प्रयोग गरौं जैविक विषादी

प्रयोग गरौं जैविक विषादी

आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँचको कारणबाट सिर्जित हालैको परिस्थितीले कृषि उत्पादनमा विषादीको प्रयोगबारे फेरी व्यापक चर्चा पाएको छ । भारतबाट आयात भएको तरकारीमा विषादीको बढि प्रयोग भएको चर्चा भईरहदा हामीले पनि कसरी उत्पादन गरिरहेका छौ भन्ने कुरा बुझन जरुरी छ । हाम्रो देशमा पनि आम किसान माझ अझै पनि विषादीलाइ औषधि भन्ने गरेको उदाहरण यथावत छ तसर्थ आजको टड्कारो आवश्यकता भनेको विषादी विष हो भन्ने बुझाउनु रहेको छ । विषादी प्रयोग बारे जानकारी र यसका नकारात्मक असर बारे कमै मात्र किसानलाई जानकारी छ यसमा सरोकारवाला निकायले जति सक्दो छिटो उपयुक्त कदम चाल्नुपर्ने देखिन्छ । साथै रासायनिक विषादीको प्रयोगलाई निरुत्साहित गर्दै वानस्पतिक र जैविक रोग कीरा नियन्त्रण विधि अपनाउन सके मात्र दिगो कृषि विकासको मार्गमा अगाडि बढ्न सकिन्छ । कृषिलाई दिगोपना दिने क्रममा हानिकारक रोग, कीरा, झारपातबाट हुने नोक्सानी व्यवस्थापनमा बाली संरक्षण प्रविधिको अहम भूमिका रहिआएको छ । विगत केहि वर्ष यता बाली संरक्षणको लागि रासायनिक पदार्थको प्रयोगमा बृद्धि भईरहेको छ । जसको लागि एकातिर नेपाली कृषकहरुले अन्य देशहरुसँग भर पर्नु परिरहेको छ भने अर्कोतिर नेपालको ठुलो धनराशी विदेशिएको छ । नेपालमा जैविक र बनस्पति जन्य वातावारण मैत्री विषादीहरुको विकास र प्रबद्र्धनको लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था, विश्वविद्यालय लगायत सरोकारवाला सबैले ध्यान दिएमा मात्र रासायनिक विषादी जन्य जोखिमको दिगो समाधान हुने कुरामा कुनै शंका छैन । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा वानस्पतिक र जैविक रोग कीरा नियन्त्रणसम्बन्धी प्रयाप्त अध्ययन, अनुसन्धान हुन नसक्नु साथै राज्यले प्राथमिकता नदिनु आजको बिडम्बना रहेको छ । स्थानीय रुपमा उपलब्ध हुने विभिन्न घरेलु वस्तुहरुको प्रयोग गरि जैविक विषादी बनाउने विधि र विभिन्न बालीमा विभिन्न रोग तथा कीरा नियन्त्रणको लागि प्रयोग गर्ने तरिकालाई आम कृषकहरु माझ जानकारी दिने उद्देश्यले यो लेख प्रस्तुत गरेका छौ ।

नीमको प्रयोग

नीमको बीउको बोक्रो हटाएर दिउल मात्र जम्मा गर्ने र तिनलाई जाँतो वा ग्राईन्डरमा पिंधेर मसिनो धुलो बनाई निम्न मात्रामा प्रयोग गर्ने। ०.५–१.० किलोग्राम नीमको दिउलको धुलोलाई एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म २० लिटर पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने। यसपछि साबुनको २.० ग्राम धुलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाउने। अब यसलाई बोटबिरुवामा कीटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ ।

नीमको बीउबाट बोक्रा हटाउनु त्यति सजिलो छैन । अतः १ किलोग्राम बीउलाई जाँतो वा ग्राईन्डरमा मसिनो गरी पिंधेर धुलो बनाई एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म १० लिटर पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने। यसपछि साबुनको २.० ग्राम धुलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाउने। अब यसलाई बोटबिरुवामा कीटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ ।

नीमको फलबाट धेरै प्रकारका कीराहरु मार्न वा हटाउन सकिन्छ । जस्तैः लाही, धानको पात खाने कीरा, बन्दाको गवारो, खपटे कीरा, पात वेरुवा, फल छेड्ने कीरा, धानको गवारो आदि । पाकेको फल वा गेडालाई जम्मा गरेर बाहिरको बोक्रा हटाएर घाममा सुकाउने। राम्ररी सुकेको बीउलाई बाँसको टोकरी, डालो, बोरा जस्ता सुख्खा भाँडामा सुरक्षित साथ राख्ने र आवश्यकता अनुसार झिकी धुलो बनाएर पिस्ने। करीव २ अंजुली गेडालाई पिसेर २ माना पानीमा घोल्ने। राम्ररी घोलेर करीव २४ घण्टा सम्म त्यसै राख्ने। अर्को दिन उक्त घोललाई कुनै कपडा वा जालीले छानेर थिग्रीएको भागलाई हटाउने र झोललाई कीटनाशक बिषको रुपमा प्रयोग गर्ने। यसले बाली बिरुवामा लाग्ने धेरै प्रकारका कीराहरुलाई नियन्त्रण गर्दछ । तयारी झोललाई लामो समय सम्म प्रयोग नगरी त्यसै राखी छाड्नु हुंदैन ।

नीमको गेडा बाट तयार गरीने विषादी अति राम्रो हुन्छ तापनि कहिलेकाँही गेडा नपाएमा नीमको पातलाई पनि बिषको रुपमा प्रयोग गर्न सकिन्छ । करीब १ किलोग्राम नीमको पातलाई एउटा भाँडोमा राखेर करीब ५ लिटर जति पानी मिसाउने। पातको हरियो रंग पानीमा नआउन्जेल सम्म पकाउंदै गर्ने र सेलाएपछि पातलाई हटाउने र झोललाई बिषको रुपमा प्रयोग गर्ने ।

