मलबिनाको रोपाइँले उत्पादन घट्ने चिन्ता

मलबिनाको रोपाइँले उत्पादन घट्ने चिन्ता
किसानले लगाएको बीउ सप्रिएन
भारतका बन्दरगाहमा रासायनिक मल रोकियो

कपिलवस्तु,तिलोत्तमा, परासी — कपिलवस्तु नगरपालिका–९, जलरैयाका जनार्दन बारीले धानको बीउ राख्न डीएपी मल पाएनन् । गत वर्ष यस्तो समस्या परेको थिएन । मुलुकभित्र नपाए पनि सीमावर्ती भारतीय बजारमा गएर मल किनेर ल्याउँथे । ‘कति कुर्ने, मनले मानेन,’ उनले भने, ‘जे त होला भनेर धानको बीउ राखें ।’ बीउ छर्नुअघि मल हालेर खेत हिलाम्मे बनाउनुपर्ने हुन्थ्यो । यसपालि मलबिनै बीउ राखेकाले नसप्रेको उनले बताए ।

यशोधरा गाउँपालिका–८, बाँसखोरका वसन्त मालीले साँवा मन्सुली धानको ७ किलो बीउ किनेर ल्याएर छरेका छन् । तर, बीउ टुसाएको छैन । ‘यसपालि गाउँपालिकाले बीउ वितरण गरेन,’ उनले भने, ‘कृषि ज्ञान केन्द्रले पनि दिएन ।’ त्यसपछि बजारबाट किनेर ल्याएको बीउ छरेको तर नउम्रिएको उनले जानकारी दिए ।

यसपालि रोपाइँका बेला मल र राम्रो बीउ नपाउँदा किसानलाई समस्या भइरहेको छ । जिल्लामा कोरोना संक्रमण उच्च छ । यही बेला मल अभाव भएको छ । बीउ राख्दा नै डीएपी चाहिन्छ । जोखिम मोलेर यहाँका किसान मल पाइने आसमा विभिन्न सहकारी र कृषि सामग्री कम्पनी लिमिटेड दिनहुँ धाउने गरेका छन् । सधैं मल आएको छैन भन्दै कृषि सामग्री संस्थानले खाली हात पठाउने गरेको कपिलवस्तु नगरपालिका–६, तिलौराका कृषक दर्शनाथ कोहारको भनाइ छ । ‘यसपालि उब्जनी हुने छाँट छैन,’ उनले भने, ‘परिवारलाई खाना नपुग्ने चिन्ता छ ।’

| Advertisement |

Promotional banner


कपिलवस्तुमा बर्सेनि धानखेतीका लागि २ हजार मेट्रिक टन डीएपी र ७ हजार मेट्रिक टन युरिया आवश्यक पर्छ । अभाव भएकाले वैशाख तेस्रो सातादेखि मल वितरण नगरिएको कम्पनीको तौलिहवा शाखा प्रमुख दिनेश शर्माले बताए । कात्तिक/मंसिरदेखि थुपारेर चैत/वैशाखमा ९ सय मेट्रिक टन डीएपी र ५ सय मेट्रिक टन युरिया वितरण गरिएको थियो । अहिले २ सय ५० मेट्रिक टन डीएपी र एक सय मेट्रिक टन युरिया मौज्दात छ । ‘यो दुई/तीन दिनमै सकिन्छ,’ उनले भने, ‘कसरी वितरण गर्ने भन्ने योजना बनाउँदै छौं ।’ एउटा सहकारीलाई ट्रयाक्टरको एक ट्रली पनि दिन नसकिने उनले बताए ।

कोरोनाका कारण मल भारतका बन्दरगाहमा अड्किएको छ । मानो छरेर मुरी फलाउने किसानलाई यस वर्ष समस्या पर्ने उनको भनाइ छ । कृषि प्राविधिकका अनुसार धान रोप्नासाथ डीएपी छर्नुपर्छ । धान रोपेको तीन सातापछि युरिया छर्नुपर्छ । यसले गाँज हाल्न सहयोग गर्छ । आवश्यक परेका बेला मल नपाउँदा पीडा भइरहेको जिल्ला किसान संघका अध्यक्ष चतुर्भुजमणि त्रिपाठीले बताए । ‘मलबिनै रोपाइँ भइरहेको छ,’ उनले भने, ‘यसले उत्पादन प्रभावित हुने निश्चित छ ।’ उनका अनुसार प्राय: किसानले धान बेचेरै वर्षभरिको घर व्यवहार चलाउँछन् । ‘उत्पादन राम्रो भएन भने वर्षभरि असर पुग्छ,’ उनले भने । यहाँ ७० हजार हेक्टरमा धानखेती गरिन्छ ।

