स्वस्थ माटोमै दिगो रहन्छ कृषि

स्वस्थ माटोमै दिगो रहन्छ कृषि

लकडाउन सुरु हुनुभन्दा एक हप्ताअगाडि ५ लाख युवा नेपाल भित्रिए । देश फर्किएका युवालाई कृषि क्षेत्रमा संलग्न गराउने यत्तिको राम्रो अवसर सायदै मिल्न सक्छ । कोरोना संकटले प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न, कृषिमा आत्मनिर्भर हुन र कृषिको दिगो विकास गर्न कति जरुरी छ भन्ने प्रस्ट्याइदिएको छ ।

चितवनको खरखुट्टेमा गरिएको आलु खेती ।तस्बिर : कान्तिपुर

 

यस क्रममा माटाको महत्त्वलाई कदापि बिर्सनु हुन्न । कृषि विकासका लागि माटो एकदमै महत्त्वपूर्ण प्राकृतिक स्रोत हो । माटाको उचित संरक्षण, उर्वरता र उत्पादकत्वले कृषिको दिगो विकासमा ठूलो भूमिका खेल्न सक्छ ।

माटाको गुणस्तर र उत्पादकत्व निर्धारण गर्न प्रांगारिक पदार्थको महत्त्वपूर्ण भूमिका हन्छ । औसतमा नेपालको कृषिजन्य माटोमा प्रांगारिक पदार्थको मात्रा १ प्रतिशत छ, जुन अत्यन्त कम हो । नेपालको दीर्घकालीन बीसवर्षे कृषि विकास रणनीतिले सन् २०३५ सम्म माटोमा प्रांगारिक पदार्थको मात्रा ४ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । कम्तीमा ४ प्रतिशत प्रांगारिक पदार्थ भएको माटोले मात्र कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा सघाउँछ ।

 

कृषि, जलवायु परिवर्तन र प्रांगारिक पदार्थ प्रांगारिक पदार्थ बोटबिरुवाका अवशेष, सूक्ष्म जीवाणु र ह्युमस आदिले बनेको हुन्छ । माटाका भौतिक, रासायनिक र जैविक गुणको सुनिश्चितता अनि बोटबिरुवाको समष्टिगत विकासमा प्रांगारिक पदार्थको ठूलो भूमिका हुन्छ । प्रांगारिक पदार्थले माटोलाई मलिलो र फरफराउँदो बनाउँछ । नाइट्रोजन, फस्फोरस र पोटास बोटबिरुवालाई सजिलै उपलब्ध गराउन मद्दत गर्छ ।

कृषिमा जलवायु परिवर्तनले पारेका प्रत्यक्ष असरमध्ये पानीको अभाव प्रमुख हो । पानी अभावले गर्दा माटो सुक्खा र कडा हुनुका साथै उत्पादकत्व पनि ह्रास हुँदै गइरहेको छ । पानी सोस्ने र प्रतिधारण गर्ने क्षमता पनि प्रांगारिक पदार्थमा निर्भर गर्छ । प्रांगारिक पदार्थ राम्रो भएको माटाको पानी प्रतिधारण गर्ने क्षमता निकै बढी हुन्छ । साथै माटाले जैविक कार्बनको ठूलो अंश भण्डार गर्न सक्ने क्षमता राख्छ । कृषि मात्र यस्तो क्षेत्र हो, जसमार्फत माटो व्यवस्थापनका अभ्यासहरूले हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन र जैविक कार्बन व्यवस्थापनमा पनि सघाउँछन् ।

 

माटामा प्रांगारिक पदार्थ कसरी बढाउने ?

चितवनको प्रांगारिक कृषि क्षेत्रमा उदाहरणीय काम गरेका कृषक चन्द्रप्रसाद अधिकारीका अनुसार, स्थानीय स्तरमा आफ्नै खेतबारीमा उपलब्ध स्रोतसाधनबाट र दिगो माटो व्यवस्थापनका अभ्यासहरू अवलम्बन गरेर माटोमा प्रांगारिक पदार्थको मात्रा र माटोको पानी प्रतिधारण गर्ने क्षमता बढाउन सकिन्छ ।

कृषिको व्यवसायीकरण गर्ने क्रममा जस्ता पद्धति र अभ्यासलाई प्रवर्द्धन गरिरहेका छौं, त्यसले हाम्रो माटो बिगारिरहेको छ । तराईमा प्राय: गुइँठा बाल्ने प्रचलन छ, जसले गर्दा गोठेमल खेतबारीसम्म पुग्नै पाउँदैन । एउटै बाली धेरै क्षेत्रफलमा लगाउने, खाद्यतत्त्व बालीले जुन रूपमा लिन्छ त्यही रूपमा माटोलाई उपलब्ध नगराउने, रासायनिक मल मात्र हाल्ने, रासायनिक मल र प्रांगारिक मलको सन्तुलित प्रयोग नगर्ने जस्ता कारणले गर्दा माटो सुक्खा, अम्लीय र प्रांगारिक पदार्थविहीन हुँदै गएको छ ।

