छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । पछिल्लो समय सामुदायिक विद्यालय र कलेजले पनि प्राविधिक शिक्षा पढाउन शुरु गरेका छन् । शिक्षा देशको आर्थिक विकासको प्रमुख आधार हो । देशको आर्थिक विकासमा प्राविधिक शिक्षाले खेल्ने भूमिका अझै ठूलो छ । नेपालमा धेरै पहिलेदेखि व्यावसायिक सीपकै आधारमा जातहरूको वर्गीकरण गरिनु र दक्ष सीप प्रयोग गरेर निर्माण गरिएका पुराना संरचना एवं काठ र ढुङ्गालगायतका उत्पादन धेरै मात्रामा हुनुले यहाँ प्राविधिक शिक्षा लिने र दिने चलन प्राचीन समयदेखि रहँदै आएको मान्न सकिन्छ । तर, नेपालमा प्राविधिक शिक्षाको औपचारिक सुरु विसं २००४ बाट भएको हो । त्यसपछिका विभिन्न कालखण्डमा नेपालमा प्राविधिक शिक्षाको विकासका लागि फरक फरक प्रयोग गरिए पनि आशा गरे अनुसार ती सफल हुन सकेनन् ।
“देशको आर्थिक उन्नतिका लागि योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनशील जनशक्ति तयार गर्न र सबैका लागि रोजगारीका अवसर सिर्जना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरको व्यापक विस्तार गरी सबै इच्छुक नागरिकका लागि समावेशी एवम् समतामूलक पहुँच स्थापित गर्ने” प्रमुख उद्देश्य राखेर प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति, २०६९ निर्माण गरिएको छ । यी प्रयासको अध्ययनबाट राज्यले प्राविधिक शिक्षाको क्षेत्रलाई आफ्नो मुख्य अङ्गको रूपमा स्वीकार गरेको तथ्य बुझ्न सकिन्छ । नेपालमा वार्षिक करीब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् भन्ने तथ्याङ्क छ । तर ती युवासँग बजारमा बेच्नको लागि प्राविधिक ज्ञान वा सीप असाध्यै कम हुन्छ वा हुँदै हुँदैन । प्राविधिक शिक्षाले व्यक्तिको आर्थिक प्रगतिको लागि आवश्यक सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्छ र व्यावहारिक ज्ञानले व्यक्तिलाई प्रतिस्पर्धात्मक बजारका लागि आवश्यक प्राविधिक सीपयुक्त बनाउँछ । विज्ञानप्रविधिमा दिनहुँ नयाँ परिवर्तन भइरहेका छन् । मानिसका धेरै पेसा अभिन्नरूपमा प्रविधिमा आश्रित बनेका छन् । यसले प्राविधिक शिक्षाको सान्दर्भिकता बढाएको छ ।
नेपालले सन् २०३० सम्ममा सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी एवं मर्यादित कामको प्रबर्धन गर्नेलगायतका दिगो विकासका लक्ष्य तय गरेको छ । तोकिएको समय सीमाभित्रै यी लक्ष्य हासिल गर्न पनि प्राविधिक शिक्षाको विकासबाट मात्र सम्भव हुन्छ । प्राविधिक शिक्षाको क्षेत्रमा लगानी अपेक्षाकृत बढी भए पनि यस्ले दिने प्रतिफलको मूल्य धेरै महत्त्वपूर्ण हुन्छ । नेपालको समावेशी आर्थिक विकासको लागि प्राविधिक शिक्षालाई विभिन्न शिक्षालयमार्फत् देशका सबै भागमा विकास र विस्तार गरी सबै नेपालीको सहज र सरल पहुँच स्थापित गर्नेतर्फ सरोकारवाला सबैको ध्यान जान अति जरुरी छ । हाल सिंगो संसार कोभिड १९ को महामारीसंग जुधिरहेको छ, बन्दाबन्दीको प्रभाव बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको छ । सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द छन् । नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन । बालबालिकाको भविष्यलाई लिएर अविभावकहरू चिन्तामा छन् । नयाँ शैक्षिक सत्रको सुरुवातमा पाठ्यक्रमको विषयमा हामीले सोच्नु पर्नेछ । के चलिरहेको शिक्षा पद्धतीले प्राविधिक ज्ञान दिएको छ त ? के रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरेको छ ? पक्कै थिएन र छैन ।
