कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा फिक्कल इलाममा भएको एक कार्यक्रममा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । | Advertisement | “नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४” ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलार्इ ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ । ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दसकभन्दा लामो अवधी देखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ ।
कार्यक्रमका प्रमुख अतिथी घनश्याम भुसालज्यूले गर्नु भएको सम्बोधनको सारांश
आदरणिय चिया कृषक, व्यवसायी, पत्रकार मित्रहरू तथा चियासँग सरोकार राख्ने सम्पुर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू,
१५७ वर्ष भएछ नेपालमा चिया खेती गर्न थालिएको । वि.सं.१९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण गरेर सुरू भएको चिया खेती आज यहाँसम्म आइपुगेको छ । नेपालमा हरेक उपभोग्य बस्तु आयात गर्नु पर्दा चियाको उत्पादनमा भने हामी आत्मनिर्भर भएकाछौँ । यति मात्रै हैन, आज देशको व्यापारघाटा ११ खर्ब पुगेको परिप्रेक्ष्यमा भारत लगायत तेश्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्रमा राम्रो भुमिका चिया क्षेत्रले खेलिरहेको छ । अहिलेको अवस्थामा यो निकै नै सरहानिय कुरो हो ।
यति हुँदाहुँदै पनि पछिल्ला दिनहरू नेपाली चिया क्षेत्रका लागि चुनौती र समस्या रहित रहेन । भारत लगायत तेश्रो मूलुकमा निर्यात गर्दा बेला बेलामा भन्सारमा व्यहोर्नु पर्ने समस्या, चियाको हरियोपत्तीको न्युनतम् मूल्य विवाद, श्रमिकका समस्या र पछिल्लो समय आएर विश्वव्यापी महामारी कोभिड-19 का कारण उत्पन्न समस्या … । यि यस्तै समस्यै समस्याको भुमरीमा चिया क्षेत्र घुमिरहेको परिप्रेक्ष्यमा आज हामीले नेपाली चियाको बजारिकरणमा रहेको एउटा समस्यालार्इ समाधान गर्ने प्रयास गरेका छौँ ।
हामीलार्इ थाह छ, हामीले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको छ । स्वच्छ हावापानी पाएर यस उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको छ । तर यति हुँदा हुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको थिएन । हामीलार्इ थाह छ, नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेश्रो देशमा लामो समयदेखि बिक्री भर्इरहेको थियो । यसलार्इ रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरूरी थियो ।
विगत एक दशक देखिको निरन्तर प्रयास पछि आज बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको छ । हाम्रो मन्त्रालय मातहत रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पहलमा नेपाली चियाले आफ्नै पहिचान पाउने भएकोछ । Nepal Tea Quality From the Himalayas नामको ट्रेडमार्क उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो । तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केहि कानुनी तथा प्राविधिक कठिनायीहरू थिए । ट्रेडमार्क त दर्ता भयो, तर यसको गरिमालार्इ कायम गर्न चुनौतीपुर्ण विषय थियो । ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य श्रृंखलामा क्रियाशिल सबैको लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो । बोर्डले यसमा घनिभुत छलफल नै चलायो । निर्देशिका बनेर स्वीकृत भएपछि अब यो कार्यान्वयनमा आउने चरणमा पुगेकोछ ।
बोर्डले गतवर्ष नै यस ट्रेडमार्क प्रयोगका लागि इच्छुक चिया उद्योगहरूलार्इ निवेदन दिन सार्वजानिक आह्वान गरेको थियो । बोर्डले दिएको जानकारी अनुसार कुल ४२ वटा चिया उद्योगहरूले निवेदन दिएका थिए । तर निवेदन दिने सबैले ट्रेडमार्क पाउँछन् भन्ने छैन । निर्देशिकाले तय गरेका मापदण्डहरू पालना गरि चिया उत्पादन भएको/नभएको बारे बोर्डले स्थलगत अनुगमन गरी प्रतिवेदन बनायो । सोही प्रतिवेदनका आधारमा १२ वटा चिया उद्योगहरूले मापदण्ड पुरा गरेको ठहर भएपछि आज पहिलो चरणमा यि १२ वटा चिया उद्योग तथा सहकारीहरूको लागि ट्रेडमार्क प्रदान गर्न औपचारिक कार्यक्रम आयोजना भएको छ ।
