| Advertisement |

जनकपुरधाम । धनुषा जिल्लामा व्यवसायिक माछाको उत्पादन तथा विक्रि वितरण गर्दै आएका पाँच वटा किसान समूहलाई पचास प्रतिशत अनुदानमा माछा ढुवानी गर्ने अक्सिजन सिलिण्डर सहितको सिंगल क्यान पिकअप भ्यान हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकी परियोजना ईकाई कार्यालय धनुषाले जिल्लाको शहिदनगर नगरपालिकाको सागर मत्स्य फारम, जगदिश मत्स्य फारम, मुखीया मत्स्य फारम शहिदनगर नन्नुपट्टी, पवन मत्स्य फारम धनुषाधाम तथा कमला मत्स्य फारम धवौलीलाई पिकअप भ्यान हस्तान्तरण गरिएको हो ।
परियोजनाले अनुदानमा प्रदान गरेको माछा ढुवानी भ्यानको कूल मूल्य मध्ये ५० प्रतिशत पर्ने ११ लाख ३२ हजार ५ सय प्रदान गरेको छ । कूल १८ वटा समूहले आवेदन दिईएकोमा ५ जना छनौटमा परेको आयोजना ईकाईका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत यूगल किशोर तिवारीले जानकारी दिनु भयो ।
प्रदेश नंं २ का अगुवा किसान तथा सभामुख सरोज कुमार यादवले जिउँदो सहित माछाको विक्रि वितरण गर्ने शर्तमा ती किसान समूहलाई पिकअप भ्यानको साँचो हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले किसानको जीवन स्तर माथि उठाउनका लागि माछाको उत्पादन तथा यसको व्यवसायिकरणमा जोड दिन जरुरी रहेको बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जे उद्देश्यका साथ किसानलाई अक्सिजन सिलिण्डर सहितको सिंगल क्यान पिकअप भ्यान अनुदानमा प्रदान गरिएको छ त्यसमा नै प्रयोग हुने आशा व्यक्त गर्नु भयो ।
प्रदेश नंं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विमल कुमार निर्मलले प्रदेश नंं २ को समृद्धिको आधारको रुपमा रहेको माछा, पशुपालन तथा धानको उत्पादन बढाउनका लागि प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रम ल्याएको बताउनु भयो ।
प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई धनुषाका प्रमुख यूगल किशोर तिवारीले पाँच वर्षसम्म माछामा मात्र पिकप भ्यान प्रयोग हुने शर्तमा हस्तान्तरण गरिईएको छ भने भ्यान पाएका समूहका अगुवा किसानहरुले यसको प्रयोग पूर्ण रुपमा माछाको बजारीकरणमा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
साभार:onlineradionepal.com