फिचरसमाचार सरकारी जागिर छोडेर तरकारीमा जमेका ‘कृषि मास्टर’

फिचरसमाचार सरकारी जागिर छोडेर तरकारीमा जमेका ‘कृषि मास्टर’

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१का खेमराज अवस्थी स्कुले विद्यार्थी थिए । स्कुले विद्याथी हुँदा घरपरिवारले सामान्य रूपमा आलुखेती गर्थे । घरमा आलु धेरै फलेपछि विद्यालय जाँदा उनलाई उतैबाट आलु बेचेर आउन घरबाट आग्रह गरियो ।

त्यसपछि उनी स्कुल जाँदा उतैबाटै आलु बेच्न बजार जान थाले । एक दिन कुहिएका आलुले उनको सर्ट भिज्यो । त्यसले गर्दा उनले त्यो दिन विद्यालयमा लास्ट बेञ्चमा बस्नुपर्‍यो । सधैँ पहिलो बेन्चमा बस्ने उनी सर्ट भिजेर लास्ट बेञ्चमा बस्नुपर्दा नरमाइलो लाग्यो । त्यो कुराले उनलाई ‘पिन्च’ गर्‍यो ।

त्यस दिन उनले मनमनै सोचे, ‘अब यो आलुलाई कहिल्यै नकुहिने बनाउँछु’ । बाल्यकालमा गरेको अठोट उनले कहिल्यै बिर्सिएनन् । कक्षा १० मा पढ्दैदेखि उनी व्यावसायिक कृषि पेसामा लागे । उनको सानैदेखिको सपना माटोमै रमाउने थियो । जसलाई अवस्थीले माटोमै मलजल गरे । माटाेमै विभिन्न किसिमका फलफूल राेपेर तिनकै गोडमेलमा लागे ।

कृषिमा लागेका उनले सँगसँगै पढाइलाई पनि निरन्तरता दिए । पढेर नै उनले शिक्षा संकायबाट स्नातकोत्तर गरे । शिक्षा संकायबाट स्नातकोत्तर गरेका अवस्थीका कतिपय साथीहरूले देशमै सरकारी जागिर पाए भने कतिपय घरपरिवारको खर्च जुटाउनका लागि भारत तथा खाडी मुलुक गए ।

तर, उनी भने कहीँ कतै नगएर आफ्नै ठाउँमा निरन्तर रूपमा तरकारी खेतीमा लागिरहे । विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै उनी अहिले पनि यही पेसामा निरन्तर रूपमा लागिपरेका छन् ।

उनको साँझ-बिहानको दैनिकी भनेको नै तरकारीखेतीमा बित्ने गरेको छ । तरकारी खेतीबाट उनले आजभोलि मनग्य आम्दानी गरिरहेका छन् । काउली, बन्दा, आलु, भान्टा, मुला, गाजर, गोलभेँडा, काँक्रा उनले आफ्नो बारीमा प्रशस्त लगाएका छन् ।

अनि जिल्लामा कृषिकै मास्टर भनेर चिनिन थाले

शिक्षा संकायका स्नातकोत्तर अवस्थीसँग शिक्षाक्षेत्रकाे भन्दा बढी कृषिक्षेत्रको प्राविधिक ज्ञान बढी छ । उनलाई डडेल्धुरामा अगुवा कृषक तथा कृषिका मास्टर भनेर पनि चिनिन्छ ।

एक रोपनीदेखि सुरु गरेको तरकारी खेती अहिले ११ देखि १४ रोपनीमा विस्तार भइसकेको छ । उनले सो जग्गामा बेमौसमी तरकारीसमेत फलाउन सफल भएका छन् । २०६१ सालदेखि तरकारी खेतीमा लागेका ३२ वर्षीय अवस्थीले कृषि पेसाबाटै आमा, बुबा, श्रीमती, भाइ गरी ७ जनाको परिवार पालिरहेका छन् ।

उनले तरकारी व्यवसायबाट वार्षिक २ लाखदेखि बढीमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । विद्यालयको मास्टर हुनुपर्ने अवस्थी पछिल्लो समय त जिल्लामा कृषिकै मास्टर भनेर चिनिन थालेका छन् ।

जागिर छोडेको २ वर्ष

जिल्ला हुलाक कार्यालय डडेल्धुरामा काम गर्ने उनले उक्त जागिर छोडेको अहिले २ वर्ष भयो । ‘सरकारी जागिर कहिले यता, कहिले उता गरेर हिसाबकिताबबराबर हुथ्यो । कृषिबाट त मैले सम्पूर्ण खर्च कटाएर २ देखि ३ लाख रुपैयाँ कमाउँछु,’ उनले सुनाए,  ‘मन लागेको बेला काम गर्छु । कहिलेकाहीँ अन्य कृषकका समस्या पनि हेरिदिन्छु ।’

