राहत लिन खेतिपाती भएका नभएका सबै आउँछन् – कटहरी गाउँपालिका

राहत लिन खेतिपाती भएका नभएका सबै आउँछन् – कटहरी गाउँपालिका

 

हाम्रो क्षेत्रतिर कोरोनाको अवस्था सामान्य छ तर माहामारीको प्रकोपले गर्दा सबै कार्यक्रमहरुलाई १ बर्ष पछाडि पारिदियो । कृषि क्षेत्रमा भने गोलभेडा तरकारीहरु बारीमा नै कुहिएर गइरहेको अवस्था छ । स्थानिय क्षेत्रमा नै ६० देखि ८० रु प्रति के.जी मा बिक्री हुने गोलभेडा १० रुपैया के.जी बेच्दा पनि बिक्री नभएपछि किसान मार्कामा परेका छन् ।  यो बन्दाबन्दीमा सबै घरमा नै बस्ने र जे घरमा छ त्यही नै खाने र स्थानीय निकायका पसल तथा होटलहरु बन्द भएका कारण पनि माग कम भएको हो । सबै कुरा बन्द भएपछि किसानले पनि कहाँ लगेर बिक्री गर्नु ? यस्तो अवस्थामा हामीले तरकारी किनेर पनि कता व्यवस्थापन गर्नु टुङगो त हुनु पर्यो त्यसमाथि हाम्रो गाउँपालिका अधिकासं जनता गरिबीको रेखामुनी रहेको छ । यस्तो अवस्थामा हामीले उहाँहरुलाई राहतको लागि कमसेकम ५० लाखको बजेट छुट्याउनु अनिर्वाय छ तर भरखरै निर्णय गरेको प्रदेश सरकारले यस गाँउपालिकाको लागि जम्मा ५ लाख दिने निर्णय भएको छ । ५० लाखले नपुग्ने अवस्थामा हामीले ५ लाखले कसरी राहत बाढ्ने होला ? त्यसमाथि हाम्रो गाउँघरको चलन के छ भने राहत भन्ने बित्तिकै सरकारको पैसा हो त्यसमा र त्यसमा सबै नागरिकको बराबरको अधिकार छ भन्ने मानसिकता छ । हाम्रोमा राहत लिन खेतिपाती भएका नभएका सबै आउँछन् । घरमा नै प्रशस्त अनाज हुनेहरुले समेत यति पनि सोच्दैनन कि यदि हामीले यो राहत नलिएमा गरिब परिवारको भागमा १०० ग्राम भएपनि बढ्छ र उसको जिविका चल्छ । अहिलेको अवस्थामा बिउ विजनमा के भन्न सकिन्छ भने यो एक विश्वव्यापी माहामारी हो, हुल मुलमा ज्यान जोगाउनू अनिकालमा बिउ जोगाउन तसर्थ पहिला कोरोनालाई भगाऔँ किनभने बिउ ल्याउने भारतबाट हो यसबेला भारतमा पनि लकडाउनको समय बढाएपछि अहिले ल्याउन सम्भव भएन यस अवस्थालाई राज्यले कसरी हेर्छ त्यसपछि मात्र केहि भन्न सकिन्छ ।

राम कुमार कामत, अध्यक्ष 
कटहरी गाउँपालिका, मोरङ्ग
९८५२०२३३५३

प्रस्तुती –लक्ष्मी थापा