बेलैमा माटो सुधार नगरे भयाव्ह स्थिति आउँछ

ेपालको समग्र माटोको अवस्था कस्तो पाउनु भएको छ ?

नेपालमा मुख्य गरी ३ किसिमको भौगोलिक अवस्था छ । हिमाल,पहाड र तराई हिमालमा भिरालो जग्गा छ,माटो खस्रो छ,जसलाई लाईट सोयल भनिन्छ । त्यस्ता जमिन धेरै भिरालो भएको कारणले माटोको खाद्यतत्व संञ्चित भएर बस्न पाउदैन,बगेर जान्छ । मध्य पहाडमा भने गह«ा पद्धति अलि व्यवस्थित भएको,स–साना उपत्यकाहरु भएको जमिन अत्यन्तै भिरालो नभएकोले हिमालमा भन्दा तुलनात्मक हिसाबले खाद्यतत्व बगेर जाने मात्रा अलि कम छ । मध्य पहाडमा कृषिको लागि मुख्य समस्या भनेको माटो अम्लीय हुनु हो । जुन हिमालको अझ भयावह छ । सामान्यतया बर्षा याममा पानीले माटोमा भएको क्यालसियम,म्याग्नेसियम तथा प्राङगारिक पदार्थ जसलाई हामी माटोको आधारभुत तत्व भन्दछौ तिनै तत्वहरु बगेर जाँदा त्यहाँको माटो अम्लीय हुने गर्दछ । तराईमा भने यो समस्या प्रायः देखिदैन त्यहाँ माटो उर्वर छ,उत्पादक माटोमा गहिराई पनि प्रयाप्त छ । तर हालको अवस्था हेर्ने हो भने,त्यहाँको माटो पनि बिग्रदै गएको छ । खेती पद्धतिमा रासायनिक पदार्थ वा विषादीमा मात्र भर परेको कारण माटोको अवस्था बिग्रदै गएको छ । गाईवस्तु पालेता पनि त्यसको गोबर ईन्धनको रुपमा प्रयोगको मात्रा बढ्दै गएकोले पनि माटोमा प्राङगारिक पदार्थको मात्राको अवस्था नाजुक बन्नेवाला छ । पहाड र तराईमा बाली भित्रयाई सकेपछि बालीनालीको अवषेश, घर छाउन, गाईवस्तुलाई खुवाउन,च्याउ बनाउन,हाते सामाग्रीहरु बनाउन प्रयोग गर्ने प्रचलन बढेकोले पनि माटोमा प्राङगारिक पदार्थको मात्रा कम भएको हो । त्यसैले समग्रमा नेपालको माटोको उर्वराशक्ति घट्दो क्रममा छ ।

नेपालको माटोमा अहिले मुख्य समस्या के देख्नु भएको छ ?

