लकडाउनको प्रभाव, किसान भन्छन् : ‘बिक्री भएन मकै’

लकडाउनको प्रभाव, किसान भन्छन् : ‘बिक्री भएन मकै’

अमरराज आचार्य

दाङ, १८ बैशाख । लमही नगरपालिका वडा नं ८ सतबरिया निवासी देउमणि चौधरीले १० कठ्ठामा लगाएको मकै खानको लागि तयार भएको छ । तर हरियो एउटा कोसा पनि बिक्री भएको छैन । बिक्री नभएपछि अहिले मकै छिपिएको छ । लकडाउको कारण मकै किन्नका लागि कोही पनि नआएको उनले बताए ।

| Advertisement |

Promotional banner

अहिले बजार पनि बन्द रहेको र मानिसको आवत–जावत पनि बन्द भएकाले मकै किन्न पनि गाउँमा नआएको उनी बताउँछन् । ‘बोटैबाट बिक्री हुने हरियो मकै एउटा कोसा पनि बिक्री भएन’, चौधरीले भने । यसअघि मकै लिनका लागि घरमा नै आउने भए पनि लकडाउनको कारण कोही नआएको समेत उनले बताए । केही दिनमा १ बिगाहामा लगाएको मकै पनि तयारी भएको छ । हरिया मकै कोसा बिक्री गर्दा मूल्य पनि राम्रो पाउने गरेको उनले बताए । हरियो कोसा मकै प्रतिपिस १० देखि १२ रुपैयाँमा बिक्री हुने गरेको चौधरी बताउँछन् ।

हरियो कोसा मकै बिक्री नभएपछि कृषकहरुलाई घाटा लागेको बताउँछन् । ‘हरियो कोसा मकै बिक्री नगरी दाना बनाउँदा ५० प्रतिशत घाटा हुनेगर्छ’, चौधरीले भने । आफ्नो गाउँमा मात्र करिब १० बिगाहामा लगाएको मकै बिक्री नभएको उनले बताए । दिनमा १ सय बिगाहामा लगाएको मकै तयार हुँदै गरेको चौधरीको भनाइ छ । अहिले कृषकहरु बजारसम्म गएर बिक्री गर्ने अवस्था समेत नरहेको उनको भनाइ छ ।

सोही स्थान निवासी खोपराज चौधरीले पनि हरियो मकैको कोसा बिक्री नभएको बताए । ‘हामीले बजारमा लगेर बेच्ने अवस्था पनि छैन । व्यापारीहरु किन्नका लागि आएका छैनन्’’, चौधरीले भने– ‘हरियो मकैको कोसा बिक्री नहुँदा कृषकहरुलाई घाटा लागेको छ ।’ गाउँमा धेरै कृषकहरुले यस प्रकारको समस्या भोग्नुपरेको उनको भनाइ छ । उनले १८ कठ्ठामा मकै खेती गरेका छन् ।

लकडाउनको कारण कृषकहरुलाइ औषधी,मल ल्याउन जानको लागि समेत समस्या पर्ने गरेको चौधरी भने । देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सपुरजोन शुरु भएदेखि कृषकहरुले व्यावसायिकरुपमा मकै खेती गर्ने गरेका छन् । सुपरजोन कार्यक्रमअन्तर्गत देउखुरी क्षेत्रमा ६ हजार २ सय ९७ हेक्टर जमिनमा मकै खेती हुने गरेको कार्यालयका सूचना अधिकारी पिताम्वर बस्नेत बताए । जसमा २५ हजार १ सय ७ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

वर्षे मकै ५ हजार ६ सय ९७ हेक्टरमा खेती हुने गरेको छ । जसमा १९ हजार ७ सय ८९ मेट्रिक टन उत्पादन हुने गरेको छ । हिउदे मकै ३ सय हेक्टरमा खेती हुने गरेको र २ हजार १ सय ५१ मेट्रिक टन उत्पादन हुने गरेको छ । बसन्ते मकै ५ सय हेक्टरमा खेती गरिने गरेको छ । ३ हजार २ सय ३५ मेट्रिक टन उत्पादन हुने गरेको सूचना अधिकृत बस्नेतले बताए । सुपर जोन कार्यक्रम लागू भएपछि खेतीसँगै किसानको आम्दानीको श्रोतमा बृद्धि सँगै बाँझो रहने जमिनमा समेत कमी आएको उनले बताए । पछिल्लो समय किसानले हिउँदे, बसन्ते र बर्षे गरी तीन सिजनमा मकै खेती गर्ने गरेका छन् । किसानहरुले हिउँदे सिजनअन्तर्गत असोज–कार्तिक, बसन्ते सिजनअन्तर्गत माघ–फागुन र बर्षे सिजनअन्तर्गत बैशाख–जेठमा मकै रोप्ने गर्दै आएका छन् । ‘केही बर्ष पहिलेसम्म बर्षमा एक सिजन मात्र मकै खेती गर्ने किसानहरु पछिल्लो समय २÷३ सिजन खेती गर्न थालेका छन्’, सुपरजोनका सूचना अधिकारी बस्नेतले भने– ‘यसले किसानहरुलाई मकै खेतीतर्फ आकर्षित गरेको छ ।’

कार्यक्रमले किसानहरुलाई प्राविधिक सहयोग पनि गर्दै आएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न कृषिमा यान्त्रिकरणको प्रयोगसँगै मकै रोप्ने तरिका, सिचाईसँगै किसानले उत्पादन गरेको मकैको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको बस्नेतले बताए । त्यस्तै कृषकहरुलाई उद्यमशील बनाउन क्षमता विकास, कस्टम हायरिङ सेन्टर स्थापनासँगै किसानहरुलाई यान्त्रीकरण सहयोगमा ५० प्रतिशत तथा सिचाई कार्यक्रममा ८५ प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृिष यन्त्र उपलब्ध गराइएको छ । ६० हर्ष पावरको ट्याक्टर, मल्टिक्रप सिड ड्रिल (ठूलो ट्याक्टरमा जोड्ने), मकै खोसल्ने र छोडाउने मेसिन, ज्याब प्लान्टर मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन, चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

साभार: https://gsamachar.com/?p=3600&fbclid=IwAR3HNINlCam5oZZ2HeTN7BvJsl779Ip3goX5v1WiNm2FTF5f4nqXdGKHJQo