स्ट्रवेरी खेती गर्ने होइन त ?

स्ट्रवेरी खेती गर्ने होइन त ?

| Advertisement |

Promotional banner

स्ट्रवेरी आलुको जस्तो बिरुवामा निस्की फूल फुली ऐंसेलु जस्तो फल लाग्ने एक प्रकारको फलको प्रजाती हो । यसलाई स्थानीय चलन चल्तीको भाषामा भुइँ ऐसेलु भन्ने चलन पनि छ । वैज्ञानिक भाषामा भन्दा यो rosaceae परिवारमा पर्दछ भने यसको वैज्ञानिक नाम fragaria ananassa हो । देख्दा रातो करिव त्रिकोण आकारमा फल्ने यो फलको विशेषता भिन्न छ । यसमा फोलिक एसिड, भिटामिन सि जस्ता तत्वहरु पाईन्छ । कोलस्ट्«ोल फ्रि यस फल मधुमेह रोगबाट ग्रसित व्यक्तिहरुको लागि पनि उपयोग मानिन्छ । बालबालिकादेखि वृद्धि वृद्धासम्म सबैले यस फललाई उपभोग गर्न सक्छन् । सामुद्रिक सतहबाट १५०० देखि २५०० मी. सम्मको उचाई, ४ देखि २५ डिग्री सेल्सियस सम्मको तापक्रम, दोमट बलौटे प्रकारको माटो, वार्षिक ३००० देखि ४००० मि.ली. वर्ष हुने क्षेत्र विशेष गरी पुर्वी तथा उत्तरपूर्वी मोहडा भएको क्षेत्रमा स्ट्रवेरी खेती गर्न सकिने वैज्ञानिकहरुको अनुसन्धान र स्ट्रवेरी खेती गर्ने उद्यमीहरुको व्यवहारिक अनुभवले पुष्टि गरेको छ । जाइटी नेपालले ककनी क्षेत्रमा नमुनाको रुपमा गरेको स्ट्रवेरी खेतीले स्थानीय क्षेत्रमा यसको सिको गर्दै उद्यम विकास कार्यक्रमको उद्यमशिलताको प्रभावका कारण नुवाकोटको ककनी ओखरपौवा क्षेत्रमा व्यवसायिक हुन पुगेको छ । हाल लघु उद्यम विकास कार्यक्रमकै प्रभावमा म्याग्दी जिल्लाको राम्चे, सिन्धुली जिल्ला, दोलखा, रसुवा र प्यूठान जिल्लामा समेत स्ट्रवेरी खेतीलाई व्यवसायको रुपमा गरिदै आएको छ, हाल आएर तराईमा पनि यसको खेती सुरु गरेको छ ।

स्ट्रवेरी खेती गर्न चरणहरु यसप्रकार छन् ।

क) नर्सरी व्यवस्थापन:
समयः जेठ महिनाको पहिलो हप्तादेखि अषाढ पहिलो हप्तासम्म ।
१) माउ बिरुवा छनौट :
परिमाणत्मक रुपमा बढी र ठूलो आकारको फल लाग्ने बिरुवालाई माउ बिरुवाको रुपमा छनौट गर्ने, जसलाई पहिला फल लाग्ने समयमा नै यकिन गरी पहिचान गर्ने ।
२)रनर छनौट:
स्ट्रवेरी खेतीको लागि यसको बिरुवा तयारी गर्ने क्रममा सजिलो र छिटो गर्ने उपाइ रनरबाट बिरुवा उत्पादन गर्ने प्रचलन छ । पहिलो छनौट गरिएको माउ बिरुवाबाट निस्कने विभिन्न रनर मध्ये छोटो साइज र गड्यौंला आकारमा रहेको रनरलाई मात्र प्रयोग गर्न सकिन्छ । पोलिब्यागमा रनरको नोडलाई टेकाउनको लागि करुवा माध्यमबाट प्रेश गर्ने ।

३.) पोलिब्यागमा राखेको करिव १० हप्तापछि उक्त बेर्नालाई निकाली अर्को सुरक्षित स्थानमा एक हप्ता नर्सरी गर्ने जसमा बिरुवा देखि अर्को बिरुवाको दूरी ८ इन्च हुनुपर्छ ।

