धेरै मात्रामा दुध दिने उन्नत किसिमका गाईमा देखिने मुख्य समस्या सिताङ्ग रोग (Milk Fever) बारे बुझौ

धेरै मात्रामा दुध दिने उन्नत किसिमका गाईमा देखिने मुख्य समस्या सिताङ्ग रोग (Milk Fever)  बारे बुझौ

| Advertisement |

Promotional banner

डा.विजय घिमिरे          पशु चिकित्सक

सिताङ्ग रोग (Milk Fever)पशुहरुमा मेटावलिक प्रक्रियामा गडबडीबाट उत्पन्न हुने रोग हो ।यो कुनै सुक्ष्म जीव , जीवाणु, बिषाणूको कारणले लाग्ने रोग होइन। धेरै मात्रामा दुध दिने उन्नत किसिमका गाईको एउटा मुख्य समस्या हो । यो रोग बढी दुध दिने उन्नत पशुमा सामान्यरुपमा देखा पर्ने भएता पनि व्याईसके पछि किसानले व्याएको पशु केही घण्टा सम्म प्रत्यक्ष निगरानी नगर्दा पशुको मृत्यु समेत हुने गर्छ । यो दुधालु पशुहरुमा साधारणतया व्याएको ७२ घण्टा भित्र हुने गर्छ । यसमा क्यालसीयमको कमी हुन्छ जसका कारणले स्नायु मांशपेसीको प्रकृयामा असर भई जनावर सुरुमा लड्खडाउने, लत्रिने, त्यस पश्चात क्रमशः भुइमा सुत्ने, रक्तसंचार प्रणालीले काम गर्न छाडी अन्तिममा अचेत भई मर्ने गर्छन । बढि दुध दिने गाईलाई यसले बढि प्रभाव पार्दछ । यो रोग खासगरी व्याएको ७२ घण्टा भित्र देखा परे पनि, कममा  ४८ घण्टामा र बढिमा १० दिन सम्म पनि देखा पर्न सक्छ । त्यस पश्चात यो २–३ महिना सम्म पनि रहन सक्छ । यसले वयस्क तथा बुढा पशुमा असर गर्छ (खास गरी ५–१० वर्ष) । यो तेस्रो देखि सातौँ वेत सम्म पनि देखा पर्छ । मौसमको सम्बन्धमा हेर्दा यो हिउँद समयमा बढी  देखा पर्छ । असर भएका २०% सम्म पशु मृत्यु हुनुका साथै दुध उत्पादन कमी भई आर्थीक क्षति गराउने गर्छ  । दधालु गाई अलावा यो भेडा, बाख्रा, भैँसी आदिमा समेत देखा पर्छ । यस रोगलाई ज्वारो भनिएता पनि यसमा ज्वरो आएको हुदैन ।

कारण 

आयोनाइज क्याल्सियमको रगतमा कमि हुनु प्रमुख कारण हो । मांसपेशीलाई खुम्चाउन र फैलाउन क्याल्सियमको आवश्यकता पर्दछ। क्याल्सियम सोस्ने प्रमुख भाग आन्द्राको माथिल्लो भाग हो । रगतमा क्याल्सियम पुलले सन्तुलन कायम गर्ने गर्छ , आन्द्राबाट र हड्डीबाट क्याल्सियम सोस्छ । रगतमा भएको केहि मात्रा क्याल्सियम हड्डीमा गएर जम्मा हुन्छ । साधारणतया रगतमा 9.0 mg % क्याल्सियम हुन्छ  भने सिताङ्ग ज्वरोमा २–६ mg %  हुन्छ । ब्याइसके पछि क्याल्सियम  अत्याधिक मात्रामा शरिर बाहिर आउँछ र रगतमा यसको मात्रा कमि हुन्छ ।

अन्य कारण जसले क्याल्सियमको सन्तुलनमा असर गर्छ

-आन्द्राबाट सोसिने भन्दा बेगौती दुधबाट शरिरबाहिर निस्कने क्याल्सियमको मात्रा बढि हुनु।

– क्याल्सियम राम्रो संग नसोसीनु ।

१. ब्याउँदा कम आहारा खानु ।

२. भिटामीन डी को मात्रा कम हुनु ।

३. हड्डीबाट वाहिर निस्केको क्याल्सियमको मात्रा कम हुनु ।

 – प्याराथाइराइड हर्मन कमीका कारणले हड्डीबाट कम मात्रा क्याल्सियम वाहिर आउँछ । सुख्खा समयमा बढी क्याल्सियम खान दिदा समेत यो समस्या आउँछ (१००–१२५ mg % / गाई / दिन) । धेरै क्याल्सियमका कारणले प्याराथाईरोईड ग्रन्थी निस्कृय भई काम गर्न छाड्छ । त्यसकारण सुख्खा समयमा कम क्याल्सियम र बढि फोसफरस खनिज दिँदा प्याराथाइराइड ग्रन्थीको काम सक्रिय भई ब्याइसकेपछि क्याल्सियम कमि हुन पाउँदैन ।