 

यसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, प्रदेश र स्थानीय सरकारका साथै सरोकारवालाहरूबीच सहकार्य आवश्यक छ । माटामा प्रांगारिक पदार्थको मात्रा बढाउन निम्न कुराहरू अवलम्बन गर्न सकिन्छ :

(क) एकीकृत कृषि पद्धति अवलम्बन गर्नुपर्छ । दिगो माटो व्यवस्थापनका कार्यक्रमहरूलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ । विगतमा विभिन्न जिल्लामा कार्यान्वयन भएका दिगो माटो व्यवस्थापनको कार्यक्रमसम्बन्धी सिकाइ र राम्रा अभ्यासलाई देशव्यापी बनाउनुपर्छ । घरघरमा गोठेमल, कम्पोस्ट मल बनाउनुका साथै पशुमूत्र संकलन र प्रयोगमा जोड दिनुपर्छ । दीर्घकालीन रूपमा प्रांगारिक पदार्थ बढाउने कृषि पद्धतिहरू (जस्तै- बाली चक्र, अन्तरबाली, कोसेबाली, बालीको जमिनमुनिको भागलाई माटो मिलाउने, छाता बाली) लाई प्रवर्द्धन गर्नुपर्छ ।

(ख) माटो जाँचलाई संस्थागत गर्दै लग्नुपर्छ । माटो जाँचका आधारमा प्राविधिकले सिफारिस गरेको रासायनिक र प्रांगारिक मलको मात्रा मिलाएर हाल्नुपर्छ । स्थानीय स्तरमा माटो जाँचलाई सजिलो र सुलभ पहुँच हुने व्यवस्था मिलाउनुपर्छ । माटाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्रका आधारमा कृषकहरूलाई आवश्यक अनुदान दिने व्यवस्था गर्न सकियो भने यसलाई देशभर प्रवर्द्धन गर्न सकिन्छ ।

(ग) प्रांगारिक पदार्थको मात्रा कम भयो भने माटाको गुणस्तर र उत्पादकत्व कसरी घट्छ भन्ने कुराको यथेष्ट जानकारी हाम्रा कृषकहरूलाई दिनुका साथै माटो जाँच र यससम्बन्धी ज्ञानसेवालाई सँगसँगै लग्नुपर्छ ।

आगामी दिनमा कृषि प्रसारका लागि प्रभावकारी र समावेशी मोडलहरूको परीक्षण र कार्यान्वयनमा जोड दिनुपर्छ ।

(घ) कृषि अनुसन्धानमा माटाको उत्पादकत्व र प्रांगारिक पदार्थ वृद्धि गर्ने खालका प्रविधिहरूको अनुसन्धानलाई पनि प्राथमिकता दिनुपर्छ । दीर्घकालीन बीसवर्षे कृषि विकास रणनीतिले लिएको रोडम्यापअनुसार नीति, अनुसन्धान र प्रसारको तारतम्य मिल्न जरुरी हुन्छ । सकेसम्म अनुसन्धानहरू कृषकस्तरमा कृषकसँगै मिलेर गर्न सकिने हुनुपर्छ । अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई सरल र स्थानीय शैलीमा कृषकहरूमाझ पुर्‍याउनुपर्छ ।

(ङ) हाम्रा शैक्षिक प्रणाली र तालिमहरू समयसापेक्ष हुनुपर्छ । विश्वविद्यालयहरूको पाठ्यक्रममा, कृृषि प्राविधिकहरूको तालिममा माटाको गुणस्तर र प्रांगारिक पदार्थका विषयवस्तुलाई समावेश तथा अद्यावधिक गर्दै लग्नुपर्छ ।

(च) देशको संघीय संरचनाले स्थानीय स्तरमा कृषि क्षेत्रमा विकासका धेरै सम्भावना कार्यान्वयन गर्न सकिने देखिन्छ । कृषि विकासका अन्य कार्यक्रमसँगै माटाको प्रांगारिक पदार्थ सुधारको कार्यक्रमलाई स्थानीय सरकारको नीति, नियम र कार्यक्रमहरूमा प्राथमिकता दिनुपर्छ । कुनै एउटा गाउँपालिकालाई मोडल बनाएर बिस्तारै सबैतिर असल अभ्यास पुर्‍याउनुपर्छ ।

यसो गर्न सकियो भने धेरैभन्दा धेरै कृषक लाभान्वित हुन सक्छन् ।

खरेल प्राक्टिकल एक्सनमा कार्यरत छिन् ।

साभार:https://ekantipur.com/