मेरी आमाको तरकारी खेती

मेरी आमाको तरकारी खेती

| Advertisement |

Promotional banner

जमाना हुलाकको छैन। इमेलको छ, सामाजिक सञ्जालको छ। त्यसैले त, सात समुद्रपारिबाट निमेष-निमेषमा घरको हालखबर थाहा पाइन्छ।

आमा र बाका चिठी अचेल मेसेन्जर बक्समै झर्छन्। अक्षरसँग आमाको चिनाजानी छैन। आवाजमा आउँछ उहाँको सन्देश। कहिलेकाहीँ फोटोहरूमा। फोटो खिचेर घरतिरको वातावरण छोरालाई पठाउन आमाले जान्नुभएको छ।

दुई दिनअघि केही फोटा फुत्तफुत्त झरे मेसेन्जर बक्समा। आमाले तरकारी बारीका फोटा पठाउनुभएको थियो। घिरौंला, करेला, सिमी, काँक्रा र फर्सीका मुन्टाका पसर र थुचुक्क बसेकी मेरी आमाको तस्बिर।

तरकारी त हामीले सधैं फलाउँदै आएका हौं। आमाले तरकारी बेचेर उहिल्यै घर धान्ने आर्जन गर्नु हुन्थ्यो। मेरो पकेट खर्च बुवाको कमाइबाट मात्र होइन, आमाको आर्जनबाट पनि आउँथ्यो।

आमाबा दुवैले कमाइ गर्ने सन्तानहरू बढी भाग्यमानी हुँदा रहेछन्। बुवासँग जति खर्च माग्न सकिन्थ्यो, त्योभन्दा धेरै आमाबाट पाइन्थ्यो।

आमाको कमाइबाट मैले पाएको खुसी बेग्लै थियो। बारीमा काँक्रा फल्दा मैले आफैंले पाउने पैसा फलेको ठान्थेँ। काउली फुल्दा खुसीले छाती फुल्थ्यो। म ती तरकारीमा पैसाको चित्र देख्थेँ। सात समुद्रपारिबाट हेर्दा आमाले फलाएका हरिया तरकारीमा मैले हरिया डलर पनि देखेँ।

यहाँ विदेशमा फर्सीका मुन्टा पनि साह्रै महँगो छ। बीस डलरमा कुखुराको मासु एक डोकै आउँछ, फर्सीको मुन्टा त एक मुठा। त्यसैले आमाको आर्जनको महत्व यहाँ आएपछि झन् बढेको छ।

आज समयअनुसार अर्काे महत्व पनि म ती तरकारीमा देखिरहेको छु।

आज नेपाल-भारत सीमा विवाद चर्केको छ। दुवै मुलुकमा लकडाउन छ, तर मान्छेका लस्कर उस्तै गरी ओहोरदोहोर गर्दै छन्।

अनि म सम्झन्छु- भारतबाट आउने ट्रक र लरीहरूले नेपालीको भान्छाका सामान ओसार्छन्। आलु, प्याज, लसुनदेखि बोडी, सिमी, काँक्रा, घिरौंला, करेला, गोलभेंडा सबै उतैबाट आउँछन्। भुइँचालोपछि भारतले नाकाबन्दी गर्दा लुकिछिपी कुहिएका तरकारी पनि भारतबाटै छिरे।

त्यो बेला मैले मेरी आमाले बारीमा फलाएका तरकारी सम्झेको थिएँ। त्यसलाई नेपालीहरूको स्वाभिमानको हतियार ठानेको थिएँ। देश तरकारीमा भारतनिर्भर हुँदा पनि मेरी आमाले हामीलाई आत्मनिर्भर बनाउनुभयो। हाम्रो घरलाई मात्र होइन, छिमेकीसहितको सानो समाजलाई नै।

आमाले फलाएका तरकारीले एउटा समाजको आवश्यकता मज्जैले पुग्थ्यो। अहिले पनि पुगिरहेकै छ।

आज सम्झँदा गर्व हुन्छ- थुप्रैका भान्छामा भारतबाट तरकारी आउन रोकिदिएको छ, मेरी आमाको पाखुरीले।

कुनै पनि मुलुकसँग हाम्रो आत्मसम्मानको लडाइँ पहिले भान्छाबाट सुरू गर्नुपर्छ। गोठबाट गर्नुपर्छ। करेसाबारीबाट गर्नुपर्छ। यी ठाउँको लडाइँ जित्यौं भने हामी आत्मनिर्भर हुन्छौं। त्यसपछि कहिल्यै कुनै लडाइँ हार्ने छैनौं।

तर के भान्छाको लडाइँमा हाम्रा अस्त्र दुरूस्त छन् त?

समाचार आउँछन्, नेपालले १३ अर्बको मकै र ४० अर्बको चामल आयात गरेछ। एक खर्बभन्दा बेसीको खाद्यान्न, तरकारी र फलफूल आयात गरेछ। यो हाम्रो धरातलीय यथार्थ हो। यो यथार्थ नबदली आत्मसम्मानको लडाइँ कसरी जितिएला त खोइ?

हामी साना छँदा बुवाको कमाइमा आमाले बारीको कमाइ थपेर भरथेग गर्नुभयो। त्यो कताकता हाम्रो बाध्यता थियो। अहिले बुढ्यौलीमा आमालाई त्यही बाध्यता पक्कै छैन।

हामी छोराबुहारी अमेरिकामा छौं। बहिनी ज्वाइँ यतै। भाइबुहारी अस्ट्रेलिया। बुवाको सरकारी जागिरको पेन्सन आउँछ। घरभाडा आउँछ। तै पनि आमाले पाखुरीलाई विश्राम दिनुभएको छैन। एक जनालाई रोजगारी दिएर करेसाबारी हराभरा बनाइरहनुभएको छ।

देशलाई आत्मनिर्भर बनाउनु मेरी आमाको बुताभन्दा बाहिरको कुरा हो। तर, आफ्नो घर र समाजलाई आत्मनिर्भर बनाउने उहाँको हातमा छ। उहाँ त्यो काम गरिरहनुभएको छ।

मेरी आमालाई आफ्नो काममा गर्व छ। र, मलाई मेरी आमाको पाखुरीमा।

साभार:https://www.setopati.com/