मकैमा फौजी किरा, ‘नियन्त्रण नगरे ८० प्रतिशतसम्म उत्पादन घट्न सक्छ’

मकैमा फौजी किरा, ‘नियन्त्रण नगरे ८० प्रतिशतसम्म उत्पादन घट्न सक्छ’

| Advertisement |

Promotional banner

काठमाडौं- मकैमा लाग्ने फौजी किराको प्रकोप देशका ४६ जिल्लामा देखिएको छ। रातिकाे समयमा सक्रिय हुने याे किराले विश्वका धेरै मुलुकमा मकै बाली नष्ट गरिररहेकाे छ। नेपालमा पनि बेलैमा नियन्त्रण नगरिए ६० देखि ८० प्रतिशतसम्म उत्पादन घट्न सक्ने विज्ञहरु बताउँछन्।

कृषि मन्त्रालयका अनुसार सन् २०१८/१९ मा देशभर ९ लाख ५४ हजार हेक्टरमा मकैखेती गरिएको थियो भने कुल उत्पादन २५ लाख ५५ हजार मेट्रिक टन थियो। यस वर्ष पनि त्यति नै जग्गामा मकैखेती गरिएको अनुमान छ।

‘किरा नियन्त्रण हुन सकेन भने खाद्य संकट मात्र होइन बिउ जोगाउनै गाह्रो पर्न सक्छ’, मकैविज्ञ घनश्याम भण्डारी भन्छन्।

मकै नेपालीको प्रमुख खाद्यान्न बाली हो। यसले नेपालको कुल राष्ट्रिय उत्पादनमा तेस्रो हिस्सा ओगट्छ। धान र गहुँपछिको मकै देशका अधिकांश भूभागमा उत्पादन हुन्छ।

‘पश्चिम नेपालका प्युठान, दाङ, गुल्मी, पाल्पा, स्याङ्जा, कैलाली, कञ्चनपुरलगायत जिल्लामा फौजी किराले सताइसकेको रिपोर्ट आएको छ,’ राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका मकैविज्ञ भण्डारीले भने, ‘मकैबाली हुने सबैजसो ठाउँमा यो किरा पुगिसकेको छ।’

फौजी किरा दिउँसो सजिलै देखिँदैन। बाली काटेर भुइँमा झर्दा चौपायाले खाएको जस्तो देखिन्छ। त्यसैले किसानले फौजी किराको प्रकोपबारे ढिलो गरी थाहा पाउँँछन् ।

‘बालीमा किरा लाग्नु भनेको शरीरमा रोग लाग्नुजस्तै हो। नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकाय जागरुक हुनुपर्‍याे,’ खाद्यका लागि कृषि अभियानका उद्धव अधिकारी भन्छन्, ‘एक त खाद्य संकट तथा खाद्य उपजको उपलब्धतालाई कोरोना महामारीले प्रभाव पारेको छ त्यसमाथि फौजी किराको संकट थपिँदै छ। मकैमा देखिएको महामारी रोक्न ढिलाइ गर्न हुन्न।’

नेपालमा फौजी

विज्ञहरुका अनुसार २०७६ जेठ महिनामा नवलपरासीको गैंडाकोटको मकैबालीमा पहिलोपटक फौजी किरा देखिएको हो।
चितवनमा गरिएको अध्ययनअनुसार यो किरा दस डिग्री सेन्टिग्रेडको तापक्रमसम्म बाँच्न सकेको भण्डारी बताउँछन्। उनका अनुसार यसले धान, गहुँ, मकै, घाँस बालीलगायतका गरी ८० प्रकारका बालीमा नोक्सान गर्छ ।

यसले जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु र विभिन्न प्रजातिका घाँस खान्छ।

मकै उम्रनेबित्तिकै सताउँछ

‘मकै उम्रेर दुईतीनवटा पात पलाउनेबित्तिकै किरा छ कि छैन भनेर पातमा ओल्टाइपल्टाइ हेर्नुपर्ने हुन्छ,’ भण्डारी भन्छन्, ‘देखियो भने तत्काल नियन्त्रण विधि अपनाउनुपर्छ। किरा सानो छँदा नियन्त्रण गर्न सहज हुन्छ।’

