स्थानिय उत्पादन धान नै भएकोले राहतमा धान दिने गरेका छौं — कानेपोखरी गाउँपालिका

स्थानिय उत्पादन धान नै भएकोले राहतमा धान दिने गरेका छौं — कानेपोखरी गाउँपालिका

कोरना माहामारीले गर्दा हाम्रो क्षेत्रमा अहिले सम्म  खासै असर त परेको छैन । गाउँपालिकामा बाहिरबाट आउनु भएकाहरुमा संक्रमण भएमा त्यसको जोखिम न्यूनीकरण गर्न क्वारेन्टाईनको व्यवस्था गरिएको छ । अहिले पनि २ जना क्वारेन्टाईनमा हुनुहुन्छ । अहिले कृषिमा समस्या भनेको  किसानहरुले आफ्नो उत्पादनलाई बजारमा ल्याएर बिक्री वितरण गर्न नपाउनु हो । स्थानिय उत्पादनमा पनि कोपी, टमाटर, काउली, हरियो सागसब्जीहरु विक्री गर्न पाएका छैनन् । अर्काे समस्या भनेको समयमै गहूँ काट्न नपाउनु हो ।  हरियो तरकारी तुरुन्तै कुहिने भएकाले त्यसको  भण्डारणका लागि कोल्ड स्टोरको व्यवस्था नभएकाले  हामीले यस गाउँपालिकामा तरकारी उत्पादन गर्ने कृषकहरुलाई च्याउ र तरकारी गाउँपालिका भित्र नै बेच्नको लागि अनुमति दिएका छौँ । यसैगरी कुखुरापालन गर्ने कृषकहरुलाई  हामीले सामाजिक दुरी कायम गरी गाउँपालिका भित्र ३ घण्टा बेलुका ३ बजेदेखि ६ बजे सम्म बिक्री बितरण गर्ने अनुमति दिएका छौँ । जसमा गाउँपालिका भन्दा बाहिरका व्यक्तिहरुलाई आउन नदिने र भित्रकालाई बाहिर जान नदिने गरी बिक्री गरिरहेका छन् । केहि दिन अघि नै हामीले बिउहरु निःशुल्क उपलब्ध गराएका गराएका थियौ र अहिलेका लागि मल चाहिएमा हामीले सिफारीस गरीदिने र प्रशासन सगं कुरा राख्ने , मलखादको लागि छुटै अनुदान नभए पनि सहजिकरण चाहि गरिरहेका छौ । अहिलेको स्थानिय उत्पादन धान नै भएकोले राहतमा धान दिने गरेका छौँ तर तपाँईले भने जस्तै स्वास्थको लागि अण्डा एकदमै प्रभावकारी भएकोले अण्डा पनि राहतमा दिन सकिन्छ ।

कानेपोखरी गाउँपालिका,अध्यक्ष तारा बहादुर काफ्लेसँग गरिएको कुराकानीमा आधारित । प्रस्तुती : लक्ष्मी थापा