दुःख गरेर फलाएको आलु पूतलीले सखाप पार्ला । यसरी गरौ आलुको पूतलीको व्यवस्थापन

दुःख गरेर फलाएको आलु  पूतलीले सखाप पार्ला । यसरी गरौ आलुको पूतलीको व्यवस्थापन

आलुको उत्पादन र गुणस्तरमा ६० प्रतिशत जति क्षति कीराको प्रकोपका कारणले हुन सक्ने भएकोले जीवन निर्वाहकालागि आलु खेती व्यवसायमा संलग्न आम नेपाली कृषकहरुको आय आर्जनमा ठूलो क्षति पुर्याउँन सक्दछ ।
नेपालमा आलुका विभिन्न हानिकारक कीराहरु मध्ये आलुको पुतली (Phthorimaea operculella)आलुमा ब्यापक रुपमा नोक्सानी पुर्याउँने कीरा हो । यो कीरा पुतली समूह अन्तर्गत पर्ने रात्रीचार कीरा हो । लार्भा अवस्थामा करीव दुई हप्तासम्म आलुमा भित्र भित्रै सुरुङ्ग बनाउँदै खाँदै जाने हुनाले सो कीरालाई जोतहा कीरा भनेर पनि भनिन्छ । यो कीरा आलु भण्डारणको प्रमुख शत्रु कीरा हो र यसको संक्रमण खेतबारीमा पनि हुन्छ । भौगोलिक रुपमा संसार भरी नै फैलिएको यो पुतली उन्नतजातका आलु भित्राउने क्रममा भारतबाट नेपालमा भित्रिएको अनुमान गरिएको छ । किट विज्ञान महाशाखा खुमलटारका अनुसार, नेपालमा सर्वप्रथम वि.सं. २०२२ सालमा काठमाडौं उपत्यकामा देखिएको यो पुतली अहिले आलु उत्पादन गरिने देशका उष्ण र समशितोष्ण सम्पूर्ण क्षेत्रहरुमा यसको प्रकोप बढिरहेको पाइन्छ । यसको बढ्दो प्रकोपका कारण आलु खेती गर्ने कृषक तथाव्यवसायमा संलग्न सबै पक्षहरुको विषेश चासोको विषय बनेको छ ।
नेपालमा यो पुतली कृषिमा सघनिकरण, जलबायु परिवर्तन वा विश्वव्यापी बढ्दो तापक्रमका कारणले, कृषकका लागि समस्याको रुपमा रहेको छ । यस पुतलीको लार्भाले आलु बाली भित्र्याउनु भन्दा पहिले बोट र दानामा २५%(प्रारम्भिक) क्षति पुर्याउँछ र त्यसैगरी, आलू बाली भित्र्याई सके पछि ४०% देखि १००% सम्म दानामा क्षति पुर्याउँदछ । यसकारण समयमै यस पुतलीको उपयुक्त एकिकृत व्यवस्थापन प्रविधि विकास तथा उपलब्ध प्रविधिहरु कृषकको घरदैलो सम्म पुर्याउँनु आजको टड्कारो रुपमा देखिएको आवश्यकता हो । जसले गर्दा आलुको उत्पादन, गुणस्तरमा नास हुनबाट बचाउने र खाद्य संकटका समस्यालाई घटाउन सक्ने साथै पर्यावरणीय अवस्थालाई महत्वदिने कुर।लाई कसैले नकार्न सक्दैन ।

लक्ष्मी गौतम

आलुको पुतलीको पहिचान कृषकहरुले कसरी गर्ने त ?
साँझपख सक्रिय हुने यो रात्रीचार पुतली हल्का खैरे सेतो रंगको, सानो ७–९ मिलि मिटर लम्बाईको हुन्छ । यो पुतलीका अघिल्ला पखेटाहरु कैलो–खैरा रंगका हुन्छन जसमा स–साना काला छिर्काहरु देखिन्छन् भने पछिल्ला पखेटाहरु मैला रंगका हुन्छन् । पखेटाको पैmलावट लगभग १२ मिलि मिटर जति हुन्छ । यस पुतलीको सेतो रंगका पूmलहरु आलुको पातको तल्लो भागमा र दानामा समूह बनाइ बसेको हुन्छ । यस पुतलीको परिवक्कलार्भाको लम्बाई लगभग ९–१३ मिलि मिटरको हुन्छ । खानाअनुसार रंग फेर्ने लार्भा, आलुको पात खाँदा लार्भाको शरीरको रंग हरियो हुन्छ भने आलुको दाना खाएको लार्भा गुलाफी रंगको र टाउको भने गाढा खैरो रंगको देखिन्छ । त्यसैगरी, प्युपा भने लाम्चो अण्डा आकारको गाढा खैरो रंगको हुन्छ । परिपक्क प्युपाको लम्बाई लगभग ६–७ मिलिमिटर छ । परिपक्क प्युपाबाट वयस्क पुतली आउँछ ।
आलुको पुतलीको जीवनचक्र
यस पुतलीको जीवनचक्र चार अवस्थामा पुरा हुन्छ । फूल, लार्भा, प्युपा र वयस्क (पुतली) हुँदै जीवनचक्र करीब २५–३० दिनमा पुरा हुन्छ । यसको पोथीपुतलीले भालेसँग समागम भएको लगभग २४ घण्टा पछी आलुको पातको तल्लो भागमा वा आलुको दानामा सेतो करीव ५०–५५ वटा फूल पार्दछ । अण्डाबाट लार्भा निस्कने समय वातावरणीय तापक्रममा भर पर्ने गर्दछ । सामान्यतया, गर्मी समयमा करीव ४–५ दिनमा पहेला सेता रङ्गका लार्भाहरु निस्कन्छन् । यी लार्भाहरु शारीरिक विकासका क्रममा ३ पटक काँचुली फेरी ९–१२ दिनमा परिपक्क हुन्छन् । परिपक्क लार्भाहरु खाना खान छोडी आलुको पात खुम्च्याएर वा माटो भित्र दाना भित्र गई अध्यारो ठाउँ रोजी प्युपा (कोया) बनाउँदछ । यी प्युपाहरुबाट ६–७ दिनभित्रमा माउ पुतली निस्कन्छन् र पुनः भाले पोथीको समागम भई यस्ता धेरै नयाँ पुस्ताहरु निस्कन्छन् । यसरी एक वर्षमा यस पुतलीको ६–८ पुस्ताहरु निस्कन्छन् ।

