भारतमा कीराको बथानले खाद्य संकटको जोखिम, नेपालमा पनि त्रास फैलँदै

भारतमा कीराको बथानले खाद्य संकटको जोखिम, नेपालमा पनि त्रास फैलँदै

| Advertisement |

Promotional banner

नयाँदिल्ली : सिंगो मानव जाति कोभिड १९ को महामारीविरुद्ध संघर्ष गरिरहेका बेला भारतका किसानलाई करोडौं कीराहरुले दुख दिएका छन् ।

करोडौंको संख्यामा रहेका फट्याङ्ग्रे कीराको बथानले भारतका किसानहरुको अन्नबाली नष्ट पारिदिन थालेको छ । यो सलहका बथान अफ्रिकी देशबाट पाकिस्तान हुँदै भारतको उत्तरी क्षेत्रतर्फ उडिरहेका छन् । राजस्थान, जयपुर लगायत क्षेत्रका किसानको अन्नबाली ती कीराले नष्ट पारिदिन थालेका हुन् ।

भारतमा कोभिड १९ महामारीबाट खाद्य संकटको जोखिम बढिरहेका बेला अचानक आएका सलाहका बथान थप चुनौती बन्न पुगेका छन् । यी कीराहरु ४ करोडको झुण्डमा उड्ने गर्छन् । पछिल्लो समय भारतमा लाखौँ हेक्टर जमिनमा बाली नष्ट पार्दै घरआँगनमा समेत यी कीरा व्याप्त देखिएका छन् ।

यस्ता कीराले कसरी बाली नष्ट पारिरहेका छन् भन्ने दृश्य र भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेका छन् । भारतमा देखिएको यो समस्याप्रति विश्व खाद्य कृषि संगठन लगायत कृषि सम्बन्त्री निकायले चासो र चिन्ता देखाएका छन् ।

विज्ञहरु यस समस्याबाट कसरी मुक्त हुने उपायको खोजीमा छन् । अघिल्लो वर्ष साउदी अरब र यमनका भूभागमा यस्तै सलहको प्रकोपले खाद्य संकट नै पैदा भएको थियो । यसपटक भारतमा ठूलो संख्यामा रहेका किसानको अन्नबाली नष्ट गर्न थालेका छन् । यसअघि पाकिस्तानमा पनि यसको प्रकोप बढेपछि त्यहाँ राष्ट्रिय संकट घोषणा गरिएको थियो ।

अहिले भारतका उत्तरी क्षेत्रमा यस्ता कीराले बाली नष्ट गरिरहँदा नेपालतर्फ बढ्न सक्ने चिन्ता विज्ञहरुको छ । नेपालको समिा नजिकै पर्ने जयपुरमा यसको असर देखिएपछि नेपालतर्फ पनि यी कीरा पुग्नसक्ने बताइएको छ । त्यसो त, झण्डै २५ वर्षअघि नेपालमा पनि यस्तै प्रकेतिका सलहले बाली नष्ट गरेको बताइन्छ ।

साभार:annapurnapost.com/