नेपाली कृषि र कृषि शिक्षा

नेपाली कृषि र कृषि शिक्षा

| Advertisement |

Promotional banner

Bipin Subedi
BScAg student
Kailali

आधुनिक प्रणालीबाट बालीजन्य र पशुजन्य उत्पादनमा वृद्धि गर्न अध्ययन तथा अनुसन्धान गर्ने शिक्षालाई कृषि शिक्षा भनिन्छ । कृषि शिक्षाबाटै कृषिको विकासका लागि आवश्यक पर्ने विज्ञ उत्पादन गरिन्छ । कम लागत र थोरै जमिनमा कसरी धेरै अनज उत्पादन गर्ने ? कुन जातको बीउ लगाउने ? कुन माटोमा कुन अनज फल्छ ? कुन समयमा कस्तो बाली लगाउने ? यस्ता प्रश्नमा कृषि शिक्षा बढी केन्द्रित हुन्छ । भौगोलिक अवस्था, हावापानी र माटाको प्रकारका आधारमा वैज्ञानिक तवरले कसरी कृषि गर्ने भनेर अनुसन्धान गर्न चाहिने दक्ष जनशक्ति कृषि शिक्षाले नै उत्पादन गर्छ ।

अहिले कृषि क्षेत्र पहिलाको तुलनामा व्यावसायिक र आधुनीकरण हुँदै गएको छ । हालको कृषिमा युवाहरूको आकर्षण बढ्दो छ । विदेशबाट ज्ञान हाँसिल गरेर आएका उद्यमशील व्याक्तिहरूको रोजाइमा कृषि नै परेको छ । पहिला पढेलेखेकाहरूले जागिर खानुपर्छ कृषिमा अल्झिनु हुँदैन भन्ने भनाइ थियो, भने हाल त्यो कुरा पूरै परिवर्तन भएको छ । जस्तै कलेज पढ्ने विद्यार्थी पनि कृषितर्फ आकर्षित भएका छन् । कृषि क्षेत्रले हाल कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको छ, भने जिडिपीमा करिब ३३ प्रतिशत योगदान गरेको छ । प्रकृतिले हामीलाई निकै राम्रो उपहार दिएको छ । नेपालको हिमाल, पहाड, तराईमा फरकफरक किसिमका खाद्यान्न, तरकरी तथा फलफूल उत्पादन गर्न सकिन्छ । हाल कृषिलाई पेसागतभन्दा पनि व्यावसायिक रूपमा लिन थालिएको छ । सबैको साथ सहयोग पाइएमा धान, गहुँ, मकैमा तीन वर्षभित्र, तरकारी र माछमा दुई वर्षभित्र, फलफूलमा पाँच वर्षभित्र नेपाल आत्मनिर्भर बन्न सक्छ । नेपालमा राजनीतिक परिवर्तन समाप्त भएको छ । अबको समय भनेको देशमा आर्थिक प्रगति परिवर्तन गर्ने वेला भएको छ । आर्थिक क्रान्तिका लागि जलस्रोत विकास, पर्यटन विकास र कृषि विकास गर्नु जरुरी छ ।

कृषिमार्फत ग्रामीण रोजगारीको वृद्धि गर्न सकिन्छ । कृषिजन्य बजार विस्तार गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा देशलाई आत्मनिर्भर बनाउनमा कृषिको ठूलो भूमिका रहन्छ । उन्नत बीउहरूको प्रयोग, सिँचाइको विकास, आधुनिक कृषि औजारहरूको प्रयोग, विज्ञ विशेषज्ञहरूको संलग्नता लगायतका तरिकामार्फत कृषि उत्पादन वृद्धि गर्न सकिन्छ ।  हाल १५ लाख हेक्टरमा धान खेती गरिँदै आएको छ । हामीलाई ५६ लाख मेट्रिक टन धान आवश्यक भएको अवस्थामा हामी करिब ५२ लाख मेट्रिक टन धान उत्पादन गरिरहेका छौँ । मकै पनि हामीले २० लाख मेट्रिक टनको हाराहारीमा उत्पादन गरिरहेका छौँ । हामीलाई २२ लाख मेट्रिक टन भए पुग्छ । गहुँमा हामी आत्मनिर्भर छौँ । तर, दानामा आधारित उद्योगहरूले गर्दा केही माग बढेको छ । तरकारी र माछामा पनि हामीले उत्पादन बढाइरहेका छौँ । हाल हाइटेक प्रणालीमार्फत तरकारी खेती गरिन थालिएको छ । सहरीकरण, उद्योगीकरणको नाममा उर्वरभूमि नास हुँदै गएको अवस्था छ । कृषिमा कुल जनसंख्याको ६६ प्रतिशतले रोजगारी पाइरहेका भए पनि अदक्ष जनशक्ति भएकाले कम पैसामा काम गर्नुपर्ने वाध्यता छ ।