नीमको १ किलोग्राम पातलाई १० लीटर पानीमा मिसाई करिव १२ घण्टा जति भिजाए पछि उक्त पानीको झोललाई छर्कदा धानको गवारो, फड्के कीरा, पात वेरुवा, पतेरो, डाँठ कुहिने ढुसी, बेसारको जुका, काक्रा फर्सीको खपटे नियन्त्रण हुन्छ ।

नीमको २ किलोग्राम धुलोमा १६ देखि २० लिटर सम्म पानी मिसाई एक दुई रात भिजाए पछि त्यो झोललाई कपडा वा जालीमा छान्ने। यसरी बनाइएको १ लिटर झोललाई २० लिटर पानीमा मिसाई फेरी पातलो पारे पछि कीरा लागेको बिरुवामा ४–५ दिनको फरकमा यो झोल छर्किदिने। उक्त झोलले बोट बिरुवाहरुलाई हानी पु¥याउने कीरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ ।

एक किलोग्राम नीमको हरियो पातलाई १० लिटर पानी मिसाई ३–५ दिनसम्म कुहाउने र यसबाट बन्ने झोल निकाली बालीमा छर्कने। यसबाट हानीकारक कीरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ ।

नीमको हरिया पातलाई पानीमा उमालेर पनि नीमको झोल तयार पार्न सकिन्छ । पाँच लिटर पानीमा एक किलोग्राम ताजा नीमको पात पहेंलो नभएसम्म उमाल्ने, यसरी उमाल्दा नीममा भएको सबै कीटनाशक पदार्थहरु पानीमा जाने हुन्छ । त्यस झोललाईचिस्याए पछि सफा पानीमा मिसाई बोट बिरुवामा छर्किदिनाले हानिकारक कीरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ । नीमको सुकेको पात १ किलोग्राम १० लिटर पानीमा १२ घण्टा भिजाएर त्यसको झोल छर्कनाले धानको गुवो खाने कीरा रोकथाम हुन्छ । नीमको दाना एक अजुंली, १० किलोग्राम नीमको पात, आधा किलोग्राम नीमको डाँठ वा जरा र १ किलोग्राम वेसार राम्रोसँग पिसेर १२ लिटर पानीमा मिसाउने। यसरी बनाएको मिश्रणलाई केही समय भाँडोमा राखेर उमाल्ने र केही समय ठण्डा बनाएर पातलो कपडाले छान्ने। यसरी छानीएको झोललाई ४–५ हप्ता पुनः एक भाँडोमा राखि त्यसपछि फेरी एक पटक कपडाले छानेर छर्नाले धेरै प्रकारका चुसाहा कीरा र भाईरस रोग समेत नियन्त्रण हुन्छ । यसरी तयार गरिएको झोल तीन देखि ७ दिनको फरकमा छर्दा प्रभावकारी हुन्छ । सुकेका नीमका बीउहरुबाट आवरण हटाई मसिनो गरि पिंध्ने र त्यसलाई प्रति लिटर पानीमा ५० ग्रामको दरले कपडामा बाँधी पानीमा २४ घण्टासम्म ढड्याउने । यसरी तयार गरिएको झोलबाट बन्दामा लाग्ने पुतलीका मसिना लाभ्रेहरु नियन्त्रण गर्न सकिन्छ । नीम वा बकाईनोको पात २ किलो, लसुन २ किलो, सयपत्री २ किलो, खुर्सानी २ किलो र आलसको तेल २ लिटर ।

यी बनस्पतिहरुलाई काटेर टुक्रा पारिन्छ । टुक्राहरुलाई ओखलमा कुटिन्छ । कुटेर बनेको बनस्पतिहरुको लेदोमा आलसको तेल मिसाईन्छ । तेल मिसाइसकेपछि बिषादी मलम जस्तो बन्दछ । यो बिषादीले कफिको गवारोलाई नियन्त्रण गरेको पाईएको छ । पहिले काण्ड एवं हाँगाहरुखस्रो कपडा वा जुटको बोराले घोटेर सफा गरिन्छ । काण्ड हाँगा सफा भैसकेपछि मलम दलिन्छ । यो भदौमा १ पटक र रातो माटो र गाईको आलो गोवर बरावर मात्रामा मिसाई चैत्र बैसाखमा १ पटक प्रयोग गर्ने गरिन्छ । नीमका २०० ग्राम हरिया पातलाई दगल्च्याएर १ लिटर पानीमा १२–१५ घण्टासम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको (प्रत्येक हप्तामा १ पटकका दरले ६ पटक सम्म) बन्दाकोभीमा लाग्ने कीराहरु, जस्तैः बन्दाको पुतली, भटमासको झुसिलकीरो, सुर्तीको पात खाने लाभ्रे र पिठ्युंमा ईंटको आकार भएको पुतलीको नियन्त्रण गरको पाईएको छ ।

गाईवस्तुको मलमुत्र प्रयोग गरेर

गाईवस्तुको १ लिटर गहुँत १० लिटर पानीमा (१ः१०) मिसाएर प्रयोग गर्दा स्क्वायस (जुकिनी फर्सी को धुले ढुसी रोगका साथै खपटे, चुसाहा र लाही कीराहरु नियन्त्रण गर्न सक्ने पाईएको छ । एक माना गाईको गहुंतमा ७ माना पानी हालेर छर्केमा चुस्ने लाही तथा झुसिल्कीरा र लाभ्रे कीरा नियन्त्रण हुन्छ । गाईको गहुंत १ लिटर र आधा किलोग्राम गोवर मिलाई जुट बोराको टुक्रालाई भिजाउने र एउटा लीङ्गको टुप्पामा उक्त बोराको टुक्रा राखि बेरेर धान पसाउन लागेको खेतमा बेलुकी राखिदिएमा धानको दुध चुस्ने गनाउने पतेरो त्यही बोरामा आई बस्दछन् । अनि बिहान सबेरै गई मार्नु पर्दछ ।

