युरिया र खुदोले उपचार गरेर पशुवस्तुलाई पराल/ढोड खुवाउ दाना भएन भनेर धेरै चिन्ता गर्नै पर्दैन

युरिया र खुदोले उपचार गरेर पशुवस्तुलाई पराल/ढोड खुवाउ दाना भएन भनेर धेरै चिन्ता गर्नै पर्दैन

नेपालमा गाईभैसी पालन मुख्यतया दुध उत्पादनको लागि पालिने गरिन्छ । आ.व. २०७४ /०७५ को तथ्यांक अनुसार नेपालमा गाई र भैसीको संख्या क्रमशः ७३७६३८६ र ५२७७८१९ रहेको छ यसमा पनि दुध दिने गाई १०३९५३८ र भैसी १५३५९४८ रहेको छ । यसरि हेर्दा दुध दिने गाई भैसीको संख्या जम्मा २५७३४८६ रहेको छ । दुध उत्पादन २१४१३९७ मेट्रिक टन प्रति वर्ष रहेको छ । दुग्ध क्षेत्रमा प्रति वर्ष ७ प्रतिशतका दरले बृद्धिको सम्भावना रहे पनि अहिले बृद्धिद्धर जम्मा ३ प्रतिशत मात्र रहेकोछ । दुध उत्पादन अझै पनि प्रयाप्त हुन सकिरहेको छैन । गाईभैसीको उत्पादकत्व भने अनुसार हुन सकेको छैन । नेपालमा गाईभैसीबाट राम्रो दुध उत्पादन नहुनुका कारणहरु धेरै भएतापनि मुख्य चार तत्वहरु, आहारा व्यवस्थापन, नश्ल छनोट तथा प्रजनन, स्वास्थ्य र गोठ व्यवस्थापन महत्वपूर्ण कारकतत्व हुन् ।

| Advertisement |

Promotional banner

कपूर भुसाल
राष्ट्रीय गाई अनुसन्धान कार्यक्रम, रामपुर, चितवन

सामान्य अवस्थामा पनि पोषण अभावका कारण गाईभैँसीको दुध उत्पादन तुलनात्मक रुपमा कम भईरहेको हाम्रो अवस्थामा अहिले कोभिड–१९ का कारण भएको लकडाउनको कारण दाना आपूर्ति नहुँदा भयावह स्थिति सृजना भएको छ । अझ यो मौसममा हिउँदे घाँस पनि समाप्त हुन लागेको र दाना पनि उपलब्ध नहुँदा गाईवस्तुहरुको पोषण आपूर्तिमा कमि हुन गई पशुको स्वास्थ्यमा नै असर पर्ने सम्भावना हुन्छ । हरियो घाँस तथा सन्तुलित दानाको अभावमा सुकेको पराल, ढोड खुवाउने भन्दा अन्य विकल्प नहुन सक्छ । यस्ता सुकेको घाँसहरुमा मुख्यतया परालमा पोषणतत्व न्यून रहेको हुन्छ । परालमा कच्चा प्रोटिन को मात्रा ३-४ प्रतिशत र कुल पाच्या पदार्थ  ३५–४५ प्रतिशत हुन्छ । त्यसमापनि पाचनशील प्रोटिन शुन्य बराबर जस्तै हो । बरु परालको सट्टा मकैको ढोड प्रयोग गर्नु पौष्टिकतत्वको हिसाबले बढी फाईदजनक हुन्छ । सुकेको घाँस अथवा परालले सामान्यतया पशुको पेट भरने मात्र काम गर्दछ । किसानहरुले यस्तो असहज परिस्थितिमा नै नयाँ प्रयोग गर्ने हो । सामान्यतया पराल तथा ढोडको उपचार गरेर खुवाउने चलन हाम्रोमा छैन तर यसो गरेर खुवाएमा त्यही पराल र ढोडले नै पोषण आपूर्तिमा धेरै मद्धत पुर्याउछ । विभिन्न प्रकारका पराल, नल तथा डाँठ आदिलाई यूरिया तथा खुदोबाट उपचार गरेर खुवाउदा पोषणतत्व सुधार भई पशुवस्तुमा पौष्टिक तत्व उपलब्धता पूर्ति गर्न सहयोग हुने गर्दछ । तसर्थ अहिले दाना पाइएन भनेर दुखेसो गर्नु भन्दा आफूसँग भएको साधनस्रोतको प्रयोग गरि घर गोठमा नै सजिलैसँग गर्न सक्ने काम गर्नु पर्दछ । यो पटक तपाईले प्रयोग गरे पछि यसको नतिजाबाट आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रेरणा मिल्ने नै छ किनकी अधिकाँस खोज र अनुसन्धानले युरीया र खुदोले उपचारित पराल तथा ढोडले पशुवस्तुको पोषण आपूर्तिमा उल्लेखनीय प्रगति भएको तथ्यांकहरु प्रकाशित गरेका छन् ।