सञ्चालित कृषि परियोजनाहरू

हाल कृषि मन्त्रालयमार्फत थुप्रै आयोजना र परियोजना कार्यान्वयनमा छन् । जसमध्ये सबैभन्दा ठूलो परियोजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हो । उक्त परियोजनामार्फत कृषि विकासका लागि देशैभर काम भइरहेको छ । त्यसैगरी विश्व बैंक, एसियाली विकास बैंक लगायतको सहयोगमा साना तथा मझौला आयोजनाहरू पनि सञ्चालनमा रहेका छन् । कृषि विकास मन्त्रालयअन्तर्गत वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरूमा तत्कालीन ७५ वटै जिल्लामा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना, पूर्वाञ्चलको झापा र सुनसरी, मध्यमाञ्चलको बारा र पर्सा पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका सबै जिल्लाहरू सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन आयोजना रहेका छन् ।

त्यस्तै, पूर्वाञ्चलको झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, सप्तरी, सिरहामा, मध्यमाञ्चलको बारा, महोत्तरी, काभ्रे, दोलखा, चितवन, धादिङमा, पश्चिमाञ्चलको मुस्ताङ, कास्की, पाल्पा, रूपन्देहीमा, मध्यपश्चिमाञ्चलको बाँके, दाङ, सुर्खेत, रुकुम, जुम्लामा र सुदूरपश्चिमको दार्चुला, डोटी र कैलालीमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजना पनि अन्तिम चरणमा रहेको छ । त्यसैगरी, कैलालीमा सञ्चालित रानी, जमरा, कुलरिया सिँचाइ आयोजना, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, समुदाय व्यवस्थित सिंचित कृषि आयोजना, उच्च मूल्य कृषि वस्तु विकास आयोजना पनि सञ्चालनमा रहेका छन् । त्यस्तै, किसानका लागि उन्नत बीउबिजन कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा आयोजना, घर बगैँचा कार्यक्रमहरू सञ्चालित छन् भने केही आयोजना सम्पन्न पनि भइसकेका छन् ।

कृषि अनुदान

कृषि विकास मन्त्रालय अन्तर्गतका निकायमार्फत बीउ, बेर्ना, मल र कृषि औजारमा अनुदान दिने गरेको छ । त्यस्तै, सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिन्छ । कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि तथा खाद्य सुरक्षा आयोजनाले आयोजना कार्यान्वयन भएको १९ जिल्लाअन्तर्गत जिल्ला कृषि विकास समितिबाट छनोट भएका १० गाउँपालिकाका किसान समूह, सहकारी तथा आमा समूहका लागि कृषि बाली, पशुपंछीपालन र पोषणसम्बन्धी प्रविधिमा अनुदान दिन थालेको छ ।

त्यसैगरी, खेती प्रणालीमा सुधार, उन्नत बीउको प्रसार तथा विस्तार, एकीकृत शत्रुजीव व्यवस्थापन, उन्नत कृषि यन्त्र तथा औजार (पावर टिलर, थ्रेसर) को उपयोगका लागि सरकारले अनुदान दिन्छ । त्यस्तै, हरितगृह, प्लास्टिक टनेल, कृषि वस्तु प्रशोधन फलफूल तथा तरकारी प्रशोधन, घरायसी उत्पादित बस्तुको बजारीकरण, बीउ प्रशोधन र बजारीकरणका लागि छाप्रो निर्माण लगायतमा पनि अनुदान दिने गरेको छ ।