रूपन्देहीका ६० प्रतिशत किसानले मलबिनै रोपाइँ गरेका छन् । खेती लगाउने बेला मल आपूर्ति नभएपछि उब्जनी घट्ने चिन्ता सुरु भएको छ । ‘प्रत्येक वर्ष २० प्रतिशत खेतीयोग्य जमिन घटिरहेको छ,’ राष्ट्रिय कृषक महासंघका अध्यक्ष देव धवलले भने, ‘त्यसमाथि यसपालि मल अभाव भएपछि धान उत्पादन झनै घट्ने निश्चित छ ।’ यस साताभित्र मल नआए ८० प्रतिशत रोपाइँ मलबिनै सकिने उनले बताए । छिटो मल आपूर्ति भए किसानले रोपिसकेको खेतमा मल छर्किने उनको भनाइ छ । ‘सरकारले कृषियोग्य जमिन बाँझो नराख्ने, पर्याप्त मल उपलब्ध गराउने नारा लगाउँदै आएको छ,’ उनले भने, ‘तर, प्रत्येक वर्ष वास्तविक किसान मारमा परेकै हुन्छन् ।’ जोत्ने बेला हालेको मलले बाली सप्रिने उनले बताए ।

रूपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका शम्भुप्रसाद यादवले मलबिनै रोपाइँ सकेका छन् । विगतका वर्षमा १ सय ७० क्विन्टल धान उत्पादन गर्ने उनी यसपालि उत्पादन घट्ने चिन्तामा आत्तिएका छन् । ‘मल पर्खिंदा खेत बाँझै रहने भयो,’ उनले भने, ‘त्यसैले पुरानै तरिकाले खेत रोपियो ।’ यसपालि गत वर्षको तुलनामा आधा पनि उत्पादन नहुने उनले बताए । ‘गत सालसम्म भारतीय बजारबाट मल ल्याएर भए पनि खेत रोपिन्थ्यो,’ उनले भने, ‘यसपालि कोरोनाले त्यहाँबाट समेत ल्याउन पाइएन ।’ उनी बीउ उत्पादक किसानसमेत हुन् । तर, यसपालि बीउ उत्पादन गर्न नसकिने उनले बताए । ‘बीउ बिक्रीबाटै ५ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो,’ उनले भने, ‘लकडाउनले समस्यामा पार्‍यो ।’

कृषि सामग्री कम्पनी भैरहवाका प्रवक्ता गणेश घिमिरेले मल आउने क्रम जारी रहेको जानकारी दिए । ‘कागजपत्र मिलाएर आइतबारबाट बाँडिनेछ,’ उनले भने, ‘लकडाउन खुकुलो भएपछि रोकिएका गाडी आउन थालेका हुन् । विस्तारै मल वितरण हुन्छ ।’ गत साउनदेखि जेठ मसान्तसम्म ४९ हजार ७ सय ४३.९ सय ५० मेट्रिक टन युरिया कार्यालयमा आएको तथ्यांक छ । रूपन्देही र आसपासका गुल्मी, प्यूठान आदि जिल्लामा १३ हजार ३ सय १२ मेट्रिक टन मल पठाइएको छ ।

लकडाउनका कारण भारतबाट हाइब्रिड धानको बीउ र रासायनिक मल ल्याउन नपाएपछि पश्चिम नवलपरासीका किसानले यस वर्ष रैथाने धान रोपेका छन् । बीउ र मल मात्र होइन, यस वर्ष धान रोप्नका लागि मजदुर पनि पाइएनन् । भारतको बिहार क्षेत्रबाट सयौंको संख्यामा धान रोप्न आउने कृषि मजदुर लकडाउनले आउन नपाएपछि यहाँ समस्या थपिएको हो । कृषि मजदुर नपाएपछि परिवारका सदस्य र गाउँघरमा अर्मपर्म गरेर यस वर्ष किसानले धान रोपेका छन् । लामो समयसम्म घरभित्रै बसिरहेका परिवारका सदस्य खेतबारीमा रमाइरहेका छन् । वर्षौंसम्म खेती नलगाएको जमिन यस वर्ष खनजोत भएको छ ।

पाल्हीनन्दन–४ का हरेन्द्र यादवले अघिल्लो वर्ष भारतबाट आएका कृषि मजदुर लगाएर खेती गरेका थिए । एक बिघा क्षेत्रफलको धान रोपाइँ एक दिनमै सकिएको थियो । तर यस वर्ष उनले परिवारका सदस्य र छिमेकीको सहयोगमा तीन दिन लगाएर धान रोपेको बताए । ‘न त मल पाइयो, न हाइब्रिड जातको बीउ नै । यस वर्ष यहींको सावित्री धान रोपियो,’ उनले भने, ‘परिवार र छिमेकीसँग मिलेर खेती लगाइयो ।’

रामग्राम नगरपालिका–५ का झविन्द्र पाण्डेले पनि यस वर्ष परिवार र छिमेकीको सहयोगमा खेती लगाएको बताए । ‘धेरै वर्षपछि यसरी खेती लगाउँदा परिवारका सदस्यले पनि रमाइलो माने,’ उनले भने । पश्चिम नवलपरासीमा ४६ हजार ५ सय हेक्टर जमिनमा धानखेती हुने अनुमान छ ।

साभार:ekantipur.com/