सुरुमा सरकारी जागिरे भए पनि उनी तरकारी खेती गर्न थालेको १७/१८ वर्षजति भयो । सरकारी जागिरभन्दा राम्रो तरकारी खेती लागेर जागिर छोडेरै यो पेसामा लागेको उनी बताउँछन् ।

‘२०६५ सालमा तालिम लिएपछि अर्ग्यानिक उत्पादन बढाउने र परम्परगत खेतीलाई आधुनिकीकरण गर्नेतिर लागेँ । १५ हप्ता बाली सहजकर्ताको तालिम लिएँ । तालिम लिएर गरेको कृषि फस्टाउँदै गएपछि गाउँका सबैलाई कृषि पेसा गर्नुस् भनेर सिकाउन थालेँ,’ उनले भने ।

कृषिसम्बन्धी धेरै समास्या समाधन गर्न सक्ने भएपछि साविकको जिल्ला कृषि विकास कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि केही स्थान आफूलाई पनि दिएको उनले बताए ।

१५ हप्ते बाली सहजकर्ताको तालिम लिएपछि उक्त ज्ञान आफूमा मात्र सीमित राखेनन्, पूरै गाउँलाई नै तरकारीमय बनाउन उनी रातदिन लागिपरे । उनी गाउँको मात्र नभएर अहिले जिल्लाभरि नै सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा कृषि पाठशालासमेत सञ्चालन गर्न थालिसकेका छन् ।

कृषि प्राविधिक पाउन मुस्किल

स्थानीय सरकार आएर केही संरचना फेरिएपछि कृषकले प्राविधिकहरू पाउन मुस्किल भएको उनले बताए । ‘नयाँ-नयाँ किसिमका रोग आउँछन्, यसबारे अधिकांश नयाँ कृषि प्राविधिक सम्बन्धित क्षेत्रमा कम बुझेका हुन्छन् । तर, आवश्यकता दक्ष प्राविधिकको छ,’ उनले भने ।

उनका अनुसार पहिले जिल्ला कृषि कार्यालयमा सबै किसिमका कर्मचारी बागवानी अधिकृतसम्म थिए । अहिले पनि छन् । तर, कम छन्, त्यसैले समस्या छ । उनलाई प्राविधिक सहयोग आलुको सिजनमा गर्ने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रायोजक एकाई कार्यालय डडेल्धुराले जनाएको छ ।

कोरोनाका कारण तरकारी बिक्री गर्न समस्या

सुरुसुरुमा तरकारी बिक्री गर्न समस्या नभए पनि कोरोनाका कारण अहिले भने समस्या भएको उनले बताए । गोलभेँडा बिक्री गर्न समस्या नभए पनि मुला, गोबी भने बिक्री नभएर त्यत्तिकै खेर गएको उनको भनाइ छ ।

‘रातदिन मिहिनेत गरेर बिक्री नहुँदा निकै चिन्ता लाग्छ । खेतमा त्यत्तिकै खेर गयो । १० रुपैयाँ प्रतिकिलाेमा पनि कसैले तरकारी किनेनन्,’ उनले भने, ‘तरकारी खेतमा कुहिएर जाँदै थियो । क्वारेन्टाइनमा बसेका नागरिकले तरकारी नपाएको अवस्था थियो । त्यसपछि १०/१२ गाडी तरकारी मैले क्वारेन्टाइनमा बसेका नागरिकलाई सहयोग गरे ।’

विदेशिने युवालाई सुझाव

रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने अवस्थीको सुझाव छ ।

‘एक डेढ लाख लगानी गर्नुस् । प्राविधिकको सल्लाहअनुसार व्यावसायिक बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती गर्नुस् । भारतको तरकारी खाइरहेका हाम्रै डडेल्धुरामा अर्ग्यानिक तरकारीले राम्रो बजार पाउँछ,’ उनले भने ।

यदि युवा मिलेर तरकारी खेती गर्ने हो भने विदेशको जति कमाइ यहीँ मातृभूमिमै गर्न सकिने उनको भनाइ छ । उनका अनुसार बेमौसमी तरकारी उत्पादन गर्ने हो भने त्यसका लागि अनुदान सहयोग गर्ने धेरै संघसंस्था छन् ।

साभार: shilapatra.com