रैथाने ज्ञानका फाइदैफाइदा

रैथाने ज्ञानका फाइदैफाइदा

| Advertisement |

Promotional banner

पहिलापहिला गाउँमा कसैलाई ज्वरो आउँदा चिराइतो खुवाइन्थ्यो। अचेल गाउँघरमै सिटामोल पाइन्छ। त्यसैले चिराइतो बेचिन्छ र सिटामोल किनेर खाइन्छ। सस्तो मूल्यमा जडीबुटी बेचेर महँगोमा आधुनिक ओखती किन्ने गरिन्छ। यस्तो चलनले गर्दा रैथाने उपचार पद्धति र ज्ञान संकटमा पर्दै गएको छ।

खासमा हाम्रो आदिवासी समुदायमा वनस्पतिको प्रयोगसम्बन्धी ज्ञान प्रचुर मात्रामा छ। तर, व्यावहारिक अभ्यास कम हुँदै जाँदा कतिपय रैथाने ज्ञान लोप भैसके। भूमण्डलीकरण, आधुनिकीकरण र बजारीकरणका कारण परम्परागत ज्ञान लोप हुँदैछन्। त्यस्ता अमूल्य ज्ञानको अभिलेखीकरण गर्न सकेमा भावी पुस्ताले फाइदा लिन सक्छन्।

तुलसी

‘मानिस र वनस्पतिबीचको सम्बन्ध’का विषयमा पिएचडी गरेर बेलायतबाट स्वदेश फर्केदेखि कमल अधिकारी रैथाने ज्ञानको अभिलेखीकरणमा सक्रिय छन्। उनले डाँडाबासका तामाङ समुदायको परम्परागत ज्ञान र उपचार पद्धतिका विषयमा भर्खरै एउटा पुस्तक नै लेखेका छन्।

यही सत्य बुझेर अध्येता कमल अधिकारी अनुसन्धानमा क्रियाशील छन्। ‘मानिस र वनस्पतिबीचको सम्बन्ध’का विषयमा पिएचडी गरेर बेलायतबाट स्वदेश फर्केदेखि मौलिक ज्ञानको अभिलेखीकरणमा लागेका उनले भर्खरै मकवानपुरको तामाङ समुदायमा प्रचलित परम्परागत ज्ञान र उपचार पद्धतिका विषयमा पुस्तक लेखेका छन्।

कमल अधिकारी 

हाम्रा मौलिक ज्ञानहरू मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको छ। गाउँघरमा परम्परागत उपचार पद्धति हटिसकेको छैन। सबैतिर आधुनिक औषधि पुगेकाले जडीबुटी उपचारमा कमी हुँदैछ भने मानसिक समस्याको उपचार गर्ने चलन घटेको छैन। गाउँमा होस् या शहरमा पढेलेखेकाहरू पनि धार्मिक गुरु, धामीझाँक्री, वैद्य र जान्ने मान्छेकोमा धाइरहेका हुन्छन्।

परम्परागत उपचार पद्धति प्राकृतिक स्रोत संरक्षणका हिसाबले महत्वपूर्ण हुन्छन्। यस्तो उपचारबाट केही रोग र स्वास्थ्य समस्या समाधान हुँदै आएको छ। आखिर आधुनिक औषधिका कच्चा पदार्थ पनि जडीबुटी नै हुन्।

हाम्रा परम्परागत उपचार पद्धतिमा लुकेर बसेका वैज्ञानिक तथ्य खोजी गरेर परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई परिपुरक बनाउनुपर्नेमा अधिकारी जोड दिन्छन्।

‘हामीले आदिवासी ज्ञान र सीपलाई छाड्दै गइरहेका छौं। तिनको संरक्षण र अभिलेखीकरण गरिनुपर्छ। त्यसका लागि रैथाने ज्ञानको राष्ट्रिय अभिलेखालय बनाउन जरुरी छ।’

चुत्रो

उनले लेखेको अनुसन्धानात्मक पुस्तकमा १ सय ११ किसिमका जडीबुटीको अभिलेख छ। साथै ८ किसिमका प्राणीहरू बाघ, भालु, बिरालो, मृग, छुचुन्द्रो, कुखुरा, चिप्लेकिरा र मनपाहाको जानकारी दिइएको छ। यी जीवका अंग ओखती बनाउन प्रयोग हुन्छ। जीवजन्तु मार्नु ठीक होइन तर जडीबुटीको खेती र प्रयोगमा भने स्थानीयलाई प्रोत्साहित गर्नैपर्छ।

