यसरी गर्न सकिन्छ फौजी किराको व्यवस्थापन

यसरी गर्न सकिन्छ फौजी किराको व्यवस्थापन

| Advertisement |

Promotional banner

हावापानी अनुसार माघदेखि असोजसम्म मकै लगाउने गरिन्छ। परम्परागत मकै लगाउने मूख्य सिजन भनेको बैशाखदेखि जेठ हो। यो मौसममा जुनसुकै क्षेत्रमा पनि मकैको राम्रो उत्पादन हुने बाली विशेषज्ञहरू बताउँछन्।

गत वर्षदेखि अमेरिकन फौजी किराले नेपाल प्रवेश गरेदेखि मकै लगाउने किसानहरू चिन्तित भएका छन्। फौजी किराको व्यवस्थापनका लागि कृषि प्राविधिकले किसानको बालीमै गएर सहयोग गरेका थिए।

तर अहिले भने विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनमा छ। लकडाउनले गाउँगाउँमा कृषि प्राविधिक पुग्न सकेका छैनन्। त्यसकारण किसान आफैले त्यसको पहिचान कसरी गर्न सक्छन्?, व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका विषयमा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरका किट विशेषज्ञ घनश्याम भण्डारीले विभिन्न उपाए बताएका छन्।

उनका अनुसार किसानले अलिकति मेहेनेत गर्ने हो फौजी किराको व्यवस्थापन तथा पहिचान आफैले गर्न सक्छन्।

‘बालिमा फौजी किरा आएको छ की छैन भन्ने थाहा पाउन किसानले बजारबाट ‘फेरोम्यान ट्रयाप’ (फौजी किरा पत्ता लगाउने साधन) किनेर लैजाने र बालीमा झुण्ड्याउने,’ उनले भने, ‘यदी त्यहाँ फौजी किराको माउ भए फेरोम्यान ट्रयापमा झुण्डिएर मर्छन्। यसले बालिमा फौजी किरा आएको छ की छैन भन्ने कुराको सूचना दिन्छ।’

उनका अनुसार त्यस बाहेक क्षतिको आधारमा पनि फौजी किराको चेकजाँच गर्न सकिन्छ। यो किरा लाग्यो भने मकैको पात सेतो देखिन्छ। त्यस्तै मकैको गुभाेमा किराको आलो दिशा पनि देखिन्छ। मकैको गुभाे कोट्याएर हेर्याे भने त्यहाँ किरा भेटिन्छ। त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरो हो।

कसरी गर्ने त व्यवस्थापन?

साना किरा छन् भने निममा आधारित विशादी हाल्नुपर्छ।  अलि ठूला जातका किरा छन् भने सुरक्षित विषादीको प्रयोग गर्न उनी सुझाउँछन्।

उनका अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न अध्ययन तथा अनुसन्धान गरी ६ प्रकारको विषादी सिफारिस गरेको छ।

मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोयट ५ प्रतिशत एस. जी.०.४ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्न उनी सुझाउँछन्।

त्यस्तै, नीमजन्य बिषादी एजाडिराक्टिन १५०० पिपिएम प्रतिशत मिलि लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने गर्नुपर्दछ।

जैविक बिषादीको हकमा ब्याक्टेरीयामा आधारित बिषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रति लिटर पानीमा राखी छर्नुपर्ने उनी बताउँछन्।

उनका अनुसार क्लोरान्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. ०.४ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने, स्पाइनोस्याड ४५ प्रतिशत एस.सी.०.३ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने र वास्पाइनेटोराम ११.७ प्रतिशत एस.सी.०.४ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने गर्नु पर्दछ। इमिडाक्लोरप्रिड ४८ प्रतिशत एफ एस नामक बिषादी भने ४ मिली लिटर प्रति किलोग्राम बीउमा छर्नुपर्छ।

एउटै बिषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि बिषादी प्रयोग गर्न नहुने उनले बताए।

बिषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर बिषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्ने गरी छर्न उनी सुझाउँछन्।

‘हाम्रो परम्परागत खेती अनुसार किसान पाइपबाट एकै पटक विषादी छर्ने गर्छन्। त्यस्तो तरिकारले किरा मर्दैन,’ उनले भने यो किराले चपाएर खाने हुनाले प्रत्येक गुभो–गुभोमै औषधि हाल्न पर्छ।’

यसका लागि किसानले मेहेनेत बढी गर्नुपर्ने उनी बताउँछन्। यसरी विषादी प्रयोग गर्दा फौजी किराको अस न्युन हुने उनको अनुभव छ।

यो बाहेका नार्कको कीट विज्ञान महाशाखाका वैज्ञानिकहरूले फौजी किरा व्यवस्थापनका लागि अन्य सुझाव पनि दिएका छन्।

मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने, घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने, बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने र मकै कोसेबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ।

त्यस्तै, सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने, डेस्मोडियम घाँस यस किरालाई मन नपर्ने हुनाले मकैको बीच बीचमा यो घाँस लगाएर धपाउने र छेउछेउमा यस कीरालाई मनपर्ने नेपियर घाँस लगाएर आकर्षित गरी विषादी प्रयोग गर्ने गर्नुपर्छ।

गुभोमा मसिनो माटो वा खरानी राख्दा पनि यसको नियन्त्रण भएको कृषकहरु बताउँछन्। हरियो खुसार्नी गाईको पिसावमा पकाएर १ः१० अनुपातमा पानी मिसाएर गुभोमा राख्दा पनि यसको प्रभावकारी नियन्त्रण हुने गरेको पाइन्छ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रममा लगाएको मकैको आधारमा यस किराले बैशाखदेखि कात्तिकसम्म धेरै नोक्सान गरेको छ भने पुस मागमा कम असर गरेको छ।

यो किरा बाट अफ्रिकी मुलुकमा उपज घाटा मकैको उत्पादनमा ५ देखि ५३ प्रतिशत रहेको मन्त्रालयको रिपोर्टले देखाएको छ।

मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबाली समेतमा क्षति पुर्याउने गरेको उनले बताए

साभार: https://www.setopati.com/