| Advertisement |

धनगढी : सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएका छन्। प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार ९ वटै जिल्लामा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानको सहजताका लागि सबै जिल्लामा विज्ञ केन्द्र र ज्ञान केन्द्र स्थापना गर्दै सेवा सञ्चालनमा ल्याईएको जनाएको छ। कृषि मन्त्री विनितादेवी चौधरीले किसानलाई घर दैलोमा सेवा उपलब्ध गराउने उद्देश्य अनुसार सेवा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको बताईन्।
यसअघि कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा र बझाङ गरी प्रदेशका पाँच जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएका थिए। सरकारले कैलाली, डोटी, अछाम र दार्चुलामा नयाँ भेटेरीगरी विज्ञ केन्द्र नयाँ स्थापना गरेको हो।
कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम र बझाङमा कृषि ज्ञान केन्द्रहरु स्थापना भएका थिए भने आजबाट कैलाली, डोटी र दार्चुलामा केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ। तत्काल मन्त्रालयकै कर्मचारीबाट विज्ञ केन्द्र र ज्ञान केन्द्र व्यवस्थापन गरी सेवा प्रदान गरिने भएको छ।
साभार:dineshkhabar.com