अहिले समस्या शुक्ष्म खाद्यतत्वको हो । माटोमा प्रमुख खाद्यतत्वहरु मात्र राख्ने सघन तरकारी तथा अन्नबाली खेति गर्ने तर शुक्ष्म खाद्यतत्व माटोमा नराख्ने गर्नाले हाम्रो माटोमा शुक्ष्म खाद्यतत्वको मात्रा ज्यादै कम भईसकेको छ र त्यसमा प्रभावहरु पनि देखिन थालेका छन् । जस्तै उदाहरणको लागि भक्तपुरमा काउलीको उत्पादन घट्नु माथि खैरो रङ्ग देखिनु माटोमा बोरन तत्वको कमीले हो । त्यसको लागि हामीले सुर्यविनायक क्षेत्रतिर बोरन राख्ने सल्लाह दियौ र त्यसले ज्यादै राम्रो नतिजा पनि दियो र अहिले त्यहाँको अवस्था सामान्य छ । त्यस्तै मुलाहरु खोक्रो हुने,भित्र कालो हुने मोलिब्डेनम तत्वको कमीले हो जुन विभिन्न ठाउँमा समस्याको रुपमा आईरहेको छ । यसको अर्थ कृषकहरुले मल राख्ने भन्नाले नाईट्रोजन,फस्फोरस र पोटासियम मात्र राखेर माटोमा शुक्ष्म खाद्यतत्वको मात्रा शुन्य हुदैछ । अर्काे तिर जसरी पछिल्लो समयमा हामी हाईब्रिड र सुधारिएको बिउ लगाउछौ त्यसले माटोमा रहेको सबै खाद्यतत्वहरु एकै पटकमा स्वाट्टै लिईदिन्छ । हामीले त्यस्ता जातका बालीहरुलाई नाईट्रोजन,फस्फोरस तथा पोटासियम राख्यौ भने त्यसको माध्यमबाट शुक्ष्म खाद्यतत्व पनि अत्यधिक मात्रामा लिईदिन्छ र माटोमा शुक्ष्म खाद्यतत्वको मात्रा कम हुन जान्छ । केही कृषकहरुले शुक्ष्म खाद्यतत्व बिरुवामा छर्केको देखिन्छ । त्यसले तत्काल उक्त बालीको लागि खाद्यतत्व प्रदान त गर्छ तर माटोमा त्यसको मात्रा बढाउन भुमिका खेल्दैन । त्यसको लागि माटो सुधार गर्नुपर्छ जसलाई माटोमा प्राङगारिक पदार्थको मात्रा थप गर्नुपर्ने हुन्छ ।

माटोको जाँच गर्न नमुना लिएर जादा कम्तिामा ४ देखि ५ महिना लागेको मेरो आफनै अनुभव छ । यसमा किन यति धेरै समय लागेको होला ?सामान्य अवस्थामा एउटा नमुना परीक्षण गर्न कति समय लाग्नु पर्ने हो । एउटा माटोको नमुना जाँच गरेको ४ देखि ५ महिना सम्म नतिजा नआउदा सिङ्गो देशको माटो जाँच गर्ने क्षमता राख्नुपर्ने प्रयोगशालाको किन यो गति ? गजवको कुरा गर्नेु भयो यो अलि चिन्ताजनक विषय पनि हो । तर यसलाई अन्य पाटोहरुसंग नजोडेर यो एउटालाई मात्र हेरियो भने न्यायोचित नहोला । माटो विज्ञान पढने विद्यार्थी ज्यादै न्युन छन् हाम्रो देशमा किनभने यो अलि जटिल र अप्ठयारो विषय हो । जनशक्ति तयार गर्न त विद्यार्थीलाई माटो विज्ञान तर्फ आकर्षण गर्न विश्वविद्यालय र सरकारी निकायहरु जिम्मेवार हुनु पर्ने हो । पहिले हाम्रो पालामा माटोमा जनशक्ति कम भयो भने सरकारले नै विदेशमा माटो विज्ञान पढ्न पठाउथ्यो । म पनि त्यसरी नै पढन गएको हु । अहिले त झन देश मै विश्वविद्यालयहरु छन् उपत्यका मै कृषि क्याम्पसहरु छन्,तर चासो खै ? माटो विज्ञान पढन खर्चिलो विषय हो, प्रयोगशाला मै पैसा तिरेर पढ्दा विदेशमा लाखौ नेपाली रुपैँया खर्च हुन्छ । स्नातकोत्तर र पि.एच.डी गर्दा अनुसन्धानका दौरान सयौ नमुनाहरुको जाँच गर्नुपर्ने हुन्छ । यसमा धेरै खर्च लाग्छ । तर्सथ धेरै खर्चिलो हुनाले पनि माटो विज्ञान विद्यार्थीको रोजाई नबनेको हो । अझ यहाँ त अन्य विषय पढेकाहरुलाई माटोसंग सम्बन्धित ओहोदामा पदपूर्ति गरिन्छ अनि कसरी सेवा उपलब्ध हुन्छ । सबै तिरबाट गन्जागोल भएको कारण नै समस्या आएको हो ।

