पश्चिमी पाल बनाउने किरा (Western Tent Caterpiller, WTC):

पश्चिमी पाल बनाउने किरा (Western Tent Caterpiller, WTC):

| Advertisement |

Promotional banner

अजय पौडेल कृषि स्नातक तह, चौथो सत्रान्त, त्रीभुवन विश्वविद्यालय, कृ. प. वि. अ. सं., रामपुर क्याम्पस, चितवन

परिचय (Introduction)

नेपाल लगायत विश्वका लगभग सम्पूर्ण देशहरुले भोगीरहेको कोभिड-१९ को महामारीले जनमानसमा भयङ्कर क्षति र त्रास फैलाईरहेको सबैमा अवगत नै छ । अहिले नेपालमा अमेरिकन फौजी किराले पनि विशेषत: मकै खेतीमा निकै क्षति पुर्याउँदै आइरहेको बेलामा चर्चामा आएको फट्याङ्ग्रा जातीको ‘सलह’ किराले निम्त्याउन सक्ने भोकमरिको प्रकोपको सम्भाव्यता पनि नेपाली कृषकहरुकोलागि निकै चिन्ताको विषय बनेको छ, जुन भारतबाट नेपाल भित्रीसकेका खबरहरु आइसकेका छन् । यस्तो अवस्थामा अर्कोतिर पश्चिमी पाल बनाउने किरा (Western Tent Caterpillar) (वैज्ञानिक नाम : मालाकोसोमा क्यालिफोर्निकम (Malacosoma californicum)) नामक एक अत्यन्तै विनाशकारी फौजी किरा कर्णाली प्रदेशको हुम्ला लगायतका सुदुरपश्चिमि उच्च पहाडी/हिमाली जिल्लाहरुका केही स्याउका बगैंचामा देखा परेका प्रमाणहरु भेटिन थालेका छन् । हुन त अहिले कर्णाली प्रदेशका केहि स्याउ बगैंचामा मात्र देखा परेको यो किराले देशव्यापी प्रकोपको रुप लिन्छ भन्न सकिने अवस्था त छैन, तर पनि त्यसको सम्भावनालाई उपेक्षा गर्नु पनि उचित हुँदैन । पूर्व सावधानी अपनाउन सकियो भने यसको प्रकोपबाट मुख्यत: स्याउ तथा आरु, आरुबखडा, चेरी, नास्पाती, जस्ता पतझर फलफुल बालीहरु सखाप हुनबाट जोगाउन सकिन्छ ।

WTC पुतली वर्गमा पर्ने किरा हो । अमेरिकामा Malacosoma californicum प्रजातिका सबै उपप्रजातिहरुलाई WTC भन्ने गरीन्छ । यसको समूहमा पर्ने लाभ्रेले रेशमी जालोको पाल जस्तो संरचना निर्माण गर्ने भएकोले यीनको नाम पाल बनाउने किरा (Tent Caterpilllars) राखिएको हो । विभिन्न प्रजातिका पाल बनाउने किराहरु मध्ये WTC पनि एक हो र यस किराको लाभ्रेले झुण्ड/फौज बनाएर मुख्यत: पतझर फलफुलका पातहरुमा आक्रमण गरी बाली सखाप पार्ने हुनाले यसलाई एक प्रकारको फौजी किरा पनि भन्न सकिन्छ । नेपालमा अरु प्रजातिका पाल बनाउने किराहरु भने पहिलेदेखि नै देखा पर्दै आएका छन्, तर यिनिहरुलाई सजिलै नियन्त्रणमा ल्याउन सकिने भएकोले ठूलो प्रकोपको रुप लिएको पाइएको छैन ।

जिवनचक्र (Life cycle)