गाईबस्तुको मलमुत्र जम्मा गरी त्यसमा पुरानो कपडा भिजाएर झुण्ड्याएमा धानमा लाग्ने पतेरो कीराहरु त्यसमा आकर्षित भई झुम्मिन्छन् र तिनीहरुलाई संकलन गरी नष्ट गर्न सकिन्छ । गाईको गहुँत १ भाग र पानी ५ भाग मिसाएर बनाइएको घोल छर्कनाले लाही, लाभ्रे र माइट नियन्त्रण हुन्छ । फर्सी परिबारका तरकारी बालीमा लाग्ने धुलो ढुसी रोग नियन्त्रण हुने देखिएको छ।

गाईको १ किलोग्राम सुकेको गोवरमा १५ ग्राम सुर्ती मिसाउने र त्यसलाई एउटा भाँडोमा राखी धुवाउने र यो भाँडोलाई तरकारीको वोट मुनी राख्नाले धेरैजसो हानिकारक कीराहरु भाग्दछन् या मर्दछन् । यो प्रक्रिया प्रत्येक हप्ता दोहो¥याउने ।

गाईको गोवर र गहुँतमा चिम्ट्याईलो माटो मिसाएर बनाईएको ताजा मिश्रणलाई फलफुलको बोट काँटछाँट गरेको हाँगा बिंगामा मलहमको रुपमा लगाउनाले काटिएको ठाउँबाट रोग र कीराका जीवाणुहरु प्रवेश हुन सक्दैन भनिएको छ । बीस कि.ग्रा. राम्रोसंग पाकेको कम्पोष्ट मललाई एउटा कपडा वा जुटको थैला भित्र राखि मुख बाँध्ने। एक पाथी गाईको पिसाव र चार पाथी पानी मीसाई एउटा ड्रममा राख्ने। माथि भने अनुसार तयार गरिएको थैलो लाई ड्रम भित्र राखि डुवाउने र प्रत्येक दिन त्यस थैलो लाई ड्रम भित्र तल माथि गर्दै चलाउने, ७ दिनमा तयार हुन्छ । यसरी तयार भएको १ भाग कम्पोष्टमा १ भाग नै पानी मिसाएर ७–७ दिनको फरकमा प्रयोग गर्दा आलु तथा गोलभेण्डा मा लाग्ने डढुवा रोग ७० प्रतिशतले कमी भएको पाईयो ।

काँचो गोबर १० कि.ग्रा., खरानी १ कि.ग्रा. जुट वा कपडाको थैलोमा राखी ड्रम भित्र राख्ने र १० लिटर पानी राख्ने। २–२ दिन बिराएर ड्रम भित्रको बोरा चलाउने । २०–२१ दिनमा तयार हुन्छ । नर्सरीका साना बिरुवालाई १ लिटर घोलमा ४ लिटर पानी राखी प्रयोग गर्ने। ठुला बिरुवालाई १ लिटर घोलमा २ लिटर पानी राखी प्रयोग गर्ने । नर्सरीमा बिरुवाको फेद काट्ने कीरा तथा ओईलाउने रोग कम भएको पाइयो। साथै प्राङ्गारिक मलको रुपमा बिरुवालाई खाद्यतत्व उपलब्ध भएको पाईयो ।

५०० ग्राम बोझो, ५०० ग्राम केतुकी, ५०० ग्राम खुर्सानी, ५०० ग्राम सुर्ती र ५०० ग्राम टिम्वुरको पातलाई टुक्रा टुक्रा गरी ड्रममा राख्ने र त्यसमा ५ लिटर गाई भैंसीको पिसाव मिसाउने। २२ दिनपछि बिषादी तयार हुन्छ । १ भाग ड्रमबाट निकालेको झोलमा ८ भाग पानी थपी प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बाट धान तथा गहुँमा लाग्ने डढुवा रोग नियन्त्रण, साना तथा नरम छाला भएका कीराहरु मरेको पाईयो। माटोमा बस्ने हानिकारक कीरा रातो कमिला र झुसिलकीरा भागेको पाईयो ।

एक लिटर गाईको गहुँतमा ५ लिटर पानी मिसाई उक्त मिश्रणमा सिस्नो, तितेपाती, बनमारा, केतुकी, खिर्रो आदिका पात र डाँठहरुलाई सानाँसाना टुक्रा बनाई उक्त झोलमा एक हप्ता डुवाई प्रँप्त भएको रसलाई बाली बिरुवामा छर्कनाले प्रायःजसो किराहरुको नियन्त्रण हुन्छ ।

गाई भैंसीको मुत्रले डाँठ कुहिने रोगको रोकथाम गर्दछ । यसले केहि हदसम्म लाहीलाई पनि नियन्त्रण गर्दछ । पहिला एक चौथाई पानी एउटा भाँडोमा राखिन्छ र पछि १ लिटर मुत्र मिसाईन्छ । यसलाई केही दिनसम्म त्यत्तिकै राखिन्छ । जति धेरै दिन राख्यो उति राम्रो हुन्छ । सानो बिरुवामा १ लिटर मुत्र १० लिटर पानीमा मिसाई प्रयोग गरिन्छ । ठुलो बिरुवामा १ लिटर मुत्रमा ५ लिटर पानी मिसाई प्रयोग गरिन्छ । ३–४ दिनको फरकमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

धानमा लाग्ने व्याक्टेरियल डढुवा रोगको नियन्त्रणको लागी धानका वोटहरुमा २० ग्राम गाईको गोवर प्रति लिटर पानीमा घोली छर्कनु पर्दछ ।