–  अत्याधिक क्यलसीटोनीनको मात्रा भएमा पनि क्याल्सियम कमि हुन्छ ।

रगतमा क्याल्सियम र फोसफरसको अनुपात २:१ हुनुपर्छ । अनुपात नमिलेमा क्याल्सियम कमि हुन्छ । कहिलेकाँहि क्याल्सियमको साथै फोसफरसको समेत कमि हुन्छ र कहिलेकाँहि म्यागनिसियम समेत कमि हुन्छ जसलाई ‘ मिल्क फिवर सिन्ड्रम’  भनिन्छ ।

रोग लाग्ने तरिका 

मिल्क फिवरमा क्यालसियमको कमी हुने भए पनि कसरी लाग्दछ भन्ने थाहा छैन । यो क्याल्सियमको कमी मात्रले हुने रोग होइन । उमेर बढ्दै जादा पशुले आहारबाट राम्रो संग क्याल्सियम लिन सक्दैन । दुधमा भएको सम्पुर्ण क्याल्सियम रगतबाट आएको हुन्छ । दुध मार्फत अत्याधिक मात्रामा क्याल्सियम बाहिर आउँछ र रगतमा भएको क्याल्सियमको सतह घट्दै जान्छ  । सन्तुलन कायम गर्न १२ गुणा क्याल्सियम शरीरले पाउनु पर्छ, तर पाउन सक्दैन फलस्वरुप रगतमा क्याल्सियमको मात्रा कम हुन्छ ।

लक्षण  : यो रोगको लक्षण गाईमा निम्न तीन अवस्थामा  हुन्छ ।

प्रथम अवस्था

सर्वप्रथम पशुमा अत्यधिक उत्तेजना आउँने, पछाडीका खुट्टाहरुको मांसपेशिमा कम्पन आउँने ।राम्रो संग घाँस दाना नखाने, टाउको हल्लाउने, वरिपरी घुम्ने, दाँत किट्ने, जिब्रो मुख बाहिर निकाल्ने, अत्यधिक उत्तेजना भएका कारणले सुरुमा तापक्रम बढ्ने अथवा सामान्य रहने, क्रमशः पशुको मांसपेसी कमजोर भई बसेको पशु उठ्न नसक्ने, लड्खडाउदै उठ्ने र फेरी भूईमा लड्न खोज्ने ।

द्धितीय अवस्था 

पशु ह्याकुलोको भरमा टेकेर बस्छ, टाउँको दाँया वा बाँया वा भुडेमा पारेर बस्छ, पशु सुस्त हुन्छ, कम्पन र सारीरीक उत्तेजना क्रमशः घटि पशुको जोस हराउँदै जान्छ, सरीरलाई अंग्रजीमा  S   आकारमा पारेर बस्छ , छाला रखुट्टा चिसा हुन्छन् , थुतुनो सुख्खा हुन्छ , तापक्रम धेरै कम हुन्छ ९० डे फ. , आँखाको म्युकस झिल्ली सुख्खा हुन्छ , नानी फैलिएको हुन्छ , आँखा झिमझिम पार्छ वा बन्द गर्छ , मलद्धारका मांसपेसी खुम्चीने सक्क्ती हराउँछ , मलद्धार खुकुलो हुन्छ मुटुको धड्कन बढ्छ , ८० प्रति मिनेट  , रुमेनको गति कम हुन्छ , पेट फुल्छ , पिसाब बन्द हुन्छ , ञुगलर नसा पक्ता लगाउन गाह्रो हुन्छ , लामो र गहिरो सास फेर्छ ।

तेस्रो अवस्था:

दाँया या बाँया कोल्टेर बस्ने अवस्था, मांसपेसी पूर्ण रुपमा  असर भएका कारणले सामान्य अवस्थामा पशु बस्न सक्दैन, तापक्रम घट्ने , रक्तसंचार प्रणाली ध्वसत हुने , मुटुको धड्कन सुन्न नसकेपनी १२० प्रति मिनेट हुने , कम पिसाब गर्ने वा गर्नै नसक्ने , पेट फुल्ने । यस अवस्थामा उपचार नपाए पशु स्वासप्रस्वास प्रणाली ध्वास्त भई मर्छ । यदि क्याल्सियम संग म्याग्नेसियम समेत कमी देखा परेमा आवाज अंग सम्वेदनसील हुन्छन् , यदि फोस्फोरस पनि कमी भएमा क्याल्सियममा मात्र दिएमा उठ्न सक्दैन ।