यस किराको प्रति वर्ष एक पुस्ता मात्र निस्कन्छ । यसको माउले मुख्यत: रोजेसी (Roseaceae)(जसमा स्याउ, नासपती, आरु, आरुबखडा, आदि पर्दछन्)  परिवारका फलको रुख वा झाडिका विशेषगरी मसीना हाँगामा १५० देखि २५० वटा सम्म खैरो वा खरानी रङ्गको फुल पारेर झुण्ड बनाई घेरा हाल्दछ । त्यस फुलको झुण्डसङ्गै माउले स्पुमेलिन (Spumaline) नामक च्यापच्याप लाग्ने पदार्थ पनि उत्पादन गर्दछ, जसले फुलहरुलाई हाँगामा टाँस्न मद्दत गर्दछ र पानी सोसेर किराका फुलहरुलाई सुक्नबाट पनि जोगाउछ ।  यसरी पारिएको फुलहरुबाट वसन्त याममा(वैशाख-जेठतिर) रुखमा नयाँ पालुवा लागेलगतै लाभ्रे बाहिर निस्केर नयाँ पातका मुनाहरुलाई खान सुरु गर्दछन् । यस किराको जिवनचक्रको विनाशकारी अवस्था भनेकै लाभ्रे हो र यहि अवस्थालाई WTC नाम दिइएको हो । लाभ्रे भिन्न भिन्न रङ्गका हुन सकेतापनि धेरै जसो लाभ्रेको टाउको मधुरो निलो रङ्गको हुन्छ र शरीरका हरेक खण्डका माथिल्लो भाग (ढाडमा) एक जोडि काला धर्का हुन्छन् र ती धर्काको बिचमा सेतो अथवा मधुरो निलो रङ्गका धर्का हुन्छन् । शरिरका अन्य भाग भने मधुरो निलो रङ्गका हुन्छन् र झुसहरु सुन्ताला रङ्गका हुन्छन् भने झुसका टुप्पा सेता हुन्छन् । ५ देखि ६ हप्तामा ती लाभ्रेहरु तापमान, आहारको उपलब्धता, लाभ्रेको स्वास्थ्य जस्ता विभिन्न अवस्थाहरुको अनुकुलता बमोजिम पाँचौ वा छैटौँ लाभ्रेको चरण पार गरी झुण्डबाट छुट्टिएर कुनै हाँगा, पात, बोक्रा या अन्य कुनै सुरक्षित ठाउँ खोजी सेतो रङ्गको कोया (Cocoon) निर्माण गरी त्यसभित्र अचल अवस्था (pupa)मा जान्छन् । त्यसको २-३ हप्तामा वर्षाको मौसममा (असार/साउनतिर) कोयाबाट मधुरो खैरो रङ्गको वयस्क पुतली निस्कन्छन् र अर्को पुस्ताको लागि सन्तान उत्पादनका निम्ति तयार हुन्छन् ।

बाली क्षतिको अवस्था (Status of crop damage)

फुलबाट निस्किनासाथ लाभ्रेहरु झुण्डमा रहि, बोट बिरुवाका कलिला पातलाई खान सुरु गर्दछन् । दुई वा बढी फुलको झुण्डबाट निस्केका लाभ्रेहरु एकीकृत भइ अझ ठूलो झुण्ड पनि बनाउन सक्छन् र यससङ्गै यिनिहरुले एक किसिमको बाक्लो रेशमी जालोको पालजस्तो संरचना पनि बनाउने गर्दछन् । प्रारम्भिक चरणमा त्यही जालोमा बसि ती लाभ्रेले पात खाने गर्दछन् । किराका लाभ्रेहरु ठूला र विकसित हुँदै जाने क्रममा जालो पनि ठूलो बनाउदै जान्छन् र पात खान रुखका चारैतिर छरिन्छन् । खाँदै नगरेको अवस्था, रातको समय, झरी परेको तथा कुनै खतराको अनुभव भएको अवस्थामा भने यिनिहरु जालोमै फर्किने गर्दछन् । एउटा जालोभित्र अधिकतम ३५० वटासम्म लाभ्रे अटाउन सक्छन् । लाभ्रेको एक झुण्डले नै साना रुखहरुको पुरै पातहरु सखाप पारी बोटनै मर्न सक्ने हुँदा नर्सरी तथा नयाँ बगानहरुमा यसले बढी क्षति गर्ने सम्भावना हुन्छ । ठूला रुखहरुमा पनि यदि धेरै झुण्डहरुको उपस्थिति छ भने यसले सखाप बनाउन सक्छ ।

समयमै नियन्त्रण विधि नअपनाए यसले व्यापक रुपमा एक बोटबाट अर्को बोट गर्दै फैलिएर पुरै बगैंचा नै सखाप पार्ने क्षमता राख्दछ । एकै वर्षमा भन्दा पनि यदि यसको प्रकोप लगातार धेरै वर्षसम्म देखिए मात्रै रुखनै मार्ने गरेको पाइन्छ । यद्यपि, रुख नै नमरे पनि पातका अभावका कारण फल राम्ररी नलागेर किसानहरुले ठूलो आर्थिक क्षति भोग्नुपर्ने हुन सक्छ । उत्तर अमेरिकाको रैथाने प्रजातिको यो किराको उच्च प्रजनन क्षमता हुनुका साथै नेपालको लागि नौलो हुन गएको र यहाँको वातावरण यसको आफ्नो प्राकृतिक बासस्थान भन्दा भिन्न भएकोले प्राकृतिक शत्रुजिवहरुको अभावका कारण निकै व्यापक रुपमा फैलिन गइ प्रकोपको रुप लिन सक्ने अनुमान लगाउन सकिन्छ ।

