धादिङमा ११ रुपैयाँमा किनेको काउली काठमाडौँमा ६० रुपैयाँमा बिक्री !

धादिङमा ११ रुपैयाँमा किनेको काउली काठमाडौँमा ६० रुपैयाँमा बिक्री !

सधैँ किसान मर्ने, विचौलिया फस्टाउने !

शनिवार धादिङको थाक्रे गाउँपालिकामा पर्ने धार्केमा गायत्री मिजार बिक्रीका लागि आफूले उत्पादन गरेको काउली बैगुन जोख्दै थिइन् । गायत्रीले आफ्नै बारी र खेत भाडामा लिएर धार्केमा तरकारी खेती गर्दै आएकी छन् । यसवर्ष उनले ४ हजार थान काउलीको बिरुवा लगाइन् । काउली पनि राम्रै फलेको छ । तर उनको उत्पादनले बजार पाए पनि मूल्य भने पाउन सकिनन् ।

धादिङको धार्केबाट कालीमाटी थोक बजारसम्मको दुरी जम्मा ३० किलोमिटर रहेको छ । तर ३० किलोमिटर दुरी पार गरेको कालीमाटी आइपुगेको मिजारको त्यही काउली उपभोक्ताले भने प्रतिकिलो ६० रुपैयाँ हालेर किन्नु परिरहेको छ । जबकि धादिङको धार्केबाट काठमाडौं आइपुग्दा उक्त काउलीको ढुवानी मूल्य प्रतिकिलो बढीमा २ रुपैयाँ हो ।

कालोबजारी ऐनले आफ्नो खर्च कटाएर बढीमा २० प्रतिशत सम्म नाफा खान छुट दिएको छ । तर धादिङमा उत्पादन गर्ने किसानसँग ११ रुपैयाँमा किनेको काउली काठमाडौँका उपभोक्ताले किन प्रतिकिलो ६० रुपैयाा तिर्नु परिरहेको छ ?

गायत्री भन्छिन्, ‘किसानी गर्दा ५ लाख ऋण लाग्यो’

धार्केमा तरकारी खेती गरिरहेकी गायत्री मिजार आफूले खेती किसानी गर्दा उल्टै ५ लाख ऋण लागेको बताउँछिन् । शनिवार धार्केमा भेटिएकी गायत्रीले आफूलाई तरकारी खेती सुरु गरेदेखि ५ लाख ऋण लागिसकेको बताउँछिन् ।

उनले भनिन्, ‘मैले ३ वर्ष भयो तरकारी खेती गर्न थालेको । तर नाफा होला भन्दा झनै घाटा मात्रै भयो । पहिलो वर्ष ४० हजारको काउली बेच्न सकेको थिएँ, त्यसपछि घाटा मात्रै लागेको छ । सानो टहरो हालेर घर पनि बनाएको छु । तर सबै गर्दा अहिले ५ लाख ऋण लागिसकेको छ । त्यसको आधा ऋणचाहिँ तरकारी खेतीको घाटा नै हो ।’

किसान र उपभोक्ता मारमा, विचौलिया मालामाल !

गायत्रीले ११ रुपैयाँ प्रतिकिलोमा धार्केबाट बेचेको काउली काठमाडौं आइपुग्दा ६० रुपैयाँ हाराहारीमा विक्री हुन्छ । यसले तरकारी उत्पादन गर्ने किसान त यसै मर्कामा परेका छन्, तरकारी किनेर खाने उपभोक्ता पनि उत्तिकै मारमा छन् । तर धार्केदेखि तरकारी किनेर काठमाडौं ल्याएर बेच्ने व्यापारी वा विचौलिया भने मालामाल बनेका छन् ।

सार्वजनिक सवारीसाधन नचल्दा मूल्य नपाए आफै लगेर बेच्ने अवस्था उत्पादकसँग छैन । त्यसकारण व्यापारीले जति मूल्य दिन्छन्, किसान त्यही मूल्य लिन बाध्य हुन्छन् ।