सुर्तीको प्रयोग

सुर्तिका सुकेका पात या डाँठ गरी जम्मा १ किलोग्रामलाई १५ लिटर पानीमा २४ घण्टँसम्म ढड्याउने, त्यसपछि सो मिश्रणलाई एउटा पातलो कपडामा छान्ने, अनि त्यो छानिएको सुर्ती पानीमा एक मुठी साबुनको धुलो मिसाएर राम्ररी घोल्ने। यसपछि यो घोललाई स्प्रेयरले कीरा लागेको बालीमा तुरुन्तै छर्ने। यस झोलले बिभिन्न किसिमका बालीमा लाग्ने कीराहरु जस्तैः लाही, उफ्रने खपटे, थ्रिप्स, फेद काट्ने कीरा आदि नियन्त्रण हुन्छ ।

एक किलोग्राम सुर्तीको पात र डाँठ टुक्रा पार्ने, ५ लिटर पानीमा ६० ग्राम सावुन मिसाउने र सुर्तीको सबै भागलाई त्यही सावुन पानीको झोलमा २४ घण्टा डुवाई छानेर तयार बनाईएको झोल बिरुवामा छर्ने। यसले प्रायः चुस्ने र चपाउने धेरै प्रकारका कीराहरुको रोकथाम गर्दछ ।

मसिनो टुक्रा गरी तयार बनाईएको १ किलोग्राम सुर्तीको डाँठ र पातलाई १५ लिटर पानीमा २४ घण्टा ढड्याएर त्यसमा ३० ग्राम जति नरम सावुन घोलेर कपडाले छानी बनेको झोललाई लाभ्रे, बन्दामा लाग्ने लाही नियन्त्रण गर्न प्रयोग गरिन्छ । यो झोल छरिएको बालीको उपजलाई ४ दिन सम्म खान हुन्न ।

२०० ग्राम सुर्तीको धुलो, ५०० ग्राम खरानी, २०० मि.लि. मट्टितेल तथा २०० ग्राम सावुनलाई एकै भाँडोमा राखेर २ लिटर पानीमा फिट्ने। एक लिटर तयारी झोलमा १० लिटर पानी मिसाई ७–७ दिनमा तरकारी बालीमा छर्ने। यसको प्रयोगबाट काउली, बन्दा समूहका बालीमा लाग्ने पात चुस्ने कीरा भगाएको, गोलभेण्डाको फल खाने गवारो भागेको, रायो तथा काउलीको बेर्ना खाने कीराहरु हटेको, काँक्रा तथा करेलामा औंसा पार्ने झिंगाहरु भागेको पाईयो ।

सुर्तीकोपात २०० ग्राम, खुर्सानीको धुलो १०० ग्राम, प्याजको गाना ३०० ग्राम, लसुनको पोटी २०० ग्राम, सावुन ३० ग्राम र पानी ४ लिटर । सावुन र सुर्तीलाई पानीमा आधा घण्टासम्म पकाईन्छ र २४ घण्टासम्म चिसो बनाउन राखिन्छ । खुर्सानी, प्याज र लसुनलाई मसिनो गरि पिंधेर उक्त सुर्ती पानीको झोलमा राखिन्छ । त्यसपछि राम्रोसंग छानिन्छ । यो बिषादी बनाउने बित्तिकै प्रयोग गर्नु पर्दछ । १ भाग बिषादीमा ४ भाग पानी मिसाई प्रयोग गरिन्छ ।बिरुवा सारेको १५ दिनपछि मात्र यसको प्रयोग गर्नु पर्दछ । फल टिप्नु भन्दा १–२ दिन अघि सम्म यसको प्रयोग गर्न सकिन्छ । यो बानस्पतिक बिषादी लार्भा र लाहीलाई प्रभावकारी देखिएको छ । यसले गोलभेण्डाको गवारोलाई पुरै नियन्त्रण गरेको छ । लाहीलाई भने ७५ प्रतिशतसम्म नियन्त्रण गरेको पाईएको छ ।

शंखेकीरा र चिप्ले कीराले खासगरी तरकारी बालीमा रातको समयमा बढी क्षति पु¥याउंदछन् । यिनीहरुको नियन्त्रणको लागी सूर्तिको डाँठको धुलो छर्नाले चिप्ले कीराले हिडडुल गर्न कम गर्छ र छालाको रंग परिवर्तन गर्दै शरिर माथिको भाग केही समयमा नै सुन्निदै जान्छ र त्यसपछि मुख र पछाडिको भागबाट चिल्लो पदार्थ निकाल्छ । यसरी लेसिलो चिल्लो पदार्थ बढी जान थाले पछि शरिरमा चिस्यान कम भई ५ मिनेट भित्रैमा मर्दछ ।

बकाईनोको प्रयोग

बकाईनोको १० देखि २० भाग हरियो पातको धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर छर्कनाले बन्दाको लाही, धानको फड्के कीरा, धानको ढुंग्रे कीरा नियन्त्रण गर्न सकिन्छ ।

बकाईनोको सुकेका पात र फलहरुलाई कुटेर बनेको धुलो १ किलोग्रामलाई १० लिटर पानीमा २४ घण्टा ढड्याएर कपडाले छानी तयार गरिएको झोलको प्रयोग गरेर पनि बन्दाको पुतलीको लाभ्रेहरुको नियन्त्रण गर्न सकिन्छ ।

बकाईनोको फलको ५ देखि १० भाग धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर बालीमा छर्कनाले बन्दाको लाहि, धानको फड्के कीरा, धानको ढुग्रे कीरा नियन्त्रण गर्न सकिन्छ ।

खेतको बिच बिचमा बकाईनो लगाउनाले त्यसबाट हानीकारक बिकर्षण हुने हुंदा बालीलाई सुरक्षित राख्न सकिन्छ ।

बकाइनुको २०० ग्राम आला पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ –१५ घण्टासम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेमा (प्रत्येक हप्ता १ पटकका दरले ५ पटकसम्म) बन्दाकोभीको बिरुवामा लाग्ने कीराहरु जस्तैः बन्दाको पुतली, भटमासको झुसिलकीरा, सुर्तीको पात खाने लाभ्रे र पीठमा ईटको आकार भएको पुतलीको नियन्त्रण भएको पाईएको छ ।