कृषिमा प्रविधि

कृषिमा आधुनिक प्रविधि भित्र्ययाउनु अति आवश्यक छ । अब परम्परागत कृषि प्रणालीले मात्र पुग्दैन । कृषिलाई प्रविधिमैत्री बनाउनु पर्छ । किसानमैत्री प्रविधि र अध्ययन अनुसन्धान हुनु जरुरी छ । पहिलेको तुलनामा हाल केही प्रविधि भित्रिएका भए पनि सबै किसानकहाँ प्रविधि पु¥याउन सक्नुपर्छ । यसका लागि स्थानीयदेखि केन्द्र सरकारले सहयोग गर्नुपर्दछ । आजकल अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ। आधुनिक खेतीमा कृषकहरूको भूमिका महत्त्वपूर्ण बन्दै गएको छ। आधुनिक खेती प्रणालीले कृषियोग्य भूमिको उत्पादकत्व बढाएको छ। आधुनिक प्रणाली अन्तर्गत आधुनिक मेसिन तथा प्रविधिको प्रयोग गरिने हुँदा यसबाट भूक्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानी हुनबाट जोगाउनुका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ। बालीनाली तथा पशुपालनसम्बन्धी आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनीयतामा वृद्धि गर्दछ । द्रूत र प्रभावकारी सिँचाइ, बाली भित्र्याउने प्रक्रिया, उपकरणहरूको सञ्चालन तथा भण्डारणका उपयुक्त माध्यम र बजारसम्मको सुलभ पहुँच आधुनिक खेती प्रणालीका विशेषताहरू हुन्।

आज विश्वमा कृषिलाई प्राथमिकता दिइनुको कारण जीवन यापनका लागि कृषिको अपरिहार्यता मात्र नभएर दिगोपनामा यसको महत्त्व भएकाले पनि हो। एकातिर उत्पादनको परिणाको कुरा छ भने अर्कातिर नयाँ नयाँ कृषिजन्य उत्पादनको गुणात्मकताको प्रश्न छ। विकासे बिउबिजन, कीटनाशक विषादी तथा रासायनिक मलको उत्पादनमा वैज्ञानिक तथा आधुनिक प्रविधिको प्रयोग गरिएका कारण कृषिको उत्पादकत्व बढेको छ; जुन आफैंमा राम्रो कुरा हो । तैपनि परम्परागत किसिमले उत्पादन गरिएका खाद्यवस्तुका तुलनामा आधुनिक प्रणालीबाट उत्पादित खाद्यवस्तुको पौष्टिकता कम हुन्छ। रासायनिक मल तथा कीटनाशक विषादीका कारण उत्पन्न यस्ता समस्याहरूले जमिनको उत्पादन शक्ति र उपभोक्ताको स्वास्थमा दीर्घकालीन असर गर्दछन्।कतिपय रासायनिक मलहरूले पर्यावरण-चक्रमा समेत अवरोध सृजना गर्छन्।त्यसबाहेक, जैविक-प्रविधिको विकासले बिउबिजनको उत्पादन तथा विकासमा योगदान पुर्‍याएको हुँदा मकै, धान, गहुँजस्ता खाद्यान्नहरूको उत्पादन बढेको छ।

आधुनिक खेतीका फाइदाहरू:

  • उत्पादन छिटो हुने हुँदा कृषकहरूलाई लाभान्वित हुन्छन्।
  • कीटाणुनाशन, झारनाशक, ढुसीनाशक विषादी तथा जीव-प्राविधिक उत्पादनहरूका सहायताले बालीनालीको संरक्षण गरिने हुँदा हजारौंको सङ्ख्यामा झारपात, हानीकारक किरा तथा हानीकारक रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ।
  • अत्यधिक उत्पादनका लागि माटाको परीक्षण गरी कस्तो बिउबिजनको प्रयोग गर्ने र कसरी उत्पादन बढाउने भन्ने कुराको निर्क्यौल गरी जमिनका लागि आवश्यक पोषण तत्त्वको प्रयोग गर्न सकिन्छ।
  • कृषिजन्य वस्तुमा लगानी तथा उत्पादनको हिसाब किताब राख्नका लागि वैज्ञानिक तथ्याङ्क र आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ।
  • भण्डारण तथा यातायातका लागि आधुनिक प्रविधिको प्रयोग गरिने हुँदा क्षति कम हुन्छ।
  • जमिन जोत्न, सम्याउन, केलाउन, भित्र्याउन, विषादी छर्न र सिँचाइ गर्न आधुनिक यन्त्रहरूको प्रयोग गरिने हुँदा श्रमशक्ति कम लाग्दछ।