प्राविधिक र किसान चनाखो हुनुस् : कृषि मन्त्रालय

प्राविधिक र किसान चनाखो हुनुस् : कृषि मन्त्रालय

| Advertisement |

Promotional banner

काठमाडौं ।

सरकारले विभिन्न जिल्लामा फौजी किराको प्रकोप बढेको बन्दै सचेत रहन किसानलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका किसानलाई फौजी किराको प्रकोपले दोहोरो मारमा पारेको भन्दै कृषि मन्त्रालयले सचेत रहन भनेको हो ।

देशका विभिन्न क्षेत्रमा यतिबेला मकै रोप्ने र गोड्ने बेला भएको भन्दै मन्त्रालयले यही बेला फौजी किराले किसानलाई समस्यामा पारेकाले सचेत रहन अनुरोध गरेको छ ।

सीआईएनसँग कुराकानी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता, सहसचिव डाक्टर हरिबहादुर केसीले कृषि प्राविधिक र किसान दुबै यो बेला चनाखो हुनुपर्ने बताउनुभयो ।

केसीले भन्नुभयो, ‘मेचीदेखि महाकालीसम्म हाम्रा सबै पहाडी क्षेत्रमा मकै खेती सुरू भएको छ । कतै लगाउने बेला सुरू भएको छ, कतै गोड्ने बेला भएको छ । अहिले हामीले विचार गर्नुपर्ने कुरा के हो भने, अमेरिकी फौजी किराले ठाउँ ठाउँमा दुःख दिन थालेको छ । र त्यो फौजी किराको नियन्त्रण गर्न सकिएन भने फेरि यो कोरोनाको माहामारीमा थिलथिल्याएको हाम्रो कृषिलाई अझै असर पर्छ ।’

प्रवक्ता केसीले अझै अगाडी भन्नुभयो, ‘तपाईको नेटवर्कबाट सबै किसान र देशभरी रहनुभएका प्राविधिक साथीहरूलाई मेरो के अनुरोध हो भने, बेलैमा यसको व्यवस्थापन गरौं । प्राविधिक हिसाबले किसानले पनि प्राविधकि साथीहरूसँग सम्पर्क गरौं र प्राविधिक साथीहरूले पनि यसको छिटो व्यवस्थापनको पहल गर्दै किसानहरूसँग समन्वय गरौं । जसरी अहिले हामीले कोरोना ¥यापिट टेस्ट गरेका छौं, त्यसरी नै यो फौजी किरा जहाँजहाँ छ त्यही रोक्ने हिसाबले काम गरौं ।’

यसैबीच, कृषि ज्ञान केन्द्र रामेछापले पनि फौजी किराको नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन किसानलाई अनुरोध गरेको छ ।

रामेछाप र दोलखामा पनि फौजी किराको समस्या देखिएको भन्दै केन्द्रले खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीरा भए नभएको र यसले गर्नसक्ने क्षतिको आँकलन गर्न किसानलाई भनेको हो ।

मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउन र एउटा पकेट क्षेत्रमा सकेसम्म एकै समयमा र सम्भव भए छिटो मकै रोप्न केन्द्रको अनुरोध छ ।

मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली, अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुने केन्द्रका प्रमुख दिनेश आचार्यले बताउनुभयो ।

अमेरिकन फौजी कीरा (American Fall Armyworm) को व्यवस्थापन सम्बनधमा कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध : 

रामेछाप र दोलखामा जिल्लाका विभिन्न स्थानहरुमा अमेरिकन फौजीकीरा देखा परेको छ । मुख्यतया यस कीराले मकै बाली मन पराउँदछ । यो कीरा एकैपटक ठूलो क्षेत्रमा फैलन सक्दछ । धेरै देशहरुमा मकैमा व्यापक क्षति गरी यो कीरा नेपालमा २०७६ सालमा देखा परेको थियो ।

यस कीराको लार्भाले मकैको पात गुभो धानचमरा जुँगा घोगा तथा डाँठमा समेत क्षति पुर्‍याउँदछ । कीराको आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा देखिन्छ ।