यूरिया खुदोबाट पराल उपचार के हो ?
कम पोषण ततव भएका पराल तथा डाँठ, ढोडलाई यूरिया र खुदोबाट उपचार गरेर पौष्टिक तत्व बृद्धि गर्ने विधिलाई नै यूरिया खुदोबाट पराल उपचार गर्ने विधि भनिन्छ । यो प्राय जसो सबै किसानले सजिलै प्रयोगमा ल्याउन सक्छन् ।
कसरी गर्ने उपचार ?
यसमा बिभिन्न प्रकारको अनुपातहरु छन तापनी मुख्य गरि छिमेकी देश भारत तथा नेपालमा नार्क अन्तर्गतका अनुसन्धान केंद्रहरुमा निम्न अनुपातमा उपचार गरेर खुवाउदा राम्रो नतिजा देखिएको छ ।

तयार गर्ने विधि
१. यसलाई बिभिन्न तरिकामा बनाऊन सकिन्छ जस्तै प्लास्टिक थैलों, काठको बाकस अथवा खाल्डो मा तयार गर्न सकिन्छ तापनी प्लास्टिकको थैलोंमा तयार गर्न सजिलो, कम खर्च लग्ने र भण्डारण गर्न सजिलो हुने भएकोले प्लास्टिक थैलोंमा गर्ने चलन बढि छ ।
२. प्लास्टिक थैलोंमा तयार गर्दा सफा तथा प्वाल नभएको हुनु पर्दछ ।
३. पराल लाई मसिनो गरि (३-५ सेमी ) टुक्रा बनाई राम्रो संग काटने
४. यूरिया तौली पानीमा मिसाउने र राम्रो संग घोल्ने
५ खुदोलाई उक्त यूरिया पानीको घोलमा मिसाउने र राम्रोसंग चलाउने ताकि राम्रो संग घुलोस
६. त्यसपछि उक्त तयार मिश्रण लाई टुक्रा पारेको परालमा सबै तीर एकनासले पर्ने गरि छर्कने ।
७. त्यसपछि उक्त पराललाई प्लास्टिक थैलों मा राख्दै चाप्दै जाने र अन्तिमा प्लास्टिक को थैलोंको मुख राम्रो संग बन्द गर्ने
८. थैलों लाई प्रतक्ष्य घाम नलाग्ने तर हावा छिर्ने कोठामामा भण्डारण गर्ने ।

प्रयोग विधि तथा तरीका
– २१ दिन पच्छी खुवाउन सकिन्छ तर खुवाउदा थैलोंबाट निकालेर घाम नलाग्ने तर हावा छिर्ने कोठामा १ घण्टा फिजाई त्यसपछि खुवाउने ।
–  खुवाउदा एउटा २००–३०० केजी तौल भएको गाईभैसी लाई दिनमा ४–६ केजी बिहान र बेलुका आधा आधा गरेर खुवाऊदा राम्रो हुन्छ तर    अरु आहार खुवाएको हुनुपर्दछ ।
–  यसरि उपचार गरिएको पराल ६ महिना भन्दा कम उमेरका पशुबस्तुलाई खुवाउनु हुदैन ।
– यसरि उपचार गरिएको पराल नउग्राउने पशुहरुलाई भने खुवाउनु हुदैन ।

युरियाले उपचार गरेको पराल पशुलाई खुवाउँदा असर होला भन्ने चिन्ता तपाईलाई लाग्न सक्छ । तर पशुमा यसले कुनै असर गर्दैन । युरिया र खुदोबाट उपचार गरिएको परालको क्रुड प्रोटिनको मात्रा उच्च हुन जान्छ जसले गर्दा अत्वाश्यक पोषण उपलब्ध हुन्छ । विभिन्न देशमा गरिएको अनुसन्धान र हाम्रोमा पनि नार्कले गरेको परीक्षणले युरीया तथा खुदोले उपचार गरेको परालले पशुवस्तुमा कुनै किसिमको नकारात्मक असर नपार्ने कुरा उल्लेख गरेका छन् ।