लकडाउन प्रभाव : पुष्प व्यवसायीको लगानी संकटमा, बिहिबारदेखि व्यवसाय सञ्चालन गरिने

काठमाडौं / फ्लोरिकल्चर एशोसिएसन नेपालले लकडाउनको अवस्थामा सामान्य व्यवस्थापन हुन नसक्दा लगानी संकटमा परेको जनाएको छ ।सोही अवस्थालाई मध्येनजर गर्दै एशोसिएसनले आगामी जेठ १ गते विहिबारदेखि सामाजिक दुरी कायम गर्दै पुष्प व्यवसाय सञ्चालन गरिने बताएको छ ।

| Advertisement |

Promotional banner

एशोसिएनले पुष्प व्यवसायमा लगानी गर्ने पुष्प उद्यमीहरुले कोभिड –१९को महामारीको समयमा सरकारले तोकेको मापडण्ड (सामाजिक दुरी, अन्य साधानी) को पालना गर्दै देशभरका सम्पूर्ण नर्सरी, फार्म, पुष्प थोक बजार, पुष्प खुद्रा पसल तथा आपुर्ति सामग्री पसल खोली आफ्नो व्यवसायलाई अगाडी बढाइने जनाएको हो ।

एशोसिएसनका अनुसार बन्दाबन्दिको अवस्थामा सवारी आवागमनको अत्यावश्यक पासको व्यवस्था नगरी दिँदा सिचाई तथा सामान्य व्यवस्थापनको अभावले सम्पूर्ण लगानी संकटमा परेको छ । कोरोनापछिको अवस्थामा पुनः नर्सरी तथा उत्पादन फार्म केन्द्रहरू संञ्चालन हुन सक्ने स्थितिमा रहने छैन ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै एशोसिएनले भनेको छ ‘यी उत्पादन केन्द्रहरु संञ्चालन गर्न पुनः ठुलो धनराशी लगानी गर्नुपर्ने हुन्छ । कोरोनाका कारण गुमेको रोजगारी पुनःस्थापना गर्नुपर्ने, नयाँ रोजगारी सिर्जना गर्नुपर्ने र कृषि क्षेत्रमा क्रान्तिकारी कार्यक्रम ल्याउने सरकारको योजना स्वागत योग्य छ ।’

पुष्प क्षेत्रमा पनि रोजगारीको गुम्ने समस्या देखिन थालेको छ । सरकारको साथ र सहयोग रहेमा यसो पुष्प क्षेत्रमा रोजगारी गुम्न बाट जोगाउने र नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा पनि आफू विश्वस्त रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले मान्छे जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पुष्प उत्पादन तथा बजारीकरणको क्षेत्रलाई जोगाउन सरकारले वार्षिक कार्यक्रममा प्राथमिकतामा राख्नका लागि विशेष अनुरोध गरेका छन् ।

उनले भने ‘यस्तो अवस्थामा यस क्षेत्रमा लागेका जनशक्ति पलायन हुने र आर्थिक अनिश्चितताको कारण पारिवारिक तथा मानसिक समस्या जस्तो जटिल अवस्थामा जान सक्ने जोखिम रहेको छ । नेपाल सरकारले अत्याबश्यक सेवा भित्र पुष्पलाई नसमेटी दिदा पुष्प उत्पादक कृषि उद्यमीहरु मारमा परेका छन् ।’

यही बैशाख २४ गते भएको मन्त्री परिषदको निर्णयबाट यही चैत्र ११ गते देखि सुरु भएको लकडाउनलाई जेष्ठ ५ गतेसम्म जारी राख्दै सशर्त सहित ४४ प्रकारका सेवा व्यवसाय खुकुलो बनाई संचालन गर्न दिने निर्णय गरेको थियो ।

विविध सेवा, पेशा, व्यवसाय मध्ये कृषिजन्य बस्तुको उत्पादन तथा बिक्री बितरण गर्न पाउने निर्णय भएपनि पुष्प व्यवसाय लाई समाबेश गरेको छैन ।

त्यसो हुदा पुष्प व्यवसायीहरु नर्सरी/फार्महरुमा आवगमन गर्न तथा वजारिकरण गर्न समस्या भइरहेको छ साथै बजारमा प्रत्यक्ष सरोकार राख्ने रिटेल फूल पसलहरु नखोल्दा उत्पादित फूल नर्सरी/फार्म मै खेर गई रहेको छ ।

उक्त पुष्प तथा पुष्पजन्य बस्तुहरुको ढुवानी तथा ओसार पसारका लागि अन्य कृषि बस्तु सो सरह ढुवानी, भण्डारण तथा बजारीकरणको सुबिधाका लागि पुष्प कृषक तथा सोसंग जोडिएका सरोकारवाला व्यक्तिहरुलाई सवारी पासको व्यवस्था गरिनु पर्ने पुष्प व्यवसायीहरुले माग गरेका छन् ।

एशोसिएसनले विश्वव्यापी कोरोनाको महामारीले बन्दाबन्दि अवस्थामा रहेको पुष्प व्यवसायीहरुलाई सहुलियत कृषि व्यवसाय कर्जा वा अन्य शीर्षकमा लिएको कर्जाको साँवा र व्याज नियमित गर्न सरोकारवाला बैङ्कहरुबाट तरताकेता भइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्क तथा सरोकारवाला संघ संस्थाको ध्यानाकर्षण गराएको छ ।

नियमित उत्पादन भइरहेको तर बजारको अभावमा लाखौ पुष्प तथा पुष्पजन्य उत्पादनहरु क्षति भईरहेको पिडा माथी यस्ता खालका दवाबले व्यवसायीहरु दोहोरो मानसिक पिडामा परेको हुदा बैङ्क तथा बित्तीय संस्थाहरुले अनाबश्यक दवाव दिनु भन्दा रचनात्मक सुझाब दिई धैर्य गर्नु र सरकारका आन्तरिम नीति निर्देशनलाई पालना गर्नु नै आजको आवश्यकता भएको एशोसिएसनले उल्लेख गरेको छ ।

सरकारको सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय, स्थानिय सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाऊँ पालिकाहरुले सहयोग गर्नका लागि एशोसिएसनले आग्रह गरेको छ ।

साथै नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला उद्योग बाणिज्य संघहरु, नगर उद्योग बाणिज्य संघ तथा अन्य स्थानिय उद्योग तथा वाणिज्य संघहरुको समर्थनका लागि एशोसिएसनले अपिल गरेको छ ।

साभार:http://www.arthadabali.com/