| Advertisement |

मोरिंगा ५–१२ मीटर अग्लो छाताको जस्तो आकार हुने रुख हो । यसको जरालाई कम पानी चाहिने हुदाँ थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ अथार्त यसले खडेरी राम्ररी सहन सक्छ । यो विरुवा समुद्री सतह देखी ६०० मिटरको उचाई सम्म एकदमै राम्ररी सप्रिने भएता पनि निकारागुवा भन्ने अफ्रिकी मुलुकमा २००० मिटरको उचाईमा पनि यसको प्रजाति राम्ररी भएको पाइएको छ । २५(३५डिग्री से. तापक्रम यसको लागि उपयुक्त तापक्रम भएता पनि सो भन्दा केहि उच्च तापक्रम पनि सहन सक्छ । यो सुख्खा सहन सक्ने रुख भएकोले वार्षिक २५०–१५०० मि.मी.सम्मको वर्षामा पनि राम्ररी हुन सक्छ । आपँ र लिच्ची हुने हावापानीमा यसको खेती गर्न सकिन्छ । यसको खेती राम्रो निकास भएको बलौटे दोमट वा दोमट माटो राम्रो मानिन्छ तर पांगोमाटो पनि सुहाउँछ । धेरै सीत हुने ठाउँ वा तुसारो पर्ने ठाँउमा यो राम्ररी हुर्किदैन । पानी जम्ने ठाँउमा यसको खेती राम्रो हुदैँन् । यसलाई सिधै बीउ रोपण, बेर्ना सार्ने वा कडा डाँठको कलमीबाट प्रसारण गर्न सकिन्छ ।
जग्गाको तयारी
हिउदँमा फूर्सद भएको बेला जग्गा राम्रोसंग खनजोत गरेर बैसाख महिनामा निश्चिित दुरीमा ५० से.मी. लम्बाई ,चौडाइ तथा गहिराइको खाडल खनी उक्त खाडलमा १० किलो गोठेमल, १ किलो चुन, २ किलो पिना राखी राम्ररी मिसाइ माटोले छोप्नु पर्दछ ।जेष्ठको महिनामा पहिलो पानी परेपछि बेर्ना वा कटिङ्ग गरेको हाँगा सार्नु पर्दछ ।
मोरिंगाका जातहरु
नेपालमा हाल सम्म कुनै पनि स्थापित जात नभएकोले स्थानीय रुपमा पहिला देखि नै रहि आएका बोटहरुको हाँगाबाट नयाँ विरुवा बनाउने चलन छ । स्थानीय जातहरुमा कोही वर्षमा एक पटक मात्र फल्ने र कोही वर्षमा २ पटक फल्ने छन् । व्यावासायिक खेती गर्ने हो भने वर्षमा २ पटक उत्पादन लिन सकिने जातको छनौट गर्नु पदर्छ । यसको व्यावसायिक खेती भारतको विभिन्न प्रान्तमा भइ आएको र यसको खेती हुने स्थानको हावापानी हाम्रो तराई क्षेत्रसँग मिल्ने भएकोले गर्दा भारतमा अधिक प्रयोग भएका जातहरु नै उपयुक्त ठहर्न सक्छ । भारतमा पहिचान गरि सुधार गरिएका जातहरु नै हामीले प्रयोग गर्न सक्छौ । यसका उपलब्ध विभिन्न जात र तिनका विशेषताहरु यस प्रकार छन् ।
– रोहित १ः यो रोपेको ५–६ महिना पछि फल दिने जात हो र बर्षमा दुई पटक कोसाको उत्पादन लिन सकिन्छ । यसले दश बर्ष सम्म लगातार फल दिन्छ ।
– कोइम्बाटुर १ ः यो जातको मोरिंगाले उत्पादन बढी दिने भएता पनि ३–४ बर्ष सम्म मात्र उत्पादन दिन्छ । यसको फललाई चाडै टिप्नु पर्छ नत्र फलको गुणस्तर छिटै ह«ास आउँछ ।
– पीकेएम १ ः यसले रोपेको ८–९ महिना पछि उत्पादन दिन थाल्छ र दश बर्ष सम्म लगातार उत्पादन दिइरहन्छ ।
– पीकेएम २ ः यो पनि राम्रो फल दिने जात भएता पनि यसलाई तुलनात्मक रुपमा बढी सुख्खा लाग्ने भएकोले पानीको मात्रा बढी आवश्यक पर्दछ ।
रोप्ने विधि
बीउबाट सिध रोप्ने
मोरिंगाको दाना वा गेडालाई प्रसस्त चिस्यान भएको ठाउँमा बर्ष भरी नै रोप्न सकिन्छ । खाडलमा कम्पोस्ट हाल्ने, पानी हाल्ने र बीउ रोप्ने अथवा बर्षात महिना भन्दा अगाडी खाल्डोमा गाडेर रोप्न सकिन्छ ।
बेना रोप्ने ः
नर्सरीमा पोली ब्याग, पानीको बोतल वा ट्रेमा उमारिएको ६० देखि ९० से. मि उचाई भएको विरुवालाई तयार गरिएको खाल्डोमा रोप्नु पर्दछ । पोली ब्यागमा नर्सरी तयार गर्दा ३ भाग माटो र १ भाग बालुवा मिसाइ पाली
ब्याग भर्नु पर्दछ र प्रत्येक ब्यागमा २(३ गोटा बिउ १–२ से.मि गहिरो गरि रोप्नु पर्दछ ।
कटिंगबाट रोप्ने