पुतलीले कस्तो किसिमको क्षेति गर्छ त ?
यस पुतलीको लार्भाले खेतबारीका आलुको पात र डाँठमा सुरुङ बनाएर तथा भण्डारणमा आलुका दानामा हुने आँखाबाट सुरुङ बनाएर क्षति गर्ने विशेष स्वभाव हुन्छ । लार्भाले हरीयो पात भित्र पातको मुख्य र सहायक नसाहरुमा सुरुङ बनाई पातको हरियो पदार्थ खाँदै जाने हुनाले पातमा पारदर्शी सेतो धर्सा वा सेता धब्बाहरु देखिन्छन्, जसमा भित्र भएका लार्भाहरु तथा यसको विष्टाहरु पनि देख्न सकिन्छ । पुतलीले आलुका दानाको आँखामा फूल पार्दछ र फूलबाट लार्भा निस्किएपछि, त्यही आँखाबाट सुरुङ्ग बनाई भित्र पस्दै, खाँदै अघि बढ्छ । यस पुतलीको अत्याधिक प्रकोप भएको अवस्थामा, दानाको बाहिरी भागमा लर्भाले गरेको कालो खैरो रंगको दिशाहरु निस्केको प्रष्टसँग देखिन्छ र समयसँगै लार्भाको दिशाहरु धैरै मात्रामा देखिन थाल्दछ । यस्ता क्षतिग्रस्त आलुका दानाहरु काटेर हेर्दा बाँगा टिँगा सुरुङ्गहरु तथा खाईरहेको लार्भाहरु प्रष्ट देख्न सकिन्छ । यो पुतलीको क्षति चैत्र देखि भाद्रसम्म ब्यापक रुपमा देख्न सकिनछ ।

चित्र :आलुको पात र दानामा पूतलीको क्षति

कसरी गर्ने आलुको पुतलीको एकीकृत शत्रुजीव व्यवस्थापन?