 

निदान (Diagnosis)

लक्षणका आधारमा, इतिहास विवरण, प्रयोगशाला परिक्षण क्यालसीयम अपचार बिविध बाट आदि ।अन्य अवस्था जसका कारण पशु भूई लड्छ ।

ब्याउँदाको चोटपटकमा:  Obturator nerves  को क्षतीका कारण पशु उठ्न सक्दैन ।

जोर्नीको गोलो लिगमेन्ट च्यातिदा: ब्याँउदा पछाडीको खुट्टामा चोटपटक लाग्नु सामान्य हो । हिपको जोर्नीले ठाँउ डाड्ने, गेस्ट्रोनियम मांसपेसी च्यातिनाले पशु बस्छ तर यस अवस्थामा पशु भुइमा लडे पनि दाना पानी खाने , दिशा पिसाव गर्ने प्रक्रिया सामान्य हुन्छ ।

मेट्राइटिस :  मेट्राइरिसमा समेत पशु भुइमा लड्छ र उठ्दैन ।

पाठेघर च्यातिँदा :  रक्तश्राव भई पशु कमजोर भएका कारणले पशु उठ्न सक्दैन ।

विष लागेको अवस्थामा ।

रोकथाम  

गर्भेणी भएका गाई भैसीलाई नब्याउन्जेल सम्म फोस्फोरस दिनु पर्छ । जस्तै  Sodaphos , ठूलो पशुलाई ६० एम.एल. ,सानोलाई १५–३० एम.एल. । Cal-up-gel Tube  , १ ट्युव ब्याउन भन्दा १२ घण्टा अगाडी, १ ट्युव ब्याएको १२ घण्टा पछाडी खान दिने । Cholicalciferol  भिटामिन मा एक लाख युनीट प्रती केजी. तौल अनुसार ब्याउन २ – १० दिन अगाडी एक पटक मासुमा दिनु पर्छ ।

उपचार   

बढी दुध दिने पशुमा क्याल्सियम कमि हुने भएका कारणले कम्तिमा पनि ७२ घण्टा सम्म प्रत्सकभर  पशुलाई जती सक्दो चाँडो उपचार गर्नु पर्छ । पहिलो  अवस्थामा उपचार गर्दा उपचार सफल हुन्छ । पशुलाई ह्याकुलाको भरमा बसाउनु पर्छ ।

 

 

क्यालसियम बोरो ग्लुकोनेट ट्रान्जेक्सन ( Carboral , Calcium Borogluconate  Cabim , Calmay,  Thical, , Mifel   Miphocal ) मध्य कुनै एक ठुलो पशुमा (४५०–६०० के जी.) ८००–१०० एम एल सानो पशु (३२०–३६० के.जी. ) ४००–५०० एम एल, बाख्रा र भेडा १२५–१५० , कुकुर १५–२० एम एल , तातो पानीमा (१०२ F ) तताएर आधा शिरा  र आधी मात्रा छाला मुनी s/c  दिने , ६ मिनेटमा पशुले दिशा पिसाव गर्ने , ३ मिनेटमा आखाँमा आँशु आउने र १० मी. उठ्ने ।

क्यालसियम सुई संगै एन्टिहिस्टामाईन समेत दिनु पर्छ ( Zeet , HIstal ) ठूलो पशुलाई १० एम.एल. मासुमा पानीमा २–५ एम.एल. मासुमा एक पटक ।

कर्टिकोस्टेरोइड समुहको औषधी ( Vetcort , Bentizol , Vetalog , Predisolone, Ceradex ) ठूलो पशुलाई ५ एम.एल. सानो पशुलाई १–३ एम.एल. शिरा अथवा मासुमा दिने ।

थुनमा हावा भरेर: थुनमा  हावा भरेर समेत मिल्क फिवरको उपचार गर्न सकिन्छ , पम्पले थुनमा हावा भर्ने, हावा ननिस्कीयोस भनेर टेप लगाउने , आधा घण्टा सम्म बन्द राख्ने पुन टेप खोल्ने , थुनमा मालीस गर्ने , यस्तो गर्दा चोटपटक लाग्न दिनु हुदैन । यो प्रकृयाबाट क्यालसीयम वृद्धि हुन जान्छ ।

बङगुरको मिल्क फिवरमा १२५– १५० एम.एल. क्यालसीयम वोरो ग्लोकोनेट इन्जेक्सन पेटको छाला मुनी एक्लै वा ५०% डेक्सट्रोज सलाइनमा २५० एम.एल. प्रयोग गर्दा प्रभावकारी हुन्छ ।

टोनोफोस्फान तथा डेक्सट्रोज, रिन्टोज शिरामा दिने । (Cal-d-12 , Brical  ) १५०–२० एम.एल. मासुमा दिने ।