पातहरुमा असिनाबाट क्षति भएको जस्तो छियाछिया भएका दागहरु देखिन्छन् । मकैको गुभो भित्र यस कीराका लार्भाहरु देखिन्छन् । यस कीराको प्यूपा अथवा अचल अवस्था  माटोभित्र जाँदछ । यसका खरानी मिश्रित खैरो रंगको पुतलीहरु रातको समयमा सक्रिय भई पातको तल्लो भागमा फुल पार्दछ ।

व्यवस्थापन

यो सर्वाहारी कीरा भएकोले सबै सरोकारवालाहरु र कृषकहरु यस कीराको ब्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ । यो कीराको ब्यवस्थापनको निम्ति एउटै मात्र उपाय प्रभावकारी हुन नसक्ने भएकोले ब्यवस्थापनका लागि एकिकृत शत्रुजीव ब्यवस्थापनका उपायहरु अवलम्बन गर्नु पर्छ ।

  • खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ ।
  • मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने ।
  • एउटा पकेट क्षेत्रमा सकेसम्म एकै समयमा र सम्भव भए छिटो मकै रोप्ने ।
  • मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ ।
  • डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्ष बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर घाँस लगाएर कीरालाई आकषिर्त गरी नेपियर घाँसमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।
  • बिरुवालाई स्वस्थ्य र कीराको क्षति सहनसक्ने बनाउन सिफारिस गरिए अनुसार सन्तुलित मलखाद र सिँचाइको प्रयोग गर्ने ।
  • मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid) ४८ प्रतिशत एफ. एस. बिषादी प्रति किलोग्राम बीउमा ४ मी.ली.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।
  • निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरु र लार्भाहरु संकलन गरी नष्ट गर्ने ।
  • पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल (Papery window) हरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम (Azadirachtin 1500 ppm) ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर र्छर्ने ।
  • मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारका रासायनिक विषादीहरु आलोपालो गरी विषादी मिसाएको घोल प्रति रोपनी २५ लिटरका दरले प्रयोग गर्नु पर्दछ ।
  • स्पाइनेटोराम (Spinetoram) ११.७ एस.सी. १ मी.ली. प्रति २ लिटर पानीका दरले वा
  • इमामेक्टिन बेन्जोएट (Emamectin Benzoate) ५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा
  • क्लोरएन्ट्रानिलीप्रोल (Chlorantraniliprole) १८.५ प्रतिशत एस.सी. १ मी.ली. प्रति २.५ लिटर पानीका दरले वा
  • स्पाइनोस्याड (Spinosad) ४५ प्रतिशत एस.सी. १ मी.ली. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।
  • माथि उल्लिखित विषादीहरु मध्ये कुनै एक विषादी मात्रै प्रयोग गर्दा कीराले विषादी पचाउन सक्ने क्षमताको विकास हुने हुँदा आलो पालो विषादी प्रयो गरौं । साथै कीराको सुरुका अवस्थामा अथवा सानो अवस्थामा व्यवस्थापन गर्न सहज हुने भएकाले तुरुन्तै व्यवस्थापनका उपायहरु अबलम्बन गर्नुपर्दछ ।
  • लार्भा हुर्केपछि तथा मकैको घोगा लाग्न थाले पछि विषादीको प्रयोग प्रभावकारी नहुने हुँदा विषादी प्रयोग गर्न उपयुक्त हुँदैन । त्यसैले, मकै बालीमा कीराको क्षतिको लक्षणहरु देखिनासाथ विषादीको प्रयोग वा अन्य व्यवस्थापन विधि अपनाई नियन्त्रण गर्नु पर्दछ । रासायनिक विषादीको प्रयोग गर्दा व्यक्तिगत सुरक्षात्मक उपायहरु -मास्क, चस्मा, पुरा बाहुला भएको लुगा,जत्ता आदि लगाएर) अवलम्वन गर्नुपर्छ । विषादी छरे पछि पर्खनु पर्ने समयको ख्याल गरौ र जथाभावी बिषादीको दुरुपयोग नगरौं ।

यस बारेमा केही अष्पषटता भएमा सम्बन्धित स्थानीय तहको कृषि प्राविधिक वा कृषि ज्ञान केन्द्र रामेछापमा सम्पर्क गर्न पनि केन्द्रले अनुरोध गरेको छ ।

साभार:http://www.cinkhabar.com/