गायत्रीले तरकारी उत्पादन गर्दा प्रतिकिलो सरदर १४ रुपैयाँ लगानी परेको छ । त्यसमा आफूले गरेको मिहेनत समावेश भएको छैन । तर उनले अहिले बजारसम्म बोकेर ल्याएर पनि प्रतिकिलो मात्रै ११ रुपैयाँमा तरकारी विक्री गर्नु परिरहेको छ । जसबाट उनले नाफा होइन, घाटा ब्यहोरेकी छिन् ।

यसवर्ष मात्रै होइन, गतवर्ष पनि गायत्रीले तरकारीमा घाटा बेहोर्नुपर्यो । गतवर्ष केही काउली उनले प्रतिकिलो ५ रुपैयाँमा बेचिन् भने कति काउली खेतमै कुहियो । असिनापानीले गर्दा केही काउली बिग्रियो र नबिग्रिएको काउली पनि ५ रुपैयाँमा बेच्नुपर्यो । उनी भन्छिन्, ‘सँधै घाटा खाएर कसरी तरकारी बेच्नु । अब त अति भयो, सकिँदैन । अब त तरकारी होइन, धान रोप्छु खेतमा ।’

गायत्री भन्छिन्, ‘मर्नुभन्दा बहुलाउनु निको’

किन यति सस्तोमा बेच्नुभएको त भन्ने रातोपाटीको प्रश्नमा गायत्रीले भनिन्, ‘के गर्नु अब मर्नु भन्दा बहुलाउनु निको । सबै खेतमा कुहाउनु भन्दा त कम घाटा खाने नि । त्यत्तिकै फाल्न त मिलेन नि ।’

शनिवार धादिङमै गायत्रीको सामान उठाउँदै गरेका व्यापारी पनि भेटिए । तरकारीको गाडीमा सामान लोड गरेर आइतबार बिहान टोल टोलमै गएर सामान विक्री गर्ने ती व्यापारीले बताए ।

व्यापारीले फोन नै उठाएनन्

रातोपाटीले भोलि विहान उनीसँगै बजारमा जाने भनेर शनिवार धार्केमा कुराकानी समेत गरेको थियो । उनले काउली ११ रुपैयाँ, बन्दा १० रुपैयाँ, बैगुन ३० रुपैयाँ र माछे खुर्सानी प्रतिकिलो ३० रुपैयाँमा उठाएको बताए ।

‘काठमाडौंमा कति रुपैयाँमा बेच्नु हुन्छ त ?’ भन्दा उनले मूल्य काठमाडौं महानगर पालिकाले निर्धारण गर्ने बताए । आफूहरुले बढी नाफा खान नमिल्ने भन्दै महानगरले जहाँ गएर बेच भन्छ, त्यहीँ गएर बेच्ने र धेरै नाफा लिन पनि नमिल्ने बताए ।

तर, आइतबार बिहानैदेखि ती व्यापारीको मोबाइलमा सम्पर्क गर्दा फोन उठाएनन् । तरकारी बेचेर फर्किसक्यौँ भन्दै उनले बिहान ८ बजेमात्रै फोन उठाए ।

कुन–कुन तरकारी कति कति मूल्यमा बेच्नुभयो त भनेर सोध्दा उनले काउली २५ रुपैयाँ, भन्टा र खुर्सानी ४० रुपैयाँ र बन्दा २२ रुपैयाँमा बेचेको बताए । ती व्यापारीले आफूहरुले चावहिलको गोपिकृष्ण पछाडि तरकारी बेचेको बताए ।

आइतबार बिहान बनस्थली एरियामा तरकारीको खुद्रा मुल्य बुझ्दा भने काउली प्रतिकिलो ६० रुपैयाँमा बेचिएको थियो । त्यसैगरी भन्टा ८५ रुपैयाँ, खुर्सानी ८० रुपैयाँ र बन्दा प्रतिकिलयो ४५ रुपैयाँमा बिक्री भइरहेको थियो ।

साभार:https://ratopati.com/