ख) जमिन तयारी:
समय: श्रावण तेस्रो हप्ता देखि ।
१) जमिनमा उम्रिएका झारपातलाई राम्रोसंग ताछ्ने र गाड्ने ।
२) १० इन्च गहिराइ सम्म जमिन खनजोत गर्ने, खुम्रे किरा राम्रोसंग केलाउने र नियन्त्रणमा लिने ।
३) कम्पोष्ट मल: एक रोपनी जमिनमा करिव १२०० के.जी. पाकेको कम्पोष्ट मल छर्ने र माटोमा मिलाउने वा स्ट्रवेरी रोप्ने खाडलमा समानुपातिक तरिकाले प्रयोग गर्ने
४) रासायनिक मा: डी.ए.पी. २० के.जी., युरिया ५ के.जी. र पोटाँस ५ के.जी. मिलाई प्रति बिरुवामा समानुपातीक रुपमा प्रयोग गर्ने
५) ड्याङ बनाउने :लम्बाई जमिनको आकार अनुसार चौडाई ९० से.मी., उचाई १० से.मी., एक ड्याङबाट अर्कोको दूरी ४० से.मी. हुनेगरी तयारी गर्ने
६) ड्याङमा बेर्ना रोप्नको लागि प्लाष्टिक मल्चिङ दुई तरिकाबाट गर्न सकिन्छ । प्लाष्टिकले मल्चिङ गर्ने भएमा तयारी भए पश्चात कालो प्लाष्टिकले छोप्ने ।
७) बेर्ना सार्नको लागि ड्याङमा ६ इन्च गहिरो र १ इन्च गोलो खाडल बनाउने ।


ग) बेर्ना सार्ने :
१) तयारी गरिएको खाडलमा कम्पोष्ट तथा रासायनिक मल मिलाई राख्ने, माटोसंग मिलाउने
२) पोलिब्याग हटाई ब्याग भित्रको भाग खाडलमा पर्ने गरी बिरुवालाई जरामा असर नपर्ने गरी सार्ने बेलामा पोलिब्यागको माटो भन्दा माथि माटोले पुर्नु हुँदैन ।
३) बेर्ना सार्ने बित्तिकै झरीले सहायताले पानी दिनु पर्छ यसले जरा र माटोलाई टासिन वातावरण प्रदान गर्दछ ।
४) प्रति महिना मिश्रण गरिएको डि.ए.पी., युरिया र पोटास मल मिलाई प्रति बिरुवा ४ ग्रामको दरमा १ महिनाको अवधिमा १ पटक थप गर्ने ।

घ) सिंचाई :
बिरुवाको लागि आवश्यक मात्रामा सुख्खा नहुने गरी जरामा चिस्यान कायम गर्दै सिंचाई गर्ने, थोपा सिंचाई तथा स्प्रीङकलको माध्यमबाट सिंचाई गराउन सकेमा थोरै क्षेत्रमा सिंचाई गर्न सकिने हुन्छ । यो तरिका प्रयोग गर्न नसकेमा पाइपबाट झरना फिट गरी सिंचाई गर्ने ।

ङ) गोडमेल :
१) झारपात केलाउने, बिरुवामा स्वच्छ हावा खेल्ने वातावरण मिलाउने
२) प्राकृतिक मल्चिङ गरिएको भए चुच्चे कुटोले माटो खुकुलो गर्ने
३) फल लाग्न थालेपछि नेचुरल मल्चिङ भएमा पराल वा छ्वाली बिरुवाको साइजमा राखी फलको संरक्षण गर्ने

च) फल टिप्ने
कार्तिक दोस्रो हप्ताबाट फूल लाग्न थाल्छ । फिका रातो भएको फल आधा भेट्नु सहित टिप्ने । टिप्ने क्रममा स्टेनलेस स्टिल कैचि प्रयोग गर्ने । क्रेट तथा अन्य हावा खेल्ने भाँडामा राख्ने, ग्रेडिङ गर्ने ( ग्रेडिङ गरिसकेपिछ सुख्खा चिसो स्थानमा बढीमा ३ दिनसम्म भण्डारण गर्ने) टिपेपछि खाने बेला नहुदासम्म पानीले पखाल्नु हुँदैन ।

ग्रेडिङ गर्ने मापदण्ड:

  1. २० ग्रामभन्दा बढी तौल भएकालाई ए ग्रेड
  2. १२ ग्रामदेखि १९ ग्रामसम्मको बी ग्रेड
  3. ६ ग्रामदेखि सम्मको सी ग्रेड र ६ ग्रामभन्दा कम तौल भएकालाई डी ग्रेड

बजार
क) मुख्य बजार क्षेत्र:
ख) डिपार्टमेण्टल स्टोर
ग) फलफूल पसल र
घ) फुटपाथ ।

लक्षित ग्राहकः
यो स्ट्रवरी फल जो कोहीले पनि उपभोग गर्न सक्छन् । बालबालिका युवा, वृद्ध, मधुमेहका रोगी समेतको लागि उपयोग छ । सुत्केरी महिला सम्मले यो उपयोग गर्न सक्नेछन् ।