धानको वीउ छान्ने वैज्ञानिक तरिका-भोलामान सिंह बस्नेत

धानको वीउ छान्ने वैज्ञानिक तरिका-भोलामान सिंह बस्नेत

| Advertisement |

Promotional banner

घट्दो खेतीयोग्य जमिनबाट बढदो जनसंख्यालाई खुवाउन र आयआर्जनमा बृध्दिगराउन ज्ञान, प्रविधि र विज्ञानमा आधारित खेती गर्नु अति जरुरी भैसकेको छ । नेपालमा एक अर्कालाई भेट्दा भात खानु भयो भनेर सम्बोधन गर्ने चलनले पनि धानको देशमा कतिको महत्व छ भनेर झल्काउंदछ, होइन र ? नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक बृध्दि दर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक बृध्दि दर नै ओरालो लाग्छ, तसर्थ धानले देशलाई पुर्याएको देनलाई सिंहावलोकन गरी देशले पनि धान बालीको अनुसन्धान र विकासमा प्राथमिकताकासाथ बिशेष लगानी गर्नु पर्दछ ।

उन्नत जातहरु मध्ये कृषकले आफ्नो क्षेत्रको लागि सबभन्दा पछी उन्मोचन भएका बीउहरु लगाउने प्रयास गर्नु पर्दछ किनकी नयां बीउहरुमा रोग, कीरा नलाग्ने र उत्पादन बढी हुने भएकोले नै समितिले उन्मोचन गरेको हुन्छ । विभिन्न क्षेत्रहरुका लागि सबभन्दा पछी उन्मोचन, सिफारिस भएका धानका जातहरुमा चेहरान सव१, राधा १३, राधा १४, स्वर्णा सव१, सावामसुली सव१, हर्दिनाथ १, हर्दिनाथ २, हर्दिनाथ ३, तरहरा १, लल्काबास्मती, सुनौलो सुगन्धा, खुमल ८, खुमल १०, खुमल १३, लेकाली १, लेकाली ३, लोकतन्त्र, मिथिला, राम, पोखरेली जेठाबुढो, स्वर्णा सव १, साम्भा मसुली सव १, चेहरान सव १, चैते ५, सुख्खाधान १, सुख्खाधान २, सुख्खाधान ३, सुख्खाधान ४, सुख्खाधान ५, सुख्खाधान ६, बहुगुणी धान १, बहुगुणी धान २ आदी हुन । उत्पादन बढाउन, नयां जातको साथै खेतीगर्ने तौरतरिकाको तारताम्यपनि मिलाउनु पर्दछ । खाली जातमात्र भनेर हुंदैन । भनिन्छ गुणस्तरीय बीउले मात्र कुल उत्पादनमा १५ देखि २० प्रतिसत देन दिएको हुन्छ र कहिकहि त बीउले मात्रपनि सयप्रतिशत उत्पादन बढेकोपनि पाइएको छ ।

वैज्ञानिक तरिकाले धानको वीउ छान्ने तरिका

धानको नर्सरी, व्याड बनाउन लटर-पटर मात्र नगरी हामीले छोरा, छोरी हुर्काए जस्तै गरी गर्नु पर्दछ ।  स्वस्थ वेर्ना जब हुर्कन्छ तव बलियो र दरिलो पनि बन्छ । असल वीउहरुमा जातीय शुध्दता, धेरै उमारशक्ति, आकारमा एकरुपता, मिसावट नभएको, वीउजन्य रोगबाट मुक्त भएको हुनुपर्दछ । वीउको गुण एवं उमार शक्ति वीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । धानमा मूल गांजबाट अन्य दोश्रो र तेश्रो पड्०तिका गांजहरुको तुलनामा वीउहरुको सबैभन्दा बढी संख्या एवं वजनदार वीउहरु उत्पादन हुन्छन । बालाको मध्य एवं तल्ला भागहरुको तुलनामा टुप्पातर्फका वीउहरु वजनदार हुन्छन र यस प्रकारको वीउहरु चांडै उम्रेर स्वस्थ वेर्नाहरु पनि निक्लन्छन । साधारण तया ठुला, ठुला वीउहरुबाट एक, दुइदिन अगाडिनै वेर्नाहरु निक्लन्छन । स, साना एवं कम वजनदार वीउहरुको तुलनामा ठुला, ठुला एवं वजनदार वीउहरुबाट बलिया र स्वस्थ वेर्नाहरु निक्लन्छन र पछिपनि राम्ररी बृध्दि कायम भई अन्ततोगत्वा बढी उत्पादन दिने गर्छन । स्वस्थकर बाली कायम राख्न राम्ररी भरिएका, हृष्टपुष्ट वीउहरु छान्नुपर्छ । वैज्ञानिक ढंगले धानको वीउ छान्ने तरिका निम्नानुसार बताइएको छ ।