सिस्नु र सिस्नु लगायतका बनस्पतिको प्रयोग

सिस्नु ५०० ग्राम, तितेपाती ५०० ग्राम थिचेर १ लिटर पानीमा भिजाउने र झोल निचोरेर छान्ने। छानेको झोलमा २५० मिलिलिटर गाई भैंसिको गहुँत मिसाई छर्दा लाही, मिलिबग, कत्लेकीरा, थ्रिप्स कीरा नियन्त्रण हुन्छ ।

५.२ सिस्नोको कलिला डाँठ र पातलाई एउटा भाँडोमा पानी राखी २४ घण्टा सम्म भिजाउने । यो पानीलाई जैविक बिषादीको रुपमा प्रयोग गरी लाही र सुलसुलेलाई नियन्त्रण गर्न सकिन्छ (भण्डारी, २०६३) ।

सिस्नोको पात कुटेर ७ दिन सम्म अमिलिन दिने र ४ भाग पानीमा मिसाई छर्कनाले आलुको कमिला, लाहि, लाभ्रे नियन्त्रण गर्न सकिन्छ ।

सिस्नुको पात र मुन्टा १ किलो लाई ८ लिटर पानीमा डुवाउने। गर्मी याममा १२ घण्टा सम्म र जाडो याममा २० घण्टासम्म डुवाउने । सिस्नोमा भएको बिषालुपन घुलिसकेपछि पातलो कपडाले छानेर बिरुवामा प्रयोग गरिन्छ । यो झोल बनाएको २४ घण्टा भित्र छरिसक्नु पर्दछ । १ लिटर झोलमा १ लिटर पानी मिसाई बिरुवामा प्रयोग गर्नु पर्दछ । यसले लाही र पुतलीको लार्भालाई नियन्त्रण गरेको पाईएको छ । ७ दिनको फरकमा ३ पटक प्रयोग गर्नुपर्दछ ।

सिस्नो १ के.जी., असुरो १ के.जी., तितेपाती १ के.जी., बोझोको पात १ के.जी.,बनमारा १ के.जी. लाई एउटा ड्रममा राख्नेर त्यसमा गाईको पिसाव १० लिटर राख्ने र ड्रम बन्द गरी दिने। प्रत्येक दिन एक पटक त्यस भाँडो भित्र रहेको वस्तुलाई राम्रोसंग चलाउने। ३ हप्ता पछि विषादी तयार हुन्छ । यसरी तयार भएको झोललाई छानेर कलिलो बिरुवाको लागि १० लिटर पानीमा १ लिटर झोल मिसाएर स्प्रे गर्ने र बिरुवा ठुलो भएमा ८ लिटर पानीमा १ लिटर झोल मिसाई स्प्रे गर्ने । यस झोलले बिरुवामा लाग्ने लाही, पात खाने कीरा, डाँठ काट्ने कीराको नियन्त्रण भएको पाईएको छ ।

असुरोको प्रयोग

असुरोका २०० ग्राम हरिया पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ –१५ घण्टासम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको (प्रत्येक हप्तामा एक पटकका दरले ४–५ पटक सम्म) बन्दाकोभीमा लाग्ने कीराहरु जस्तैः बन्दाको पुतली, भटमासको झुसिल्कीरो, सुर्तीको पात खाने लाभ्रे र पीठमा ईटको आकार भएको पुतलीको नियन्त्रण भएको पाईएको छ ।

खरानीको प्रयोग

हाम्रो गाउँघरमा पहिले देखि नै बालीनालीको रोगकीरा नियन्त्रण तथा मलको रुपमा खरानीको प्रयोग हुंदै आएको छ । खरानीको धुलो खासगरी तरकारी बालीमा छर्कनाले खुर्सानीको पुतली, काँक्रा फर्सीको खपटे, लाही कीरा, सुन्तलाको पात खन्ने कीरा तथा ढुसी नियन्त्रणमा प्रभावकारी हुन्छ बैसाख देखि भाद्र सम्मको समयमा उफ्रने खपटे कीराले बिरुवाको पातलाई छियाछिया बनाई नोक्सान गर्दछ । बिहान शित ओवाउनु अगावै १ भाग काठको खरानी र १ भाग कृषि चुनको मिश्रण बनाई बाली नालीमा छर्कदा उफ्रने खपटे कीराको नियन्त्रण हुन्छ ।

बालुवा वा काठको खरानीलाई वोटको वरिपरि छरिदिनाले शंखेकीरा र चिप्लेकीरालाई बार बन्देजको काम गर्दछ । एक किलो तितेपाती लाई राम्रोसंग थिच्ने र यसलाई ५ लिटर पानीमा मिसाउने। यसबाट छानेर आएको रसलाई बनाउने बित्तिकै प्रयोग गर्नु पर्दछ । यसले झुसिलकीरालाई नियन्त्रण गरेको पाइएको छ । तीतेपातीका १०० ग्राम आला पातलाई राम्ररी दगल्च्याएर १ लिटर पानीमा ढड्याई प्राप्त भएको रसले उपचार गरेको फर्सीका बोटमा रातो खपटे कीरोले कम क्षति पु¥याएको पाईएको छ । खुसार्नीको प्रयोग पीरो खुर्सानीको पिसेको धुलो ५० ग्राम लाई एउटा भाँडोमा १ लिटर पानीमा राखी १० मिनेट सम्म उमाल्ने र त्यसलाई सेलाउने। यो चिसो झोललाई बिहान १० बजे देखि दिउसो २ बजे सम्म छर्दा ९० प्रतिशत लाही नियन्त्रण भएको पाईएको छ । पिरो खुर्सानीको १० ग्राम धुलोमा १ लिटर पानी मिसाई रातभरी भिजाउने र भोलीपल्ट तरकारी बालीमा छर्कनाले लाही कीरा नियन्त्रण हुन्छ ।

