सहकारीले बेचिदियो काफल

सहकारीले बेचिदियो काफल

तानसेन– पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी–३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रूपमा टिपेर जम्मा गरेको काफल बजारसम्म बिक्रीको प्रबन्ध भने माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले मिलाएको छ । जंगलमा फलेको काफल टिपेर बजारमा बिक्री गर्ने र चामल किन्नुपर्ने स्थानीवासीको बाध्यतालाई बुझेर सहकारीले काफल बिक्रीका लागि बजारसम्म पु-याइदिएकोमा निकै खुशी लागेको स्थानीयवासी तुलबहादुर घर्ती मगरले बताए । उनले भने, “बजारसम्म आफैंँ बोकेर बिक्री गरी फर्कँदा चामल किनेर ल्याउने गथ्र्यौँ, अहिले सहकारीले बिक्री गरिदियो ।”

| Advertisement |

Promotional banner


कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता थियो । “काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने कृषक चिन्तामा थिए, हामीले बजारसम्म लगेर बिक्री गरिदियौँ,” सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताए । सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पासँगको समन्वयमा तानसेन लगेर बिक्री गरेको हो । गाउँपालिकाका झडेवा, ज्यामिरे, बक्सादी, कसेनी, सिकारकोटलगायत स्थानमा पर्याप्त काफल पाइन्छ । श्रम गरेर जीविकोपार्जन गर्नेहरू लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएको हो । प्रतिमाना एक सयका दरले काफल तथा सिप्लिकान, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँलगायत तरकारी करिब एक लाख ५० हजार बराबरको बिक्री गरिएको सहकारीले जनाएको छ ।

साभार: https://www.karobardaily.com/news/banking/31671?fbclid=IwAR0cWa5V7ltWjBTVYTFC5R_2ZPwQpm9uGKxtWx-q8v_4teHoRyD3XuM080s