शहरमा पो लकडाउन, गाउँमा त रोपाईं चलिरहेछ

शहरमा पो लकडाउन, गाउँमा त रोपाईं चलिरहेछ

| Advertisement |

Promotional banner

महामारी छ, लकडाउन छ र मनसुनी मौसमसँगै धान खेतीको याम पनि शुरू भएको छ। मानो खाएर मुरी फलाउने यो बेला किसान खेतमा छन्। भूगोलअनुसार कतै रोपाईं भइसकेको छ, कतै धानको बीउ राख्‍ने सुरसार।
काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिकामा बसेर एक संस्थामा काम गरिरहेका रवि नेपाली १८ जेठको दिन लकडाउनका बावजुद तातोपानी गाउँपालिका गए। दुई घण्टा हिँडेर उनी तातोपानी, गिदीखोलास्थित आफ्नो खेतमा धान रोपाईं गर्न पुगेका थिए। जुम्लाको ‘धान क्यालेन्डर’ अनुसार उनले धानको बीउ तयार पारिसकेका थिए।

विश्‍वकै सबैभन्दा अग्लो ठाउँमा धान खेती हुने जुम्लामा धान खेतीको आफ्नै परम्परा छ। नेपालीले बताएअनुसार हरेक वर्षको १२ चैतमा बीउका लागि धान भिजाइन्छ। बोरामा धान राखेर घरभित्रै वा खाल्डोमा राखेर वा नदीमा डुबाएर भिजाइन्छ। त्यसको चार दिनपछि १६ चैतमा त्यसरी भिजाइएको धान निकालेर पानी तर्ने गरी सुकाइन्छ र घरभित्र लगेर भोजपत्र, हरियो सल्लिपिरले ढाकेर माथिबाट कपडाले छोपिन्छ। त्यसरी ढाकिएको धानमा टुसा उम्रिएपछि २० गते ब्याडमा छरिन्छ। त्यसरी तयार पारिएको धान जेठमै रोपाईं गरिन्छ।

धान खेती हुने विश्‍वको अग्लो ठाउँ जुम्ला, पातरासी गाउँपालिकाको सुनचौरमा रोपाईं भइसकेको छ। धान खेतीको मौसम भने देशैभर शुरु भएको छ। मनाङ र मुस्ताङबाहेक सबैजसो जिल्लामा हुने धान खेतीको याम भूगोलअनुसार आफ्नै गतिमा अघि बढ्दैछ।

कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयका सुचना अधिकारी भक्तिराम शर्माका अनुसार हुम्ला, मुगु, डोल्पा र जुम्लामा धमाधम रोपाईं भइरहेछ। दैलेख, जाजरकोट, कालीकोट लगायतका जिल्लामा ५० प्रतिशत रोपाईं भएको छ भने ५० प्रतिशतमा बीउ राख्‍ने काम भएको छ। सुर्खेत र सल्यानमा १० प्रतिशत क्षेत्रमा मात्रै बीउ राख्‍ने क्रम शुरू भएको छ। शर्माका अनुसार कर्णाली प्रदेशमा मात्रै  १ लाख ७५ हजार ४ सय २४ हेक्टरमा धान खेती हुन्छ।

सुदूरपश्‍चिम प्रदेशको कृषि विकास निर्देशनालय, डोटीका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार ८० प्रतिशत जति खेतका लागि बीउ राख्‍ने काम सम्पन्‍न भएको छ। विष्टका अनुसार सुदूरपश्‍चिम प्रदेशको १ लाख ८१ हजार ३९६ हेक्टरमा धान खेती हुन्छ।

बीउविजन प्रयोगशाला हेटौंडाका प्रमुख कुलप्रसाद दवाडीका अनुसार बाग्मती प्रदेशको कुल खेतीयोग्य क्षेत्रफल मध्ये १ लाख ४२ हजार हेक्टरमा धान खेती हुने गरेको छ। यो प्रदेशमा जेठको पहिलो सातादेखि तेस्रो सातासम्म धानको बीउ राख्‍ने गरिएको छ। ७० प्रतिशत किसानले धानको बीउ राखेको उनले जानकारी दिए। बाँकी किसानले हाइब्रिड धानको बीउ कुरिरहेकाले बीउ राख्‍न बाँकी रहेको उनले बताए।

यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि कतै धान रोपाईं भइसकेको छ भने तराईका जिल्लामा धानको बीउ राखिँदैछ। तर, महामारीका कारण तथ्यांक संकलन गर्न जान नसकेकोले कति क्षेत्रफलमा बीउ राखियो भन्ने आँकडा आउन नसकेको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सरस्वती अधिकारीले बताइन्।

“महामारीको कारणले जिल्लाका साथीहरू फिल्डमा जान सकिरहेका छैनन्, त्यसकारण तथ्यांक संकलनमा पनि अप्ठेरो भरहेको छ,” अधिकारी भन्छिन्, “सम्भवतः असारको पहिलो सातादेखि तथ्यांक संकलन हुनसक्छ।”

त्यस्तै सबैभन्दा धेरै धान खेती हुने जिल्ला रहेका प्रदेश २ र प्रदेश ५ मा पनि अहिले धानको बीउ राख्‍ने काम भइरहेको छ। तर, ती प्रदेशमा पनि कोभिड–१९ महामारीका कारण के कति ठाउँमा बीउ राख्‍ने काम भयो भन्‍ने यकिन आँकडा तयार भइसकेको छैन।

प्रदेश ५ को कृषि विकास निर्देशनालय, रूपन्देहीका सहायक सूचना अधिकारी अनिलकुमार बानियाका अनुसार उक्त प्रदेशमा ३ लाख १० हजार ८८० हेक्टरमा धान खेती हुन्छ। गत वर्ष यहाँ ११ लाख २० हजार १३१ मेट्रिक टन धान उत्पादन भएको थियो। यो भनेको नेपालको कुल धान उत्पादनको २१.७ प्रतिशत हिस्सा हो।

बानियाका अनुसार यस प्रदेशमा १५ जेठपछि बल्ल धानको बीउ राख्‍न शुरु भएकाले अहिलेसम्म कति ठाउँमा धानको बीउ राखियो भन्ने यकिन भएको छैन। “लकडाउनको कारण बीउ नपाएर किसानले बल्ल धानको बीउ राख्‍न शुरु गरेका छन्,” उनी भन्छन्, “जिल्लाका स्टाफहरू कार्यालयसम्म पुग्न नसकेको कारण तथ्यांक लिन समस्या भइरहेको छ।”

यस्तै, गण्डकी प्रदेशमा पनि लकडाउनकै कारण तथ्यांक संकलन गर्न नसकेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी ज्योति क्षत्रीले बताइन्।

साभार:dekhapadhi.com