यसैगरी १ भाग खुर्सानीको धुलोको झोलमा ५ भाग साबुन पानीको प्रयोग गर्दा अझ बढी प्रभावकारी पाईएको छ । असुरोको १ किलोग्राम हरियो पातलाई मसिनो गरी पिंधेर १ लिटर पानीमा मिसाई ३ दिन सम्म (दिउँसो घाममा समेत राखी) राखेर प्राप्त भएको गाढा रसमा अरु पानी मिसाएर त्यसलाई २५–७५ प्रतिशतसम्मको गाढा बनाई उपचार गरेको बन्दाकोभी समूहका बिरुवामा लाग्ने लाहीकीराहरुको नियन्त्रण भएको पाईएको छ ।

सफा खरानी बिहान बिरुवामा छर्नाले लाही, खुर्सानीको पुतली, काक्रा, फर्सीको खपटे, पात खन्ने कीरा हराउंदछ । माटोमा छर्नाले फेद काट्ने र औंसा नियन्त्रण हुन्छ । चिप्ले कीरा, शखें कीरा पनि शरिरमा खरानीको धुलो टाँसिएर घस्रन सक्दैनन् ।

खरानी ३०० ग्राम लाई चालेर मसिनो बनाउनु पर्दछ । यसलाई २ बर्गमिटरको व्याडमा एकनाशले पर्ने गरि छर्ने। खरानीले नर्सरीमा बेर्ना कुहिने रोगलाई रोकथाम गर्दछ । यसले रातो कमिला र लाहीलाई केही हदसम्म व्यवस्थापन गरेको छ ।

चिया गिलासको १ गिलास खरानी र चुन १ गिलासलाई ४ लिटर पानीमा घोलेर टहकिन दिने र टहकिएको झोल छर्नाले फर्सी र काक्रोमा लाग्ने औंसा नियन्त्रण हुन्छ ।

तितेपातीको प्रयोग

तितेपातीको झोल १ भाग र ३ भाग पानी मिलाई छर्कनाले लाभ्रे, झुसिल्कीरा र लाही नियन्त्रण हुन्छ ।एक किलो तितेपाती लाई राम्रोसंग थिच्ने र यसलाई ५ लिटर पानीमा मिसाउने। यसबाट छानेर आएको रसलाई बनाउने बित्तिकै प्रयोग गर्नु पर्दछ । यसले झुसिलकीरालाई नियन्त्रण गरेको पाइएको छ ।

तीतेपातीका १०० ग्राम आला पातलाई राम्ररी दगल्च्याएर १ लिटर पानीमा ढड्याई प्राप्त भएको रसले उपचार गरेको फर्सीका बोटमा रातो खपटे कीरोले कम क्षति पु¥याएको पाईएको छ ।

खुसार्नीको प्रयोग

पीरो खुर्सानीको पिसेको धुलो ५० ग्राम लाई एउटा भाँडोमा १ लिटर पानीमा राखी १० मिनेट सम्म उमाल्ने र त्यसलाई सेलाउने। यो चिसो झोललाई बिहान १० बजे देखि दिउसो २ बजे सम्म छर्दा ९० प्रतिशत लाही नियन्त्रण भएको पाईएको छ ।

पिरो खुर्सानीको १० ग्राम धुलोमा १ लिटर पानी मिसाई रातभरी भिजाउने र भोलीपल्ट तरकारी बालीमा छर्कनाले लाही कीरा नियन्त्रण हुन्छ । यसैगरी १ भाग खुर्सानीको धुलोको झोलमा ५ भाग साबुन पानीको प्रयोग गर्दा अझ बढी प्रभावकारी पाईएको छ ।

रायो बालीमा लाग्ने तोरीको लाही नियन्त्रण गर्न १ लिटर पानीमा १०० ग्राम धुलो गरेर पिनेको खुर्सानी राखी बेसरी चलाएर कपडाले छानेर त्यस झोलमा ५ लिटर सावुन मिसेको पानी हालेर पातलो पार्नु पर्दछ ।

(५ लिटर पानीमा १० ग्राम सावुनको टुक्रा गल्ने गरी मिसाउनु पर्दछ ।) वा दुई चिया चम्चा बराबरको मट्टितेलमा १०० ग्राम पिनेको लसुन मिसाई २४ घण्टा नचलाई राख्ने । त्यसपछि यसलाई १० ग्राम सावुन घुलिएको आधा लिटर पानीमा मिलाएर कपडाले छानी तैयार भएको झोलमा २० गुना पानी मिलाई पातलो गर्नु पर्दछ ।

यसरी पातलो गरी तयार भएको झोललाई लाही लागेको रायोमा छरेमा लाही कीरा नियन्त्रण हुन्छ ।

तोरीको करौंते कीरा÷ध्वाँसे कीरा नियन्त्रण गर्न ४० ग्राम सावुन घोलिएको ४ लिटर तातो पानीमा २ पोटी मिसिएको लसुनको लेदो र २ चिया चम्चा भरी खुर्सानीको धुलो मिसाएर कपडाले छानी झोल तयार गर्ने र उक्त झोललाई कीरा मार्न बोटहरुमा छर्ने ।

जिरे खुर्सानीको ढिडी आधा माना, लसुनको पोटी १ किलो, टिमुरको पात १ किलो, सयपत्रीको मुन्टा आधा किलो र कण्टकारीको गेडा १ माना । सबै बनस्पतिहरुलाई मसिनो गरि पिधिंन्छ र छुट्टाछुट्टै रस निकालिन्छ र सबै रसहरुलाई एकै ठाउँमा मिसाएर बिरुवा सार्नु भन्दा आधा घण्टा अगाडि २ भाग बिषादीमा १ भाग पानी राखी बिरुवाको जरा भिजाईन्छ । यसले काउली बन्दा बालीको बेर्ना कुहिने रोगलाई राकथाम गरेको पाईएको छ । बिरुवा उम्रने बित्तिकै प्रयोग गरेमा रोग नियन्त्रणमा यसको प्रभावकारिता बढी हुन्छ ।

