होम क्वारेन्टाईनमा रहेको बेला अदुवाको क्याण्डी बनाउने की ?

होम क्वारेन्टाईनमा रहेको बेला अदुवाको क्याण्डी बनाउने की ?

तपाई अहिलै खाली समयमा केही नयाँ प्रयोग गरौ भनेर सोच्दै हुनुहुन्छ भने भान्छामा नै भएको अदुवाबाट क्याण्डी बनाउन सक्नुहुन्छ । काँचो अदुवालाई टुक्रा पारी चक्लेटको रुपमा ल्याई बनाईएको प्रशोधित वस्तुलाई अदुवाको क्याण्डी भनिन्छ । यसले मिठाईको रुपमा मात्र नभएर पाचन चक्कीका रुपमा खाना पचाउन मद्धत गर्छ तथा कफ, खोकी चिसोका साथै यात्रामा उल्टी हुनेका लागि औषधिको रुपमा समेत काम गर्छ ।
अदुवाको क्याण्डी बनाउन ध्यान दिनु पर्ने कुराहरु
–क्याण्डी बनाउनका लागि रेशा कम हुने नरम अदुवाको जात छनौट गर्ने ।
–असोज महिना भर खनेको अदुवाको क्याण्डी बनाउन उपयुक्त हुन्छ ।
–राम्रो सँग नसुकाईएको क्याण्डीमा छिटै नै ढुसी लाग्ने र विग्रने हुनाले क्याण्डी प्याकिङ्ग गर्दा राम्रोसँग सुकाएर मात्र गर्नु पर्दछ ।

पहिलो दिनमा गरिने कार्यहरु
–क्याण्डी बनाउन अदुवालाई धोएर बोक्रा हटाउने ।
–बोक्रा हटाई सकेको अदुवालाई काँटाको सहायताले चारैतिर प्वाल पार्ने ।
–उपयुक्त हुने गरी अदुवाको एकनासको टुक्रा काट्ने ।
–टुक्राहरुलाई २ प्रतिशतको नून पानीमा एक रात डुबाउने ।

दोस्रो दिनमा गरिने कार्यहरु
–टुक्रालाई सफा पानीले नूनिलो नहराउँदा सम्म पखाल्ने ।
–प्रेसर कुकर वा डेक्चीमा टुक्रालाई मिलाई नपाक्दा सम्म पकाउने।
–अदुवाको टुक्रा डुब्ने बराबरको पानीमा २५ प्रतिशत तौल चिनी र ०.५ प्रतिशत साईट्रीक एसिड लिई १० मिनेट सम्म पकाएर २४ घण्टासम्म चास्नीमा डुवाएर छोड्न । यसो गर्दा टुक्रामा भएको पानी निक्दन्छ र विस्तारै गुलियोपना अदुवाका टुक्रामा पस्दछ ।

तेस्रो दिनमा गरिने कार्यहरु
–अदुवाको टुक्रालाई अलग गरी चास्नीमा २५ प्रतिशत चिनी थपी १० मिनेट तताउने ।
–चिनी गलि सकेपछि चास्नीलाई कपडाले छानेर टुक्रालाई २४ घण्टा चास्नीमा डुबाई छोड्ने ।

चौथो दिनमा गरिने कार्यहरु
–चौथो दिनमा पनि तेस्रो दिनमा जस्तै गरेर ३० प्रतिशत चिनी थपि १० मिनेट तताउने ।
–चिनी गलि सकेपछि चास्नीलाई कपडाले छानेर टुक्रालाई २४ घण्टा चास्नीमा डुवाई छोड्ने ।
पाँचौ दिन गरिने कार्यहरु
–अदुवाको टुक्रालाई १० मिनेट तताउने र झाजरको सहायताले टुक्रा निकाली चास्नी तर्काएका टुक्रालाई हावामा सुकाउने र सुख्खा बनाउने यसो गरिएमा ग्लेजड क्याण्डी तयार हुन्छ ।
–अथवा तर्काएको टुक्रालाई ठुला ठुला दाना भएका चिनीमा लटपटयाएर टुक्राको बाहिरी भाग सुख्खा नहुँदासम्म हावामा सुकाउने यसो गर्दा क्रिस्टलाईज क्याण्डी तयार हुन्छ ।
–अथवा चास्नी तर्काएको टुक्रालाई हावामा सुकाउने र चिसो पानी सुकी हातमा नटाँसिने भएपछि चिनीको मसिनो धुलोमा लटपटयाएर टुक्राको बाहिरी भाग सुख्खा नहुँदासम्म हावामा सुकाउने ।
यसरी अदुवाको क्याण्डी बनाउन सकिन्छ तर ध्यान दिनुपर्ने कुरा बनाउने प्रकृयामा सफाईमा एकदम ध्यान दिनुपर्दछ साथै प्याकेजिङ्गमा पनि बिशेष चासो दिनुपर्दछ । यसलाई मेशिनको प्रयोग गरी उद्योगको रुपमा लान सकिन्छ ।
नोटः तपाईले उत्पादन गर्नु भएको क्याण्डी एग्रिनेपालबाट बेच्नको लागि सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क 01-4786158 , 9851140610 www.agrinepal.com