वैज्ञानिक तरिकाले धानको बीउ छान्न संलग्न चित्रमा देखाए जस्तो (साधारण पानीमा ताजा कुखुराको फुल हाले पहिलो देब्रे भांडोको पिंधमा जान्छ र धानको वीउ छान्न फुलले तेश्रो भांडोको जस्तो पानीको सतहमा छोएको हुनुपर्दछ ) । एक लिटर पानीमा २०० ग्राम खाने नुनको घोल बनाएर छान्दा एक मिनेट भित्रै राम्रा, राम्रा, पोटिला, हृष्टपुष्ट, मरुवा (व्लाष्ट) जस्ता विउबाटै सर्ने रोग, कीराले कम आक्रमण गरेका गह्रौं बीउ भांडोको तल, पींधमा जान्छ र नराम्रो बीउ घोलको मध्य भागमा र माथि नै तैरिन्छन । यसरी तैरिएको बीउलाई हटाएर तल, पिंधमा गएको बीउलाई तुरुन्तै २, ३ पटक साधारण पानीले धोइ, पखाली गरिदिनु पर्दछ । घण्टौंसम्म घोलमा बीउ राखीरहनु हुंदैन र भोलिपल्टको लागि बासी घोलपनि प्रयोग नगर्न सल्लाह दिइन्छ । यदी पांच लिटरको घोल बनाउने हो भने १ किलोग्राम वा एक प्याकेट नुन मिसाउनु पर्दछ र यस प्रकार बनाएको घोललाई धानको बीउ छानी सकेपछी गाई, भैसीलाई कुंडो बनाउदा प्रयोग गर्न सकिन्छ । बीउ छान्न बनाएको उही घोलमा ५, ६ पटक बीउ छान्न सकिन्छ । यसरी वीउ छान्दा मरुवा (व्लाष्ट) जस्तो धानको वीउजन्य विनासकारी रोगलाई कमी गर्न पनि सहयोग पुग्दछ । धानका मुख्य रोगहरुमा मरुवा (व्लाष्ट), पात डढुवा, पाते फेद, डांठ कुहिने, खैरो थोप्ले जस्ता पर्दछन र ढुसि एवं साकाणु नासक विषादीव्दारा व्यवस्थापन गर्नु जरुरी छ । जापानमा जम्मा धान उत्पादनको ५० प्रतिसत देन त स्वस्थकर वेर्नामा नै भरपर्ने गर्दछ भन्ने भनाई छ र वेर्ना खूवै मेहनत गरी हुर्काउने गर्दछन भने नेपालमा पनि हुने बीरुवाको चिल्लोपात नहुने विरुवाको फोस्रो पात भनिन्छ । सत प्रतिसत जापानी किसानले माथि उल्लेख गरेनुसार धानको वीउ छान्दछन र व्याडको माटो समेत सहकारीबाट खरिद गर्ने गर्दछन । तर नेपाली किसानहरुले मल त किन्न सक्दैनन भने माटो किन भन्नु ठिक हुंदैन तर कम्पोष्ट, प्रांगारिक मल त ब्याडमा हाल्न सक्दछन । त्यसैले हाम्रो देसको माटो, हावापानी अनुसार चल्नु पर्दछ ।

भोलामान सिंह बस्नेत, वरिष्ठ धानबाली बिज्ञ
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकास प्राप्त