बोझोको प्रयोग

बोझोको धुलोलाई साबुन पानीको घोलमा मिसाएर बालीमा छर्कदा लाही कीरा तथा खपटेका लार्भाहरु नियन्त्रण गर्न सकिन्छ । बोझोको तेल ०.५ र १ प्रतिशतले उपचार गरिएको बिरुवाको पातलाई सुर्तीको पात खाने लाभ्रेले नखाएको पाईएको छ ।

लसुन वा लसुनस“ग अन्य बनस्पति मिसाई प्रयोग

धानमा लाग्ने पात वेरुवा कम पार्न लसुनको पोटी थिचेर पानीमा मिलाएर छर्केमा प्रभावकारी हुन्छ। ३ देखि ४ पोटी लसुन, २ देखि ३ वटा सानो प्याज, २ मुठी सयपत्रीका पात र २ वटा रातो खुर्सानी मिसाई उमालेर बनाएको ४ लीटर पानीको झोल छर्कनाले बिरुवामा रस चुस्ने कीराहरु नियन्त्रण हुन्छन् ।

लसुन ३–४ पोटी, सयपत्री फुलको पात २ मुठी, प्याज ३–४ दाना, पीरो खुर्सानी ३–४ वटा, पानी १ लिटर । यी सबै चिजलाई पिंधेर १५ मिनेट सम्म पानीमा उमाल्ने, चिसो भए पछि कपडा वा जालीमा छान्ने। एक भाग त्यसको झोलमा २–३ भाग पानी मिसाएर कीरा लागेको बिरुवामा छरेमा धेरै किसिमका कीराहरु नियन्त्रण हुन्छन् ।

प्याजको प्रयोग

एक कि.ग्रा. काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाई बनाएको झोललाई १५ लिटर पानीमा मिसाई हरेक १० दिनको फरकमा छर्नाले कत्ले कीरा, थ्रिप्स, लाही र सुलसुलेलाई नियन्त्रण गर्छ । पचास ग्राम प्याज थिचेर १ लिटर पानीमा घोली प्रयोग गर्दा बन्दाको थोप्ले रोग नियन्त्रण भएको पाईएको छ ।

गाईबस्तुको दुधको प्रयोग

गाईको दुध र पानी बरावर भाग मिसाएर प्रत्येक २ दिनको अन्तरालमा पात, डाँठ सबै भाग भिज्ने गरी स्प्रे गर्दा केराउ, टमाटर, खुर्सानी, जुकुनी, लहरे तरकारी र गहुँमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सकिन्छ ।

२ एक लिटर पानीमा १०० मिलिलिटर गाईवस्तुको दूध मिसाएर छर्कदा भाईरसबाट लाग्ने रोगहरुबाट बोट बिरुवालाई जोगाउन सकिन्छ । यस्तो कष्ृाकहरुले काउली र बन्दाको पात गुजमुिजने पहेलो हुने पातको छिर्के सेतो थोप्ले रोग लाग्न नदिन र बिरुवा राम्रोसंग बढ्छ भन्ने उद्देश्यले १ लिटर दूध ४ लिटर पानीमा मिसाएर नर्सरीबाट बेर्ना सारेको १ महिना पछि स्प्रे गर्ने चलन पाईएको छ ।

एक लिटर गाइको दुधमा २ लिटर पानी थपी छर्कनाले काँक्रो, फर्सी, करेला,गोलभेंडा, खुर्सानी, आलु आदिको भाईरस रोग नियन्त्रण हुन्छ ।

सयपत्रीको प्रयोग

सयपत्री फूलले कतिपय कीरालाई प्रतिकार गर्दछ । अतः अन्य बालीसंग मिसाएर यसलाई लगाउनाले पनि सो बालीहरुमा कतिपय कीरा र जुकाहरु कम लाग्दछन् । यसका पात र बोटहरु बाली बिरुवाका वरिपरि फिंजाईदिनाले पनि कतिपय कीराहरु भाग्दछन् । यसका फूल र पातहरु (१ भाग फूल र पातमा १० भाग पानी) लाई कुटेर पानीमा ढड्याई प्राप्त भएको रस बोटबिरुवामा छर्कनाले पनि कतिपय कीराहरु भाग्दछन् ।

सयपत्री फुलको पात २ मुठी, लसुन ४–५ पोटी, प्याज ४–५ दाना र पीरो खुर्सानी ४–५ वटा पिंधेर १ लिटर पानीमा १५ मिनेट सम्म उमालेर कपडा वा जालीले छान्ने। छानेको झोलमा त्यतीनै पानी मिसाई लाही, पतेरो जस्तो चुसेर खाने कीरा लागेको बिरुवामा छरेमा उक्त कीरा नियन्त्रण हुन्छ ।

हलेदो वा वेसारको प्रयोग

हलेदो १ कि.ग्रा. राम्ररी पिसेर ३–४ लिटर गाईको गहुँतमा घोल्ने र छान्ने । त्यसलाई १५–२० लिटर पानीमा मिसाउने। यो हलेदो पानीमा ४ ग्राम प्रतिलिटरका दरले साबुन वा लुगा धुने सर्फ मिसाएर बालीमा छर्कनाले लाही, सुलसुले, फौजी कीरा, झुसिलकीरा, धानको गवारो र पात वेरुवा, ईंट बुटे पुतली आदी कीराहरुको नियन्त्रण भएको पाईएको छ ।

हलेदो आधा किलोग्रामलाई मसिनो गरेर काट्ने र २ लिटर पानीमा रातभरी भिजाएर राख्ने। त्यसलाई राम्ररी छानेर २० लिटर पानीमा मिसाई तरकारी बालीमा प्रयोग गर्दा ईंटबुट्टे पुतलीको नियन्त्रण भएको पाईएको छ ।