अब माटो परीक्षण गर्न लाग्ने समय भनेको प्रयोगशालामा म्यानपावर कति उपलब्ध छ भन्ने कुरा प्रमुख हुन्छ । सामान्यतया माटोको नमुनालाई १ हप्तासम्म ड्राई (सुख्खा) गर्नुपर्ने हुन्छ, त्यो नमुनालाई पिस्ने सुकाउने,छान्ने गर्नुपर्छ । त्यही एउटै नमुना नाईट्रोजन जाँच गर्न जान्छ, फस्फोरस, पोटासियम लगायतका सबै तत्व जाँच गर्न जान्छ र यदि प्रशस्त म्यानपावर छ भने त्यो एउटाले एक तत्व अध्ययन गरेमा छिटो हुन्छ तर प्राविधिक कम छन भने केही समय लाग्न सक्छ । हाम्रो क्षमताले एक महिनामा १०० वटा सम्म माटो जाँच गर्न सक्नु पर्ने हो ।अहिले जसरी माटो जाँच गर्न भनेर गैर कृषि प्राविधिकले प्रयोगशालामा खोलेका छन् त्यसैले पनि कृषकलाई अन्यौलमा पारेको छ । एउटा नमुना जाँचेको ८००० देखि १०००० लिन्छन् । अनि त्यस्ता प्रयोगशालाले तपाईको माटोमा यो तत्व यति छ मात्र भनिदिन्छ । त्यो किसान फेरी त्यो रिपोर्ट बोकेर माटो विज्ञ सम्म पुग्नु पर्ने हुन्छ ।

तपाई लामो समय सम्म नार्कमा रहेर काम गर्नु भयो । धेरै अनुसन्धानहरु गर्नु भयो तर कृषक स्तरमा माटो सम्बन्धि सेवाहरु पुग्न नसकेको कारण के होला ?

वास्तवमा भन्नुपर्दा मैले नेपालको कृषि क्षेत्रमा अनुसन्धान र विकासको क्षेत्रमा काम गर्न थाल्दा श्री ५ सरकार थियो । जसबेला हामीले एकै द्धारबाट प्रसार,अनुसन्धान,विकासका कुराहरु समानान्तर हिसाबले कृषक सम्म पु¥याईरहेको थियौ । हाम्रो कृषि उत्पादन पनि ज्यादै राम्रो थियो । त्यसपछि २०५१ (वि.स.) मा अनुसन्धानको कार्य लाई छुटयाई नार्कलाई जिम्मा दिइयो भने कृषि विभागले प्रसारको काम पायो । यसले गर्दा नार्कले अनुसन्धान मात्र गर्ने र अनुसन्धानबाट प्राप्त विकासहरुको प्रसार विभागले गर्ने भन्ने भयो । नार्कलाई किसानसंग प्रत्यक्ष सरोकारका पक्षहरुमा सोझै पहँुच राख्ने म्यान्डेड,बजेट आदि केही हुदैन । यसको मुख्य जिम्मेवारी कृषि विभाग अन्तर्गतको माटो विकास महाशाखा लगायतका अन्य शाखाहरुको हो । अहिले त केन्द्रिय प्रयोगशालाले सम्बन्धित कार्य गर्ने भन्ने छ । जसले नेपालको माटोको अवस्था मलको अवस्था,माटो सुधारका कार्यक्रमहरु अघि बढाउनु पर्ने थियो । तर त्यो हुन सकिरहेको छैन । कृषिसँग सम्बन्धित रहेर काम गर्ने विभिन्न निकाय बीच समन्वयको अभाव एउटा प्रमुख कारण हो । यसका साथै माटो सम्बन्धि नीतिको अभाव पनि छ । यसलाई गम्भीर रुपमा नलिए भयाव्ह स्थिती आउँछ ।

विगतमा माटो विकास निर्देशनालय अन्तर्गत सैयौँ संख्यामा कर्मचारी प्राविधिक हुँदा त माटो सम्बन्धि सेवाहरु प्रभावकारी भएन अब नयाँ संरचनामा प्रभावकारी रुपमा काम होला भनेर ढुक्क बन्न सकिएला ?