परिपक्क रुखको हाँगा ४५ से मी देखि १.५ मीटर लामो र १० से मी गोलो लिने र एक तिहाई भाग माटो मुनि पर्ने गरि काटी हल्का छडके रोप्नु पर्दछ । काटेको अन्तिम माथिल्लो भागमा आलो गोबरले छोप्नु पर्दछ । धेरै पानी नहाल्ने र जराको राम्रो विकासको लागि फोस्फोरस हाल्ने । व्यवस्थापनमा सहजताको लागि पंक्तिमा लगाउनु पर्दछ ।
लगाउने दुरी ः
सघन खेती गर्ने हो भने २ ह् २.५ मिटरको दुरीमा विरुवा लगाउनु पर्दछ । अन्तरबालिको रुपमा हो भने आवश्यक्ता अनुसार दुरी मिलाई विरुवा लगाउन सकिन्छ ।
मलखाद
खाल्डो तयार गर्दाको समयमा बाहेक यो बालीमा खासै मल दिएको पाइदैन तर यसबाट राम्रो उत्पादन लिनको लागि फसफोरस र पोटास दिदा राम्रै हुन्छ । प्रत्येक फल टिपाइ पछि प्रति बोट १ किलो डी.ए.पी. ०.५ किलो म्यूरेट पोटास दिनु पर्दछ ।
सिंचाइ
उन्नत किसिमको व्यावसायिक खेती गर्दा सुख्खा याममा १, २ पटक आवश्यक्ता हनुसार सिंचाई गर्नु पर्दछ ।
संभावनाको खेती
प्रसस्त पानी पायो भने यसले नियमित फल दिन्छ । व्यावसायिक खेतीको लागि थोपा सिंचाई प्रविधि उपयोग गर्न सकिन्छ ।
काँट छाँट
रोपेको १.५ वर्ष जतिमा ३ फिट भन्दा माथिबाट काट्न सकिन्छ । २ फिट भन्दा माथि मात्रै केहि हाँगा राख्दा राम्रो हुन्छ ।
रोग किरा व्यवस्थापन
यसमा खास गरेर झुसिले कीराले पौष माघमा सम्पूर्ण पात खाएर डाँठ मात्र देखिने गरी बनाउने हुनाले यस्को उत्पादनमा धेरै कमी आउँछ । यसको नियन्त्रणको लागि नीमको विषादी ३ मि.ली.प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ । चिसो महिनामा डढुवा लाग्ने सम्भावना हुने हदाँ व्यवस्थापनका उपाय अपनाउनु पर्दछ ।
उत्पादन
मोरिंगाको पात, रुख १.५ देखि २ मीटर अग्लो अवस्थामा ३–६ महिनाको उमेरमा टिपिन्छ । यसको पात डाँठ हांगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्गयाउनु पर्दछ । सुकेको पात धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहानै टिपेर बजारमा उही दिन बिक्री गर्न पनि सकिन्छ । कोसाहरु कलिलो कोमल र हरियो टिप्नु पर्दछ । मोरिंगाको जात अनुसार तथा बोटको उमेर अनुसार ्रवर्षमा २० देखि २०० किलो सम्म हरियो कोसाको उत्पादन भइरहेको छ । हाल थोकमा प्रति किलो रु ७० मा सजिलै कालिमाटी बजारमा बिक्री भइरहेको छ । सघन रुपमा खेती गरिएको अवस्थामा प्रति बिघा १२ देखि १५ टन कोसा सजिलै उत्पादन गर्न सकिन्छ । मोरिंगालाई सिमान्त जग्गामा लगाएर थप मुनाफा बटुल्न सकिन्छ । बर्षभरि नै यसले मुनाफा दिने हुँदा यसलाइ उचित स्याहार दिनु उपयुक्त हुन्छ । यसमा किरा पनि कम लाग्छ र बिषादीको लागि खर्च पनि गर्न पर्दैन । पानी पनि कम दिए पुग्छ ।
कसले कहाँ गने मोरिंगा खेती
मोरिंगाको पौष्टिक आहारमा निक्कै नै महत्व भए तापनि हाम्रो समाजमा अहिले सम्म यसले खासै परिचय पाइसकेको छैन । अहिले सिमित मात्रामा बजारमा उपलब्ध हुने मोरिंगाको कोषाले राम्रै मुल्य पाइरहेको भए तापनि भोलिका दिनहरुमा बढी उत्पादन हुँदा अहिलेको जस्तो नहुन सक्छ । यसको प्रसोधन गरी अरु खाद्य सामाग्री उत्पादन गर्ने प्रशोधन उद्योगको अभावमा ठुलो क्षेत्रफलमा यसको खेती गर्नु जोखिमपूर्ण पनि हुन सक्छ । तसर्थ कृषि व्यवसायमा आवद्ध कृषकहरुले आफ्नो घर वरपर, फाम हाउसको वरपर प्राकृतिक वार बन्देजको रुपमा मोरिंगा लगाएर अतिरिक्त आम्दानी गर्न सक्छन् । यसको बजार विस्तार भए सँगै खेतीमा पनि विस्तार गरेमा फाईदा हुन सक्छ । पशु तथा पंछीको आहारमा पनि प्रोटिनको आपूर्तिको लागि यसको पात प्रयोग गर्न उपयुक्त हुने हुँदा पशु तथा पंछी पालन व्यवसायमा सम्लग्न कृषकहरुले पनि केही मोरिंगाका बोट परिक्षणका रुपमा फामको वरपर लगाउन सक्छन् ।