एक कि.ग्रा. पिनेको बेसारलाई ४ कि.ग्रा. खरानी मिसाई बिहान सित परेको बेलामा छर्नाले तरकारी तथा फलफुलमा लाग्ने खराने रोग नियन्त्रण हुन्छ ।

गोलभेंडाको प्रयोग

गोलभेडाको पातलाई तातोपानीमा भिजाउने र भिजाएको पातलाई निचोरेर आएको रस छर्नाले तरकारीमा लाग्ने बन्दा र आलुका पुतली मर्दछन् वा भाग्दछन् ।

टिम्मुरको प्रयोग

गोलभेडामा लाग्ने ओईलाउने रोग को व्यवस्थापन गर्न १ ग्राम टिम्मुर १० मि.लि. पानीमा उमालेर यसको २० प्रतिशत झोल बनाएर बेर्नाको जरा १ घण्टा सम्म भिजाएर मात्र बेर्ना सार्ने अथवा १२ प्रतिशत लसुनको पोटीको झोल बनाएर बेर्नाको जरा डुबाएर बेर्ना सारे रोग कम लाग्दछ ।

गोलभेण्डा, खुर्सानी, भण्टाको ओइलाउने रोग कम गर्न १०० ग्राम टिम्मुरलाई १ लिटर पानीमा राखी उमालेर ५ लिटर पानी थपी बनेको झोलमा बिरुवाको जरालाई १ घण्टा भिजाई सार्नाले ओइलाउने रोग कम हुन्छ ।

जाली फूलको प्रयोग

जाली फूलको ४०० ग्राम कमलो डाँठ, पात, मूना र फूललाई ३ लिटर पानीमा मिसाई आधा घण्टा सम्म पकाई पाकेको झोललाई सेलाएर छर्कदा सिमीको सेते धुले ढुसी रोग, फर्सी परिवारमा लाग्ने धुले ढुसी रोग र वन्दाको पुतलीका ससाना लाभ्रेहरुलाई नियन्त्रण गर्न सकिने पाईएको छ ।

पुदिना वा पुदिना लगायत अन्य बनस्पतिको प्रयोग

पुदिना १ किलो ग्राम आला पातलाई मसिनो गरी पिंधेर १ लिटर पानीमा मिसाई ३ दिनसम्म दिउँसो घाममा समेत राखि प्राप्त भएको गाढा रसमा अरु पानी मिसाएर त्यसलाई २५–७५ प्रतिशत सम्मको गाढा बनाई उपचार गरेको बन्दाकोभी समूहका बिरुवामा लाग्ने लाहीकीराहरुको नियन्त्रण भएको पाईएको छ । पुदिना (बाबरी) १०० ग्राम र तितेपाती १०० ग्राम पिंधेर १ लिटर पानीमा डुवाई मोलेर त्यसको रस छान्ने । यस प्रकार तयार भएको झोललाई झुसिल्कीरा लागेको बिरुवामा भिज्ने गरी छर्ने ।

गाँजाको प्रयोग

गाँजाका १०० ग्राम आला पातलाई राम्ररी दगल्च्याएर १ लिटर पानीमा ढड्याई प्राप्त भएको रसले उपचार गरेका फर्सीको बोटमा रातो खपटेले कम क्षति प¥याएको पाइएको छ ।

तुलसीको प्रयोग

तुलसीको २०० ग्राम पातलाई पिनेर प्रति लिटर पानीमा मिसाई छर्कदा सुन्तलाको पात खन्ने कीराको आक्रमणलाई कम गर्न सकिन्छ ।

जैविक बिषादी

यसले झुसिलकीरा र लाहि कीराको प्रकोपलाई कम गरेको छ । खराने रोगको लागि पनि यो प्रभावकारी देखिएको छ । यसले कीराहरुलाई पात वा फलमा आउन नदिई भगाउने काम गर्दछ । रोग लागिसकेपछि भन्दा रोग लाग्नु पुर्व नै प्रयोग गरेमा यसको प्रभावकारिता बढी हुन्छ । जैविक बिषादी बनाउन आवश्यक पर्ने सामाग्रीहरुमा नीमको पात १ किलो, सुर्तीको पात आधा किलो, टिमुरको पात र गेडा १ किलो, आरुको मुन्टा १ किलो, बनमाराको पात र मुन्टा २ किलो, सयपत्रिको मुन्टा आधा किलो, सिमलीको मुन्टा १ किलो, सिस्नुको मुन्टा १ किलो, गन्धबेलीको सबै भाग १ किलो, पतना २०० ग्राम, गोलभेण्डाको मुन्टा १ किलो, कण्टकारीको गेडा १ किलो, असुरोको मुन्टा १ किलो, अंगेरीको मुन्टा २ किलो, बकाईनोको पात २ किलो, गुदरगानोको गानो २ किलो र गहुँत दिनको २ लिटरका दरले १० दिनसम्म ।माथि उल्लेखित बनस्पतिहरुलाई ससाना टुक्रा बनाई ड्रममा राख्नुपर्दछ । त्यसपछि गहुँत ड्रमभित्र राख्नुपर्दछ । गहुँत एकै चोटी वा दिनदिनै १–२ लिटरका दरले पनि राख्न सकिन्छ । यसरी ३ हप्ता सम्म ड्रमलाई बन्द गरीराख्नुपर्दछ । ३ हप्ता पछि यो जैविक बिषादी मल छानेर तयार भएको झोललाई बिरुवाको कलिलो अवस्थामा १ भाग बिषादीमा ८ भाग पानी र छिप्पिएको बिरुवामा १ भाग बिषादीमा ४ भाग पानी मिसाई बिरुवामा प्रयोग गर्नु पर्दछ । बिषादी ७ दिनको फरकमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।