घोकन्ते विद्याको संस्कार बसेको हाम्रो शिक्षा क्षेत्र शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । प्राविधिक र व्यवहारिक शिक्षा पद्धती नबस्दा अंग्रेजी भाषाको मोहले जसरी नेपाली भाषा र शव्दहरू लोप हुँदै गएका छन् त्यसरीनै युवाहरू विदेश लोप हुने संस्कारमा भुलेका छन् । डाक्टर, पाइलट, नर्स, इन्जिनियर बनाउने लोभमा हाम्रो वास्तविक कर्मलाई हामीले वेवास्ता गरिरहेका छौँ । कृषि हाम्रो मूल कर्म हो । यसलाई माया र आदर गर्नुपर्छ भनि हामी पछिल्लो पुस्ताले हाम्रा बालबालिकालाई सिकाएका छैनौैँ । आज पनि बच्चाले राम्रोसँग पढेन र गृहकार्य गरेन भने भोली पर्सि हलि बन्छस् अनि ठिक हुन्छ भनेर कृषि पेशा प्रति नकरात्मक टिकाटिप्पणी गरी रहेका छौँ । तर कृषकले खाद्यन्न उत्पादन गरेनन् भने हामी भोकै हुन्छौँ भनेर कहिल्यै उनीहसँंग विचार मन्थन गरेका छैनौँ । धानबाट चामल निस्किल्छ भन्ने ज्ञान बालबालिकासँंग छैन । चामल खेतमा हैन पसलमा फल्छ भन्ने ज्ञानले उनीहरूको मष्तिस्कमा बास गरेको छ ।
कोरोनापछिको शिक्षा नीति र पद्धती बदलिनुपर्छ । कृषि कर्मप्रति नयाँ पुस्तालाई आधुनिक प्रविधिसहित आकर्षित गराउनुपर्छ । कृषकले अनाज उत्पादन नगर्ने हुन भने हामीसँग प्रशस्त सम्पत्ति र पैसा भएपनि भोकमरीबाट हामी बच्न सक्दैनौँ भन्ने वास्तविकतालाई हामिले अङ्गाल्नुपर्छ र सिकाउनुपर्छ । जसरी राष्ट्रसेवक कर्मचारी, डाक्टर, इन्जिनियरहरूले सम्मान पाउँछन् त्यसरी नै किसानहरूले पनि सम्मान पाउने वातावरणको निर्माण अवको पुस्ताले गर्नुपर्छ ।
नेपाल कृषि शिक्षामा केहि नभएको भने पक्कै पनि हैन । सिप, प्रविधि र गुणस्तरियता ! व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मूल नारा दिएर विगत ७ वर्ष (२०७०) देखि श्री सर्व माध्यमिक विद्यालयले कक्षा ९ र १० मा शिक्षा विभागको सम्बन्धनमा प्राविधिक शिक्षा र २०७२ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभीटी) को सम्बन्धनमा ३ वर्षे डिप्लोमा कृषिवाली विज्ञान (आईएस्सि एजी) संचालन गरिरहेको छ । दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं ४ मा अवस्थित सर्व मा.वि. ले हाल संचालित शैक्षिक कार्यक्रमलाई विस्तार गरि विद्यालयलाई कृषि क्याम्पसको रुपमा विस्तार गर्न पशुविज्ञान र वनविज्ञान थप्ने र बीएस्सी एजीको लागि पहल गर्ने ध्येय रहेको विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलागाईंले बताए।
हाल विद्यालयको शैक्षिक गतिबिधि १६ कोठे अस्थायी सिकाई केन्द्रबाट भैरहेको छ भने ५९ कोठे सुबिधा सम्पन्न पक्कि भवन बनिरहेको छ। प्रयोगात्मक ज्ञानका हेतु विद्यार्थीका लागि विज्ञान र कृषि प्रयोगशाला, ७ वटा टनेल, ३ च्याउ घर, २८ रोपनी उर्बर जमिन, हाईटेक नर्सरीको व्यवस्था विद्यालयले गरेको चौलागाईंले बताए । विद्यार्थीको सहुलियतका लागि जिल्ला सदरमुकाम चरिकोटबाट नियमित बसको व्यवस्था गरिएको छ । तहगत छात्रवृतिको व्यवस्था, वार्षिक प्रयोगात्मक शैक्षिक भ्रमण, अतिरिक्त कक्षाको व्यवस्था, ई-नोट को सुबिधा, अनुसन्धान गर्न चाहने विध्यर्थिलाई प्राविधिक र आर्थिक सहयोग, वर्षभरि पुग्नेगरि पाठ्यपुस्तकको व्यवस्था समेत गरिएको छ।
शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्ने उद्देश्यका साथ विद्यालयले छात्रवृतिका विभिन्न स्किमहरु समेत तयार गरेको छ जसअनुसार : विनाशकारी भुकम्पबाट एकजना अभिभावक गुमाएका एकजनालाई डिप्लोमा शुल्कमा ५० प्रतिशत र दुवै अभिभावक गुमाएकालाई शतप्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ। विद्यालयले लिने प्रवेश परिक्षामा सर्वोत्कृष्ट हुने एकजनालाई शतप्रतिशत छुट र विद्यालयको आन्तरिक परिक्षामा सर्वोत्कृष्ट हुनेलाई मासिक शुल्कमा छुटको व्यवस्था गरिएको छ। एकै परिवारका ३ जना अध्ययन गरेको खण्डमा एकजनालाई छुट हुने तथा त्यसका अलावा गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृतिको व्यवस्था छ। सिटीईभीटीबाट प्राप्त हुने कोटामा ३ जना विद्यार्थीलाई छात्रवृतिको व्यवस्था र फिल्ड कार्यमा प्रेरित गरिने उल्लेख छ।
जिल्ला सदरमुकामबाट ५ किलोमिटरको दुरीमा रहेको सर्व मा.वि. जिल्लाको मात्र नभएर देशकै नमुना प्राविधिक विद्यालय हो । कृषि शिक्षा अध्ययन गर्नका लागि आफ्नै घरदैलोमा जिल्लाका अनुभवी, दक्ष र परिणाममुखी प्रशिक्षकद्वारा अध्यापन हुने नाफाविहिन यस सामुदायिक विद्यालयमा न्युनतम शुल्कमा गुणस्तरीय र व्यवहारिक शिक्षा दिईरहेको यो विद्यालयकै कारण उक्त क्षेत्रकै शैक्षिक र आर्थिक रुपान्तरण भएको एक स्थानीयले बताए ।
प्राविधिक र व्यवसायिक कृषि शिक्षाको महत्वका बारेमा प्रधानाध्यापक विश्वमणि चौलागाईंले भने ‘आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षा नै हो। हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको मेरो बुझाइ रहेको छ। प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि पनि परेको छ। प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन। त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो। पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन्। यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास पनि लिइएको छ। गाउँ–गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै छन्। मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन्छ। व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन्।
नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन्। यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चस्व देखिएको छ। भारतीय लगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदासमेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं। यो विषयमा ध्यान दिनु जरुरी देखिन्छ। हामी आफ्नो काम आफैं गर्न नसकेर परनिर्भर र गरिब हुँदै गइरहेका छौं। पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ। विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षाको अगाडी कक्षा ९ र १० मै र एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन, त्यसका लागि सर्व माध्यमिक विद्यालय सर्वोत्कृष्ट विकल्प हो।’
चौलागाईं भन्छन ‘अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निर्णय गर्नुपर्छ। हामीकहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ। अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ। अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ। जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ। देश विकासको मुख्य आधार शिक्षा प्रणाली हो। त्यसैले, अब सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाको विदेश पलायनको वर्तमान अवस्था अन्त्य गर्नु जरूरी भइसकेको छ। देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ। तसर्थ, उनीहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुनेछ। देशलाई आर्थिक विकासमा समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्तरूप दिनु राज्यको उत्तरदायित्व हो।
अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ। मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन्। यो राज्यका लागि ठूलो क्षति हो। त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ। व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ। नेपाल सरकारले रोजगारीमूलक शिक्षा दिनु जरुरी छ। नीतिगतरूपमै शिक्षा सुधार हुन जरुरी देखिएको छ।’
दोलखा जिल्लामै श्री सर्व मा.वि. अहिले निकै चर्चित छ । कारण यसको पढाइ, आन्तरिक व्यवस्थापन र दीर्घकालीन योजना नै हो । हाम्रा विद्यालयहरूले ‘ब्रिलियन्ट विद्यार्थी’ त उत्पादन गरेका छन् तर ‘ब्रिलियन्ट नागरिक’ उत्पादन गरेका छैनन्। सम्भवतः हाम्रा विश्वविद्यालयको अवस्था पनि उही हो। सर्व मा.वि. ‘ब्रिलियन्ट नागरिक’ उत्पादन गर्ने अभियानको एउटा अभियन्ता हो । शिक्षाको पश्चिमा शैलीलाई अपनाइरहेका हामीलाई पनि प्रस्ट हुने गरी पश्चिमकै एक शिक्षाविद्को भनाइ यहाँ सान्दर्भिक हुन्छ। ‘खासमा विद्यालयले नियम पालना कसरी गर्ने भन्नेबाहेक अरू केही सिकाउँदैनन्।’
जोन टेलर नामक अमेरिकी लेखकको भनाइ अझ रोचक छ, ‘हाम्रा विद्यालयको शिक्षा दिने शैली कस्तो छ भने कुनै विद्यार्थीले दत्तचित्त भएर कविता लेखिरहेको बेला विद्यालयको घन्टी बज्यो भने उसले चुपचाप आफ्नो कापी बन्द गर्नुपर्छ र अर्को विषयको किताब निकाल्नुपर्छ वा अर्को कोठामा प्रवेश गर्नुपर्छ।’ यहि सन्दर्भलाई जोडेर प्रधानाध्यापक चौलागाईं भन्छन ‘हाम्रो हकमा यो लागु हुँदैन, कृषक भन्दा पनि कृषि व्यवसायी र त्यो कृषि व्यवसायीको माग सम्बोधन गर्न सक्ने कृषि प्राविधिकको उत्पादन हाम्रो ध्येय हो। सर्व मावि जिल्लाकै जेठो कृषि प्राविधिक उत्पादन गर्ने विद्यालय हो । अनुभव, योग्यता, भौतिक संरचनाको उपलब्धता, नतिजा र परिणाम सबै दृष्टिकोणबाट हामी अरु भन्दा अब्बल छौ, अन्य विद्यालयले विद्यार्थी झिकाउने समस्या झेलिरहंदा, सर्व मावि विद्यार्थी झिकाउने, टिकाउने, सिकाउने र बिकाउने सामर्थ्य राख्दछ’ ।
सामर्थ्य यस अर्थमा राख्छ कि यस विद्यालय संग भएको प्रयोगात्मक परिक्षणका लागि उपलब्ध दोलखा अझ विशेषगरि भिमेश्वर नगरपालिकाको उर्बर भुमि, चीन सरकारको सहयोगमा निर्माणाधीन छात्राबास सुबिधा सहितको विद्यालय भवन, नेपालको सापेक्षतामा जिविकोमुखी खेति प्रणालीलाई वैज्ञानिक खेति प्रणालीसंग जोड्ने सिपयुक्त कृषि प्राविधिक उत्पादनको रणनीतिक ध्येय र दिर्घकालिन योजनाका कारणले गर्दा समग्रमा सम्पूर्ण विद्यार्थीका लागि सर्व मावि उत्कृष्ट गन्तब्य बन्न सक्छ, जसका सपाट उदाहरण यहाँबाट उत्पादित दक्ष जनशक्ति हुन् जो भोलिको नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक जीवनका मेरुदण्ड हुनेछन ।
आजको मानिसले भन्दा जति भोलिको मानिसले नवीन र सिर्जनशील ढंगले सोच्न सक्छ, त्यति नै संसार सुन्दर हुँदै जानेछ। यसो भनिरहँदा विद्यालयमा विद्यार्थीले पढिरहेका पाठ्यक्रमले नयाँ सोच्न सिकाउँछ कि सिकाउँदैन त ? वर्षौंदेखि पढाइँदै आएको पुस्तकको ठेलीले मात्रै नवीन सोच विकास गर्न सघाउँदैन। यसको पुष्टिको आधार के हो भने हाम्रा बुबाबजेले पढेका कथाहरू र हामीले पढेका कथाहरूमा खास भिन्नता छैन। न त त्यसका पाठको व्याख्या गर्ने तरिकामै धेरै विविधता छ। हरेक व्यक्तिको क्षमता र सीमितता फरक हुन्छ। समान पुस्तकका समान कथाको वाचनबाट फरकफरक क्षमताका विद्यार्थीको मनोविज्ञानको सम्बोधन हुन सक्दैन। यसर्थ विद्यार्थी, माटो र बजारको मनोविज्ञान बुझ्ने उत्कृष्ट कृषि विद्यालय र कृषि प्राविधिकबाट मात्र समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउनेछ ।
साभार:www.kantipath.com