फौजी किराको लार्भाले मकैको पात, गुभो, जुँगा तथा घोगा पनि खाइदिन्छ। बागवानीविद् शिवबहादुर नेपाली भन्छन्, ‘लार्भा हुर्किंदै गएपछि गुभोभित्र छिरेर पनि खाइदिन्छ। घोगा लाग्न थालेपछि मकैको जुँगाका साथै खोस्टा छेडेर घोगा पनि खाइदिन्छ।’

बाली पाकिसकेको अवस्थामा किराले आक्रमण गरेमा विषादी छर्न समस्या पर्छ। ‘बाली पाक्ने अवस्थामा विषादी छर्दा अन्नबालीमा त्यसको अवशेष रहन्छ, जसले मानव स्वास्थ्यमा असर गर्न सक्छ। त्यसैले सुरुमै रोकथाम गर्नुपर्छ,’ उनी भन्छन्।

बाली जोगाउने उपाय

मकै रोप्नुअघि गहिरो गरेर जमिन खनजोत गर्ने, घोगा राम्रोसँग खोस्टाले छोपिने जातका मकै लगाउने र वर्षे मकै समयमै रोप्ने गरेमा जोगाउन सकिने विज्ञ बताउँछन्। यस्तै वरपरका किसानले एकै समयमा रोप्ने र मकैसँगै कोसेबाली लगाउँदा यसको प्रकोप केही कम हुन्छ।

मकैबाली अनुसन्धान केन्द्रका भण्डारी फौजी किराको प्रकोप रोक्न जैविक विधि, विषादी छर्कनेलगायतका उपाय अपनाउनुपर्ने बताउँछन्।

खेतबारीमा पुतली देखिनासाथ नियन्त्रणका लागि पहल गर्नुपर्छ। ‘यसको नियन्त्रणका लागि पेटमा विषादी पुर्‍याउने (स्टोमक पोइजन) र शीररमा छर्ने (कन्ट्याक्ट पोइजन) प्रयोग गर्नुपर्ने हुन्छ,’ नेपाली भन्छन्, ‘जब मकै बारीमा पुतली उडेको देखिन्छ तब औषधि प्रयोग गरिहाल्नुपर्छ ता कि अण्डा पार्नुअघि नै नियन्त्रण गर्न सकियोस्। अण्डा पारिसकेको भए लार्भा पनि नियन्त्रण गर्न सजिलो हुन्छ। थोरै विषादीले काम गर्छ। ठूलो भएपछि औषधि पनि धेरै चाहिन्छ। नियन्त्रण गर्न पनि गाह्रो हुन्छ।’

बारीमा मकैसँगै डेस्पोडियम घाँस र बारीको आलीमा नेपियर घाँस लगाउँदा यो किराको प्रकोप कम हुने भण्डारी बताउँछन्। ‘डेस्पोडिम घाँसको गन्धले फौजी किरा बारीमा बस्दैन भने यसले माटो चिसो बनाउनुका साथै उर्वर बनाइरहन्छ। नेपियर घाँसले फौजीलाई आकर्षित गर्छ र अण्डा त्यहीं पार्दा नियन्त्रणमा सहज हुन्छ,’ भण्डारी भन्छन्।

फौजी किरा रातमा सक्रिय हुने भएकाले यो हिँड्ने बाटो पहिल्याएर कुलेसो वा कुलो बनाएर बीचबीचमा खाल्डो बनाई पुर्न सकिन्छ।
पुतलीलाई बत्तीको उज्यालोमा पासो थापेर बत्तीमुनि मट्टितेल तथा विषादीको घोलमा डुबाउँदा पनि केही मात्रामा नियन्त्रण हुन्छ।

फौजी किराका केही प्राकृतिक शत्रुको उपयोग पनि गर्न सकिने विज्ञहरुको राय छ। बारुलोजस्ता शत्रु किराले यसको नियन्त्रणमा सघाउ पुर्‍याउने उनीहरु बताउँछन्।

