लकडाउनमा फस्टाउँदो कौसी खेती

लकडाउनमा फस्टाउँदो कौसी खेती

काठमाडौं – बर्खा सुरु हुन लागेसँगै यतिबेला शहरका धेरैजसो घरका कौसी हरिया देखिन थालेका छन् । परिवारका सबै सदस्यहरूको दिन बिताउने माध्यम भएको छ कौसी ।

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले दिएको फुर्सदको समयमा आफूलाई व्यस्त बनाउन चाहनेहरू घरमा सिर्जनशील काममा लागेका छन् ।

कतिपय परिवारले खाली जग्गामा तरकारी रोप्न थालेका छन् । धेरै घरधनीहरूले घरको छतमा तरकारी फलाउन थालेका छन् ।

लकडाउनको फुर्सदमा घरको कौसीमा तरकारी फलाउँदा कोरोनाको जोखिम मोल्दै तरकारी किन्न बाहिर धेरै गइरहनु पर्दैन । आफैँले उत्पादन गरेको तरकारी स्वस्थकर र स्वादिलो पनि हुने भयो ।

शहरमै जन्मे–हुर्केका धेरै मानिस माटोसँग खेलेका हुँदैनन् तर इच्छाशक्ति भए  तरकारी फलाउन बारीमा पुग्नै पर्दैन भन्ने सन्देश दिएका छन् कौसीखेती गर्नेहरूले ।

जाँगर भए शहरमा घरको छत नै पनि पर्याप्त हुन्छ भन्ने उदाहरण बनेका छन् छतमै तरकारी फलाउनेहरू । ‘कौसी खेती’ नाम पाएको तरकारी खेती लकडाउनमा रमाउने मेलो पनि भएको छ ।

लकडाउनमै मौका पारेर पहिलोपटक कौसी खेती थालेकी छन् ललितपुरकी रोजिता ताम्राकारले ।

पाटनकी बासिन्दा रोजिताले घरको कौसीमा गमलामा विभिन्न प्रजातिका फूल लगाएकी थिइन् । तरकारी भने उनको पहिलो प्रयास हो । करिब दुई आनाको कौसीमा उनले अनेक किसिमका तरकारी रोपेकी छन् ।

‘कौसीमा तरकारी लगाउने इच्छा पहिलेदेखि नै थियो, लकडाउनको एक हप्ताअघि सबै सामान ल्याएको थिएँ,’ उनले खबरहबसँग भनिन्, ‘लकडाउनमै कौसी खेती सुरु गरेँ ।’

दुई महिनामा उनको कौसी हरियो भएको छ । ‘काँक्रो, फर्सी, धनियाँ, लसुन, प्याज, गोलभेँडा, सिमी, बोडी, करेला, मूला, काउली, बन्दा लगायत थुप्रै तरकारी रापेको छु’ उनले खुसी हुँदै भनिन्, ‘साग खाने बेला हुन लागेको छ, तरकारी केही समय लाग्छ ।’

उनले खाली कौसीमा ‘ग्रो ब्यागम’ मा र बोरामा  माटो भरेर तरकारी रापेको बताइन् । रोजिता घरमै कम्पोस्ट मल पनि बनाउँछिन् ।

कलंकीकी बासिन्दा गीता ढकाल पूर्वशिक्षिका हुन् । सेवा निवृत्त भएपछि उनले कौसी खेती सुरु गरिन् ।

उनको कौसीमा तितेकरेला, बोडी, फर्सी, राम तोरियाँ, सागलगायतका तरकारी फलेका छन् । कहिलेकाहीँ छमेकीलाई पनि दिन पाएर दङ्ग पर्छिन् । गीता भन्छिन्, ‘अहिले फुर्सदमा छु, कौसीमा तरकारी फलाइरहेकी छु ।’

कौसीमा उब्जाएको तरकारीले उनको भान्सा चलिरहेको छ । भान्साबाट निस्केको फोहोरबाट कम्पोस्ट मल बनाउँछिन् । गीता वर्षभरिमा ५० किलो हाराहारी कम्पोस्ट मल बनाउँछिन् । उनको खेतीलाई त्यसैले पुग्छ ।

भान्साको फोहोरबाट कम्पोस्ट मल

कालीमाटीमा सुयोग कर्माचार्यलाई कडाउनमा फोहोर लिन गाडी आएन भन्ने चिन्ता छैन । उनले घरमै फोहोर व्यवस्थापन गरेका छन् ।

उनले भान्साबाट उत्पन्न हुने फोहर घरमै केही भाँडामा कुहाएर कम्पोष्ट मल बनाउने गरेका छन् । उनले १३ वर्षअघिदेखि आफूले घरायसी फोहोरबाट कम्पोस्ट मल बनाउने गरेको बताए ।

सुयोगले भने, ‘लामो समय भइसक्यो घरमै कम्पोष्ट मल बनाउन थालेको, मल कौसीमा गमलाका विरुवालाई हाल्ने गर्छु ।’

घरमा धेरै सदस्य हुँदा फोहोर पनि धैरे उत्सर्जन हुन्छ । फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिनेबाट मल बनाउन सकिन्छ । घरमा पुग्ने हरियो तरकारी फलाउन जमिन नै नभई हुँदैन भन्ने छैन । थोरै माटो र मलजल भए घरको छतमै तरकारी फलाउन सकिन्छ ।

‘गुठी’ नामक गैरसरकारी संस्थाले लकडाउनका समयमा कौसी खेती गर्न प्रोत्साहित गरेको छ । गुठीले लकडाउनको समय सदुपयोग गर्न केही दिन फेसबुक पेजमा ‘जुम एप’ मार्फत कृषिका विशेषज्ञसँग कुराकानी गराइदिएको थियो । त्यसबाट थप नयाँ ज्ञान हासिल भएको कौसी खेती गर्नेहरूले बताए ।

के के आवश्यक पर्छ ?

कौसी खेतीमा धेरैले प्लाष्टिक र माटोका गमला प्रयोग गर्छन् ।  गमला नभए सिमेन्टका बोरा पनि प्रयोग गर्न सकिन्छ । धेरैजसोले सिमेन्टका बोरा, आधा काटिएका जार, ड्रम लगायतका सामान प्रयोग गरेका छन् ।

गमला वा बोरामा मलिलो पाँगो माटो एक भाग, बालुवा एक भाग, गोबर एक भाग मिलाएर राख्नुपर्छ । विरुवालाई थाङ्ग्रो पनि दिनु पर्छ । घरमा दैनिक उत्पादन हुने फोहोरबाटै कौसी खेतीमा पुग्न मल बनाउन सकिन्छ ।

 

साभार:www.khabarhub.com/