । सब-एक्युट अवस्थामा देखा पर्दा लक्षणहरु भयाबह हुन्छन भने क्रोनिक अवस्था देखा पर्यो भने कल्चौडा कडा हुनुका साथै फाईब्रस तन्तु देखा पर्छ । दुध पहेलोका साथै सेतो छोक्डा देखा पर्छ । कहिले कहिँ थुनमा बाहिरी कुनै परिवर्तन हुदैन र अन्य प्रणालीमा खासै कुनै असर नभई संक्रमण हुने गर्छ, जसलाई सब-क्लिनिकल मसटाईटिस भनिन्छ ।

क्लिनिकल फाईन्डीङ्ग

यसलाई चार अवस्थामा बिभाजन गरिएको छ ।

Per-acute Mastitis:  यो सबै भन्दा खतरनाक अवस्था हो संक्रमित भएको पशुको तापक्रम १०६ डिग्री फ. सम्म हुने, दाना पानि नखाने, स्वासप्रस्वासमा असर हने, कल्चौडा सुनिने, दुखाई हुने, दुधमा फाटेको जस्तो पर्दर्थ देखा पर्ने, रगत समेत देखा पर्ने हुन्छ ।

Acute :  यो अवस्थामा कल्चौडा सुनिने, दुधको भैतिक र रसायानिक गुणमा परिवर्तन आउने जस्ता लक्षण देखा पर्छ दुध परिवर्तन भएर दहि जस्तो देखिनुका साथै पहेलो र खैरो रङ्गमा परिवर्तन हुन्छ ।

Sub-Acute:  यो अवस्थामा दुधमा परिवर्तन आए पनि कल्चौडा वा थुनमा कुनै असर देखा पर्दैन ।

Chronic:  यो थुनेलोको अन्तिम अवस्था हो । यो अवस्थामा कल्चौडा कडा हुनुका साथै फाईब्रस तन्तु देखा पर्छ दुध पहेलोका साथै सेतो छोक्डा देखा पर्छ ।

रोग निदान  

१. कल्चौडाको भौतिक परिवर्तन :

कल्चौडा आकार, कडापन र देखिने परिवर्तन जांच गर्नु पर्छ। भौतिक जांच गर्दा सुनिनें सुनिएको, दुखाई हुने, कल्चौडाको आकार सम्पूर्ण जांच गर्ने गरिन्छ ।

२. दुधमा आएको परिवर्तनको परिक्षण:

स्ट्रिप कप टेस्ट: परिक्षण सुरु गर्नु पूर्व दुधलाई राम्रोसंग संकलन गर्ने । कल्चौडालाई मन तातो पानिले राम्रो संग धुने । पानि धोई सके पछि कल्चौडालाई सफा कपडाले पुछ्ने । कल्चौडालाइ सुक्न दिने । थुनको टुप्पोलाई टिनचर आयोडीनले सफा गर्ने । निसंक्रमण गरेको ट्युबलाई RF, RH, LH, LF  ट्युबमा दुहुने , एउटा ट्युबमा ५ एम.एल. जति दुध संकलन गर्नु पर्छ । स्ट्रिप कपमा चार वाटा भाग हुन्छ । यो कालो रङ्ग को हुन्छ दुधलाई सिधै यसको कपमा दुहुनु पर्छ । यदि दुधमा कुनै किसिमको परिवर्तन आएर फाटेको जस्तो देखा परेमा थुनमा संक्रमण भएको यकिन गर्न सकिन्छ।

ब्रोमोथाईल व्लु टेस्ट : यो टेस्टमा दुधको पि.एच.मा आएको परिवर्तनलाई जाँच गर्ने गरिन्छ । यसका लागि B.T.B. टेस्ट पेपरको प्रयोग गरिन्छ । संक्रमित भएको दुधको एक थोपा टेस्ट पेपरमा राखी रङ्गमा आउने परिवर्तनका आधारमा थुनेलो लागेको नलागेको जांच गरिन्छ ।

कलिफर्म मस्टाईटिस टेस्ट : यो थुनेलोको परिक्षण गर्ने सबै भन्दा सजिलो तरिका हो । यसले सोमाटिक कोषको गणना गर्न सहयोग गर्छ ।