‘चीन र जापानमा फौजी किरा नियन्त्रणका लागि प्राकृतिक शत्रु अर्थात् फौजी किरा खाने किरालाई नै उपयोग गरिएको छ,’ कीटविज्ञ सुलभ पौडेल भन्छन्, ‘त्यसका साथै किरा देखिनासाथ नियन्त्रणका विविध उपाय र विभिन्न विषादी प्रयोग गर्नुपर्ने हुन्छ।’

बारी नजिकै चरा बस्न मिल्ने टोड्का वा काठको गुँड बनाइदिँदा पनि चराले फौजी किरा खाइदिन्छ।

बोडी र सिमीलगायतका लहरेबाली मकैमा छरिदिए यसको परागले फौजी किरा मकैमा सल्कनबाट रोकिन्छ। भण्डारी भन्छन्, फौजी किरा नियन्त्रण नगर्ने हो भने मकै बाली ६० देखि ८० प्रतिशतसम्म नोक्सान हुन्छ।

कस्तो विषादी प्रयोग गर्ने?

बाली लागिसकेपछि किराको प्रकोप देखिएको छ भने विषादी छर्नैपर्ने हुन्छ। विषादी गुभोमा पनि छर्कनुपर्छ।

नेपालमा अहिलेसम्म चार प्रकारका विषादी उपयुक्त देखिएको छ। तिनमा स्पिनोस्याड, क्लोनोडट्रानिडक्रोम, स्पेन्टेराम, इमामेक्विट बेन्जोइड। ‘यी विषादी अलि महँगा भए पनि प्रभावकारी छन्। मित्रकिरालाई पनि असर गरेका छैनन्,’ भण्डारी भन्छन्, ‘विषादी भनेका विष नै हुन् जसले मानव स्वास्थ्यमा असर गर्छ। त्यसैले सुरक्षित ढंगले प्रयोग गर्नुपर्छ।’

एकै रातमा सय किमि यात्रा गर्छ

अमेरिकी फौजी किरा पुतली समूहअन्तर्गत पर्छ। यसको वैज्ञानिक नाम ‘स्पोडोप्टेरा फ्युर्गिपेर्डा’ हो। यसको चलनचल्तीको नाम ‘फल आर्मी वर्म’ हो। धेरै संख्यामा र एकै पटक सामूहिक आक्रमण गर्ने यो किरा रातमा सक्रिय हुन्छ।

फौजी किरा वातावरणमा चाँडै घुलमिल हुन्छ। त्यसैले यो जहीँतहीँ पुग्न सकेको मकै विज्ञ घनश्याम भण्डारी बताउँछन्। उनका अनुसार अनुकूल वातावरण र हावाको बहाव मिलेमा यो किरा एकै रातमा एक सय किलोमिटरसम्म यात्रा गर्छ।

यसले मकैको पातको तल्लो तथा माथिल्लो दुवै भागमा अण्डा पार्छ । अण्डा कोरलेपछि लार्भाले बढी क्षति गर्छ।
‘लार्भा खन्चुवा हुन्छ। यसले पातमा लाम्चा आकारका झिल्ली मात्र बाँकी राखेर सबै भाग खाइदिन्छ,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ डा. पीके झा भन्छन्, ‘माइथिम्ना सेपरेटा नाम रहेको मिचाहा प्रजातिमा पर्छ फौजी किरा।’

फौजी किराको जीवनचक्र ६ चरणमा सम्पन्न हुन्छ। ‘सुरुका तीन चरणमा नियन्त्रण गर्न सहज हुन्छ,’ मकैविज्ञ भण्डारी भन्छन्, ‘लार्भाले १४ देखि २१ दिनको अवधिमा बढी क्षति गर्छ।’

वसन्त, गृष्म र हेमन्त ऋतुमा यो किराको प्रकोप देखिने बताउँछन् प्रा. डा. विनायक राजभण्डारी। ‘यो किरा वसन्तदेखि हेमन्त ऋतुको ९० दिन सक्रिय हुन्छ। त्यो बेला हुने बालीलाई यसले नोक्सान गर्छ,’ उनी भन्छन्।

 

साभार:nepalsamaya.com/