म त्यही आउदै थिए । यो माटो परीक्षण गर्ने काम कर्मचारीले मात्र नसक्लान त्यो विदेशमा पनि गाह«ो कुरा हो । त्यसको लागि त विश्वविद्यालय,कृषि क्याम्पसहरुसंग सहकार्य गर्नुप¥यो नी सरकारले । सरकारी तथा निजी कृषि क्याम्पसहरुसंग प्रयोगशालाहरु छन् । तिनीहरुलाई पनि किसानको समस्या समाधान गर्ने प्रकृयासंग जोडेको खोई ? त्यहाँ प्रशस्त विद्यार्थी हुन्छन् तिनीहरुले नै जाच्छन् माटो त्यसले किसानको समस्या पनि समाधान हुने विद्यार्थीले पनि अभ्यास गर्न पाउने र सरकारी खर्च पनि अतिरिक्त नहुने । यसरी हो यो काम गर्ने । भारत लगायत अन्य देशहरुमा त्यहि हुन्छ । किसानको समस्या मै विद्यार्थीलाई अनुसन्धान गर्न कृषि क्याम्पस तथा विश्व विद्यालयले निर्देशन गर्नुपर्दछ नत्र त नार्कले अनुसन्धान गर्ने,विभागले प्रसार गर्ने मात्र भनेर बस्यो भने त समस्या यथावत नै रहन्छ । अनि अर्को कुरा अब प्रयोगशाला स्थानी तहमा नै स्थापित गर्छौ भनेको सुनिन्छ । तर स्थानीय तहको अवस्था के छ ? बिजुली छ की छैन ? संरचनाको अवस्था के छ ? दक्षजनशक्तिको अवस्था के छ ? भन्ने कुराहरु विचार गर्नु पदैन ? माटो जाँच गर्ने एउटा अटोमेटिक एब्र्जबसन स्प्रेक्टोमिटर मेसिनलाई २५ देखि ३० लाख रुपैँया पर्छ जसले धेरै किसिमका तत्वहरु छिटो पहिचान गर्ने काम गर्दछ । त्यस्ता मेसिन चलाउन सक्ने जनशक्ति पहिले तयार पार्नु परेन ? क्षेत्रीय निर्देशनालयलाई पनि त जापान सरकारले करौडौँको सामान दिएको थियो ? अवस्था के छ ? सबै मुसाले खायो,विग्रिए भत्किए । त्यसैले माटो सम्बन्धी सेवालाई कृषकहरु समक्ष पु¥याउन स्पष्ट नीतिको आवश्यक्ता छ । नत्र जुनसुकै संरचनामा पनि केही हुनेवाला छैन ।

अन्त्यमा, किसानले खेती गर्नुपर्ने माटो जाँच गर्न कतिको अनिवार्य छ र सामान्यतया के के जाँच गर्दा उपयुक्त होला ? माटो जाँच्न एकदमै जरुरी छ र माटोमा भएको समस्याको समाधान गर्न पनि जरुरी देख्दछु किनभने किसानले खेतीबाट अत्याधिक उत्पादन र मुनाफाको आशा गरेको हुन्छ । खेती गरिने माटोको नाईट्रोजन,फस्फोरस,पोटासियम,पि.एच.र प्राङगारिक पदार्थ मात्र जाच्यो भने पनि त्यसले उक्त माटोको समग्र अवस्था बुझ्न सजिलो हुन्छ र बल्ल बाली छनौट गर्नुपर्दछ । शुक्ष्म खाद्यतत्वमा भने जिंक,मोलिब्डेनम र बोरन हेरे पुग्दछ किनभने फलाम,आलमुनियम जस्ता तत्वहरु हाम्रो माटोमा प्रशस्तै पाईन्छ ।