-यो परिक्षण गर्ने उपकरण प्लास्टिकले बनेको प्याडल हुन्छ . जसको चार वटा कप हुन्छ जसलाई A, B, C, D गरि नामकरण गरिएको हुन्छ  । प्रत्यक थुनको आधा चम्चा जति दुधलाई यसै प्याडलको चार वटै कपमा एक एक गर्दै राख्ने र टेस्ट गर्ने रिएजेन्टलाई समेत सोहि मात्रामा मिसाउने । दुध राखी सके पछि प्याडललाई केहि समय घुमाउने र १० सेकेन्डमा स्कोर अध्यन गर्ने । स्कोरलाई दस सेकेन्डमा स्कोर मापन गर्नु पर्छ किनकि २० सेकेन्डमा रिएजेन्ट आफै हराउछ ।

चित्र : कलिफर्म मास्टाईटिस टेस्ट

दुध कल्चर गरेर: दुधलाई कल्चर गरि दुधमा रहेको बिषाणूलाई पत्ता लगाउन सकिन्छ यसका लागि बिभिन्न मिडिया प्रयोग गर्न सकिन्छ ।

उपचार 

-प्रभावित भएको थुनलाई उपयुक्त एन्टीसेपटिकले राम्रो संग सफा गर्नु पर्छ ।

-कल्चौडामा जम्मा भएको सम्पूर्ण दुधलाई दुहेर फाल्नु पर्छ ।

-यदि थुन बन्द छ वा थोरैमात्रामादुध आइरहेको छ भने सावधानी पुर्बक टिट क्यानुलाको सहयोगले सम्पूर्ण दुध निकाल्नु पर्छ ।

-थुन संक्रमण भएको अवस्थामा थुन भित्र Pendistrin-SH, Alciclox, Tilox. Vetox plus, Floclox-L आदिमध्य कुनै एक औषधि     प्रभावित थुन भित्र दिनमा२ पटक ५-७ दिन सम्म राख्दिने।

-एन्टीवायोटिक सेन्सीटिभिटी टेस्टका आधारमा Gentamycin, Enrofloxacin आदि एन्टीवायोटिक छनोट गरी प्रयोग गर्नु पर्छ ।

-इन्फ्लामेसन भएको ठाउँमा बोरिक एसिड वा नुनपानी तताएर सक्नुपर्छ ।

रोकथाम तथा नियन्त्रण 

-यो व्यवस्थापन र फोहोर गोठका कारणले गर्दा लाग्ने भएका कारणले गर्दा खोर / गोठको सरसफाईमा बिशेष ध्यान दिनु पर्छ ।

-Dry cow therapy ( पशु दुहुन छाडे पछि वा थाके पछि थुनमा एन्टीवायोटिक राख्नु पर्छ )।

-दानामा भिटामिन ई र सेलिनियमको प्रयोगले कोलिफम थुनेलोको प्रकोपमा कमी गराउछ । त्यसकारण थाकेका दुधालु पशु र कोरेली   पशुलाई दाना उपलब्ध गराउदा त्यसमा सेलिनियम र भिटामिन ई को मात्रा मिसाउनु पर्छ ।

-दुध थुनबाट निखार्नु पर्छ, दुहुनु भन्दा अगाडी र दुही सकेपछी कल्चौडा राम्ररी सफा गर्नु पर्छ र ५% को पोभिडीन आयोडिन को झोलले   थुनलाई डुबाउनु पर्छ र थुनको टुप्पामा ग्लिसिरिन वा भ्यासिलिन लगाउनु पर्छ । यसले संक्रमण रोक्छ ।

-क्लिनिकल केसलाई पहिचान गरी रोगी पशुलाई छुट्टाएर उपचार गर्नु पर्छ ।

नोट : दुध तथा दुग्ध पदार्थ स्वच्छता एवम् गुणस्तर निर्देशिका, २०७५ ले थुनेलो र क्षयरोग लगायत कुनै पनि संक्रामकरोग लागेको पशुबाट उत्पादित दुध खरिद तथा बिक्रि वितरण गर्न निषेध गरेको छ (परिच्छेद ३ को ६-च)