विश्व कोरोना माहामारीबाट आतंकित भएको बेला हाम्रो मुलुकमा पनि Novel Corona Virus अर्थात् COVID-19 ले प्रवेश पाएको छ। विश्व पशु स्वास्थ संगठनका अनुसार यो रोग कुनै पशुपन्छीबाट सर्ने रोग भनेर पुष्टी भएको छैन। तर पनि यस्तो बेलामा मानिसहरुले पशुपन्छीहरुलाई निर्दयी व्यवहार गरेको हामीले सामाजिक संजालमा देखिरहेका छौं। पशुपन्छीहरु पनि यही धर्तीका उपहार हुन् । यिनीहरु बिना यो धर्तीको चक्र चल्न सक्दैन । त्यसैले बाच्नु पर्छ र बचाउनु पर्छ । जीवन जगतमा सबै प्राणीको आफ्नै प्रकारको महत्व छ।
| Advertisement |

पशु चिकित्सक
अहिले नेपालको संबिधानमा पशु अधिकारको कुरा उल्लेख भएता पनि कार्यान्वयन फितलो छ। अहिले पशु ऐन नै सक्दो छिटो ल्याउनु पर्यो भनि सरकारलाई घच्घच्याई रहेको अवस्था छ। पशु प्रती हुने निर्दयी व्यवहारको रोकथाम गरि पशुको उचित व्यवस्था विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ तथा पशु सेवा ऐन २०५५ को मर्म र भावना अनुरुप पशु कल्याण सुनिश्र्चितता गर्न वान्छनीय भएकोले पशुस्वास्थ्य तथा पशुसेवा नियमावली,२०५६ को नियम २२ ‘क’ ले दिएको अधिकार प्रयोग गरि पशुपन्छी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका जारी गरेको छ तर आम सर्वसाधारण नागरिक भने यो निर्देशिका बारे बेखबर नै पाइएको छ।
यति बेला हामीले हाम्रो घरमा परिवारसंग मीठो-मीठो खाने कुराको स्वाद लिइरहेको बेला बाहिर खुल्ला आकाशमा रहेका पशुपन्छीहरु पनि के गरिरहेका होलान् भनेर विचार पुर्याऊँ। त्यसैकारणले सबै जना आ-आफ्नो ठाउँमा रहेर आफ्ना घर वरपर भएका पशुपन्छीहरुलाई हेरचाह गरौं। विशेष रुपमा यो लकडाउनको बेला हामी सबैजनाले कम्तिमा हरेक दिन घर बाहिरका पशुपन्छीहरुका लागि आफ्नो घरको थोरै पानी र खानी कुरा राखिदिऊँ। लकडाउनका कारण जनावर तथा पशुपन्छीकालागि आहाराको समस्या दिनानुदिन बढिरहेको छ। मानिसहरु घर भित्रै बस्नु परेकाले मानिसमा आश्रित जनावर र पशुपन्छी भोकै पर्ने अवस्था आइरहेको छ। होटेल,रेस्टुँरा, मन्दिर, पसल आदि बन्द भएका कारण कुकुर ,परेवा, बादर तथा अन्य पशुपन्छीहरू भोकै हुने अवस्था आएको छ।
त्यसैले सचेतिकरणको अत्यन्तै आवश्यक छ। पशुको पनि मानिसको जस्तै आत्मामा पिडा हुन्छ,तर तिनीहरुले व्यक्त मात्र गर्न नसक्ने हुन् त्यसैले यस्तो जटिल परिस्थितिमा हामी सम्पूर्ण मानिसले आफुले सक्दो खानेकुरा र पानी दिऊँ, जसले गर्दा पशुपन्छीहरुलाई यस धर्तीमा थोरै भएपनि भोकमरीबाट बच्न सहयोग पुग्दछ।
लेखक अर्घाखाँची टेक्नीकल ट्रेनिङ्ग स्कूल प्रा.लि. मा कार्यरत हुनुहुन्छ ।