तर यो नै अन्त्य भने हैन है । मापदण्ड पुरा नभएका बाँकी चिया उद्योगहरूको प्राविधिक क्षमता विकासका लागि बोर्ड र मन्त्रालयले अबका दिनहरूमा काम गर्नेछ । यस्तो दिन आउनेछ, जुन दिन नेपालमा उत्पादन हुने सबै चियाले गुणस्तरियता कायम गरेर यो ट्रेडमार्क लागेर मात्रै स्वदेश तथा विदेशमा नेपाली चिया विक्री हुनेछ। बोर्डले यो दिशामा काम गरोस् भन्ने निर्देशन म यहि मञ्चबाट दिन चाहन्छु ।
ट्रेडमार्क कार्यान्वयनमा आएसँगै यसको गरिमा कायम राख्नु सबै नेपाली चिया प्रेमीहरूको दायित्व हो । यसको गरिमामा आँच आउन नदिनका लागि सबै चिया कृषक, संकलनकर्ता, उद्योग, ढुवानीकर्ता, प्याकेजर र सम्बद्ध सबैले आ-आफ्नो तर्फबाट चियाको गुणस्तर कायम गर्नका लागि भुमिका खेल्न जरूरी छ ।
आज चिया क्षेत्रको एउटा प्रमुख समस्या समाधान भएको छ । नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारिकरणमा त्यति समस्या आउने छैन । स्वदेशी र भारतको बजारमा त यहाँहरूले चिया विक्री वितरण गर्दै आउनु भएकै छ । अब चीन, अमेरिका र युरोपेली बजारमा पनि विक्री गर्न आक्रामक ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी म देख्छु । विदेशस्थित सबै कुटनीतिक नियोग र महावाणिज्यदुतमार्फत नेपाली चियाको ब्राण्ड प्रवर्द्धन गर्न म आफै समन्वयात्मक भूमिका खेल्नेछु । मलार्इ थाह छ, चिया क्षेत्रका अरू पनि समस्याहरू छन् । श्रमिक मजदुरको ज्यालाको विषय, हरियोपत्तीको मूल्य सम्बन्धी विषय र यो कोभिड-१९ ले चिया क्षेत्रमा पारेका असरहरू बारे म जानकार नै छु । आगामी दिनहरूमा यि समस्याहरूको पनि क्रमैसँग सम्बोधन गर्दै जानेछौँ । मुलुकको आर्थिक समृद्धिको यात्रामा चिया क्षेत्रले अग्रणी भुमिका खेल्न सकोस् भन्ने शुभकामना दिँदै म यहाँबाट विदा हुन्छु । नमस्कार ।
पहिलो चरणमा ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पुरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका चिया उद्योगहरुको विवरण यस प्रकार छ ।
1 | श्री सन्दक्फु टि प्रोसेसर्स प्रा.लि | इलाम | माइपोखरी, इलाम | चन्द्र भुषण सुब्बा | 9851079978 |
2 | श्री हिमालयन सांग्रीला टि प्रोड्यूसर्स प्रा.लि | इलाम | साखेजुङ्ग, इलाम | श्री कमल राज मैनाली | 9851021068 |
3 | श्री उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लि. | इलाम | देउमाइ नगरपालिका-3 | श्री थीर बहादुर राउत | 9842662562 |
4 | श्री जस्बिरे टि प्रशोधन उद्योग | इलाम | इलाम नपा-4 जस्बिरे | श्री शरद सुब्बा | 9852681846 |
5 | श्री सगरमाथा टि स्टेट प्रा.लि | संखुवासभा | धर्मदेवी न.पा. 3 | श्री हर्क नारायण रार्इ | 4104578, 9842031074 |
6 | श्री बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग | तेह्रथुम | सोल्मा 1, तेह्रथुम | श्री रूद्र प्रशाद खनाल | 9842413258 |
7 | श्री सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि. | तेह्रथुम | लालीगुरास न.पा 9, तेह्रथुम | श्री टेक बहादुर केप्छाकी मगर | 9852049041 |
8 | श्री गोर्खा टि स्टेट प्रा.लि | इलाम | सु.न.पा 09 | श्री वि.वि रार्इ | 9842219958 |
9 | श्री नेपाल ग्रिन टि एण्ड स्पेसियालिटि | इलाम | सु.न.पा.03 | श्री सी.बि. रार्इ | 9825984896 |
10 | श्री ओएसिस टि इन्डस्ट्रिज | इलाम | सु.न.पा 11 | श्री ज्योति अधिकारी | 9852680272 |
11 | श्री तारागाउ टि स्टेट | इलाम | सु.न.पा 6 | श्री पुनम रार्इ | 9844691732 |
12 | श्री साखेजुङ्ग हिल रेन्ज चिया प्रशोधन उद्योग | इलाम | इ.न्.पा।1 | श्री पुनम रार्इ | 9844691732 |
—