आलुको पुतलीले खेतबारी देखिनै आक्रमण सुरु गर्ने भएकाले आलु लगाउने बेला देखि नै यसको रोकथामका उपायहरु अपनाउन जरुरी पर्दछ । यो पुतली नियन्त्रणको लागि धेरै विधिहरु भएता पनि, आलु उम्रन थाले देखि नै बाली निरीक्षण गर्न सुरु गरी यसले गरेको क्षति संकेत जाँच गरी “एकीकृत शत्रु जीव व्यवस्थापन पद्धति” अपनाएर नियन्त्रण गर्नु नै उत्तम उपाय हो । खाद्य तथा कृषि संगठनले १९६७मा परिभाषित गरे अनुसार “एकिकृत शत्रु जीव व्यवस्थापन” ले यस्तो व्यवस्थापन पद्धतिलाई जनाउँछ जो वातावरण मैत्री अवधारणा र शत्रु जीवको संख्या बृद्धिको प्रक्रियासँग सम्बन्धित छ, यसले परस्पर मैत्री उपयुक्त विधिहरुको उपयोग गर्दछ तथा कीराहरुको संख्या बृद्धिलाई क्षतिका स्तर भन्दा तल राख्दछ । यसले रासायनिक विषादीहरुको प्रयोगलाई न्यूनतम स्तरमा कायम राख्दै, प्राकृतिक विषादी र तत्वहरुको प्रयोग र जैविक तरीका र प्रजननजन्य तरिकाको उपयोगलाई प्राथमिकतामा राख्ने कुरामा केन्द्रित गर्दछ । त्यसैले यस पुतलीको एकीकृत व्यवस्थापनको लागि निम्न लिखित बुँदामा ध्यान दिनु पर्दछ।
क) कृषि कर्ममा आधारित व्यवस्थापन पद्धतिहरु (Cultural Management)
-उच्च गुणस्तरको आलुको स्वस्थ बिउ प्रयोग गर्ने ।
-यस पुतलीको प्रकोप ज्यादै नै देखिने ठाउँमा आलुका दाना राम्रो सँग छोपिने गरी गहिरो ३०–४० से.मि. अग्ला ड्यांगहरु बनाई आलु रोप्नु पर्दछ । ऊचित समयमा सिचाई गर्नु पर्दछ । आलु खनेपछी थुप्रोलाई बिकर्शर्ण गुण भएका बनस्पति जस्तै निम ,सयपत्री ,तितेपाती आदिले छोपेर राख्नु पर्दछ । आलु बालीको बालीचक्र अपनाएर धान , मकै र आलुको घुम्ती बाली लगाउनु पर्दछ । खेतबारीमा रहेका किरा लागेका आलुका बोटहरु लाई गहिरो गरि गाड्ने वा नस्ट गर्नुपर्दछ ।
ख) जैविकव्यवस्थापन पद्धतिहरु (Biological Management)
शिकारी कीराहरु जस्तै स्त्री स्वभावका खपटे,पतेराहरुको वयस्कतथा लार्भा दुवैले आलुको पुतलीको नियन्त्रणमा सहयोग पु¥याउँछन् ।
परजीवी कीराहरु जस्तै (Chelonusblackbuni) ले खतरनाक पुतलीको अण्डा र लार्भा भित्र अण्डा पारी यसको जीवन चक्र नाश गरिदिन्छ ,त्यसैले(Chelonusblackbuni) प्रति हेक्ट ३०,००० संख्याको दरले, आलु लगाएको ४० र ७० दिनपछि २ पटक प्रयोग गर्नुपर्दछ ।
परजीवी शुक्ष्म जीवाणुहरु जस्तै भाइरस आलुको पुतली नियन्त्रणमा प्रयोग गर्न सकिन्छ ।  ५०० भाइरस ग्रसित लार्भाहरुलाई पिसेर बनाइएको झोललाई ५०० लिटर पानीमा मिसाएर १ हेक्टरको क्षेत्रफलमा छर्ने जसले गर्दा ३५% भन्दा बढि मृत्यु दर प्राप्त गर्न सकिन्छ ।
पुतलीको लार्भाको भाइरस प्रतिको संवेदनशीलता लार्भाको बढ्दो अवस्था अनुसार घट्दै जाने भएकाले लार्भाको पहिलो र दोस्रो अवस्थामा भाइरसको प्रयोग पटक–पटक चाहिदो मात्रामा गर्दा बढी प्रभावकारी मानिन्छ ।
ग) भौतिक व्यवस्थापन पद्धतिहरु (Physical management)
नियमित रुपमा आलुबारी निरीक्षण गरी त्यहाँ देखिएका अण्डा तथा लार्भाहरु हातले संकलन गरी नष्ट गर्नुपर्दछ ।

घ) यान्त्रिक व्यवस्थापन पद्धतिहरु (Mechanical Management)
आलुको पुतली नियन्त्रणको लागि पि.टि.एम.(PTM) फेरेमोन लुर्सको प्रयोग गरिन्छ । फेरेमोन पासोले भाले किरालाई आर्कषित गर्ने र फेरेमोनसँग राखिएको विषादिको गन्धले भाले किरा मर्ने गर्दछन्, यसरी भाले कीराको संख्या नियन्त्रण भएमा पोथी कीराहरुले बतासे पूmल पार्दछन र कीराको संख्या बढ्नबाट रोक्न सकिने छ । फेरेमोन पासोमा पानी राख्ने र १/२ चिया चम्चा सरफ राख्ने, भाले पुतली यसमा खसेर मर्ने गर्दछ । फेरेमोन पासोको प्रयोग गर्दा १० ओटा पासो प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ ।
ङ) वनस्पति जन्य व्यवस्थापन पद्धतिहरु(Botanical Management)

आलु भण्डारण गर्दा केही वनस्पतिहरु जस्तै निम, तितेपाती, बकाइनो आदीको पातलाई छाँयामा सुकाई धुलो बनाएर मिसाइ भण्डारण गर्नु पर्दछ ।  त्यसैगरी बोझोको गानोलाई टुक्रा पारी छाँयामा सुकाउने र यसलाई धुलो पारी ५ ग्राम प्रति के.जी. आलुको दरले मिसाई भण्डारण गर्नुपर्दछ ।
च) रासायनिक व्यवस्थापन पद्धतिहरु (Chemical Management)
पुतलीको उच्च जोखिम भएको अवस्थामा रासायनिक विषादी अन्तिम विकल्पको रुपमा मात्र प्रयोग गर्नु पर्दछ ।

लेखक: लक्ष्मी गौतम, संयोजक अर्घाखाँची टेक्नीकल ट्रेनिङ्ग स्कूल ।