नियन्त्रण विधिहरु (Control methods)

उच्च प्रजनन क्षमताका कारण व्यापक रुपमा फैलिन सक्ने WTC लाई क्षतिको पहिलो चरणमै पहिचान गर्न सके प्रकोप रोक्न त्यति कठिन भने छैन । यसलाई निकै सहज विधिहरुबाटै नियन्त्रण गर्न सकिन्छ, जस्तै :

  • सबैभन्दा पहिले त WTC को बारेमा सम्बन्धित निकायहरुले यसको व्यवहार तथा क्षति क्षमताको बारे गहन अध्ययन गर्न जरुरी छ ।
  • विदेशबाट अवैध रुपमा स्याउको बिरुवाको आयात रोकिनुपर्छ र कानुनी रुपमा प्रमाणित निकायबाट विरुवाको राम्ररी निरीक्षण गरेर मात्रै बिरुवा खरिद गर्नुपर्दछ ।
  • यसको पाल (जालो) रुखका हाँगामा सजिलै देखिने हुनाले रुखमा नयाँ पालुवा लागेलगतै राम्ररी निरिक्षण गरी कतै देखिने बित्तिकै त्यस्ता हाँगाहरु काट्न मिले काटेर नभए जालोलाई लर्भे सहित निकालेर जम्मा गरी नष्ट गर्न सकिन्छ ।
  • खास गरी फुल पार्ने मौसममा रूखका हाँगा, पालुवाहरूमा एक किसिमको चिप्लो पदार्थ (टिपोल, मोबिल, तेल आदि) दलेर फुल पार्न असहज बनाउन सकीन्छ ।
  • प्राय रूख बिरूवाको निरन्तर सरसफाई गर्ने हो भने अचल अवस्थाहरू समेत नष्ट हुन्छन् र वयस्क पुतलीहरूको बाक्लो उपस्थिति देखिँदा बत्तीको पासो (Light trap) को प्रयोग गरी अर्को पुस्तामा हुने संख्या लाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
  • हिउँदको समयमा रुखका स-साना हाँगाहरुमा फुलहरु पत्ता लगाइ तिनीहरुलाई जम्मा गरी या हाँगा काटेर पनि नष्ट गर्न सकिन्छ ।
  • कतै कतै नियन्त्रणका निम्ति जालोमा आगो लगाउने गरेको पनि पाइन्छ तर त्यसो गर्दा रुखमानै आगलागी हुन गइ क्षति हुन सक्ने खतरा भएकोले सिफारिस गरिँदैन ।
  • जैविक किट्नाशकको रुपमा Baccillus thuringiensis var. kurstaki नामक जीवाणुगत किट्नाशक ( यो व्याक्टेरिया प्रारम्भिक चरणका लाभ्रेमा बढी प्रभावकारी हुन्छ), स्पिनोसाड (spinosad) नामक जैविक रसायन वा किट्नाषक साबुन (साधारण साबुन पानी पनि प्रयोग गर्न सकिन्छ ) पनि लाभ्रेमा प्रत्यक्ष रुपमा छर्न सकिन्छ ।
  • यसको फुललाई नष्ट गर्न नीमको बियाँ अथवा पातबाट तयार पारीएको तेल पनि प्रयोग गर्न सकिन्छ भने त्यस तेलले लाभ्रेलाई पनि केही दिन लगाएर भएपनि मार्ने गर्दछ ।
  • वरिपरिको मित्रु जिवहरुलाई हानी नपुगोस र पर्यावरण संरक्षणको हेतुले यदि यी कुनै विधीबाट नियन्त्रणमा ल्याउनै नसकिने भए मात्रै रासायनिक नियन्त्रण विधि अप्नाउन उचित हुन्छ । यसका लागि चैत्रमा नयाँ पालुवा लागेलगतै थायोडान नामक झोल विषादी १ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्न सकिन्छ नभए अरु कुनै विषादी नजिकैको एग्रोभेटको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ ।

व्यापक रुपमा फैलिन सक्ने क्षमता भएतापनि WTC को नियमित निरिक्षण गरी पुर्वसावधानी अपनाउन सके यसको प्रकोपलाई सजिलै रोक्न सकिने हुनाले कृषकहरु आत्तीहाल्न पर्ने अवस्था त छैन तर सतर्क रहन जरुरी छ ।

सन्दर्भ सामाग्री :