पुस्तकमा औषधिजन्य एक दर्जन लवणहरू रातोमाटो, कमेरो, खरानी, दर्शनढुंगा, मट्टितेल, मोबिल, नुन, बीरेनुन, मिस्री, सिन्दूर, गाईको गोबर र रक्सीको विषयमा पनि जानकारी दिइएको छ।

‘रैथाने ज्ञान र प्राकृतिक स्रोतको सदुपयोगका लागि हाल प्रतिबन्ध लगाइएका कतिपय जडीबुटी प्रयोग गर्न स्थानीयलाई अनुमति दिनुपर्छ’, अधिकारी भन्छन्, ‘यसबाट परम्परागत ज्ञान र वनस्पतिको संरक्षण हुन्छ।’

मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–५ डाँडाबासमा उनले दश महिना अध्ययन गरेपछि पुस्तक लेखेका हुन्। तामाङ समुदायसँग वनस्पतिको प्रयोगसम्बन्धी प्रचुर ज्ञान छ। तर व्यावहारिक अभ्यासमा कमी आउँदा मौलिक ज्ञान लोप हुने सम्भावना हुन्छ। त्यसैले मौलिक ज्ञानको अभिलेखीकरण गरिएको उनले बताए।

चरी अमिलो

परम्परादेखि जडीबुटी उपचार गर्दै आएका धामी, झाँक्री र वैद्यले सरकारबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। त्यो झन्झटिलो व्यवस्थाले गर्दा उनीहरू हच्केका छन्।

‘सरकारबाट लाइसेन्स लिने प्रक्रिया झन्झटिलो भएकाले अचेल लुकीछिपी मात्र परम्परागत उपचार गरिन्छ’, उनी भन्छन्, ‘हामीले वनस्पति, वन्यजन्तु र प्राकृतिक स्रोतको साँच्चै संरक्षण गर्ने हो परम्परागत ज्ञानको सम्मान हुनुपर्छ।’

जैविक विविधतासम्बन्धी महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ। सन् २०१० मा नागोया, जापानमा भएको सम्मेलनले भनेको छ, ‘स्थानीयलाई आफ्नो वरपर भएको प्राकृतिक स्रोतसाधनमा पहुँच हुनुपर्छ र ती प्राकृतिक स्रोतसाधनको उपयोगबाट हुने लाभको बराबर बाँडफाँट हुनुपर्छ।’ हाम्रो सरकारले सन् २०१८ मै यससम्बन्धी संसद्बाट विधयेक अनुमोदन गरिसकेको छ। तर कानुन बनाउन ढिलाई गरेको छ।

रैथाने ज्ञान संरक्षणका लागि राष्ट्रिय अभिलेखालय बनाउनुपर्ने आवश्यकता देखेका छन् उनले। ‘हामीले आदिवासी ज्ञान र सीपलाई छाड्दै गइरहेका छौं। तिनको संरक्षण र अभिलेखीकरण गरिनुपर्छ’, उनी सुझाउँछन्, ‘त्यसका लागि छुट्टै अभिलेखालय चाहिन्छ।’

घ्युकुमारी

सन् १९९९ देखि जैविक विविधता अध्ययनमा लागेका अधिकारी हाल रिर्सोसेज् हिमालय फाउन्डेसनमा अनुसन्धान निर्देशकका रूपमा कार्यरत छन्। वनस्पति अध्ययन गर्दै उनी अधिकांश जिल्ला घुमिसके। अब सोलुखुम्बु र बाजुरामा मात्र पुग्न बाँकी छ।

रिब्दिकोट गाउँपालिका–२ देउराली, पाल्पामा जन्मेहुर्केका अधिकारीले ‘तामाङ समुदायको परम्परागत ज्ञान र मुख्य उपचार पद्धतिहरू’का विषयमा पुस्तक लेखेर हामीलाई गुन लगाएका छन्। उनी प्राकृतिक स्रोतबाट जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा पनि काम गर्दैछन्।

नेपाली वन, वनस्पति र परम्परागत ज्ञानको अनुसन्धान र अभिलेखीकरणमा बाँकी जीवन बिताउने अठोट गरेका अधिकारीलाई धेरैधेरै शुभकामना!

साभार: nagariknews.nagariknetwork